भाग्सु धर्मशालामा लाहुरेको रेलिमाई विमोचित

  सुरप्रभा सम्वाददाता  300 पटक हेरिएको

ललितपुर । लोकप्रिय साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई हालै भारतको भाग्सु धर्मशालामा विमोचन गरिएको छ । हिमाञ्चल पञ्जाव गोर्खा एसोशियसनको १०७ औँ वार्षिक उत्सवका अवसरमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट यस पुस्तकको विमोचन भएको हो ।

लाहुरेको रेलिमाई नेपाली गीतसङ्गीतका आदि वाग्गेयकार तथा फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो । यस उपन्यास विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उपन्यासकार वियज हितानले भने, ‘भाग्सु धर्मशाला मास्टर मित्रसेनको गृहनगर भएको र यस पवित्र ऐतिहासिक भूमिमा यस पुस्तकलाई विमोचन गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको छु ।’ उनले अगाडि थपे, ‘म सन् २०१७ मा यस उपन्यास लेखनका क्रममा भाग्सु धर्मशाला आएको थिएँ । त्यतिबेला मास्टर मित्रसेनकी बुहारी देवकन्यालाई भेटेपछि निकट भविष्यमा नै उपन्यास प्रकाशन गरेर तपाईंको हातमा अपर्ण गर्न आउने छु ।’ हितानले उपन्यास प्रकाशन त गरे तर यसपालि भाग्सु धर्मशाला पुगेको बेला देवकन्यालाई भेट्न भने पाएनन् । यसको कारण हो, केही वर्षअघि मात्रै देवकन्याको देहावसान भएको थियो । उक्त उपन्यासको एक प्रति देवकन्याका छोरा तथा मास्टर मित्रसेनका नाति अरविन्द सेनलाई भने प्रदान गरेका छन् ।

आफूले ६ वर्ष लगाएर अध्ययन, अनुसन्धान र भ्रमण गरी लेखेको उपन्यास भाग्सु धर्मशालाबासी गोर्खाली समाजमाझ ल्याउन पाउँदा हर्षविभोर हुँदै हितानले एशोसियसनका अध्यक्ष रविन्दर रानालगायत कार्यसमीतिका सदस्यप्रति कृतज्ञता प्रकट गरेका थिए ।

यस वार्षिक उत्सवमा दुई दर्जनभन्दा बढी बाल तथा युवा कलाकार हरूको सांस्कृतिक प्रस्तुति, जेष्ठ नागरिक र स्वयममसेवकलाई सम्मान, गोर्खा एशोसियसनका संस्थापक अध्यक्ष मधोसिंह रानाको सालिक अनावरण र र्याफल ड्रोजस्ता कार्यक्रम हरू पनि रहेका थिए ।

कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ समाजसेवी तथा मास्टर मित्रसेन थापामगर प्रतिष्ठान काठमाडौँका निवर्तमान अध्यक्ष त्रिलोकसिंह थापामगरले गरेका थिए भने कार्यक्रम सञ्चालन गोर्खा एशोसियसनका महासचिव प्रितम बुढाथोकीले गरेका थिए ।

भाग्सु धर्मशाला इलाकामा १८ वटा नेपाली गाउँ छन् । ती प्रत्येक गाउँमा एक मुखिया चुनिएका छन् । यस कार्यक्रममा तिनै गाउँका ३०० भन्दा बढी व्यक्ति हरूको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाको आफ्नै हल गोर्खा भवनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार