बृहत् साहित्य महोत्सव : एक अनुभूति

अनुभूति

  विजयराज आचार्य  1154 पटक हेरिएको

साहित्य परिषद् प्यूठानको दशौँ अधिवेशन २०७९ साल बैशाख ९ गते प्यूठानमा सम्पन्न भएको थियो । अधिवेशनमा प्रमुख अतिथिको रूपमा तत्कालीन प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेललाई निम्त्याइएको थियो ।बिजुवारमा भएको त्यस अधिवेशनमा मेरो बालसाहित्यमा योगदानसम्बन्धी वरिष्ठ साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको समालोचनात्मक कृति ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ पुस्तकको विमोचन गर्ने सहमति परिषद्सँग भएको थियो ।

सोही अधिवेशनमा भाग लिन कृतिका लेखक प्रधानलाई लिएर म पनि प्यूठान गएको थिएँ । अधिवेशन भव्य रूपमा सम्पन्न भयो । केही अरू पुस्तकहरू पनि विमोचन भए । पूर्व प्यूठान अहिले दाङ स्थायी बसोवास भएका साहित्यकार पदमप्रसाद शर्मालाई सम्मान गरियो । गोपिन्द्र पौडेलले परिष्दका नाममा एक लाखको अक्षय कोष खडा गर्ने घोषणा गर्नुभयो ।

अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध  गठन ग¥यो । अन्त्यमा शुभकामना मन्तव्य राख्ने मौका मैले पनि पाएँ ।

मलाई किन किन हरेक क्षेत्रमा प्यूठान पछि परेको देख्दा ग्लानिभाव उत्पन्न भएको थियो । हिजोको दिनमा शिक्षाको हिसाबले सिङ्गो राप्तीकोे पहाडी भेग ढाकेको प्यूठान अहिले राप्तीकै निरीहजस्तै बनेको देख्दा मनै अमिलो बनिरहेको थियो ।

साहित्यका क्षेत्रमा दाङ, रोल्पाले गरेका धुमधडकाले चाहे गर्न सकिँदो रहेछ भन्ने आशा पनि पलाउँदै गएको थियो । साहित्यिक गतिविधिका हिसाबले एक खालको निरीहता भएको प्यूठानको साहित्यिक गतिविधिलाई कसरी चलायमान गराउन सकिएला भन्ने कुरा मनमा खेलिरह्यो ।

मैले मन्तव्यमा प्यूठानी सन्तान भएर आफ्नै विशेषज्ञता भएको क्षेत्रमा पनि केही नसकेकोमा ग्लानि महसुस गर्दै अब केही गर्ने प्रतिवद्धतासहितको मन्तव्य दिएँ । ‘सकेसम्म चाँडै प्यूठानमा बृहत् साहित्य महोत्सव राखौँ । सुस्ताएको साहित्यिक माहोललाई गतिशील बनाऔँ ।’ भन्ने धारणा पनि राखेँ ।

हाम्रो मातृभूमिका विशेषता नै हुन्– ताली, गाली, व्यङ्ग्य र प्रशंसा । धितमरुञ्जेल यही ग्रहण गरेँ र गह्रुङ्गो मन लिएर केही गर्ने प्रणसहित काठमाडौँ फर्कें ।

प्यूठानबाट काठमाडौँ फर्केपछि गोपिन्द्र पौडेल सर र मबीचमा प्रेममा डुबेका प्रेमिल जोडीजस्तै निरन्तर टेलिफोनमा कुराकारी हुन थाले । ती संवादमा अरू के हुँदैनथे, मात्र प्यूठान र खास गरेर त्यहाँको साहित्य उत्थानका लागि के गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्थे ।

सम्वादको शृङ्खला म र पौडेल सरमा मात्र सीमित भएन । भावेश भुमरी, आविष्कार कला, समीर सिंहलगायत सिङ्गै काठमाडौँबासी प्यूठानी साहित्यअनुरागीकमा फैलियो । कहिलेकाहीँ त यस्तो लाग्थ्यो काठमाडौँको आकाश प्यूठानको साहित्यको चर्चाले गुञ्जयमान भइरहेछ ।

छलफल र गफगाफकै दौरानमा काठमाडौँबासी हामी प्यूठानी प्यूठानमा एउटा साहित्य महोत्सव गर्ने निष्कर्षमा पुग्यौँ । हाम्रो निष्कर्षको सन्देश साहित्य परिषद् प्यूठानका कार्यसमितिका मित्रहरूलाई पठायौँ ।

‘हँ ! यत्रो कार्यक्रम ! कसरी गर्न सकिन्छ व्यवस्थापन ? कहाँबाट ल्याउने पैसा ? यो सम्भव छैन ।’ उहाँहरू झस्कनुभयो, उहाँहरूको ओठतालु सुके । दिनहरू अलमल र छटपटीमा बित्दै थिए । हामीले फेरि अर्को सन्देश पठायौँ, ‘काठमाडौँबाट जाने पाहुनाका आतेजाते खर्च काठमाडौँबाट गर्छौं । प्यूठान जिल्लामा लाग्ने खर्चको व्यवस्थापन साहित्य परिषद्ले गरोस् ।’ लामो छलफलपछि साहित्य परिषद् प्यूठान पनि बृहत् साहित्य महोत्सव गर्न तयार भयो ।

महोत्सव गर्ने निर्णयपश्चात् साहित्य परिषद् प्यूठानका साथीहरू कति खटिनुभयो ? कहाँकहाँ खट्नुभयो ? जनस्तरमा कति प्रचारप्रसार गर्नुभयो ? कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कोकसरीखटिनुभयो ? यी विषयमा उहाँहरूले आत्मसमीक्षा गर्नुभएकै होला । र, गर्नु पनि पर्छ ।

काठमाडौँमा बसेका केही प्यूठानीहरू जन्मभूमिको मायामा चुर्लुम्म डुबेर बृहत् साहित्य महोत्सवलाई साँच्चिकै बृहत् र भव्य रूपले सम्पन्न गर्ने हुटहुटीका साथ समर्पित भएर लाग्यौँ । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ २०७९ असार १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य अनुरागी प्यूठानीहरूको भेला बोलाई महोत्सवबारे व्यापक छलफल ग¥यौँ । भेलामा वरिष्ठ  साहित्यकार तथा राजनीतिज्ञ मोहनविक्रम सिंह, तत्कालीन नेपाल नाट्यकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, झिमरुक गाउँपालिकाका उपाध्यक्षलगायत दुई दर्जनभन्दा बढी प्यूठानीहरूको भेला भएको थियो ।

भेलाले सर्वसम्मतिबाट कार्तिक ५ गतेदेखि ७ गतेसम्म प्यूठानमा बृहत् साहित्य सम्मेलन गर्ने निर्णय ग¥यो । सोही भेलाबाट समीर सिंहको संयोजकत्वमा ५ सदस्यीय साहित्य परिषद् प्यूठानको उपत्यका सम्पर्क समिति गठन ग¥यौँ । भेलाले व्यापक छलफलपछि प्यूठानबाट काठमाडौँमा आई बसोबास गरेका स्रष्टालाई साहित्य परिषद् प्यूठानकोे आजीवन सदस्य बनाउनका लागि परिषद्लाई प्रस्ताव पठाउने पनि निर्णय ग¥यो । केही महानुभावले आफूहरू साहित्य परिषद्को आजीवन सदास्य बन्छौँ भनेर घोषणा पनि गर्नुभएको थियो ।

बृहत् साहित्य महोत्सवका लागि प्यूठानबाहिरबाट चालिस जनासम्म साहित्य र कलाको क्षेत्रमा समर्पित विशिष्ठ व्यक्तित्वलाई पाहुनाको रूपमा आमन्त्रण गर्ने निर्णय पनि गरेका थियौँ । त्यो भेला हाम्रा लागि ऊर्जाको केन्द्र बन्न पुग्यो । त्यसपछि हामीले काठमाडौँमा बसोबास गर्ने प्यूठानीलाई भेटघाट गर्ने, साहित्य महोत्सवलाई कसरी भव्यरूपमा सफल पार्ने भन्ने बारेमा छलफल गर्ने, आजीवन सदस्यता वितरण गर्ने कार्यलाई तीव्रता दिँदै गयौँ । पटकपटक बैठक बस्ने, छलफल गर्ने, योजना बनाउने कर्ममा समर्पित भएर लाग्यौँ ।

यस कार्यलाई काठमाडौँमा मात्र सीमित नराखी बुटवल, पोखरा हुँदै दाङसम्म फैलायौँ । प्यूठानका सबै पालिकामा साहित्य महोत्सवको प्रपोजल र पत्र प्रतिनिधिसमेत पुग्न थाले । प्यूठानी स्रष्टाहरूमा उत्सवको माहोल खडा भयो । काठमाडौँँै, पोखरा, बुटवल दाङमा बसोबास गर्ने साहित्यकारहरूमा राम्रै चहलपहल भयो । स्वतस्फुर्त आर्थिक सहयोगका घोषणा हुन थाले । प्यूठानबाहिर माहोल तात्दै गयो ।

दुःखका साथ भन्नुपर्छ जुन थलोमा बृहत् महोत्सव थियो, त्यहाँ जति जनस्तरमै माहोल तात्नुपर्ने थियोे, त्यो हुनसकेन । जति व्यवस्थित प्रचारप्रसार हुनुपर्ने होे, त्यो पनि भएन । किन सुस्तायो त्यहाँको माहोल ? किन महोत्सवमा जनसहभागिता सून्यप्रायः भयो ? जुन जुन ठाउँमा कार्यक्रम भए, ती ती ठाउँका मानिस नै किन अनभिज्ञ थिए ? यदि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तता दिने हो भने यस विषयमा साहित्य परिषद् प्यूठानले गम्भीररूपले समीक्षा गर्नुपर्छ ।

महोत्सवलाई उत्सवमा बदल्ने लक्ष्यका साथ २०७९ साउन २३ गते काठमाडौँबासी प्यूठानी विशिष्ट व्यक्तित्वहरूको एक बृहत् भेलाको आयोजना ग¥यौँ । भेलामा सहभागी हुन साहित्य परिषद् प्यूठानका अध्यक्ष नवराज आचार्यलाई काठमाडौँ बोलायौँ । उहाँ भेला हुनुभन्दा केही दिनपहिले काठमाडौँ आउनुभयो ।

हामीले प्यूठानी स्रष्टालाई महोत्सवमा सहभागिताका लागि अनुरोध ग¥यौँ । आजीवन सदस्य बनाउँदै र आर्थिक सहयोगका लागि अनुरोध गर्दै अध्यक्षलाई प्यूठानीहरूको घर, डेरा र कर्मथलोहरूमा पु¥यायौँ । हाम्रो र नवराज सरको अथक परिश्रमका कारण साहित्य परिषद्को आजीवन सदस्य १७ बाट बढाएर ६० पु¥याउन सफल भयौँ । आजीवन सदस्य विस्तार गर्नमा साहित्य परिषद्का अध्यक्षबाहेक अरू व्यक्तित्वको भूमिका कति रह्यो र कस्तो भयो ? त्यो पनि समीक्षाको विषय नै हो ।

साहित्य परिषद् प्यूठान सम्पर्क समिति काठमाडौँमा मात्र सीमित भएन । पोखरा, बुटवल र दाङमा पनि आजीवन सदस्य बनाउन, महोत्सवमा सहभागी गराउन र आर्थिक सङ्लन गर्न क्रियाशीलतालाई बढायौँ । ती ठाउँमा बसोबास गर्ने सबैै प्यूठानीहरूले दिल खोलेर सहयोग गर्नुभयो । यी थिए हामीले प्यूठानमा हुन लागेको बृहत् साहित्य महोत्सवलाई सम्पन्न गर्न गरेका गतिविधिहरू ।

साँच्चिकै भन्नुपर्दा साउन २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्यूठानीहरूको भेला प्यूठानीहरूका लागि गौरवको क्षण बन्यो भन्दा अतिसयुक्ति नहोला । त्यस भेलामा शिखर व्यक्तित्व मोहनविक्रम सिंह, लिलामाणि पोखरेल, मणि थापा, डा. गोविन्दराज पोखरेल, प्यूठान नगरपालिकाका मेयर विष्णु योगी, उद्योग वाणिज्य संघ प्यूठानका महासचिव सन्देश आचार्य, तत्कालीन प्रतिनिधि सभाका सदस्य माननीय दुर्गा पौडेल, तत्कालीन नाट्य कला प्रज्ञाप्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालगायत ३७ जना प्यूठानीहरूको गरिमामय उपस्थिति रहेको थियो ।

सभाहल माया, हर्ष, उल्लास र भावनामा डुबेको थियो । उपस्थित जनबाट जन्मभूमिप्रति माया दर्शाउनुका साथै आआफ्ना बाल्यकालका संस्मरण स्मरण गर्ने सम्मका कार्य भए ।

माननीय दुर्गा पौडेललगायतका उपस्थित व्यक्तित्वहरूबाट बृहत् साहित्य महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्नका लागि कसैबाट संस्थागत र कसैबाट व्यक्तिगत आर्थिक सहयोगको घोषणा गर्नुभयो ।

हामीले काठमाडौँबाट जाने पाहुनालाई यातायात र खाजा खर्च गरी एक लाख लाग्ने अनुमान गरेका थियौँ । त्यो पैसा कसरी जुटाउने होला भनेर हाम्रा दाँतबाट खलखली पसिना आएको थियो । अचम्म, त्यस दिन त हामीले अनुमान गरेको खर्चभन्दा दोब्बरको घोषणा भयो । खुसीले हामी झण्डै पागल भएका ! कति उठ्यो, कसले कति दिनुभयो भन्ने कुरा आर्थिक प्रतिवेदनमा समेटिने भएकाले यहाँ उल्लेख गर्न आवश्यक छैन ।

भेलामा उपस्थित आदरणीय व्यक्तित्व डा. गोविन्दराज पोखरेल, मणि थापा, लिलामाणि पोखरेललगायतको सुझावअनुसार चुनाव र चाडवाडलाई मध्यनजर गर्दै पहिले निर्धारित बृहत् साहित्य महोत्सवको मितिलाई परिवर्तन गरी २०७९ असोज ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय पनि ग¥यौँ ।

लामो र गहन छलफलपश्चात् प्यूठानको कला, संस्कृति, धार्मिक स्थल, ऐतिहासिक स्थल, प्राकृतिक स्थललगायतलाई साहित्यको माध्यमबाट प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यका साथ महोत्सवलाई भव्यरूपमा सम्पन्न पार्ने निष्कर्ष पनि भेलाले निकाल्यो ।

उल्लेखित लक्ष्य हासिल गर्नका लागि महोत्सव उद्घाटन पवित्र भूमि स्वर्गद्वारीमा गर्ने, पाहुना स्रष्टाहरूलाई ओखरकोट, खलङ्गा, मल्लरानी, अनौठो भूमि सारीको अवलोकन गराई बाग्दुलामा समापन गर्ने निर्णय पनि भेलाले ग¥यो । केही कमीकमजोरीका बाबजूद सोही तालिकाअनुसार कार्यक्रम सम्पन भइसकेको छ ।

भेलालगत्तै साउन ३० गते सम्पर्क समितिको बैठक बस्यो । बैठकले महोत्सवलाई व्यवस्थितरूपमा सम्पन्न गर्नका लागि कार्यसमितिलाई पूनर्गठन ग¥यो । जसमा अध्यक्ष समीर सिंह, उपाध्यक्ष विजयराज आचार्य, सचिव भावेश भुमरी, सहसचिव अस्मिता के.सी., कोषाध्यक्ष आविष्कार कला र सदस्यमा जीवराज भट्टराई, रिमा के.सी., काव्य आचार्र्य र ध्रुव बस्याल रहने गरी ९ सदस्यीय सम्पर्क समिति बनायौँ ।

सोही बैठकले हरिहर शर्मा, मणि थापा र गोपिन्द्र पौडेललाई सल्लाहकारमा चयन ग¥यो । बैठकमा महोत्सवको प्रमुख अतिथि कसलाई बनाउने भनेर पनि व्यापक छलफल ग¥यो । प्राथमिकताका आधारमा देहायका व्यक्तित्वबाट बनाउने निर्णय गरियो । प्राथमिकताका आधारमा सबैभन्दा पहिला मोहनविक्रम सिंहलाई अनुरोध गर्ने, दोस्रोमा मोहन वैद्य किरण, तेस्रोमा हरिहर शर्मा, चौथोमा मणि थापा, पाँचौँमा गोपिन्द्र पौडेल । सबै उपस्थित भए त्यहीअनुसारका वरियातक्रमअनुसारको आशनग्रहण गराउने पनि निर्णय गरियो । उल्लेखित व्यक्तिसँग सम्पर्क गर्ने जिम्मा हाम्रा सल्लाहकार डा. गोपिन्द्र पौडेललाई दिइयो । डाक्टर साबले नै दिएको जानकारीअनुसार मोहनविक्रम सिंह र मोहन वैद्य किरणले विभिन्न कारण देखाएर महोत्सवमा उपस्थित हुन नसक्ने बताएकाले नाट्यकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न गर्ने निर्णय गरी उमङ्गका साथ महोत्सव भव्यरूपमा सम्पन्न गर्ने सपना बोकेर निरन्तर खटिँदै रह्यौँ ।

भदौ १७ गते महोत्सवअघिको अन्तिम औपचारिक बैठक नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्यो । अघिल्लो बैठकले निर्णय गरेका प्रमुख अतिथि हरिहर शर्माले घरायसी कारण देखाई प्रमुख अतिथि भई प्यूठान जान असमर्थता देखाएको कुरा संयोजक गोपिन्द्र पौडलबाट जानकारी आएपछि चौथो विकल्पमा रहेका मणि थापालाई प्रमुख अतिथि बनाउने निर्णय ग¥यौँ । महोत्सवको सन्दर्भमा हुन लागेको जिल्लास्तरीय कविता प्रतियोगितामा निर्णायकको जिम्मेवारी कवि त्रय ठाकुर बेल्वासे, अनिल श्रेष्ठ र शान्ति प्रियवन्दनालाई दिने निर्णय ग¥यौँ । पाहुनालाई गन्तव्यमा पु¥याउने, बाटोमा खाना, खाजाकोे व्यवस्थापन गर्ने जिम्मा अध्यक्ष समीर सिंहलाई दिइयो ।

भालुबाङमा भेटेर सँगै प्यूठान जाने सल्लाह गरेर म बैठकको भोलिपल्टै कामको सिलसिलामा सुदूरपश्चिम गएँ । भावेश भुमरी, आविष्कार कलालगायतका साथीहरू काठमाडौँमा निरन्तर खटिनुभयो  । आर्थिक सङ्कलन र सहभागी पाहुना छनौट र निमन्त्रण गर्नमा ।

भौतिक रूपमा भेटघाट नै भएर बैठक नभए तापनि सामाजिक सञ्जालको प्रयोग गरी बैठक गर्ने, सरसल्लाह गर्ने कार्यलाई निरन्तरता दिइ नै रह्यौँ ।  असोज १० गतेको मिर्मिरे उज्यालोसँगै काठमाडौँलगायत विभिन्न ठाउँका पाहुना स्रष्टाहरू र हामी आयोजकको भेटघाट भालुवाङमा भयो । त्यहीँबाट बृहत् साहित्य महोत्सवलाई भव्य र सानदार तरिकाले सम्पन्न गर्न प्यूठानतिरको सहयात्रा प्रारम्भ ग¥यौँ । महोत्सवको सन्दर्भमा केके भए भन्ने वृतान्त अतिथि स्रष्टाहरू र अन्य साथीहरूका रचनामा आएकाले मैले त्यो पक्षमा थप लेख्नुपर्ने जरुरी भएन ।

भदौ १७ गतेको बैठकसम्म महोत्सवका सन्दर्भमा धेरै शारीर एउटै आत्माजस्तै थियो । जब म कैलाली पुगेँ, केही चलखेलको छनक पाउन थालेँ, खासमा प्रमुख अतिथिका बारेमा । मणि थापा राजनीतिक व्यक्ति भएकाले जिल्लाबाट असहमति भयो । साहित्यिक व्यक्तिलाई बनाउनुपर्छ भन्ने प्रस्ताव आयो । यस्तै उस्तै । जिल्लाका को महानुभाव हुन् मणि थापामा साहित्यिक व्यक्तित्व नदेख्ने । उहाँका जति स्तरीय कविता र गीत लेख्ने कतिजना प्यूठानी लेखक होलान् ? यस चलखेलमा प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडलको छनक पाइन्थ्यो ।

स्मरणीय कुरा के छ भने हामीले महोत्सवका लागि छलफलको पहिलो चरणमै प्राज्ञ गोपिन्द्र पौडेलको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न गरौँ भनेर उहाँसँग प्रस्ताव गरेकै हौँ ।

‘हुन्न, हुन्न, म हुँदै हुन्नँ । म त आयोजक नै भैहालेँ नि । मभन्दा अग्रजहरू हुनुहुन्छ । उहाँहरूलाई नै प्रमुख अतिथि बनाएर लैजानुपर्छ । त्यसो गर्न सक्दा धेरै राम्रो हुन्छ ।’ यो भनाइ हो प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेलको । उहाँले यसरी जिद्दी गरेकै कारण हामीले उहाँकै उपस्थिति र सल्लाहमा माथि उल्लेखित पाँच विकल्प खोज्न बाध्य भएका हौँ । त्यो निर्णयमा उहाँको पनि हस्ताक्षर रहेको छ ।

कुरालाई बाङ्गोटिङ्गो अर्थ नलागोस् भनेर के स्पष्ट पार्न चाहन्छु भने म मोहन वैद्य किरणले नेतृत्व गरेको पार्टीको लेखक संघमा आबद्ध छु । मलाई उदेक लागेको कुरा के हो भने मोहनविक्रम सिंह र मोहन वैद्यमा राजानीतिक फ्लेवर नदेख्नेले मणि थापामा कसरी राजानीतिक फ्लेवर देखे ? आफ्नो झिनो स्वार्थका लागि अग्रज स्रष्टाको मानहानी हुने गरी मानमर्दन गर्न उक्साउनु आपत्तिजनक कुरा होइन र ?

म कृतज्ञता र इमान्दारिताका साथ के स्पष्ट पार्न चाहन्छु भने प्रा. डा गोपिन्द्र पौडेल सर तन, मन र धनसहित यो महोत्सव सम्पन्न गर्न नहोमिनुभएको भए महोत्सव कुनै पनि हालतमा सम्पन्न हुने थिएन ।

महोत्सवको सन्र्दभमा दर्जनभन्दा बढी बैठक बसियो । ती सबै बैठक उहाँकै कार्यकक्षमा बसेको थियो । सबै बैठकमा मिठो मुस्कानसहित खाजा र चियाको व्यवस्था उहाँले आफ्नै व्यक्तिगत खर्चमा गर्नुभएको थियो । दुवै भेलामा गरिमामय उपस्थिति जुटाउन उहाँको मुख्य भूमिका थियो । आर्थिक सङ्लनमा पनि उहाँकै मुख्य योगदान छ । यसका लागि उहाँलाई स्यालुट गर्नैपर्छ ।

प्रश्न यतिमात्र हो कि, सुरुमा हामीले प्रस्ताव गर्दा  प्रमुख अतिथि बन्न अस्वीकार गर्नुभयो । पछिल्लो समयमा त्यही प्रमुख अतिथि बन्नका लागि चलखेलतिर लाग्नुभयो । उहाँको यस्तो व्यवहारले हामीलाई सोचमग्न त बनायो नै लज्जाबोध पनि भयो । उहाँको यही कमजोरीमा टेकेर कतिपयले हामीबीचमा खेल्दै हाम्रो सम्बन्धलाई भत्क्याइदिने प्रयत्न गरे । यो हाम्रा लागि दुर्भाग्यपूर्ण बन्न पुग्यो । यसमा गोपिन्द्र सर र हामी सबैले गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ ।

अर्को मलाई हदैसम्म ग्लानि गराएको विषय हो साहित्य परिषद् प्यूठानको आजीवन सदस्यता वितरणको सन्दर्भ । प्यूठानभन्दा बाहिर बसोबास गरेका स्रष्टालाई आजीवन सदस्यता दिँदा परिषद् र सिङ्गो जिल्लाप्रति अपनत्व महसुस हुन्छ भनेर सदस्यता वितरण गर्ने समझदारी भएको हो । त्यहाँ कोही कसैको पनि साहित्य परिषद् प्यूठानमा हस्तक्षप गर्ने मनसाय थिएन ।

हामी त साहित्य परिषद् प्यूठानलाई समृद्ध बनाउने पवित्र भावनाका साथ सदस्यता बढाउँदै गयौँ । मैले साहित्य परिषद्का अध्यक्ष नवराज आचार्यलाई दुई दिनसम्म दिनभरि स्कुटरमा राखेर प्यूठानीका घर, डेरा र कार्यस्थलहरूमा पु¥याएँ । उहाँ थकित हुनुभएको थियो । काठमाडौँबाट लमही पुगेपछि ज्वरोले गलेर एक हप्तासम्म सुत्नुभयो अनि मात्र कर्मथलो फर्कनुभएको थियो । उहाँले आजीवन सदस्यता वितरण पक्रियामा सक्रिय भएवापत सचिव ध्रुव गिरीेसमक्ष माफी माग्न बाध्य हुनुभएछ । यो जानकारी मैले उहाँबाट नभई अन्य स्रोतबाट पाएको हुँ । स्रोत भरपर्दो हो ।

परिषद्का सदस्य सचिव गिरीले आजीवन सदस्यतासम्बन्धी विधिविधानका कुरा सामाजिक सञ्जालमा धेरै उठाउनुभयो । मैलै उहाँको लेखनका बारेमा कुरा उठाउन मिलेन । मैले कसैको रचना नपढ्दैमा ऊ लेखक होइन त कसरी भन्न मिल्छ र ! उहाँ  विशिष्ठ लेखक हुनुहोला । आजीवन सदस्यताका बारेमा चाहिँ जो चोर उसको ठूलो स्वर भन्ने उक्ति सार्थक हुन्छ । जुनबेला उहाँ विधिविधानको कुरा गरिरहनुभएको थियो, त्यतिबेलासम्म आफैँले साहित्य परिषद् प्यूठानको कुनै सदस्यता लिनुभएको थिएन ।

यदि कुनै किर्ते नगर्ने हो भने उहाँ हामी धेरै जनाभन्दा पछि मात्र आजीवन सदस्य बन्नुभएको हो । आपूm कुनै सलस्यता नलिई कार्यसमितिको सचिव बन्ने, अरूलाई विधिविधानका कुरा उठाएर सदस्य बन्न रोक्ने दुस्प्रयास गर्ने ! नियम के हो ? कतै संस्था मेरो साखभन्दा माथि नउठोस् भन्ने दम्भले काम गरेको त छैन ? के यस विषयमा सचेत स्रष्टाले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्दैन ?

काठमाडौँमा हामीले जे जति खट्यौँ, त्यो साहित्य परिषद् प्यूठानकै लागि खटेका थियौँ । त्यसमा हामी कसैको पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह र स्वार्थ थिएन । पछिल्ला बैठकहरूमाा खास गरेर समीर सिंह, गोपिन्द्र पौडेलबाट सुनिथ्यो, ‘हामीले गरेको निर्णय प्यूठानबाट स्वीकार भएन । प्यूठानबाट असहमति भयो । काठमाडौँले प्यूठानलाई पेल्न मिल्दैन ।’ यस्ता कुरा किन गरिन्थ्यो, त्यो हामीलाई पनि हेक्का हुथ्यो । हामीलाई पूर्ण विश्वास छ, यी धारणा प्यूठानका एकजना र काठमाडौँका दुईजनाका मात्र हुन् ।

आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुको सट्टा अरूलाई छिर्के हान्नमा रमाउने मित्रलाई के नै पो गर्न सकिन्छ र ? यति चाहिँ सुझाव दिन सकिन्छ, अरूको खुट्टा काटेर आफ्नो उचाइ कायम गर्न सकिन्न । आफ्नै परिश्रम र इमान्दारिताले मात्र आफ्नो उचाइ बढाउन सकिन्छ ।

बृहत् साहित्य महोत्सव भव्यरूपमा सम्पन्न होस् भनेर सहृदयी व्यक्तिहरूले मन फुकाएर आर्थिक सहयोग गर्नुभएकै हो । उहाँहरूलाई हार्दिक आभार व्यक्त गर्नैपर्छ । यात्राका क्रममा पाहुनालाई कुनै असुविधा नहोस् र परिपक्वता प्रदर्शन होस् भन्ने अपेक्षा राखेर अध्यक्षलाई नै संयोजनको जिम्मा दिइएको हो । पाहुनालाई यातायात, खाना, बस्नमा जुन सुविधा दिन सक्थ्यौँ, त्यतो गर्न सकिएन । यसमा हामी साह्रै चुक्यौँ । खासमा काठमाडौँबाट प्यूठान जाँदा र फर्कंदा पाहुनाले साह्रै कष्ट मोल्नुप¥यो । ती दुःखका गुनासा आहिलेसम्म पनि सुनिरहनुपर्छ । यसमा क्षमा माग्नुभन्दा अरू के नै पो विकल्प छ र ?

हाम्रो मुख्य लक्ष्य स्तरीय स्रष्टा लगेर जिल्लाका महत्वपूर्ण स्थान घुमाउने, त्यहाँका बारेमा साहित्यका विविध विधामा रचना लेखाउने थियो । हामी स्तरीय लेखक छान्नुभन्दा पनि पार्टीगत भागबण्डातिर लाग्यौँ । त्यसले गर्दा पनि आयोजकमै पाहुनालाई हेर्ने दृष्टिकोण आआफ्नो हुन पुग्यो । हाम्रा समस्या जेजस्ता भए पनि निमन्त्रणालाई सहर्ष स्वीकार गरी हाम्रो जिल्लामा आइदिनुहुने आदरणीय स्रष्टाहरूमा पर्न गएको असुविधा र कठिनाइका लागि आयोजकको तर्फबाट क्षमा चाहन्छु । आगामी दिनमा यस्तो कच्चा व्यवहार प्रदर्शन हुने छैन भनी प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

कार्यक्रम त हामीले स्वर्गद्वारी, ओखकोट खलङ्गा, बाग्दुलामा ग¥यौँ । ती सबै कार्यक्रम सीमित घेरामा मात्र सीमित भए । हरेक ठाउँमा स्थानीय यति बृहत् भनिएको कार्यक्रमबारे वेखबर भएको देख्दा साह्रै खल्लो महसुस भयो । यस्तो किन भयो साहित्य परिषद्बाट गम्भीर समीक्षा गरीे आगामी दिनमा यस्ता कमीकमजोरी नदोहो¥याउने कुराका प्रतिबद्ध हुनुपर्छ । यस असफलताले हाम्रो कर्तव्य के हो ? जिम्वारी के हो ? त्यसलाई कसरी कार्यान्वन गर्ने भन्ने कुरामा इमान्दार र दत्तचित्त भएर लागिएन भने असफल भइँदो रहेछ भन्ने यो राम्रो शिक्षा हो ।

खासमा हामीले संयोजन गर्न सजिलो होला । प्यूठानी स्रष्टाहरूमाझ अपनत्व बढाउन सकिएला । कार्यक्रम भव्य बनाउन सल्लाह, सुझाव आउलान् भनेर म्यासेज ग्रुप बनायौँ । त्यो त आफ्नो खुट्टामा आफैँले बञ्चरो हानेजस्तो भयो । जसले आपूmले केही काम गर्दैनन् उनैले अर्काका बारेमा निराधार र कपोलकल्पित नकारात्मक टिकाटिप्पणी गर्ने गरे । कार्यक्रमलाई असफल पार्ने, भड्काउने मञ्चमा परिणत भयो म्यासेज ग्रुप ।

त्यो म्यासेज ग्रुपमा यतिसम्मका गविविधि भए कि व्यक्तिका बारेमा आधारहीन आरोप लगाउनेदेखि जिल्लास्तरीय कविता प्रतियोगितालाई राष्ट्रिय स्तरको या प्रदेश स्तरीय भन्नुपर्छ भन्ने बहस गर्ने थलो बन्यो । हामीले कामलाई सहज होस् भनेर बनाएको ग्रुप हामीलाई नै भालुको खप्परजस्तै भयो । यस्ता क्रियाकलाप गर्नेले के जिते कुन्नि ? उनैले जानुन् । कुनै पनि व्यक्तिलाई आधाहीन आरोप लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्नु जघन्य अपराध हो ।

यति पनि हेक्का नराख्नेहरू कदापि साहित्यकार हुन सक्दैनन् । त्यस्ता मान्छेमा नितान्त व्यक्तिवादी चरित्र हुन्छ । तिनले जस्तोसुकै गतिविधि गरे पनि भैहाल्यो । यस्तै गतिविधिबाट दिक्क भएर पवित्र उद्देश्यका साथ सुरु गरेको म्यासेज ग्रुपलाई बैठकबाटै निर्णय गरेर बन्द गर्न बाध्य भयौँ ।

समय धेरै अगाडि बढेको छ । २०४६÷४७ सालतिर जस्तो आस्था र पार्टी फरक हुनेवित्तिकै शत्रुताभावले हेर्ने मानसिकता बदलिएको छ । आस्था फरक भएका व्यक्तिहरूबीचमा पनि भावनात्मक सम्बन्ध हुन्छ र हुनुपनि पर्छ । हामीले बृहत् साहित्य महोत्सवको आयोजना कुनै पनि पार्टीको गोटी बनेर वा बन्नका लागि आयोजना गरेका थिएनौँ । हाम्रो त एउटै लक्ष्य थियो प्यूठानको संस्कृति, ऐतिहासिक स्थल, धार्मिक स्थल, प्राकृतिक स्थलका बारेमा स्थापित राष्ट्रिय स्तरका स्रष्टाहरूबाट विभिन्न विधाका सिर्जना गराउने । तिनै सिर्जनाको माध्यमबाट जिल्लाको साहित्यिक पर्यटनको प्रवर्धन गर्ने एक मात्र पवित्र उद्देश्य थियो ।

प्यूठानको राजनितिक चेतना २०४६÷४७ सालको भन्दा माथि उठ्न सकेको रहेनछ । त्यतै कतै थेचरिएको रहेछ । त्यसैले त हाम्रो जिल्ला छिमेकी जिल्लाको तुलनामा हरेक क्षेत्रमा पछि परेको रहेछ ।

आफ्नो वादको चपेटामा पर्नबाट बृहत् साहित्य महोत्सव अछूत रहेन । राम्रो होस् या नराम्रो निश्चित पार्टीमा आबद्ध भएका व्यक्तिले नै खोलेका होटलमा मात्रा खाना खानुपर्ने, बास बस्नुपर्ने । हुँदा हँुदा यतिसम्म भोग्नुप¥यो कि छेउछाउका राम्रा होटलमा कोठाहरू खाली छन्, कुनै एउटा होटलका छिँडी र छतमा सम्म डङरङ्ग पल्टिनुपर्ने ! पाहुनाका गुनासो सहनै नसकेर व्यक्ति व्यक्तिले अन्य होटलहरूमा सुताउनुपर्ने वाध्यता आइलागे । यिनै घटनाक्रमबाट थाहा हुन्छ हाम्रो चेतनास्तर कस्तो छ र जिल्ला पछाडि पर्नुका कारणहरू पनि ।

महोत्सव सम्पन्न गर्नका लागि अतिरिक्त खट्ने व्यक्तिमा पर्छाैँ हामी तीन– भावेश भुमरी, आविष्कार कला र म । तर महोत्सवभरि सबैभन्दा उपेक्षित हामी नै भयौँ । हामीले आयोजक हौँ, पछि छलफल गरौंँला भनेर चित्त बुझाएकै थियौँ । तर पाहुनाहरूमाथि पनि यति ठूलो पक्षपात भयो कि कुनै एकपट्टिको सामान्य कलाकारलाई भएका सबै कार्यक्रममा मञ्च दिइयो । केही आमन्त्रण गरिएको विशिष्ट कलाकार र स्रष्टाले त्यति धेरै कार्यक्रम हुँदा पनि एकपटक पनि मञ्च पाएनन् । पटकपटकको सुझावलाई पनि उपेक्षा गरियो । यहाँभन्दा निम्छरो मानसिकता के हुन सक्छ ? यसरी बोलाइएका पाहुनालाई उपेक्षा गर्नेले के जिते ? त्यो त उनैले जानुन् । म पनि आयोजक भएकाले जसले एकपटक पनि मञ्च पाउनुभएन, खासगरी कवि दीपेन्दसिंह्र थापा र वरिष्ठ कलाकार नारायण शर्मासँग आत्मालोचित हुँदै क्षमा माग्दछु ।

मुख्य आयोजकको संयोजनकारी भूमिका फितलो हुँदा भिङ्ग्रीबाट स्वर्गद्वारी पुग्नका लागि भोगेको कठिनाइ शब्दमा कसरी व्यक्त गर्न सकिन्छ र ? स्वर्गद्वारीमा सिडियो सुस्मा नेपालले देखाउनुभएको दम्भबाट स्रष्टाहरू अचम्मित भएका थियौँ ।

उद्घाटन कार्यक्रममा नै हाम्रा कुण्ठा र आवेश छरपस्ट भएर पोखिए । यसो हुनुहुँदैनथ्यो । यसको विजारोपण त्यही दिनबाट भएको थियो । जब काठमाडौँमा बसेका बैठकले गरेका निर्णयलाई प्यूठानबाट चुनौती दिन थालियो खासगरी एकजनाबाट । यस्तो हुनुमा अन्तिम क्षणमा आएर हाम्रै अग्रजलाई प्रमुख बन्ने लोभ पलाएर पनि हो ।

संस्थाको जिम्मेवार व्यक्ति भएर अरूले गरेका कामलाई चुनौती दिनतिर लाग्नुको सट्टा आफ्नो काममा इमान्दारीपूर्वक खटेको भए पक्कै राम्रो हुन्थ्यो होला । प्रचारप्रसार र व्यवस्थापन पक्षलाई कसिलो बनाएको भए यतिका कुरा लेख्नुपर्ने नै थिएन । अहिले पनि सोध्न मन लागिरहेछ, कुनै पनि कार्यक्रमममा स्थानीयहरू सहभागी भए ? कसैले जानकारी पाए बृहत् महोत्सव हुँदै छ भनेर ? के कार्यक्रम जति जनस्तरमा पुग्यो, त्यति नै आफ्नो गरिमा बढ्ने होइन र ?

हुन त, हिँड्नेलाई ठेस लाग्छ । रुख चढ््ने नै हो लड्ने । महोत्सबाट फर्केर हामीले बैठक बसी आआफ्नै पनि गम्भीर समीक्षा ग¥यौँ । हाम्रो त एकमात्र पवित्र लक्ष्य जन्मभूमिमा केही गरौँ । प्रारम्भमा साहित्य महोत्सव गरौँ । काठमाडौँमा स्थायी बासोबास गरेका व्यक्तिहरू फेरि प्यूठान फर्कंदा कसैको भाग खोसिँदैन । यही पवित्र उद्देश्यले हामीले आजीवन सदस्य बन्ने रुचि देखाएका हौँ । केही एक दुई व्यक्तिका शब्द र वचनबाट काठमाडौँबासी प्यूठानीलाई मानमर्दन गर्ने दुष्कार्यसम्म भयो ।

यी तीता अनुभवले हामीलाई के निष्कर्षमा पुग्न बाध्य बनायो भने एउटा जङ्गलमा दुईवटा सिंह बस्न सम्भव छैन । त्यसैले साहित्य परिषद् प्यूठान सम्पर्क समितिलाई विघटन गर्ने निर्णय ग¥यौँ । यसै लेखमार्फत अब उप्रान्त साहित्य परिषद् प्यूठानको काठमाडौँ सम्पर्क समिति नरहेको जानकारी पनि गराउँछु । म के पनि भन्न चाहन्छु भने यदि उहाँहरूलाई आपत्ति नभएमा आजीवन सदस्य रहिरहने  । आजीवन सदस्यको हैसियतले वा स्रष्टाका हिसाबले हामीलाई कुनै कार्यक्रममा सहभागी हुन अवसर मिले सहभागी हुने ।

अनुभवका आधारमा मलाई एउटा सुझाव दिनमन लागेको छ । अहिलेसम्म नेपाल सरकारले पेशागत सङ्गठनहरू खोलेर राजनीति गर्न छुट दिएको छ । जुनसुकै व्यक्तिले आफ्नो मुख्य पेशा के हो निश्चित गरी त्यस्तै सङ्गठनमा लाग्दा राम्रो हुन्छ । साहित्यकार– साहित्यिक संस्थामा, शिक्षक– शिक्षककै संस्थामा, टाइपराइटर त्यस्तै संस्थामा लागे संस्था र व्यक्तिको पनि उन्नति हुन्छ ।

विज्ञता एकातिर छ, अर्कोतिरको संघसंस्थामा लाग्दा त्यस्ता व्यक्तिले संस्थाको हितमा भन्दा आफ्नो फाइदाको पछाडि लाग्ने भएकाले संस्थाले अपेक्षित उपलब्धी हासिल गर्न सक्ने रहेनछ । यस विषयमा पनि साहित्य परिषद् प्यूठानले गम्भीर समीक्षा गरोस् । एउटा क्षेत्रको मानिस अर्को क्षेत्रको संस्थामा गएर नेतृत्वमा बस्नु भनेको एउटाको शरीरमा भएको पिलो अर्कोको शरीरमा हुलेजस्तै हुने रहेछ ।

कति गनगन गर्नु र ! निष्कर्षमा भन्नुपर्दा हाम्रा थुप्रै कमीकमजोरीका बावजुद बृहत् साहित्य महोत्सव भव्यरूपमा सम्पन्न भएको छ । यो हाम्रो पहिलो प्रयास थियो । कमीकमजोरी हुनु स्वाभाविकै पनि हो । अबका दिनमा काम गर्दै लैजाने प्रतिवद्धता जाहेर गरौँ । मनमा भएका रिस, राग, कुण्ठालाई हटाएर दृढ रूपमा एकताबद्ध बनौँ । हामी साहित्यकार भएकाले साहित्यको माध्यमबाट प्यूठान जिल्लालाई समृद्धिको शिखरमा कसरी पु¥याउन सकिन्छ, चिन्तन मनन गरौँ । जय साहित्य, जय प्यूठान !

अन्त्यमा मैले जे देखेँ, जे अनुभव गरेँ र जे भोगेँ त्यसलाई जस्ताको त्यस्तै प्रस्तुत गरेको छु । कसैलाई होच्याउने, कसैलाई थेच्याउने र कसैलाई उफार्ने मेरो नियत होइन । यसरी यथार्थ परिघटनालाई प्रस्तुत गर्दा हामी सबैलाई आत्मसमीक्षा गर्दै अगाडि बढ्न मद्दत पुग्ला भनेर यो यथार्थपरक टिपोर्ट लेखेको हुँ ।

हामीले सफलतामा मात्र प्रफुल्लित नभई कमजोरीलाई पनि आत्मसाथ गर्नुपर्छ जस्तो लाग्छ । मेरा पनि धेरै कमीकमजोरी छन् । समयको बगाइसँगै सच्चाउने प्रयत्न गर्दै छु । मैले भोगाइलाई जस्ताको त्यस्तै प्रस्तुत गरेँ । यसबाट कोही मान्यवरलाई व्यक्तिगत आँच पुग्न गएमा शिर निहुराएर क्षमा माग्दछु । धन्यवाद !

 

(२०८० असार १४ गते)

कीर्तिपुर- ६, टौदह, काठमाडौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार