बाढीको घुटुक्क बाडुली

(समीक्षा)

  छत्रमान सुब्बा  269 पटक हेरिएको

उत्तरआधुनिक नेपाली साहित्य सिद्धान्तका चिन्तक डा. गोविन्दराज भट्टराईको भूमिकामा सजिएको ‘ब्लु प्लानेट’भित्र पन्ध्रवटा कथा छन् । ‘ब्लु प्लानेट’ विजय हितानद्वारा लिखित कथासङ्ग्रह हो । पर्यावरणीय सिद्धान्तको कसीमा नवचेतनाले सजाइएका कथाहरूको यो ग्रन्थ पठनीय छ । यसभित्रका कथाहरूले घटना र परिवेशलाई मात्र वर्णन गर्ने हाम्रो लेखनको पारम्परिक शैलीलाई चिर्न सफल भएका छन् । सबै कथाहरूमा अलि भिन्न रस, राग र विचार अभिव्यक्त गरिएको पाइन्छ । यसरी पर्यावरणजस्तो नवीन एवम् गहन चेतनालाई पक्रेर लेखिएको ‘ब्लु प्लानेट’ सम्भवतः नेपाली साहित्यका पाठकहरूका लागि पहिलो पर्याकोशेली हुनुपर्छ । यस्तो नवीनतम् सोचयुक्त कृतिको एउटा कथा ‘बाढीको घुटुक्क बाडुली’माथि पाठकीय प्रतिक्रिया कोर्ने अवसर जुरेको छ मलाई । यस अर्थमा मैले आफूलाई सौभाग्यशाली महसुस गरेको छु । किनभने, मानव कल्याणका निम्ति मानवेत्तर जगत्लाई पनि सुरक्षित राख्नुपर्छ भन्ने जुन चेतना र सङ्कल्प लिएर कथाकार हितान अघि बढेका छन्, त्यसको मूल्याङ्कन यो जगत्ले गर्न थालिसकेको छ । हितानको जस्तो उद्देश्यपूर्ण र मार्गदर्शन दिलाउने लेखन मात्र अबका पाठकले रुचिका साथ ग्रहण गर्ने छन् भन्ने मलाई लागेको छ । कागज मात्र कालो पारेर पाठकको समय बर्बाद पार्ने साहित्य लेखनको जमाना अब बित्यो भन्ने कुरा हितानका कथाहरूले दर्शाउँछन् ।

‘बाढीको घुटुक्क बाडुली’ शीर्षकको यस कथामा सत्तरी वसन्त पार गरेका एक बृद्धले बल्ल सुखको अनुभव गरेको देखिन्छ । त्यो अनुभूति मनले होइन, शरीरले । मन त सधैँ पिरोलिन छोडेको हुँदैन । शरीरले भने जीवनको उत्तरार्धमा न्यानो ओत पाएको हुन्छ । यसअघि प्राकृतिक प्रकोप र त्यसले ल्याउने विपदकालको सामना गर्दै बाँचेका हुन्छन् उनी । तीनतीनपल्ट बाढीका कारणले स्थानान्तरण हुँदै आखिरमा बृद्धाश्रम छिर्नुपर्दा उनमा एक प्रश्न उदाउँछ, ‘आखिर कसले बनायो त्यो स्वतन्त्र जीवनलाई पिँजडाको सुगाजस्तै बाँच्न बाध्य ?’

कथामा ती बृद्ध पात्र जलवायु परिवर्तनजस्तो मानव सिर्जित समस्याबारे सचेत रहेको चित्रण गरिएको छ । उनले उडाउने, डुबाउने, जलाउने र पुरिनेजस्ता प्रकृतिका विनाशकारी पलहरू निरन्तर सुन्दै, देख्दै अनि भोग्दै आएका छन् । नेपालमा कोशीले मधेस डुबाएको, बङ्गलादेशमा चक्रपातले घरका छाना उडाएको, माल्दिभ्समा सामुद्रिक सतह बढ्दा बस्ती डुबानमा परेका जस्ता दृश्य उनले बृद्धाश्रमको टेलिभिजनमा हेरेका छन् । नेपालमा चारकोसे झाडी जलेको, अष्ट्रेलिया, क्यालिफोर्निया र ब्राजिलका जङ्गलहरू डढेलोमा स्वाहा भएका समाचार रेडियोमा सुन्दै  पनि आइरहेका छन् । यी सबै घटना जलवायु परिवर्तनका कारण घटित भन्ने वैज्ञानिक मान्यतालाई पनि उनले बुझ्न थालेका छन् ।

विकासको नाममा प्राचीन र सुन्दर बस्तीहरू मानिसले जवर्जस्ती छोड्नुपर्ने बाध्यता हामीले देख्दै आएका छौँ । यस कथामा पनि जलविद्युत् उत्पादनका लागि बाँध निर्माण गर्नुपर्ने हुँदा एउटा प्राचीन बस्ती नै उठाउनुपर्ने हुन्छ । जुन बस्तीका एकजना निवासी ती बृद्ध पात्र पनि हुन्छन् । सम्पूर्ण बस्तीलाई बाँधको तल्तिर सारिन्छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि परन्तु हिमपहिरोले हिमताल फुट्न जाँदा खोलामा बाढी आउँछ अनि बाढीले बाँध भत्काउँछ । बाँध भत्केपछि बाढीले विकराल रूप लिन्छ । अनि ती बृद्धको बस्ती सोहोरपटार पारेर बगाइदिन्छ । नियतिले धन्न ती बृद्ध परिवारसहित बच्न सफल हुन्छन् ।

कथाको यो एक अङ्शले मेरो मन खुबै छुन्छ ।

‘…… बगायो सिङ्गै बस्ती । त्यहीँ हरायो पूरै गाउँ, त्यहीँ हराए निरीह गाउँले । बग्यो अँध्यारोसँग साटिएको उज्यालोको सपना……..।’

भर्खरै निर्माण गरिएको बाँध त्यति सजिलै कसरी भत्कियो अनुसन्धानका प्रयास भए । तर एउटा मानवबस्ती त्यो भूगोलदेखि सदाका लागि बिलाएर गयो ।

यहाँसम्म ‘बाढीको घुटुक्क बाडुली’ पढेपछि मेरै बाल्यकालको घटना स्मृतिमा अमिलो बनेर दोहोरियो । म सातआठ वर्षको हुँदो हुँ । बाजेबजू, बाआमा घरमा थिएनन् । मलाई ठूली दिदीसँग घरमा छोडिएको थियो । तटबन्ध भत्केर ब्रह्मपुत्र नदी बस्तीमा पसेपछि सारा भेग डुबानमा प¥यो । यस्तो विपत्तिमा कसले कसलाई हेर्ने, बचाउने, सघाउने ? आफ्नै जहानपरिवार, वस्तुभाउदेखि खानेबस्नेसम्म बाढीको भलमा पुरिएपछि कसको के चल्छ र ! घरको आँगनले नै कम्मर कम्मर पानीभित्र डुबुल्की मार्दै थियो । बाटाघाटा नदीमा परिणत भए । मोटर गुड्ने ठाउँमा डुङ्गा कुद्न थाले । सुत्ने खटिया पानीमाथि तैरिँदै थियो । उद्दार गर्न नसकिएका गाईवस्तुका लाशहरू बगेर जाँदै थिए । ती कति त घारामा अल्झिएका पनि देखिन्थे । कति घरभित्रै छिरेर दुर्गन्धमा परिणत भएका थिए । तिनका शवलाई ठूल्ठूला माछाले कोपर्दा कम्ति ठूला आवाज निस्केन पानीमा ! यस्ता आवाज भूतप्रेतले निकालेका हुन् भनी कतिले घरै त्यागेर हिँडे । मालिक नभएपछि घरमा चोरहरू पसे । रातमा काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट ओबानो आश्रयस्थल खोज्दै आएका गैँडा, हात्ती, भालुजस्ता वन्यजन्तुसँग पनि जम्काभेट भयो । गाउँलेलाई तिनै वन्यजन्तुले टोक्ने, मार्ने पनि गरे ।

यी सबै प्रकृतिमाथि मानिसले गरेको अत्याचारको बदला रहेछ अहिले बुझ्दा । म स्वयम् बाढीपीडित भएकाले यस कथाले मलाई निक्कै तान्यो ।

केही दिनपछि हाम्रो बस्तीको बाढी विस्तारै सुक्दै गयो । मलाई घरमा छोडेर दिदी गाईगोरु हेर्न तटबन्धमा जान्थिन् । आधा भाग पानीमा डुबेको खाटमा राति दिदीभाइ सुत्थ्यौँ । गहिरो निद्रा परेको बेला म खाटबाट सिरकसँगै पानीमा खसेछु । दिदीले छाम्दा सँगै सुतेको सिरक पनि छैन, भाइ पनि छैन । धन्न दिदीले चाल पाइहालिछन् र मलाई उठाएर काखमा राखिछन् । अहिले सम्झन्छु, म कसरी डुब्नबाट बचेछु ? कथाका ती बृद्ध पात्र पनि आफ्ना परिवारसँग कसरी बच्न सफल भएछन् मजस्तै ? म बडो सोचमा पर्छु । मेरो घटनामा म होसमा आउँदा दिदी झाँक्रीजस्तै जोडसँग काम्दै थिएन् । दिदीको त्यो कम्पन डरले हो या जाडोले ? मैले ठम्याउनै सकिनँ । मलाई केही भा’को भए बाले दिदीलाई घरमा बस्न दिने थिएनन् । अहिले न ठूली दिदी छिन् न त मेरा बा नै ! विगतका ती तिता यादहरू यो कथाले बल्झाउँदा कथाका ती बृद्ध पात्रले मेरो बाको सम्झना दिलाए मलाई ।

अब फर्केर पुनः ‘बाढीको घुटुक्क बाडुली’मा जाऔँ । बाँध फुटेर बाढीले बस्ती बगाएपश्चात बाढीपहिरोले नभेट्ने जग्गामा सर्ने इच्छा थियो ती बृद्धको । परन्तु नियतिले नदी किनारामै बस्न विवश बनाउँछ । सरकारले मधेस झारेर त्यही नदीकै किनारमा जग्गा दिई राख्छ । त्यहाँ पनि वर्षदिनभित्रै पुरानै शङ्कटको सामना गर्न पुग्छन् । एकदिन जहानपरिवारलाई घरमा छाडेर नातिनीको साथमा बृद्धभत्ता थाप्न जान्छन् । फर्केर आउँदा सिङ्गो सुकुम्बासी बस्ती नै सखाप पारिसकेको थियो दिनभरको भारी वर्षातले । अब रहेका बूढाबा र नातिनीको जीवनमा न बस्नेखाने टुङ्गो रह्यो, न त कोही आफन्तजन नै रहे । आफ्ना भएका जीवनसङ्गिनी र छोराबुहारी गुमाएपछि मर्नुभन्दा बौलाउनु निको भन्ने स्थितिमा पुगे बूढा । अनि नातिनी अनाथालयमा, आफू भने बृद्धाश्रममा ।

त्यसपछि त असहाय बूढाबा मानसिक पीडामा पर्छन् । बेलाबेलामा आत्महत्या गर्नेजस्तो सोच उमार्दै नातिनीका लागि भएपनि मरीमरी बाँचिदिने प्रण गर्छन् । बाढीका कारणले आफ्नै देशमा आप्रवासीजस्तो भएर बाँच्नुपरेको अवस्था सिर्जना हुन्छ । बृद्धाश्रमलाई पनि आप्रवासी शिविरसरह ठान्छ्न् ।

कथामा आवश्यक वातावरण प्रभाव मूल्याङ्न नगरी विकासनिर्माणका कार्यहरूलाई अगाडि बढाइएको सन्दर्भ छ । मानवीय बस्ती र वन्यजन्तुको बासस्थान नष्ट पारेर विद्युत् उत्पादनार्थ खोलालाई थुनेर बाँध निर्माण गरिन्छ । एकापट्टि निर्माण र अर्कोपट्टि विनाश हुँदै गरेको घटना कथाले बताउँछ । यसरी आधुनिक विकासनिर्माणका योजनाहरू मानवकेन्द्रित मात्रै होइन, मानवेत्तर जगत्लाई पनि कुनै नकारात्मक असर नपर्ने गरी अघि बढाइनुपर्छ । हाम्रा प्रत्येक पाइलामा प्रकृतिको संवेदनालाई आत्मसात् गरिएको हुनुपर्छ । प्रकृतिबिना मानव रहने छैन तर मानव नभए पनि प्रकृति रहिरहने छ । बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति धेरै हदसम्म मानवीय गतिविधिले सिर्जना गर्छन् भन्ने सचेतना पाठकमाझ पु¥याउन कथाकार सफल भएका छन् । वातावरणीय समस्याहरू के छन्, यसका कारक तत्व केके हुन् र समाधानका उपाय केके छन् भन्ने ज्ञान यस कथासहित ‘ब्लु प्लानेट’का सबै कथाहरूले पनि दिएको मैले महसुस गरेको छु । यस्ता मानव हितका लागि महत्वपूर्ण ठहरिएका कृतिहरू पढिदिएर, यसउपर समीक्षा अर्थात् समालोचना गरिदिएर लेखकलाई हौसला प्रदान गरिनुपर्छ । लेखकलाई समाज र राष्ट्रले सम्मान गर्न सक्नुपर्छ अनिमात्र अरूलाई पनि यस्तो धारको साहित्य लेख्न उत्प्रेरणा मिल्छ । यसै सन्दर्भमा भन्नुपर्दा भारत सरकारले प्रकृतिप्रेमी दुई नारीलाई पद्मश्री सम्मान प्रदान गरेको छ । असमिया लेखिका अनुराधा शर्मा पुजारीले ‘यहाँ एउटा अरण्य थियो’ नामक पर्यावरणीय उपन्यासमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी छन् ।

‘नेपाली कवितामा परिवेश’ डा. देवचन्द्र सुब्बाद्वारा लिखित पर्यासाहित्य समालोचनाको पुस्तक हो । यस पुस्तक र ‘बाढीको घुटुक्क बाडुली’भित्रका केही सन्दर्भमा मेल खाएको पाइन्छ । डा. सुब्बाले आफ्नो पुस्तकमा प्राचीन क्रिस्चियन र युनानीको मान्यताअनुसार प्रकृति ईश्वरले मानिससँग वार्तालाप गर्ने प्राथमिक र साङ्केतिक व्यवस्था हो भनी उल्लेख गरेका छन् । यस मान्यताअनुसार प्रकृति निरन्तर मान्छेसँग वार्तालापमा हुँदोरहेछ । यसको तात्पर्य के हो भने प्रकृतिले मानिसलाई सबैसँग सहअस्तित्वमा रहेर जिउन सिकाउँदो रहेछ भन्ने मलाई लाग्छ । तर हामी मानिसले त्यो ज्ञानलाई ग्रहण गर्न नसक्दा यस कथाकै पात्रले जस्तो पीडा भोग्नुपर्दोरहेछ । भौतिक विकास अथवा औद्योगिक उन्नतितिर मानवसमाज उन्मुख हुँदैगर्दा पारिस्थितिक प्रणालीको सन्तुलन खलबलिएको मानिसलाई चेतना भएन । जसको परिणाम यस कथामा उल्लेख गरिएसरी हिमताल पग्लियो, अतिवृष्टि भयो र बाँध भत्किन जाँदा नदीको तल्लो भेगमा अवस्थित बस्ती बाढीले उजाडियो । चाल्र्स डार्बिनले मानवविकासको सिद्धान्त प्रतिपादन गरेका थिए । जसअनुसार मानव र मानवेत्तर प्राणीजगत्को आरम्भ बिन्दु एउटै थियो । हामीले यही वैज्ञानिक तथ्य अनुसरण गर्न नसक्दा पृथ्वीमातालाई दुःख परेको भन्ने कुरा यस कथामा दर्साउन खोजिएको छ ।

पूर्वीय सभ्यतामा प्रकृतिप्रेमका अनेकौँ दृष्टान्त पाइन्छन् । आवश्यकता नपरेसम्म एउटा पात पनि नचुँढ्नू भन्ने उपदेश दिइन्छ । प्रकृतिका वनस्पति तथा वन्यजन्तुप्रति ईश्वरसरह सदाचार राखिनुपर्छ भनिन्छ । प्राचीन कालदेखि नै हाम्रा पुर्खाले पर्यावरण नष्ट गरेर होइन, पर्यावरणसँगसँगै रहेर जिउनुपर्छ भने । संसारमा जसले सबैभन्दा धेरै प्रकृतिरूपी मातालाई प्रेम गर्छ, त्यो नै वास्तवमा श्रेष्ठ मानव हो । तर, विकासको नाममा अहिले ठीक उल्टो भएको छ । प्रकृतिको दोहन गर्दै ठूल्ठूला संरचना निर्माण गरिँदै छ । फलस्वरूप मानवले बाढीपहिरोजस्ता प्रलय अत्यधिक मात्रामा भोग्नुपरिरहेको छ ।

अब हाम्रा साहित्यिक लेखन यस्ता समस्या किन हुन्छन् र तिनका समाधान केके हुन सक्छन् भन्नेतिर मोडिन आवश्यक छ । यसरी नयाँ विषयवस्तुको उठान गरेर आम मानिसलाई सचेतना प्रदान गर्न यो कथा सफल भएको छ । म स्वयम्ले पनि धेरैपल्ट प्राकृतिक प्रकोप भोगेर जीवनभित्रबाट जीवन चियाउनुपरेको हुनाले ‘बाढीको घुटुक्क बाडुली’ कथाले मेरै जीवनको कथा बोलेको अनुभूत गरेको छु । आशा गर्छु, यस कथाले अन्य पाठकको पनि अवश्यै मन छुने छ । पर्या अभियन्ता हितानको यो सिर्जना सधैँ मानवसमाजमा स्तुत्य भएर रहने छ । हो, वातावरणका विषयवस्तु विज्ञानसम्वत हुन्छन् । अब विज्ञान र वैज्ञानिकले मात्रै होइन पर्यावरणको संरक्षण गर्ने । साहित्यकारले पनि पर्यावरण असुरक्षाका कारक केके हुन् भन्ने कुरा पैल्याउँदै यसको संरक्षणमा समग्र मानवसभ्यता बचाउन दायित्वबोध गर्दै कलम चलाउनुपर्ने देखिन्छ ।

पुछारमा, कथाकारलाई मेरा केही सुझाव पनि छन् । कथाका मूल पात्र ती बूढाबा आफ्नो जीवनकालमा तीनतीनपल्ट स्थानान्तरित भएका छन् । यसर्थ कथाको शीर्षक ‘बाढीको घुटुक्क बाडुली’ भन्दापनि ‘पर्यावरणीय शरणार्थी’ राखेको भए उचित हुन्थ्यो । कथाको अन्त्य पीडादायी अवस्थामा हुन्छ । अविरल वर्षाका कारण बृद्धाश्रमको भवन डुब्दै गरेको अवस्थामा बूढाबा बिस्तरामा पसेका हुन्छन् । भोलि बिहान ब्युँझन सकुँला या नसकुँला भन्ने दोधारे मनमुटु लिएर । पीडा र बिछोडमा भन्दा हर्ष र मिलनमा कथा टुङ्गिएको भए कथाको महत्व अझ अर्थपूर्ण हुने थियो । यद्यपि नेपाली साहित्यजगत्मा यस्तो नवीनतम् धारको कथा प्रस्तुत गरेकोमा कथाकार हितानलाई अनेक शुभकामना !

तेजपुर, असम, भारत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार