चिम्खोले काइँला दाजुसँगका अन्तरङ्ग कुरा

(समीक्षा)

  भावेश भुमरी  196 पटक हेरिएको

गत वर्षदेखि मैले साहित्यकार दाजु चिम्खोले काइँला (दुत पुन) द्वारा लिखित तथा सम्पादित तीन किताबहरूको भाषा सम्पादन गर्दै आएको छु । दाजुले आफ्नो व्यक्तित्वका बारेमा मलाई पनि केही लेख्न भन्नुभएको थियो । तत्समयमा म उहाँकै नियात्रासङ्ग्रह ’गोलाद्र्धलाई चक्कर मार्दा‘को भाषा सम्पादन गर्दै थिएँ र भूमिकातिर घोत्लिँदै पनि थिएँ । नियात्रासङ्ग्रह प्रकाशन भयो । कार्यक्रम गर्ने भन्दै दाजु बेलायतबाट नेपाल आउनुभयो तर कोरोनाको महामारीले लकडाउनमा फस्नुभयो र कुनै खबर नगरी सुटुक्क बेलायत फर्किनुभयो । यो तीन महिनादेखिको लकडाउनभरि जीवन र मृत्युको भयानक त्रासमा कोठाभित्रै बन्दी दैनिकी बिताउँदा केही लेख्न र पढ्न मन लाग्दैन ।

चिम्खोले काइँला दाजुले म्यासेन्जर कलमा आफ्नो व्यक्तित्वको किताब डिजाइनमा पठाउने भनिसक्नुभयो तर मैले केही लेखेकै छैनँ । वास्तवमा मलाई दाजुका बारेमा विशेष रुपले लेख्नैपर्ने कुरा छन् भन्ने पनि लागेको छैन । दाजुका आफन्त र शुभचिन्तकहरूले सबै कुरा लेखिसक्नुभएको छ । दाजुका पुस्तकहरू सम्पादन गर्ने क्रममा जेजति कुरा आएका छन्, मैले पढिसकेकेको छु । यतिबेला भन्न सक्छु, पछिल्लो चरणमा सायद काइँला दाजुका सिर्जना सबैभन्दा बढी मैले नै पढेको हुँला । उहाँका सिर्जना पढ्नु भनेको उहाँलाई पनि पढ्नु हो । अर्थात् उहाँका आयामहरूसँग म परिचित छु । उहाँप्रति अरुका केकस्ता विचार छन् भन्ने कुरा पनि यस व्यक्तित्व पुस्तकको भाषासम्पादनमा पढिसकेको छु ।

यतिबेला मैले चिम्खोले काइँला दाजुको व्यक्तित्व र कृतित्वका बारेमा सविस्तार पुष्टि गर्नुपर्छ भन्ने ठानेको छैनँ । मैले खोजेको विषय भनेको दाजुसँग अन्तरङ्ग मानिने मेरा केही मसिना कुरा हुन् । जुन कुरा मैले लेखेर सार्वजनिक गर्नुपर्छ भन्ने सोचेको पनि थिइनँ ।

वि. सं. २०६४ मा मैले दोस्रो एल्बम ‘भावना’ बजारमा ल्याएँ । त्यसो त पहिलो एल्बम ‘भरोसा’ निकाल्दाको घाटाले म रन्थनिएकै थिएँ । त्यस्तो हुँदाहुँदै पनि गीत लेख्ने, रेकर्ड गर्ने र एल्बम निकाल्ने नशा भने चढ्दो अवस्थामा थियो । त्यतिबेला अडियो क्यासेट बनाउने चलन थियो, सीडी निकाल्ने चलन पनि बढ्दै थियो । मैले अडियो क्यासेट डबिङ गरी कोठामा थुपारेको थिएँ भने आफैँले कोठामा कपी गरेर केही सय प्रति सीडी पनि तयार पारेको थिएँ । पहिलो एल्बम त छँदै थियो । कम्पनीले बेचिदिने अवस्था थिएन । आफूले कसरी बेच्ने र दुईचार हजार जम्मा पार्ने भन्ने सोचले रातभरि निद्रा आउँदैनथ्यो । कहीँ केही प्रति सीडी बिक्री हुन्छ कि भनेर साइबरमा बसी विदेशमा कार्यरत नेपालीहरूसँग मेलमा कुरा गर्थें । त्यतिबेला दुत पुन दाजुलाई पनि मेल पठाएको थिएँ । मेरो मेलको उत्तर दिँदै केही प्रति सीडी पठाइदिनुहोस् भन्नेहरूमा दुत दाजु पनि हुनुहुन्थ्यो । दाजु पुनमगर हुनुभएकाले मैले अलि नजिकको अभिभावक पनि सम्झेको थिएँ । मैले कसरी पठाउने भन्ने बारेमा पुनः मेल पठाएँ । दाजुले मेलबाटै नेपाल मगर संघको कार्यालयमा छाडिदिन भन्नुभयो ।

केही सीडी र मेरा एकएक प्रति किताब प्याक गरेर म काठमाडौँ, कलङ्कीस्थित नेपाल मगर संघको कार्यालयमा पुगेँ । तत्कालीन अध्यक्ष झकबहादुर थापालाई उहाँको कार्यकक्षमा भेटेँ । मैले उहाँलाई आफ्नो कुरा राखेँ । ‘नेपाल मगर संघ साहित्यकार, कलाकारको किताब, सीडी बोक्ने संस्था होइन ।’ भनी अध्यक्ष थापा निक्कै जङ्गिनुभयो । उहाँले मगर साहित्यकार र कलाकार मगर संघको अन्डरमा नरहेको भन्दै रोष पनि प्रकट गर्नुभयो । म नाजवाफ भएँ । मैले अन्य कुरा गर्न उचित ठानिनँ केवल दुत पुन दाजुले संघको कार्यालयमा छाड्न भन्नुभएको हो भनी अनुरोध गरेँ । उहाँले खोइ के सोच्नुभयो कुन्नि, कोही जाने मान्छे भए पठाइदिउँला भन्ने बचन दिनुभयो । सीडीको पोको कार्यालय सहायकलाई बुझाउन भन्नुभयो । सीडी र किताबको सो पोको मैले कार्यालय सहायकलाई थम्याएँ ।

त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जामा सक्रिय थिइनँ म । सामाजिक सञ्जाल मेरो पहुँचमा थिएन, सर्वसुलभ पनि थिएन । मैले सोचेँ, मेरो सीडी दुत दाजुकोमा पुग्यो होला । दुत दाजुसँग कुनै कुरा भएन, मैले नेपाल मगर संघलाई पनि सोधिनँ । समय बित्दै गयो । डेढ वर्षपछि म मगर सांस्कृतिक संघको महासचिव भई नेपाल मगर संघको कार्यालयमा गएँ । त्यतिबेला मैले दुत दाजुलाई पठाउन छाडेको सीडी र किताबको पोको भ¥याङमुनि फोहोरसँगै धुलैधुलोमा लपेटिएको देखेँ । त्यहाँ अन्य व्यक्तिका सामानहरू पनि लथालिङ्ग अवस्थामा थिए । मैले तत्कालै कार्यालय सहायकलाई सोधेँ । यस्ता सामान संघबाट पठाइन्न भन्ने उत्तर आएपछि सो पोको पुछपाछ पारी ब्यागमा राखेँ र फर्काएँ ।

केही समयपछि मेरा साथी साहित्यकार लाल राना बेलायती सेनाबाट छुट्टी मनाउन काठमाडौँ आउनुभयो । उहाँसँग भेट भयो, मैले भनेँ, ‘दुत दाजुका लागि सीडी लगिदिनुस् न ।’ उहाँले केही प्रति सीडी बेलायत लगिदिनुभयो । समय लगातार बगिरह्यो, हामी सम्पर्कबाट टाढा नै भयौँ ।

एक दिन अपरिचित विदेशी नम्बरबाट फोन आयो, मैले फोन उठाएँ । दूत दाजु हुनुहुँदो रहेछ । उहाँले सीडी बिक्री गरी १२००० रुपैयाँ अभिनन्दन चौधरीलाई पठाएको कुरा गर्नुभयो । पुतलीसडकमा गई पैसा लैजानुहोला पनि भन्नुभयो । दुत दाजुको कुराबाट म आश्चर्यमा परेँ । किन कि त्यस बीचमा हामीबीच कुनै सम्पर्क थिएन । मैले धेरैलाई पठाएका सीडीका बारेमा कुनै खबर आएका थिएनन् । अधिकाङ्श त अहिले पनि बेखबर नै छन् । कैयौँले सम्पर्क विच्छेदसमेत गरेका छन् ।

म अर्को दिन पुतलीसडकस्थित अभिनन्दन चौधरीको कार्यालयमा पुगेँ र दाजुले पठाउनुभएको रकम बुझेँ । मलाई निक्कै खुसी लाग्यो । दाजुप्रति आदरभाव पनि बढ्यो । त्यसरी सीडी बिक्री गरेर पैसा पठाउने पहिलो व्यक्ति दुत दाजु नै हुनुहुन्थ्यो । केही महिनापछि हङकङबाट नेत्र पहराईले पनि पैसा पठाउनुभयो । मेरा सिर्जनाले विदेशबाट हौसला पाए भन्ने अनुभूति गरेँ ।

मैले २०६९ सालमा तेस्रो एल्बम ‘भूमिका’ सार्वजनिक गरेँ । गीतहरू एफएमहरूमा बज्न थाले । त्यतिबेलै मैले फेसबुक पनि चलाउन थालेँ । फेसबुकमा दुत दाजु पनि जोडिनुभयो । थोरै धेरै कुराका माध्यमबाट हामी एकप्रकारले नजिक हुन थाल्यौँ । दाजुले आफ्नै भाइलाई जस्तै गर्दै आउनुभएको व्यवहार मेरा लागि नजिक हुने अवसर बन्यो ।

मेरा गीतहरू बीएफबीएस रेडियोमा बज्थे । दाजु गीतहरू सुनेर मलाई हौसाउनुहुन्थ्यो । म एल्बम निकाल्ने नशामै थिएँ । साहित्यकार विजय हितान दाजु बेलायतबाट नेपाल आउनुभएको थियो । हामीबीच ललितपुरको महालक्ष्मीस्थान चोकमा भेट भयो । हिनात दाजुसँग पनि निरन्तर सम्पर्क हुन थाल्यो । फेरि नेपाल आउँदा उहाँले मलाई बेलायत घुमाउने सपना देखाउनुभयो । मेरो बेलायत भ्रमणको सपना दुत दाजुसँग पनि जोडियो । विजय दाजुको अगुवाइमा मेरो बेलायत जाने तयारी पूरा भयो, म २०७५ सालको जेठ महिनामा बेलायत उडेँ । मेरो मुख्य बास विजय दाजुको घर थियो भने अभिभावक पनि उहाँ नै हुनुहुन्थ्यो ।

जेठ १९ गते शनिबारका दिन विजय हितान दाजुले मलाई फोक्सटोनबाट मगर संघ युकेको बैठकका लागि कारयात्रामा फान्ब्रो फुटबल क्लबको कारपार्कमा पु¥याइदिनुभयो । दुत दाजु पनि कारपार्कमा पुगिसक्नुभएको रहेछ । हम्रो पहिलो भौतिक भेट त्यहीँ भयो । मलाई भेट्दा दुत दाजु खुसी हुनुभयो, म खुसी नहुने त कुरै थिएन । दाजुले मेरो यात्रा र बसाइँका बारेमा सोध्नुभयो । ‘हामी छौँ, चिन्ता नगर्नुस् ।’ भन्दै मलाई ढाडस दिने काम पनि गर्नुभयो । त्यतिबेलै दाजुले मलाई आफ्नो घर न्युबरीमा पनि बोलाउनुभयो । मगर संघको बैठक र डिनरपछि हामी छुट्टियौँ । म बम थापा सूर्यवङ्शी दाजुसँगै उहाँको घर लण्डनतिर लागेँ । जेठ २६ गतेका दिन विजय हितान दाजुसँग म मगर संघ युकेद्वारा आयोजित नेपाली ओपन कन्सर्ट, फान्ब्रो फुटबल क्लबको ग्राउण्डामा पुगेँ । मैले दुत दाजुलाई कार्यक्रम सफल पार्न निक्कै व्यस्त भएको देखेँ । दाजु मलाई देख्नसाथ निक्कै खुसी हुनुभयो र मेरो छेउमा आएर मेरो बसाइ र दैनिकीका बारेमा सोध्नुभयो । हामीले केही मिनेट कुरा ग¥यौँ । दाजु सो ओपन कन्सर्टको आयोजक कमिटीमा हुनुहुन्थ्यो भने म विशेष अतिथि थिएँ ।

दुत दाजुले असार २५ गतेका दिन मलाई घुमाउन भनी नानु राना दिदीको घर स्विन्डनबाट बेल्सतिर लैजानुभयो । त्यो हामीबीचको तेस्रो भेटघाट थियो भने दाजुसँगको यात्रा पहिलो थियो । दाजुले मलाई लामो कारयात्रामा बेल्सको ब्रेकन बेकन नेशनल पार्क पु¥याउनुभयो । हामीले त्यहाँका प्राकृतिक सौन्दर्यको पारख ग¥यौँ । अर्को दिन दाजुले मलाई विन्जर कासल घुमाउँदै अल्डरसटस्थित एभरेष्ट टाइम्सको कार्यालयमा लगी न्यानो स्वागतले माया गर्नुभयो । तेस्रो दिन दाजुले मलाई चिम्खोले समाजको वार्षिक कार्यक्रमको अतिथि बन्ने अवसर प्रदान गर्नुभयो । दाजुको घरको बसाइँमा मलाई साहित्य, गीतसङ्गीत, नेपाली राजनीतिजस्ता कुरामा व्यस्त बनाउने र हँसाउने काम गर्नुभयो । भाउजू जमुना पुन पनि त्यति नै असल हुनुहुँदो रहेछ । त्यहाँ बस्दा मैले आफ्नै दाजुभाउजूको व्यवहार र माया अनुभूत गरेँ । चौथो दिन हामी न्युबरीबाट बिहानै कार यात्रामा लाग्यौँ र क्यान्टवरीमा आयोजित विश्व नेपाली साहित्य महासंघको साहित्य सम्मेलनमा सहभागी भयौँ । कार्यक्रमको समापनपछि दाजु त्यहाँबाट घर फर्किनुभयो । म फोक्सटोनस्थित विजय दाजुको घरतिर लागेँ ।

म बेलायत भ्रमणबाट नेपाल फर्केपछि दुत दाजुसँग लगातार कुरा हुन थाले । त्यसबीचमा दाजुले ‘मगर संघ युकेः इतिहासदेखि वर्तमानसम्म’ पुस्तक लेख्नुभयो । भाषा सम्पादनका लागि फाइलहरू पठाउनुभयो । मेैले सम्पादनको कार्य गरेँ । हामीले घन्टौँसम्म म्यासेन्जर कलबाट पुस्तकको शुद्धाशुद्धिका काम ग¥यौँ । मैले किताबभित्रका केही विषयका बारेमा दाजुलाई स्मरण पनि गराएको थिएँ तर दाजुले सत्य कुरा हुन् भन्नुभयो । किताब प्रकाशन र सार्वजनिक भएपछि युकेमा केही विवादका कुरा उठे । विवाद विस्तार हुँदै जाँदा त्यसले निक्कै ततायो । विवादको हप्कीखप्की मसम्म पनि आइपुग्यो । मैले केही व्यक्तिसँग म्यासेन्जर कलमा घन्टौँ समय स्पष्टीकरण राख्नुपर्ने अवस्थासमेत आयो । सायद उहाँहरूलाई थाहा थिएन होला म एक भाषा सम्पादक मात्र भएको कुरा । विवादपछि पनि दाजुको अडान बदलिएको छैन । यसबाट बुझ्न सकिन्छ, दाजु वास्तविकताको अगाडि झुक्नुहुन्न । यो नै दाजुको लेखकीय जिम्मेवारी पनि हो ।

वि. सं. २०७६ को माघ महिनामा दुत दाजुलाई दुखले लछा¥यो, पीडाले हिर्कायो । उहाँका भाइ हस्तकुमार गर्बुजा र बुहारी नेत्र गर्बुजाको अकल्पनीय निधनमा द्रविभूत बन्दै दाजु नेपाल आउनुभयो । मैले दाजुलाई हस्त र नेत्रको अन्त्येष्टिको बेला पशुपतिघाटमा भावविह्वल भई रोएको देखेँ । म पनि मर्माहत बनेँ । दाजुलाई नजिक गएर भेट्न सक्ने अवस्थासम्म भएन । म त्यहाँबाट दुखी बन्दै फर्कें । केही समयपछि दुत दाजु भाइबुहारीको स्मृतिग्रन्थ प्रकाशनको तयारीतिर लाग्नुभयो । स्मृतिग्रन्थको भाषासम्पादनमा हामी घन्टौँ कुरा गथ्र्यौं । कुराका क्रममा दाजु कैयौँपटक रुनुहुन्थ्यो । दाजुको रुवाइले मेरो मन पनि छियाछिया हुन्थ्यो । म दाजुलाई सकीनसकी सम्झाउने प्रयास गर्थें । सायद त्यही समयदेखि होला दाजुले मलाई झन् नजिकबाट हेर्न थाल्नुभयो ।

किताब सम्पादनका क्रममा म्यासेन्जर कुराबाट हामीले कैयौँ दिन अनि रात बिताएका छौँ । यसबीचमा मैले दाजुलाई एक अभिभावकको रुपमा बुझेँ, उहाँले मलाई भाइको रुपमा । टाढाको भन्ने सोचाइ नै हरायो । दाजुका पुस्तकका काम गर्दै गर्दा मेरा लागि उहाँको जन्मभूमि म्याग्दी, चिम्खोलाका माटो, हावापानी र गाउँघर निक्कै परिचित बनेका छन् । हाल दाजुले हिँड्दै र सास फेर्दै गरेको बेलायतस्थित न्युबरी पनि मलाई कत्ति पराई लाग्दैन । आखिर सम्बन्ध रगतको मात्र हुने होइन रहेछ, भावनाको सम्बन्ध पनि त्यत्तिकै गाढा हुने रहेछ । त्यत्तिकै आदरणीय र जीवन्त बन्ने रहेछ । मलाई लाग्छ, दाजुको मनमा म एक भाइ बनिसकेको छु, यही कारण हरेक कलमा दाजुले मलाई जिस्काउनसमेत बाँकी राख्नुहुन्न । यसलाई म दाजुको आत्मीय व्यवहार हो भनेर सहजै बुझ्छु ।

दुत दाजुसँगको करिब १४ वर्षको चिनाजानसँगै दाजुका कृतिहरूको भाषा सम्पादनका कार्यहरू गर्दा मैले दाजुलाई जसरी चिनेको छु, दाजुका बारेमा कुनै पनि समयमा म धेरै कुरा भन्ने आँट राख्छु । दुत दाजु साहित्य र समाज सेवामा भगीरथ पसिना बगाउँदै आउनुभएका व्यक्तित्व हुनुहुन्छ । दाजुलाई नेपाल र नेपालीप्रतिको माया अनि केही गरुँ भन्ने हुटहुटीले सधैँ तानिरहेछ । सन्दर्भ उठ्दा म भन्ने गर्छु, दुत दाजुजस्तै खट्ने र काम गर्ने १० जना मात्रै मगर हुने हो भने आफ्नो जातिका लागि मात्र होइन, देशकै साहित्य, शिक्ष, पत्रकारिता र सामाजिक क्षेत्रमा धेरै कामले गति लिन्छन् र सफलता पाउँछन् । तर हामीले यस्ता विषयमा सोचेर काम गरेकै छैनौँ । दुत दाजुका सोच, कार्य र योगदानलाई थोरैसम्म बुझ्ने प्रयास गर्दा मात्र पनि केही गरुँ भन्ने उत्प्रेरणा बढ्छ र काम गर्ने हुटहुटी बढ्छ ।

यतिबेला मलाई एउटा कुरा छुटाउन नै मन लागेको छैन । त्यो कुरा हो, सामूहिक काम नियाल्ने तर आफू काम गर्न पटक्कै अगाडि नसर्ने मनोप्रवृत्तिका केही व्यक्तिको आलोचनामा पर्नुहुने दुत दाजुले त्यही समाजभित्रै पसिना बगाइरहनुभएको छ । सबैको समय त्यही हो, पारिवारिक जिम्मेवारी उस्तै हुन् । दुत दाजु के कारणले अरुभन्दा फरक बन्न सफल हुनुभएको छ भन्ने कुरा नियाल्नुपर्छ । दुत दाजु पुस्तकहरू प्रकाशन गर्नुहुन्छ, आफ्ना गीतका एल्बम निकाल्नुहुन्छ, फिल्म निर्माण गर्नुहुन्छ र बिक्री गरी आएको थोरै थोरै रकम जम्मा पार्दै जानुहुन्छ र एकमुष्ट रकमलाई अक्षयकोषमा राखी समाजसेवाको पवित्र कार्य गर्नुहुन्छ । केही व्यक्तिको गुनासो सुनिन्छ, ‘दुत पुन किताब बेचेर पैसा कमाउने बाटोमा छन् ।’ हाम्रो समाज रक्सी र मनोरञ्जनका लागि हज्जारौँ रुपैयाँ खर्चिन पछि हट्दैन तर एक स्रष्टाको कृति बिक्रीलाई कति सजिलै नजरअन्दाज गर्छ । एउटा कटु सत्य के हो भने, केही समाजद्वारा आयोजित कार्यक्रमहरूमा खुलेआम रक्सी बिक्री हुन्छ । गीतसङ्गीत र मनोरञ्जनकै लागि हज्जारौँ रुपैयाँ खर्च गर्न प्रोत्साहन गरिन्छ तर त्यही समाजका स्रष्टाहरूका कृतिहरू बिक्रीलाई पूर्णतः निषेध गरिन्छ । यसबाट बुझ्न सकिन्छ, समाज कतातिर बहकिँदै छ र बौद्धिक क्षेत्रलाई कसरी नजरअन्दाज गरिँदै छ भन्ने कुरा । यस्तो अवस्थामा पनि दुत दाजुले आफ्ना कृति बिक्रीबाट आएको रकम अक्षयकोषमा राखी शिक्षा आर्जन अनि साहित्य लेखनमा लागेकाहरूका लागि पुुस्कारको व्यवस्था गरिदिँदै आउनुभएको छ । दाजुका यस प्रकारका सुकार्यलाई पछिका पुस्ताहरूले मात्र बुझ्ने छन् र सम्मान गर्ने छन् ।

विशेषतः ब्रिटिश आर्मीको वारनट अफिसर पदबाट अवकाश लिई बेलायतको रक्षा मन्त्रालयमा कार्यरत दुत दाजुलाई पत्रकारिता, साहित्य र गीतसङ्गीतमा लागेर पैसै आर्जन गर्नुपर्ने अवस्था भने पक्कै छैन । उहाँले सिर्जनाका क्षेत्रमा जे गर्दै आउनुभएको छ, ती सब आफ्नै लगानी र खर्चमा गर्दै आउनुभएको छ । उहाँले गर्दै आउनुभएका कार्य समाज, देश र भोलिका पुस्ताहरूका लागि हुन्, व्यक्तिगत तुस्टीका लागि होइनन् ।

म त भन्ने गर्छु, दुत दाजुको यात्रा अविछिन्न रुपले अगाडि बढ्नुपर्छ, कालीगण्डकीजस्तै बनी गडगडाउनुपर्छ अनि सगरमाथाजस्तै अग्लिनुपर्छ । संसारमा सिर्जनाको शक्ति अद्भूत छ, त्यही शक्तिले सधैँ बचाउँछ, सबैका मनमनमा बसाउँछ । यसकारण पनि दुत दाजुको यात्राको शक्ति अपार छ, प्रिय छ र अमर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार