चलचित्र परदेशी– २ हेरेपछिको अनुभूति

लेख

  भावेश भुमरी  2059 पटक हेरिएको

नारायण रायमाझी दाजु मलाई असाध्यै मन पर्ने सङ्गीतकार हुनुहुन्छ । मैले गाउँ प्यूठानमा स्कुल पढ्दै गर्दा एउटा गीत सुनेको थिएँ ‘कसले पोत्यो निधारमा रगतको टीका…’ यही गीतको सङ्गीतकारको रूपमा प्रथमचोटि उहाँलाई सङ्गीतकारको रूपमा चिनेको थिएँ । कलेज पढ्न काठमाडौँ आएपछि रेडियो नेपालमा उहाँसँग भेट भयो । हामी निक्कै नजिक भयौँ । त्यतिबेला सिर्जनाका विषयमा गम्भीर कुरा हुन्थे । यस विषयमा लेख्नुपर्ने धेरै संस्मरणहरू छन् र कुनै दिन विस्तृतमा लेख्ने नै छु ।

लामो समय हामी आआफ्ना दैनिकी र सिर्जनाका क्षेत्रमा लहसियौँ । उहाँ चलचित्रका कथा लेखन, निर्माण र निर्देशनतिर लाग्नुभयो र प्रथम सफल चलचित्र गोर्खा पल्टन दर्शकसामु ल्याउनुभयो । त्यसपछि परदेशी चलचित्र ल्याउनुभयो । यी दुई चलचित्रको अपार सफलताको अनुभवबाट उहाँ अरू अगाडि बढ्नुभयो र हाल चलचित्र परदेशी– २ सार्वजनिक गर्नुभएको छ । यस चलचित्रको सार्वजनिकीसँगै दर्शकहरूबाट पाएको माया बुझ्दा चलचित्र अत्यन्त सफल हुने कुरा निश्चित छ ।

अस्ति बेलुका चलचित्र निर्देशक दाजु नारायण रायमाझीले फोन गर्नुभयो । मैले पहिलेदेखि नै भेटघाटमा दाजु भन्छु । उहाँका दुई छोरी र छोरालाई स्कुलमा पढाउने शिक्षक थिएँ कुनै समय म । त्यही समयदेखि उहाँले सर भन्नुहुन्छ मलाई । म भने अप्ठ्यारो महसुस गर्छु । तर, मैले मेरो अप्ठ्यारो अनुभूतिलाई उहाँसामु राखेको भने छैनँ । मैले फोन उठाएँ र भनेँ, ‘दाजु नमस्कार ।’ उहाँले नमस्कार फर्काउँदै सोध्नुभयो, ‘कता हुनुहुन्छ आजकाल ?’ मैले भनेँ, ‘यतै  छु, ललितपुरको गोदावरीतिर ।’ उहाँले भन्नुभयो, उसो भए भोलि बेलुका ५ बजे चलचित्र परदेशी– २ हेर्न आउनुहोस् ।’ मैले हलमा चलचित्र नहेरेको सायद दशक भयो होला । अप्ठ्यारो महसुस गर्दै भनेँ, ‘हवस् दाजु ।’ अगाडि थप्नुभयो, ‘बहिनीलाई पनि ल्याएर आउनुहोला है ।’

उहाँ व्यस्त हुनुभएजस्तो लागेर मैले अरू बातचित गरिनँ । हाम्रो कुराकानी सकियो । हिजो बिहान प्रणितालाई दाजुको कुरा सुनाएँ । छेउमा बसेकी छोरी सुबानीले भनी, ‘म पनि जान्छु नि बाबा ।’ सरगम बेलुका एक्लै हुने भयो र उसलाई पनि दिदीले नै उक्साई । केटाकेटीको इच्छा हो, काटिहाल्न पनि सकिनँ तर मलाई भने अप्ठ्यारो महसुस भयो । मैले आठ बजेतिर फोन गरेर सोधेँ । दाजुले सहजै भन्नुभयो, ‘ए भैहाल्छ, नानीहरूलाई ल्याएर आउनुहोला ।’

म, प्रणिता र सरगम यतैबाट गयौँ, हिजो अर्थात् कात्तिक १५ गते बेलुका ५ बजे आईएनआई सिनेमाज (एनबी सेन्टर) नयाँबानेश्वरमा । जहाँ आफ्ना अतिथिहरूसँग भलाकुसारी र फोटाहरू खिचाउनमा व्यस्त हुनुहुन्थ्यो निर्देशक रायमाझी । हामीले पनि नमस्ते गर्दै केही फोटाहरू खिचायौँ । सुबानी कार्यस्थलबाट आउने भएकीले उसको पर्खाइमा बस्यौँ हामी । दर्शकहरूको उपस्थिति बाक्लिँदै आयो । थुप्रै भिडियो क्यामरा, गोप्रो र मोबाइल क्यामराहरूबाट घेरिँदै हुनुहुन्थ्यो उहाँ । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आगमनसँगै हामी चलचित्र हलमा प्रवेश ग¥यौँ ।

निर्देशक नारायण रायमाझी

आफ्ना बाबाआमालाई नेपालमै छाडेर पढ्नका लागि संस्कार अमेरिका जाने अन्तर्वार्ताको विषयबाट अगाडि बढेको चलचित्र परदेशी– २ को मार्मिक कथासँगै हामी सबै बग्न थाल्यौँ । कथा अगाडि बढ्दै जाँदा मैले देख्दै आएको गाउँका तमाम दृश्यहरू आँखाभरि सजीव बनेर घुम्न थाले । पहिले सहरमा विदेश जानेहरूको बढी चर्चा हुन्थ्यो । अहिले गाउँका हरेक घरमा विदेश जाने कुरा हुन्छन्, चाहे श्रमदाता या विद्यार्थीकै रूपमा किन नहोस् । गाउँहरू लगभग युवाविहीन छन् । बृद्ध बाबाआमा आफैँजस्ता पुराना घरहरू कुरेर बसेका छन् गाउँमा । छोराछोरीलाई बोर्डिङ पढाउने भन्दै विदेश पसेका प्राय व्यक्तिहरूका श्रीमती सहरतिर बस्दै आएका छन् । खेतबारी बाँझै छन् । बारबन्धन छैनन् बारी र बाटाहरूमा । रुखघाँस टुप्पेर थाक्रेका छन् । गाईबस्तु नभएकाले घाँस नकाटेको सहजै अनुमान गर्न सकिन्छ । आफ्नै बारीमा फलेका आरु र नास्पातीहरू भुइँभरि खस्छन्, टिपेर खाने केटाकेटी छैनन् । सुन्तला टिप्नेसम्म मान्छे पाइन्नन् गाउँमा । घरका छेउसम्म आइपुगेका छन् जङ्गलहरू । जहाँबाट जङ्गली जनावरहरू सहजै घरघरसम्म आइपुग्छन् । तिनै जनावरहरूलाई आफूले पालेका गाईबस्तु सम्झिन्छन् बृद्ध बाबाआमाहरू । कहिलेकाहीँ थाक्रेका रूखमा बसेर कराउँछन् कागहरू । प्रायः पुराना कुरामा विश्वास गर्ने बाबाआमा कागको बोलीसँगै विदेशबाट छोराछोरी फर्किंदै गरेको कल्पनामा डुब्छन् । गाउँमा पैसाको त्यति अभाव भने छैन तर गाउँका मान्छे बिसञ्चो हुँदा हारगुहार गर्दै अस्पताल लैजाने युवाहरू छैनन् । साँच्चै भन्दा आजकाल मान्छेका लास आफ्नै सन्तति कुर्नका लागि घर या अस्पतालमा पोको पर्न विवश छन् ।

चलचित्र परदेशी– २ का मुख्य नायक संस्कार ठूलो सपना बोकेर अमेरिका जान तयार हुन्छन् तर आफ्ना बाबआमा, आफ्नी प्रेमिका संस्कृति र आफूले पढ्दै गरेको कलेजका साथीहरूलाई छाड्नुपर्दा भने उनी बडो पीडाबोध गर्छन् । चाँडै फर्केर संस्कृतिसँगै विवाह गर्न पनि उनी दृढ सङ्कल्पित हुन्छन् । बाह्य समाजमा आफ्नो छोरा अमेरिका जाँदै गरेको भन्ने ठूलो इज्जत र रवाफ देखिए तापनि भित्री रूपमा संस्कारकी आमालाई छोरा विदेश पस्ने कुराले भतभती पोल्छ । गाउँका छरछिमेकीहरूलाई भने आफ्ना छोराछोरी विदेश जान नसकेकोमा पीडा हुन्छ । साँच्चै नेपाली समाजमा हुर्किरहेछ, एकातिर छोराछोरी विदेश जाँदा मडारिने पीडा, अर्कोतिर छोराछोरी विदेश जान नसक्दा उम्लिने पीडा ।

संस्कार अमेरिका पुग्छन्, कलेज भर्ना हुन्छन् । कलेज पढ्नुभन्दा पनि ग्यास स्टेशनमा काम सुरु गर्छन् । उनका लागि हरेक घन्टा, मिनेट र सेकेन्डको महत्त्व बढ्न थाल्छ । नेपालका बाबाआमा, संस्कृतिका साथै साथीसङ्गीहरूको यादले भतभती पोल्छ । बाहिर खुसी देखिए तापनि मनमा भने आगोको ज्वाला बढ्दै जान्छ । आफ्नो घरपरिवार र देशमा मनाउने चाडवाडहरूको सम्झनाले पलपल उनको मनलाई नेपाल फर्काउने गर्छ । तर, संस्कार यी कुरा आमालाई देखाउँदैनन्, बाबालाई पनि भन्दैनन् । उनी भन्दैनन् आफ्ना साथीहरूलाई समेत । ड्युटी र पढाइका कारण आफ्नो कोठामा खाना पकाएर खानेसमेत समय हुँदैन उनलाई । खाना खाने नेपाली रेस्टुरेन्टमा भेट्छन् निक्कै वर्ष अगाडि पढ्न भनी त्यसरी नै अमेरिका पसेका एक दाजुलाई । जसले अमेरिका पसेर बाबाआमा र प्रेमिकालाई खुसी बनाउने लहरो तान्दै गर्दा गुमाएका छन् नेपालमा आफ्नी प्रेमिका । बाबाआमालाई भेट्न नेपाल आउन चाहँदा चाहँदै पनि यही लहरोकै कारण आफ्ना बाबाआमा दिवंगत हुँदासम्म नेपाल आउन सक्दैनन् । आफ्ना बाबाआमाको लासमा दागबत्ती दिन नसक्दाको विवशता छातीभरि गाँजिन्छ । ग्रिनकार्डको चक्कररूपी यात्रामा भेटिएकी एक युवतीसँगको लिभिङ टुगेदरबाट जन्मेकी छोरी र ती युवतीबाट समेत अपहेलित तरिकाले लत्तिएका छन् उनी । दाजुको त्यसप्रकारको जीवनकथाबाट झस्केका संस्कार भने नेपाल फर्केर बाबाआमा र प्रेमिकाको खुसीमा रमाउने सपना बुन्छन् ।

संस्कृतिका बाबा भूतपूर्व ब्रिटिश सैनिक हुन् । आफ्नो सैनिक जीवनमा जन्मेकी छोरीलाई काखमा राखेर हुर्काउन नपाएको बाध्यतामा लपेटिएको पीडा बोकेका छन् उनले । आफ्नो अवकाश जीवन परिवारका साथ नेपालमै बिताउने सपना बोकेका उनी आफ्नी श्रीमती क्यान्सर रोगबाट दिवंगत भएपछि भने श्रीमतीकै नामबाट आश्रम सञ्चालन गर्नतिर लाग्छन् । आफ्नी छोरीलाई डाक्टर बनाई आमाको सपना पूरा गराउने लक्ष्य लिएका उनले छोरीलाई कुनै पनि हालतमा विदेश नपठाउने अठोट गरेका छन् । तर, विदेश पसेका संस्कारसँगको पवित्र प्रेममा चुर्लम्म डुबेकी छन् संस्कृति । उनी संस्कारलाई चाँडै नेपाल फर्केर आफूहरूको प्रेमगाँठो बलियो बनाउन भनिरहन्छिन् ।

दसैँ आएको छ । गाउँको रमझमले गाउँतिरै तानेको छ संस्कारको मनलाई तर भौतिक रूपले असम्भव छ गाउँमा उपस्थित हुन । टीकाको दिन आफ्नै निधारमा आफैँ टीका लगाएर फोटो खिची बाबाआमालाई खुसी बनाएका संस्कार ड्युटी जानेक्रमका गाडी दुर्घटनामा परी गम्भीर घाइते हुन्छन् । संस्कारले नेपाल फेस्टिबलमा नृत्य गर्दा उपस्थित भएकी एक दर्शक लुजाले दुर्घटनामा परेका संस्करलाई देख्छिन् । लुजा पनि पढ्न भनी नेपालबाट अमेरिका पुगेकी हुन् । उनै लुजाले संस्कारलाई हस्पिटलमा लगी नि:स्वार्थ प्रेमभावले उपचार गराउँछिन् । हस्पिटलबाट आफ्नो घरमा लगेर संस्कारको हेरचाहमा खटिन्छिन् । छोरालाई सोधखोज गर्दै गरेका बाबाआमालाई भने लुजाले संस्कारको म्यासेन्जर आईडीबाट परीक्षा आउँदै गरेको र म्यासेन्जर अफ गरी पढ्ने कुरा लेखेर पठाइदिन्छिन् ।

यता संस्कृति डाक्टर बनिसकेकी छन् । आमाको नाममा सञ्चालित आश्रमबाट बुढाबुढीहरूको स्वास्थ्य जाँचसम्बन्धी कार्यक्रम आयोजना गरिन्छ । छोराछोरीहरू विदेशिँदा सहाराविहीन बनेका बुढाबुढीहरूका अश्रुधाराले कार्यक्रमलाई नै निशब्द बनाउँछ । यस्तो दृश्य देखेकी संस्कृति भने अस्पतालको ड्युटीबाट समेत संस्कारलाई कल र म्यासेजमा सम्पर्क गर्न खोज्छिन् तर सम्पर्क हुन सक्दैन ।

लुजाले गरेको नि:स्वार्थ सहयोग र मायाबाट संस्कार अत्यन्त प्रभावित हुन्छन् । निस्पापको भावना राख्ने संस्कार पनि उनको मायाबाट टाढा हुन सक्दैनन् । सायास या अनायास त्यस परिघटनाले जोडिदिएको उनीहरूबीचको निकटता प्रेममा परिणत हुन्छ । संस्कार भने संस्कृतिका बारेमा लुजालाई कुनै कुरा भन्न सक्दैनन् ।

लामै समय सम्पर्कबाट विच्छेद बनेको संस्कारको माया र न्यास्रोपनबाट आमा मानसिक रूपले बेचैन बन्न थाल्छिन् । उनको बेचैनी बिरामीमा परिणत हुन्छ । उनी संस्कृति कार्यरत अस्पतालमा भर्ना हुन्छिन् । उनको उपचारमा संस्कृति निक्कै जिम्मेवारीका साथ खटिन्छिन् । आमाको स्वास्थ्य झनझन बिग्रिँदै जान्छ । त्यतिबेलासम्म संस्कृतिले बिरामी आमाका केही भिडियो क्लिप र फोटाहरू खिचेकी हुन्छिन् । अस्पतालको बेडमै आफ्नो छोराका फोटाहरू हेर्दै गरेकी आमाबाट मोबाइल मागेर संस्कृतिले संस्कारका फोटाहरू हेर्छिन् । त्यतिबेला संस्कारको अमेरिकामै अर्की केटीसँगको फोटो देख्छिन् र विक्षिप्त बन्छिन् । उनी संस्कारकी आमाका भिडियो क्लिप र फोटाहरू संस्कारको म्यासेजमा पठाइदिन्छिन् ।

भारतको रेलमा कैयौँ डाँकुहरूलाई खुकुरीले छप्काएका गोर्खा अर्थात् निर्माण थापाले एक मेलामा संस्कृतिलाई भेटेर उनीसँग सेल्फी फोटो खिचेपछि उनको मन संस्कृतिप्रति नै तानिन्छ । निर्माणको साहसी कार्यको सम्मान कार्यक्रममा उपस्थित संस्कृतिका बाबाले निर्माणलाई राम्ररी चिन्न पुग्छन् । केही समयपछि निर्माणले आफ्नी छोरीलाई माग्न आएपछि उनले छोरीलाई घरमा बोलाउँछन् । संस्कृतिले पनि निर्माणसँग विवाह गर्न स्वीकार गर्छिन् ।

संस्कृतिले पठाएका भिडियो क्लिप र फोटाहरू हेरेपछि संस्कारमा थामिनसक्नुको पीडा  घोप्टिन्छ । आमाको पीडामा जल्दै गरेका उनी घर फर्किने निर्णय गर्छन् । संस्कारलाई एयरपोर्टसम्म छाड्न पुगेकी लुजासँग राम्ररी बोल्न नसकेको सहित संस्कृतिसँगको संस्कारको कुरा भ्वाइस म्यासेजमा पाएपछि लुजा गाडी चलाउँदै बलिन्द्र धारा आँसुमा रुमलिन्छिन् । त्यही रुवाइसँगै उनको गाडी दुर्घटना हुन्छ । यता संस्कार नेपाल आइपुग्छन् । उनी आमाको उपचार हुँदै गरेको हस्पिटलमा पुग्दानपुग्दै आमाको निधन हुन्छ । उनी आमाको अन्तिम सास भेटाउन असमर्थ हुन्छन् । यही वियोगान्त घटनासँगै चलचित्रको समापन हुन्छ ।

माथि प्रस्तुत कथासारबाट स्पस्ट हुन्छ, लिजाको सकारात्मक सोच र व्यवहारले गर्दा संस्कारले दुर्घटनाबाट बचेर नयाँ जीवन पाउन त पुगेका छन् तर गलत बुझाइका कारण संस्कारका बाँकी सपनाहरू चकनाचुर बनेका छन् । उनले आफूलाई जन्म दिने आमा गुमाएका छन् । संस्कृति निर्माणसँगको लगनगाँठोलाई स्वीकार्न विवश बनेकीले उनलाई पनि गुमाएका छन् । यी सब विदेश पसेर पढ्ने र काम गर्ने परिघटनाले निम्त्याएका अफाप परिणाम हुन् ।

नेपाली माटोमा आजसम्म हज्जारौँ चलचित्र बनिसकेका छन् । कति दर्शकहरूको वाहवाही पाएर सफल बनेका छन् भने कतिले माया पाउन नसकेका उदाहरणहरू पनि छन् । यी विषय आफ्ना ठाउँमा छन् । यहाँ परदेशी– २ को समसामयिक विषयवस्तु र कथा बुनोटका बारेमा भन्नुपर्दा यो चलचित्र एक यस्तो चलचित्र हो जसले बहुसङ्ख्यक नेपालीहरूको विषयलाई प्रतिनिधित्व गरेको छ । देशका आम युवा विदेशिने क्रम जारी छ । देश वैदेशिक रोजगारी र रेमिटेन्समा निर्भर छ । हरेक दिन सयौँ युवाहरू त्रिभुवन विमानस्थल र भारतका नाकाहरूबाट विदेशिँदै छन् । प्रायः दिन दर्जन हाराहारीमा वैदेशिक रोजगारीमा गएका युवायुवतीहरूको लास एयरपोर्ट हुँदै फर्किन्छन् । देशको भविष्य कुन गन्तव्यतिर लाग्दै छ ? यस प्रश्नको उत्तर पाउन गाह्रो छ । बढ्दै र पढ्दै गरेका युवायुवतीहरूको लक्ष्य भनेकै विदेश बनेको छ । यस्तो अवस्थामा यस चलचित्रले दिएको सन्देश आफ्नै घरछिमेकको घटनासँग मिल्दोजुल्दो छ, जुन कटु सत्य छ र छ अत्यन्त मार्मिक । यही कारण पनि यस चलचित्रले बोकेको विषयवस्तु र सन्देश अत्यन्त मननयोग्य छ । यसको सन्देशलाई थोरैमात्र आत्मसात् गर्ने हो भने माथिको प्रश्नको उत्तर पाउन कठिन छैन ।

यहाँनेर के कुरा प्रस्ट छ भने यो चलचित्र नेपाल देश र नेपाली जनताको भविष्यको पक्षमा बनेको एक उत्कृष्ट चलचित्र हो । गोर्खा बनेर होस्, विद्यार्थी वा श्रमदाता, विदेश पसेका तमाम नेपालीहरूका विषयमा बडो मार्मिक गीत गाउने, सङ्गीत भर्ने अनि चलचित्र बनाउने नारायण रायमाझी सबै नेपालीका ढुकढुकी बन्नुभएको छ । उहाँको यस चलचित्रको अपार सफलताको कामाना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार