लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग तनहूँमा साक्षात्कार कार्यक्रम

  सुरप्रभापोस्ट सम्वाददाता  231 पटक हेरिएको

ललितपुर । हालै तनहूँको दमौलीमा साहित्यकार विजय हितानको उपन्यास लाहुरेको रेलिमाईका बारेमा उपन्यासकार हितानसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा आलेले लाहुरे प्रथाको २०० वर्षभन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले जीवन्त राख्ने विचार व्यक्त गरे । मन्त्री आलेले अगाडि भने, ‘लामो समयको अध्ययन, अनुसन्धान र भ्रमणपश्चात् लेखिएको उपन्यास लाहुरेको रेलिमाईले नेपाली साहित्यमा एक महत्वपूर्ण स्थान ओगट्ने छ ।’
लाहुरेको रेलिमाई फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो । आफ्नो मन्तव्यका क्रममा उपन्यासकार हितानले भारतीय तथा ब्रिटिश गोर्खा भूपू सैनिक, नेपाली सेना र प्रहरीका उच्चस्तरका पदाधिकारी, स्कुल/कलेजका विद्यार्थी साथै विभिन्न सङ्घसंस्थाका पदाधिकारीमाझ लाहुरेको रेलिमाईलाई प्रस्तुत गर्न पाउँदा आफूलाई खुसी लागेको विचार व्यक्त गरे ।
लेखकले प्रथम विश्वयुद्ध र दोस्रो विश्ययुद्धको इतिहासलाई करिब ६ वर्ष नजिकबाट अध्ययन गर्दै मास्टर मित्रसेनबारे स्थलगत पनि अध्ययन गरेर उपन्यास लेखेको र यो उपन्यास तथ्यमा आधारित रहेको हुँदा यथार्थपरक उपन्यास भएको कुरा बताए । उनले कार्यक्रमका प्रमुख संयोजक सुमन थापामगर र कार्यक्रमका आयोजक मगर लेखक सङ्घ तनहूँका अध्यक्ष केहरसिंह आले र समग्र टिमप्रति कृतज्ञता प्रकट गरे ।
टिप्पणीकार ईश्वर बास्तोलाले लाहुरेको रेलिमाईमाथि टिप्पणी गर्ने क्रममा लाहुरे, पल्टनघर र युद्धको त्रिकोणात्मक सम्बन्धलाई उजागर गर्दै युद्ध संवेदना बोकेको यस कृतिले नेपाली साहित्यमा नौलो विषयवस्तु बोकेको कुरा बताए ।
त्यस्तै गोर्खा राइफलका निवृत्त क्याप्टेन सूर्य मल्लले आफ्नो धारणा राख्ने क्रममा लाहुरेको रेलिमाईमा प्रस्तुत भाग्सु धर्मशाला परिवेशमा आफूले २५ वर्ष बिताएको र उपन्यास पढ्दै गर्दा शब्दशब्दले आफूलाई डो¥याउँदै उतै पु¥याएको अनि उपन्यासमा प्रयोग भएका सेक्सन बेटल ड्रिल, रिभर क्रसिङ, एम्बुस, सर्भाइबल टेक्टिस, ट्रेन्च वारफेर, मेडल, भिसी, नम्बरी, युद्धबन्दी इत्यादिजस्ता पल्टनीया शब्द हरूले आफूलाई फेरि ती दिन हरूमा फर्काएको विचार व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन मगर लेखक सङ्घ तनहूँका सचिव विजय थापाले गरेका थिए भने कलेजका विद्यार्थी, नेपाल प्रहरी र सेनाका अधिकृत, भारतीय गोर्खा सेनाका भूपू सैनिक र विभिन्न सङ्घसंस्थाका पदाधिकारी हरूको बाक्लो उपस्थिति थियो । कार्यक्रम मगर सङ्घ तनहूँको भवनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार