नेपाल छुट्टी

(दैनिकी)

  गोमा राना  646 पटक हेरिएको

नेपाल छुट्टी जानुअगाडि धेरै कुराको चाजो मिलाउनुपर्ने हुन्छ । एकातिर कामको व्यवस्था अर्कोतिर घरकै व्यवस्था मिलाउनुपर्ने । भाञ्जी एमरल्ड (कान्छी नन्दको छोरी) को बिहेका लागि सपरिवार नेपाल जान लागेको तर घरमा लुलु (बिरालो) लाई कोसँग छाडेर जाने भन्ने समस्या थियो । त्यो समस्या समाधान त भयो तर घरको सदस्यजस्तो भएपछि छोडेर हिँड्न गाह्रो चाहिँ भयो ।

१९ जनवरी २०२३ बिहीबार, सबैको कामपछि साँझको उडान थियो । समयमै एयरपोर्टमा पुगियो र सबै सामानको चेकिङ भयो, सबै ठिक्क भयो । सपरिवार भएकाले कुनै चिन्ता भएन अर्थात् कुन गेटमा जाने समय आदि इत्यादि केही हेरिनँ नानीहरूको पछिपछि लागेँ । हाम्रो उडान एमिरेट्स थियो । आफू त गाडी, जहाज चढ्यो कि निदाउने बानी छ । जहाज चढेको केहीछिनमै निद्रादेवीको काखमा परियो । खान चाहिँ उठँे । केही घन्टापछि दुबई एयरपोर्टमा अवतरण भयो । चार घन्टाको ट्रान्जितपछि नेपालतिर प्रस्थान गरियो । ‘घर आयो कुकुर बलियो ।’ भनेजस्तै जति जति नेपालको नजिक पुगियो त्यतिनै निद्राले छाडेको उत्सुकता बढ्दै गयो । केही घन्टापछि नेपाल पुगियो । सामान सबै लिई फोनको सिमकार्ड किनेर बाहिर निस्क्यौँ । दाइ, भाउजू, भाञ्जीका साथै उत्सव बाबु लिन आउनुभएको थियो । हरेक दुई वर्षमा नानीहरूसँग नेपाल गई बस्थ्यौँ तर कोरोनाले गर्दा पाँच वर्षपछि नेपाल गएको विमानस्थलको कारपार्क त निकै सजिलो र राम्रा गरी परिवर्तन भएछ । छेउमा पसलहरू देख्दा कतै म नेपालबाहेक अरू देशमा त छैनँ जस्तो पनि भयो तर सोचेँ, मेरो देश र नेताले चाह्यो भने यसको धेरै गुणा बन्दोबस्त र परिवर्तन हुन सक्छ ।

घरतिर लाग्यौँ एयरपोर्टदेखि महाराजगञ्जसम्म आउँदा हेरेँ, यति धेरै घरहरू थपिएछन् कि नेपालका सबैजनताले काठमाडौँमै घर बनाएछन् हो जस्तो लाग्यो । घर पनि ससाना कहाँ हुन् र ! जे होस् नेपालमा विदेशमा बस्नेको रेमिटेन्सले होस् या आफ्नै कमाइले होस् साह्रै राम्रा घरहरू बनेका रहेछन् । तर बाटो भने उस्तै, उत्रै । आफ्नो त बल्लबल्ल एउटा घर बनाएको, वरिपरिका ठूल्ठूला घरले आफ्नो घर नै नचिन्ला जस्तो । जे होस्, आफ्नो पसिनाले बनाएको घर सानो भए पनि आफ्ना लागि त महलसरह । आफूलाई त जहाज ओर्लिनुअगावै नेपालको खानेकुरा बसाएको थियो, घर पुगियो मिठो मिठो खानेकुरा खाएर आराम गरियो ।

२१ जनवरी शनिबार, बिहानै उठेपछि चियानास्ता खाइसकेपछि बिहेका लागि सगुन मिलाउने सजाउने, लुगा कोकसले के लगाउने सबैजना उत्सुकताका साथ व्यस्त भइयो । बिहे भनेपछि घरका परिवारमा हर्ष, उल्लास, उत्सुक व्यस्तता त हुने नै भयो नि !

२२ गते आइतबार, बिहेको शुभ दिन पनि भयो । बिहान सबेरै उठेर अघिल्लो दिन ककसले के गर्ने कामको बाँडफाड भैसकेकाले सोहीअनुरूप तयारीमा लाग्यौँ । ११ बजे भद्रकाली मन्दिर पुगिसक्नु परेकाले अलिक हतार गरेर दुलहीलाई सिँगारी लिएर समयमै मन्दिर पुग्यौँ ।

नेवारी परम्पराअनुसार पूजापाठ स्वयम्बर, सुपारी दिने, ढोग्ने चलन, निम्तो कार्डसँगै सुपारी दिने काम सम्पन्न भयो । नव दाम्पत्य जोडीले केक काट्ने काम पूरा भएपछि मिठो खानपानका साथ विवाह सम्पन्न भयो । सबै बन्दोबस्तका लागि सम्धी, सम्धिनी र उहाँको परिवार महिनौँदेखि खटिइराख्नुभएको थियो । नचाहँदा नचाहँदै पनि भाञ्जीलाइ कन्यादान गरी, उहाँहरू दुवैजनाको स्वस्थ, सफल वैवाहिक जीवन सुखमय होओस्, एकले अर्कोलाई बुझेर सधैँ सुखी र खुसी रहून्, लगनको गाँठो दिन प्रतिदिन कसिलो होओस् भनी आशीर्वादका साथ बिदा दिइयो ।

दुलहा पक्षका सदस्यहरू दुलही भित्र्याउने बढी उत्सुकताका साथ बिदा हुनुभयो भने हामीलाई एक किसिमको खल्लो र शून्य भयो ।

नानीहरू भाञ्जीको घरमा पु¥याउन गए । म, सुनिल, मेरो दाइ जनरल श्यामबहादुर थापा र कुन्ता भाउजू, गुप्त दाजु र मञ्जु दिदी भएर साँझ नक्साल लिसरा रिसेप्सनमा गयौँ । त्यहीँ जनरल उमेश पुन र उहाँकी धर्मपत्नी एआईजी दुर्गा थापा पुनसँग भेट्ने कार्यक्रम भयो । खासगरी उहाँको छोरा सृजन बाबु र निकिता भाञ्जी (ठूली नन्दकी छोरी) को इङ्गेजमेन्टका लागि कुरा गर्नु थियो साथै एमी भाञ्जीको रिसेप्सन पार्टीका लागि खाना हेर्नु थियो । सबै सकारात्मक कुरा र मिठो भोजन पछि बिदा भयौँ ।

२३ जनवरी सोमबारका दिन फेरि भोज, उत्सव बाबुकी बहिनी श्रीशा नानी र उत्सव बाबु दाजु बहिनीको प्रीति भोज सम्पन्न भयो । नेवा बाजाले साँच्चिकै आफ्नो संस्कार संस्कृति झल्काएको थियो । हाम्रो गाउँमा नेवार साथीहरूको बिहेमा पञ्चे बाजामा खुब नाचिन्थ्यो । यता भने नेवारी बाजामा नाच्न पारा पनि आएन, अप्ठ्यारो लाग्यो, नाचिएन । लैनचौरको ब्यान्डकुविट हलमा सम्पन्न भएको खानपानको अत्यन्तै राम्रो व्यवस्थापन थियो ।

२५ तारिख मङ्लबारको दिन अलि अलि किनमेल गर्ने, घरको सरसफाइ गर्ने, आफन्तजन साथीभाइसँग फोनमा कुरा गर्ने आदि इत्यादि काममै व्यस्त भइयो । त्यसपछि महाराजगञ्ज अमला आन्टीलाई भेट्न गयौँ, खुब खुसी हुनुभयो । उहाँसँग प्राय फोनमा कुरा भैबस्छ । सुनिल स्कुल पढ्न उहाँहरूसँग बसेकाले आमा नै हो र फूपू सासुको साह्रै मिल्ने साथी पनि ।

२६ जनवरी बिहीबार, यो हप्ता साँच्चिकै बिहेको हप्ता थियो । यो दिन श्रीशा नानी (उत्सव बाबुकी बहिनी) को स्वयम्बरको भोज । हरेक एकदिन बिराएर भोज खाएकै दिन । कहिले कहाँ पाई, कहिले दिनदिनै मिठो खाना । भोजको बेलामा दुईटा पेट हुनु नि ! हुन त अरू दुईजनाको पेट जत्रो मेरो एउटैको छ । लगातार उत्सव बाबुको परिवारलाई भेट्न पाएकाले अति नै नजिक र आत्मीय भएको महसुस भयो । उत्सव बाबुका आमाबाबा, काकाहरू, फुपूहरू सबै परिवार फरासिला सहयोगी र मिलनसार भएकाले अत्यन्तै सहज भयो । भाञ्जीले एकदमै राम्रो परिवारसँग नाता जोडेछिन्, खुसी लाग्यो ।

२७ जनवरी शुक्रबार, पुसैको एकछाकी परेको थियो । बेलुकी गाउँ मधेश माकरदेखि फूपू नानीहरू आइपुग्नुभयो । हाम्रो एकछाकी नुन नखाएकाले बेलुकी मकै खायौँ । तर घरभरि पाहुना, खुब रमाइलो भयो ।

२८ जनवरी शनिबार, पुसैको श्राद्ध धेरै वर्षपछि सपरिवारमा पूजा गर्ने मौका जु¥यो । बिहानै वापा मामा आइदिनुभयो र बुद्धिस्ट तरिकाले राम्रोसँग अति नै चित्त बुझ्नेगरी पूजा भयो, खुब सन्तोष मिल्यो । पूजाअगाडि बिहानै पुसै काकाहरू पनि माकर चितवनदेखि आइपुग्नुभएको थियो । सबैले १०८ वटा बत्ती बालेर पूजा सप्पन्न ग¥यौँ । सबैलाई टिकाटालो गरी खाना खायौँ । दिउँसो सबैजना घरमै, साँझ एमी भाञ्जीको रिसेप्सन पार्टीका लागि दिउँसोदेखि नै सबैजना सटरपटर नक्कल पार्नमा व्यस्त भयौँ । पार्टी नक्साल लिसरा रिसेप्सनमा भएको थियो । राम्रो भयो, आशा छ पाहुनाहरूले पनि राम्रै मान्नुभयो होला । सबैले आशीर्वाद दिइसकेपछि मैले पनि सबै पाहुनाहरूलाई धन्यवाद दिँदै भाञ्जीका लागि एउटा कविता भन्न मन लागेको तर समय अनुकूल नभएर भन्न सकिनँ ।

एमी भाञ्जी र निकिता भाञ्जीका साथीहरूले गीत गाउँदै रमाइलो गरिरहेका थिए । पहिलोपटक निकिता भाञ्जीले गीत गाएको पनि सुनियो, साह्रै मिठो स्वर रहेछ । त्यही पेशामा लागेको भए गायिका हुने रहिछन् ।

२९ जनवरी बिहान, अलिक थाकेर होला चाँडै उठ्न सकिएन । विस्तारै उठेर चियानास्ता लिएँ । झन्डै एक वर्षदेखि मलाई खोकी लाग्दै आएकाले नातेदार पर्ने नाककान, घाँटीकी डाक्टर नरमाया थापालाई देखाउन टिचिङ हस्पिटल गएँ । सामान्य जाँच गराउन बिहानभरी लाग्यो । यो हस्पिटलमा पहिलेभन्दा धेरै सुविधा भएको पाएँ । अझ सरसफाइमा पनि अलिक व्यवस्थित हुने हो भने राम्रो हुने छ । जाँच गरिसकेपछि औषधि लेख्दिनुभयो र औषधि पसलमा किनेर त्यहीँ नै खान सुरु गरेँ । किनकि यति लामो खोकीले असाध्यै सताइरहेको थियो । हस्पिटल जाँदा आउँदा बाटोको धुलो पनि खाँदै हिडेँ । औषधि खान थालेको ४ दिनदेखि अहिलेसम्म मुख खासै खोकेको छैनँ । धन्यवाद छ डाक्टर थापालाई ! स्वास्थ्यउपचारका लागि त नेपालका डाक्टरहरू र औषधिलाई मान्नैपर्छ ।

दिउँसो भाञ्जाभाञ्जी नयाँ बेहुला बेहुली सबैजना भएर नगरकोट घुम्न गयौँ, खुब रमाइलो भयो साँच्चिकै भन्ने हो भने आफ्नो देशको यस्तो प्राकृतिक, भौगोलिक मनोरम दृश्य हेर्दा किन मान्छे विदेश जान्छन्, यहीँ बस्नु नि ! तर के गर्ने राज्यले दिनानुदिन युवाहरूलाई विदेश खेदेकै छ, रोजगार हुने भए को जाने थियो विदेशीको गाली खान ।

जे होस्, अरू बिहानको सूर्योदय हेर्न जान्छन, हामीले सूर्यास्तको मनमोहक दृश्य हेर्दै तल काठमाडौँतिर झ¥यौँ । साँझको खाना लाजिम्पाटको रेष्टुरेन्टमा खाएर घरतिर लाग्यौँ ।

३० जनवरी सोमबार, बिहानै चितवन सौराहातिर लागियो । झन्डै १ बजेतिर दिउँसोको खाना खान होटेलमा पुगियो । नुहाएर फ्रेस भई होटेलको गाइड भाइसँग थारु बस्तीमा थारु म्युजियम हेर्दै खोलाको किनारैकिनार गएर खोलापारि हात्ती हेर्न गयौँ । हात्तीलाई बाँधेर राखिएको थियो । छोरीहरूले ‘किन यसरी बाँधेर राखेको, स्वतन्त्र छोड्नुपर्ने । ’ भनी गनगन गर्दै थिए । त्यहाँ बच्चाहरूलाई तालिम दिइने रहेछ । हामी त्यो ठाउँबाट फर्केर साँझ थारू सांस्कृतिक नाच हेर्न गयौँ, खुब जोसिलो नाच, रमाइलो भयो । आफ्नो संस्कार, संस्कृति जोगाउन प्रवर्धन गर्न यसरी देश, विदेशका पर्यटकहरूलाई प्रदर्शन गरिनु राम्रो कुरा हो । हाम्रो देश बहुभाषिक, बहुसांकृतिक रूपले धनी छ ।

३१ तारिख सोमबार, जङ्गल सफारी क्यानोविङ डुङ्गामा सफर गर्न र जङ्गलभित्र वन्यजन्तु हेर्न हिँड्यौँ । हामीसँग २ जना गाइड भाइहरू र अर्को परिवार, जो युकेबाट नै जानुभएको रहेछ । नदीको बीचबाट डुङ्गामा सफर गर्दा नचली विस्तारै बोल्नुपर्ने किनकि पानीको राजा गोही रिसाउला भनेर । गोहीहरू भने पारि पारि भित्ता, चौरतिर लम्पसार परेर घामको न्यानोमा आनन्द लिइरहेका थिए । हिँड्दा बाघ, भालु, गैँडा, सर्प, बाँदर साथै अन्य वन्यजन्तु भेट्दा आफू जोगिन केके गर्नुपर्छ भनी गाइड भाइहरूले सिकाएपछि हिँड्न सुरु गरेका थियौँ । भिड्न परेमा उहाँहरूसँग बलियो केवल लौरो मात्र थियो । हामीमाथि जाइ लाग्यो भने त्यो लौरोले मात्रै के छेक्थ्यो होला र ? तर, हामीले राम्रैसँग नियम पालना गरेछौँ क्यारे, कुनै जन्तु अगाडि परेनन्, चराबाहेक । जङ्गल भित्रभित्र हिँड्दाको मज्जा अर्कै हुँदोरहेछ । सुनसान जङ्गलमा चराको चिर्बिर चिर्बिर गीत, मृग र गैँडा चरिरहेको देख्दा कता कता डर पनि लाग्दोरहेछ, फेरि हेर्न पनि मन लाग्दोरहेछ । जङ्गलभित्र चर्पी थिएन । पिसाब त फेरियो घाँसलाई पानी भयो कि मारियो थाहा छैन ।

दिउँसो भ्यानमा जङ्गल डुल्यौँ । हात्ती, गैँडा, मृग आदि जनावरहरू, मयुरका साथै विभिन्न जातका चराचुरुङ्गीहरू देखिए तर बाघ देख्न सकिएन । बाघ आउने बाटोमा करिब १५ मिनेट रोकियो तर कतै दर्शन पाइएन । पाइन्थ्यो पनि कसरी, जिपको आवाजले लुकिहाल्ने भयो नि !

कतै खोलाको किनारतिर फोहोर फाल्ने बिन र जङ्गल सफारीमा इलेक्ट्रिक जिपको व्यवस्था हुनुपर्ने । जसले गर्दा हल्ला नहुने कुरा सुझाव बुकमा लेखियो ।

चितवनको बसाइँ साह्रै छोटो भयो तर रमाइलोको कुनै सीमा थिएन, होटेलको बसाइँ खानेकुरा अझै पनि मुखमै झुन्डिएको छ । हामी जहाँ गए पनि अरू देशको खाना दुई चार दिनमा मिच्छिन्छ तर सधैँ खान मिठो त नेपाली खाना नै हो ।

फेब्रुअरी १ तारिख बुधबार, चितवनदेखि पोखरा, पोखरादेखि गाडी लिएर मेरो माइती गाउँ पलिखरक गयौँ । एकछिन दाइभाउजू, माहिला माहिली, साहिँला साहिँली, कान्छा कान्छी र ठूली भाउजूलाई भेटेर बलाम जैपते साहिँली मसी (आमाकी साहिँली बहिनी) कोमा ८ बजेतिर पुग्यौँ । खाना खाइवरी मसीसँग १२ बजेसम्म कुरा गरेर सुत्यौँ । भोलिपल्ट बिहान सबेरै उठेर चियापान गरी हिँड्ने सुर गरियो । त्यो बेलासम्म तानसेनको श्रीनगर डाँडामा उज्यालो प्रकाश छरिँदै थियो । एकपटक पाल्पा तानसेन बसेको सम्झना ताजा बनाइदियो ।

२ तारिख बिहीबार, मसीको घरदेखि निस्केको बाटोमा मेरो घर पथ्र्यो र पनि कोही नउठेको सबेरै भएकाले नपसी सिधै वालिङ आयौँ र त्यहीँ बहिनी ज्वाइँकोमा खाना खाएर पोखरातिरको प्रस्थान भयो । १ बजे पोखरा पुग्नुपरेकाले बाटोमा सुनिलको छ्यामालाई बाटोमै बोलाएर १० मिनेटजस्तो भेटेर हिँड्यौँ । बाटोमा स्याङ्जाको अति नै मिठो सुन्तला खाँदै पोखरा आइपुग्यौँ । जहाजमा चढेर पोखराबाट काठमाडौँ आयौँ । भर्खर मात्र जहाज दुर्घटनाले मनमा डर नलागेको होइन, तर हामी गाडीबाट सफर गर्ने समय पनि थिएन । राति सुत्ने बेलामा आराधनाले अचानक मेरो त भोलि राति १ बजेको फ्लाइट पो रहेछ भनिन् । हामी सबैले एकछिन एकअर्कालाई अवाक भएर हेराहेर ग¥यौँ । कारण हामीले ४ तारिख शनिबार उड्ने हिसाब गरिरहेका थियौँ । खासगरी युकेमा त १२ बजेपछि त ४ तारिख भैहाल्यो नि । पक्का होलिडे लागेछ हामीलाई ।

३ फेब्रुअरी शुक्रबार, कोटेश्वर दाइ भाउजूकोमा सबै माइतीहरूसँग भेटघाट कार्यक्रम थियो । सबैजना उत्सुक थियौँ । बेलुकी भाउजूको परिकार मिठो मिठो भोजनपछि राति १० बजे आराधनालाई एयरपोर्ट पु¥यायौँ । ‘नेपाल बस्न पुगेन, जान मन लागेको छैन, एकरात पनि मामाघर बस्न पाइन भनी गनगन गर्दै थिइन् उनी । जे होस्, नानीहरू नेपाल बस्न खुब रहर गर्छन् ।

४ फेब्रुअरी शनिबार, सङ्गीतकार तथा गायक दिनेश सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ पुस्तक विमोचन अनामनगरस्थित किम्ची बारमा भएको थियो । उक्त समारोहमा प्रसिद्ध गायक दीप श्रेष्ठ, सङ्गीतकार प्रकाश गुरुङले सुब्बाको लेखनिबन्ध र संस्मरण सङ्ग्रह रहेको कृति सार्वजनिक गर्नुभएको भयो । सङ्गीतकार बुलु मुकारुङ, गीतकार सुवासचन्द्र ढुङ्गेल, गीतकार भूपाल राई, कुन्ती मोक्तान, पवित्र सुब्बा, सुकमीत गुरुङ, लोचन भट्टराई, सत्यस्वरूप आचार्य, गणेश राई, जानुका राई, नानु रानालगायतका गीतकार सङ्गीतकार, गायक, गायिका, कवि, पत्रकारहरूको जमघटमा थुप्रै विशिष्ट व्यक्तिहरूसँग भेट्ने सुनौलो अवसर र अविस्मरणीय दिन बन्यो । यस अवसरका लागि भावेश भुमरी भाइलाई धेरै धेरै धन्यवाद !

५ फेब्रुअरीको दिन कोटेश्वरमै बसेकाले उतैबाट प्रियङ्का नानीको सलुनमा अनुहारको मसाजका साथै कपाल रङ्ग्याएर अलि कम उमेरको देखिन हो कि भनी सोचेर कपालमा रङ लगाउने कार्य गरेँ । १ हप्तासम्म त ठिकै थियो तर प्रकृतिको देनलाई कहाँ छेक्न पो सकिन्छ र फेरि सेतो कपालले आफ्नो अधिकार जमाइहाल्यो नि !

बेलुकीको खाना कल्पना भाउजू, योगेन्द्र दाइ (मेरी भदैनी ऋचा) को घरमा थियो । सबै दाइभाउजू जेठु गुमाकोमा गएर रमाइलो गरियो, मिठो भोजनका साथ । कटहरको तरकारी त अझै मुखमा झुन्डिएकै छ । धन्यवाद दाइभाउजू ।

६ फेब्रुअरी सोमबार, बिहानै पशुपतिनाथको दर्शन र पूजा गर्ने कार्य भयो । त्यसपछि माहिला जेठु (इञ्जिनियर पल्टनको भूपू गोर्खा मेजर) ले थकाली मन्त्र रेष्टुरेन्टमा लानुभयो । भरपुर थकाली खाना खाइसकेपछि दाइ भाउजूसँग बानेश्वर भाउजूलाई भेट्न गयौँ । भाउजूकोमा जहिले पनि कोही न कोही पाहुना आइरहने र जहिले पनि खाना पाकिरहने हुन्छ । त्यो दिन भने पाहुना त अरू कोही थिएनन्, मस्यौरा पाकिरहेको थियो । के गर्नु थकाली खाना नखाएको भए त्यहीँ खाने थिएँ तर सकिनँ । बास्ना चाहिँ लुकेर भए पनि बेस्सरी सुँघेँ ।

७ फेब्रुअरी बिहान भाउजूले बनाउनुभएको मिठो हलुवा खाएर चन्द्रागिरि घुम्न गयौँ । ओहो, केवलकारमा त्यस्तो उकालोमा गयौँ, काठमाडौँ वरपरका सुन्दर दृश्य अवलोकन गर्दै माथि पुग्यौँ । मेरो देश गरिब भए पनि प्राकृतिक रूपले धनी छ अलौकिक उपहार पाएको । पहाड, खोलानाला र भूकम्प नआउने भए विकसित र धनी भैसक्थ्यो । यो केवलकार बुद्धि पु¥याएर बनाइएको रहेछ पर्यटन विकासका लागि । त्यहाँसाह्रै मिठो जेरी पाइने रहेछ ।

चन्द्रागिरी जाँदा फर्किंदा बमकुमारी दिदीलाई भेट्न फोन टेक्सट गरेको भेट्न सकिएन । त्यसपछि हामी शान्ति दिदीका आमा दिदी र भेनालाई भेट्न गयौँ । दिदी उमेरले पाको भए पनि कति काम गर्ने, सरसफाइ त्यस्तै, घर राम्रो राख्ने, लाउन बस्न खान साह्रै शौ, त्यसैले होला युके आउँदा धेरै बस्न नसकी नेपाल नै फर्कनुभएकी ।

सोही दिन बेलुकी ठूलो गुमा जेठू (भाउजूको दाइ इञ्जिनियर पल्टनको रिटायर्ड क्याप्टेन) को घरमा मिस्ठान्न भोजन खाइयो । गुमाले बङ्गुरको मासु साह्रै मिठो गरी बनाउनुहुन्छ मुखमै झुन्डिने । रमाइलो भयो मिठो खाना र कोसेली पनि पाएपछि रमाइलो नहुने त कुरै भएन नि ! धन्यवाद छ गुमा (भाउजूकी भाउजू) ।

८ फेब्रुअरीको दिन कोटेश्वर राम जेठुको घरमा गयौँ । प्रतिज्ञा गुमाले बिहानको स्पेसल खाजाको परिकार बनाउनुभएको थियो । हलुवा, पुरी तरकारी, मालपुवा, खीर, अण्डा, फलफूल यस्तै यस्तै । अहिले सम्झिँदा नि मुखै रसाएर आउँछ ।

सुभानी छोरीको डेन्टल चेक अप थियो । हामीले पनि बेलायतमा बसेर खाएको मैलो दाँत सफा गर्ने भनेको भ्याइएन । पहेँलै दात पो छ त, आफूलाई हाँस्दा दाँत देखाएरै हाँस्नुपर्ने ।

९ फेब्रुअरी बिहीबारको बिहान फेरि टिचिङ हस्पिटलमा पछाडि ढाड दुखेको एक्सरे गर्न गएँ । मेलम्चीको पानी ल्याउन जताततै बाटो खनिरहेका, जाँदा आउँदा बाटोको धुलो सुँघ्दै र खाँदै यात्रा गर्नुपर्ने बाध्यता आइलाग्यो । आफ्नै देशको भएर होला धुलोले कुनै असर गरेन ।

साँझ उत्सव बाबुको घरमा खाना थियो । फेरि सपरिवारलाई भेट्ने मौका मिल्यो । नेवारी खाना, मिठोको वर्णन त गरिनसक्नु । सबैजना नेवार कुरा गर्दा त लाग्यो कतै म नेवार साथीहरूसँग हुर्केको ठाउँ स्याङ्जा बलाममा त छैनँ जस्तो । बिर्सिसकेको कुरा पनि उहाँहरू बोल्दा त सम्झिएको अवस्था भयो । मेरो कुरा नकाट्नू है, मैले नेवार भाषा बुझ्छु भनेर ठट्टा पनि गरेँ । कुरा काट्ने त कुरै भएन नि । फेरि उहाँहरू त आँखामा राखे नि नबिझाउने भने जस्तै राम्रो परिवार ।

१० फेब्रुअरी, हरेक दिनमध्ये यो दिन पनि अविस्मरणीय रह्यो । धेरै वर्षअगाडिदेखि नेपालका राजकुमार (दीपेन्द्र वीर बिक्रम, पारस र निरञ्जन) ले पढेको स्कुल बूढानीलकण्ठको नाम सुनेकी थिएँ । बिहे गर्नुअगाडि फकाउँदा सुनिल (मेरा श्रीमान्) ले पनि सोही स्कुलबाट एसएलसी पास गरेको भनी सुनेकी थिएँ ।

बिहे भएको तीन दशक पनि नाघिसकेको अवस्थामा अहिले बल्ल कान्छी छोरी र मलाई त्यो स्कुल हेर्ने समय जु¥यो । त्यो दिन विभिन्न स्कुलहरूको खेलकुद भैरहेको रहेछ । महिला भलिबल खेलेको देख्दा आफूलाई पनि स्कुले जीवनमा खेलेको याद आएर सर्भिस गर्न मन लागेको थियो । गेटमा पुगेपछि स्कुलका पुराना दिद्यार्थीहरूले खातामा नाम चढाएपछि भित्र जाने अनुमती रहेछ । पहिलो ब्याजको विद्यार्थी भनेको त गार्ड भाइले जिब्रो निकाले । सुनिलको बाल्यकालदेखि किशोर अवस्थासम्म बिताएका दिनहरूको स्मरण गर्दै भावुक हुँदै हरेक एकएक ठाउँको वर्णन गर्दै सबैतिर घुमियो । साँच्चिकै विद्यार्थीकै लागि अनुकुल ठाउँ रहेछ । आफूहरूले रोपेका ससाना विरुवाहरू अहिले ठूला रुख भइसकेका रहेछन् । शिवपुरीको फेद, नारायणथानस्थित साँच्चिकै हरियाली, शान्त र सुन्दर ठाउँ रहेछ । राम्रो ठाउँ देखेपछि विदेशमा जस्तो भन्ने बानी, के हाम्रो नेपालमा राम्रा ठाउँ छैनन् र ? विकास भएको छैन र, अवश्य छ । अझ नेपालका नेताले ध्यान पु¥याए भने यसको धेरै गुणा राम्रो र विकास हुने छ ।

११ फेब्रुअरी शनिबार, शुभानीको युके उड्ने दिन ३ हप्ता बितेको पत्तै भएन । उसलाई एयरपोर्ट पु¥याएर शुभयात्राको कामना गर्दै साँझ दाइभाउजूसँग बौद्ध सेचेन गुम्बा दर्शन गर्न गयौँ । खेम्पो निमा सिङ्गे गुरुलाई भेटेर आशीर्वाद लिएर फक्र्यौं । सेचेन गुम्बाभित्र पस्दा सफा शान्त, काठमाडौँमै हो र जस्तो लाग्थ्यो । बाहिर धुलो, भीड, त्यो क्षेत्रभित्र अति नै सफा अनि शान्त !

१२ फेब्रुअरी आइतबार, बिहान भाञ्जा बाबु रेगनलाई लिएर अनामनगर गयौँ । निवर्तमान अध्यक्ष नेपाल आदिवासी जनजाति पत्रकार महासंघ संघीय (फोनिज) का निवर्तमान अध्यक्षसँग भेट्ने कार्यक्रम थियो । केही क्षण कुराकानीपछि बिदा भयौँ ।

साँझ डिनरका लागि गुप्त दाइ (जेठाजु), दिदीको घर लगनखेलमा गयौँ । विभिन्न कुराकानीका साथमा स्वादिष्ट परिकारका खानाहरूमा खुब रमाइलो भयो । कति सालमा किन्नु भा’को होला त्यस्तो राम्रो ठाउँमा घर ?

१३ फेब्रुअरी सोमबार, हामी दुई र दाइ भाउजु गरी ४ जना दिल्लीतर्फ लाग्यौँ । इन्डियाको सिलगडी, दार्जिलिङबाहेक अरू ठाउँमा नघुमेको भएर छिमेकी राष्ट्र कस्तो रहेछ त भनी नयाँ दिल्ली घुम्न निस्केका थियौँ । स्नातकोत्तर इन्डियामै पढेको मेरो भदै रिस्चलले हरेक दिनको आइटनरी बनाइदिएको हुँदा कुनकुन ठाउँमा जाने भन्नेमा खुब सजिलो भयो ।

१४ फेब्रुअरी मङ्गलबार, बिहान चियाखाजा पछि यी ठाउँहरूमा घुमियो, कति धेरै मान्छे र गाडीको भीड ! शपिङमल त युकेको के ठूलो ३/४ गुणा ठूलो लाग्यो । साँझ खानापछि होटेलमा फक्र्यौं । यी ठाउँको वर्णन गरिनँ मैले, किनकि युट्युबमा भेटिन्छन् । दिल्लीमा नहेरिनहुने ठाउँ सायद छुटेनन् कि ? हेर्नुपर्ने त कति कति ?

१५ फेब्रुअरी बुधबार, बिहानै ६ बजे नै आग्रा ताजमहलतिर लाग्यौँ । बाटो साह्रै राम्रो फराकिलो रहेछ । बाटामा देखिने शहर बाटो हेर्दा इन्डिया धेरै विकसित भएको रहेछ । फर्किंदा विस्तारै घुम्दै आउँदा निकै ढिलो भैसकेको थियो । कर्नाट प्लेस, इन्डिया गेट राष्ट्रपति भवन हुँदै होटेलमा फक्र्यौं ।

१६ फेब्रुअरी बिहीबार, मेट्रोमा चढेर क्षेत्रपुरधाम गयौँ । असाध्यै सफा अनि अद्भूत लाग्यो । मान्छेको भीड त्यति नै, क्यामरा झोलाभित्र लान मनाही रहेछ । इन्डियामा यस्तो भिड या धार्मिक स्थलमा महिला र पुरुषको आ आफ्नो लाइन हुँदो रहेछ । नेपाल र भारत छिमेकी देश, उताका मान्छे नेपालमा र नेपालका मान्छे उता थुप्रै भेटिए । हामीलाई बस्न होटेल कान्छा (राम थापा) जेठुले मिलाइदिनुभएको थियो । त्यहाँ पनि गेटमा र भान्छाघरमा गोर्खाका भाइहरू थिए । जे खान मन लाग्यो त्यही बनाइदिन्थे, साह्रै सजिलो भयो ।

१७ फेब्रुअरी शुक्रबार, नेपाल फर्किने दिन थियो । थोरै दिन बसे तापनि निकै धेरै ठाउँहरू हेर्न, घुम्न सकियो । राजस्थान र देहरादून जाने इच्छाा चाहिँ पूरा हुन सकेन, सोचेँ अर्कोपटक । अब यति भएपछि कसैले दिल्लीको कुरा गर्दा आफू ट्वाल्ल परेर बस्नुपरेन कुरो थप्न पाइयो ।

१८ फेब्रुअरी शनिबार, सुनिल त चितवन माकरतिर आफन्ती भेट्न भैरहवा उड्नुभयो । म भने माइतीमा बस्न पाएको खुसीको सीमा थिएन । यो त विवाहित दिदीबहिनीहरूलाई मात्र महसुस हुने कुरा हो ।

२० फेब्रुअरी सोमबार, दाइभाउजुसँग हरिसिद्धिमा होम दाइको आमा (छ्यामा) लाई भेट्न गयौँ । मसीले कानले नसुने पनि आँखाले बिनाचस्मा राम्रै देख्नुहुँदोरहेछ । ३५/३६ वर्ष पछि भेट्न गएको भए तापनि मलाई राम्ररी चिन्नुभयो । चिया पिएर निस्कन लागेको आउनै दिनुभएन बल्ल बल्ल आएको, अहिल्यै नजाने भनी हातले तानेर राख्नुभयो । यसरी आफन्तीहरूको माया पाउँदा त मनै पग्लेर आउने, नेपालमै बस्न मन लाग्ने ! विदेश आउनुको पछाडि थुप्रै कथा छन् अहिले नखोल्दा नै ठिक होला ।

२१ फेब्रुअरी मङ्गलबार, पार्सल लिन जाने, बजार किनमेल गर्ने भयो । ओहो ! तरकारी देख्दा आत्तिएजस्तो हुने, सबै तरकारी सागसब्जी किनूँ जस्तो हुने । युकेमा भने नेपाली तरकारी कहाँ पाई !

२२ फेब्रुअरी बुधबार, आफन्तहरूलाई भेट्ने अमला आन्टीलाई भेट्न जाने यस्तैमा दिन बित्यो ।

२३ फेब्रुअरी बिहीबार, राधा पौडेल बहिनीलाई उहाँकै अफिसमा भेट्न गएँ । उहाँ एक पेशाले नर्स सामाजिक अभियन्ता अनि लेखक हुनुहुन्छ । खलङ्गामा हमला पुस्तकबाट मदन पुरस्कार विजेता, राधा पौडेल फाउण्डेशनको डाइरेक्टर, फाउण्डर मर्यादित महिला । उहाँका भर्खरै प्रकाशित मारियम मान्छे भई र रोलनम्बर एक गरी दुईटा पुस्तक लिएर न्युरोडतिर गएँ । किनमेलका लागि ‘ल्हासामा सुन छ मेरो कान बुच्चै ।’ भनेजस्तै न्युरोडतिर कति धेरै सुन पसल किन्न सक्या होइन । अन्य सामान किनमेलपछि दाइभाउजुसँग उपसभामुख इन्दिरा राना (आमा) लाई भेट्न सिंहदरबारमा पुग्यौँ । बन्दी बाबुआमाका छोराछोरीहरूलाई गाँस, बास, कपास र शिक्षा दिने एक ममतामयी, मेहनती साहसी महिला उपसभामुखजस्तो गरिमामय पदमा पुग्नुभएको छ । उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दियौँ ।

त्यस साँझ जनरल श्याम दाइ भाउजूले आर्मी अफिसर्स क्लबमा डिनरका लागि मिलाउनुभएको रहेछ । त्यो ठाउँको छुट्टै अनुभव लिने अवसर पनि छुटेन ।

२४ फेब्रुअरी शुक्रबार, बिहान फोनिज युके पत्रकारिता सम्मान, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज युकेले हरेक वर्ष (२०१६ देखि) नेपालमा आदिवासी जनजातिसम्बन्धी कलम चलाउने पत्रकारहरूलाइ सम्मान र पुरस्कार वितरण गर्ने गरेको छ र यही कार्यक्रम रहेको थियो । यो वर्ष सम्मान रमिता लामा पुरस्कार नृपेन्द्रलाल श्रेष्ठले पाएका थिए । प्रमुख अतिथि माननीय अमनलाल मोदी मन्त्री (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) थिए । तमु बौद्ध सेवा समिति अनामनगरमा कार्यक्रम भएको थियो । सोही दिन फोनिज नेपालबाट मलाई पनि स्वागत र बिदाइ कार्यक्रमसमेत रहेको थियो । आफ्नो उपस्थितिमा सम्मान पुरस्कार दिन पाउँदाको अवसर त्यो क्षण अत्यन्तै महङ्खवपूर्ण र अविस्मरणीय हुँदोरहेछ । यो कार्यक्रम मिलाउनुभएकोमा फोनिज नेपालका अध्यक्ष गजुरधन राई, महासचिव मिलन लिम्बू, पदाधिकारी, कार्यसमिति सल्लाहकार सबैलाई हार्दिक धन्यवाद ।

त्यही साँझ युके उड्नु थियो । रातिको फ्लाइट खाना खाएर १० बजे एयरपोर्ट पुग्यौँ । दाइभाउजु आउनुभएको थियो । नेपाल बस्दा लाग्छ, सबै खानेकुरा खाइसकेको थिएँ, छुटेको भनेको योमरी थियो । भाउजूले तातोतातो योमरी ल्याइदिनुभएको रहेछ । पेट टन्नै थियो र पनि ४ वटा योमरी खाएँ । खाली पेट हुने भए सबै खाइदिने थिएँ । भाउजूको माया । भाउजूको यस्तो माया आमाको भन्दा कम छैन ।

यसरी नै बित्यो हाम्रो पाँच हप्ताको छुट्टी । अझ कारणवश निकिता भाञ्जीको इङ्गेजमेन्ट (हाम्रो चलनमा ठेकी ल्याई मगनी गर्ने) को कार्यक्रम भ्याउन सकिएन । हामी युके फर्केपछि केही दिनमा सम्पन्न भयो । अब बिहेमै भेटौँ । दुवै जनालाई हाम्रो सधैँ माया अनि आशीर्वाद छ ।

नेपाल बस्दा कति इस्टमित्र, आफन्त र साथीहरूसँग भेट्न सकेनौँ, माफ दिनुहोला । जो जससँग भेट् भयो, सहयोग गर्नुभयो, सबैलाई धन्यवाद !

 

बेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार