‘नववर्षले जन्माएका वृक्षहरू’ पढेपछि

समीक्षा

  भावेश भुमरी  327 पटक हेरिएको

विगत दुई दशकदेखि वातावराणका विधि विषयलाई केन्द्र बनाउँदै र आफ्ना साहित्यिक सिर्जनाहरू पस्कँदै आउनुभएका बेलायतमा कार्यरत साहित्यकार विजय हितान नेपाली डायस्पोरा साहित्यका एक हस्तीका रूपमा स्थापित हुनुहुन्छ । मैले फेसकुकमार्फत चिनेदेखि भगीरथ रूपले आफ्नो लेखलाई कुदाइरहनुभएका हितानले वर्षमा एक या दुईवटा कृति प्रकाशन गर्दै आउनुभएको छ । विशेषतः कविता, निबन्ध र कथा विधामा आफूलाई पोख्त बनाउनुभएका हितानको नवीनतम् कथासङग्रह हो ‘ब्लु प्लानेट’ ।

नेपाली साहित्यमा वातावरण साहित्यलाई एक अभिन्न विषयको रूपमा समावेश गराउँदै यसको प्रबर्धनबाट आयाम विस्तारमा डटेर लाग्नुभएका विजय हितानको ‘ब्लु प्लानेट’ एउटा यस्तो कथासङग्रह हो जसमा वातावरणसम्बन्धी अनेक विषयहरू सुन्दर कथाहार बनेर उनिएका छन् । यस सङ्ग्रहमा सङ्गृहीत १५ वटा कथाका कैयौँ ठाउँमा पाठकहरूलाई आफैँ पात्र भएको अनुभूति हुन्छ भने कहीँ आफैँले देखेका, चिनेका या जानेका पात्रहरू हुन् कि भन्ने लाग्छ । सामान्यजस्तै लाग्ने वातावरणका विषयहरूलाई गहन तरिकाले उठान गर्दै तिनमाथि कतिपय मानवीय कार्यले पारेका दुस्प्रभावका बारेमा सशक्त रूपले कलम चलाउन खप्पिस हितानको एक अर्थपूर्ण कथा हो ‘नव वर्षले जन्माएका वृक्षहरू’ ।

नेपालमा विगत लामो समयदेखि हामीले भोग्दै आएको धमिलो राजनीति र गुम्सिएको चेतना विस्तारै फुक्दै र सङ्लिँदै आउँछ । असीबाट नब्बेको दशक पार गर्दै गर्दा देशविदेशमा रहेका नेपालीहरू पर्यावरणीय संरक्षण कार्यमा जुट्न थाल्छन् । वि. सं. २१०२ सम्ममा सभ्य बन्दै आएको राजनीतिक चेतले वातावरणीय सचेतनामा महत्वपूर्ण भूमिका खेलेको कुरालाई यस कथाले मुख्य विषय बनाएको छ ।

वि. सं. २१०२ सम्ममा नेपालका राजनीतिक मातृ पार्टीहरूबाट वातावरणको संरक्षणका लागि आफ्ना भातृसङ्गठनहरूलाई विघटन गर्दै नयाँ नाममा पुनर्गठन गर्ने कार्य अगाडि बढ्छ । माओवादीले वाईसीएल विघटन गरेर वाईजीएम (योङ ग्रिन मुभमेन्ट) नामक भतृसङ्गठन स्थापना गर्छ भने कांग्रेसले तरुण दलको नाम फेरेर एनजीवाई (नेपाल ग्रिन युथ) बनाउँछ । एमालेले प्रजातान्त्रिक राष्ट्रिय युवा संघलाई खारेज गर्छ र जीआरवाईजी (ग्रिन रिभोलुसनरी युथ ग्रुप) बनाउँछ । राजनीतिक पार्टीहरूमा यसरी परिवर्तनका चेतना पलाउनु भनेको राजनीतिक स्थिरता र विकासप्रतिको प्रतिबद्धता हो । पार्टीका यिनै भातृसङ्गठनहरूले आयोजना गर्न गइरहेको काठमाडौँ उपत्यकाव्यापी वृक्षारोपण कार्यक्रमका लागि बेलायतलाई कर्मथलो बनाएका रमेशलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिन्छ । बेलायती युनिभर्सिटीबाट वनस्पति विज्ञानमा स्नातकोत्तर रमेश बेलायतमै स्थापित ’नेपाल प्रकृति संरक्षण कोष’को प्रबन्ध निर्देशकको रूपमा कार्यरत उनलाई यस वृक्षारोपण कार्यक्रममा निमन्त्रण गरिन्छ । वातावरणसम्बन्धी ज्ञान बाँड्न कहिल्यै नथाक्ने रमेश विकासका नाममा हुने वातावरणीय अनेकौँ विनाश रोक्न दिलो ज्यान दिएर कार्य गर्दै आएका एक कर्तव्यनिष्ट कर्मचारी हुन् ।

काठमाडौँ उपत्यकाव्यापी वृक्षारोपणको महत्व र निमन्त्रणालाई मनन गर्दै रमेश बेलायतबाट काठमाडौँ आइपुग्छन् । रमेशकी श्रीमती राधिका पनि वातावरण संरक्षणमा सचेत छिन् । यही सचेतताकै कारण छोराको नाम टुसा रहन गएको कुरा कथाबाट स्पष्ट हुन्छ ।  सानै उमेरदेखि नै टुसामा वातावरणीय चेतना अद्भूत तरिकाले विकास भएको छ । बाबा रमेशको जन्मदिनका अवसरमा दश वर्षे छोरा टुसाले एक गमलामा हुर्कंदै गरेको पीपलको विरुवा उपहारस्वरूप बाबालाई प्रदान गर्छ । यसबाट प्रस्ट हुन्छ वातावरणप्रति उसको जागरुकता र असल कार्य ।

रमेशले वातावरणीय चेतना विकास र संरक्षणका लागि अनेक लेखहरू लेख्दै र प्रकाशति गर्दै आएका छन् । वायुमण्डलीय कार्बन डाइअक्साइडको असन्तुलन नै जलवायु परिवर्तनको प्रमुख कारक हो भन्दै उनी बोटविरुवा वा वनजङ्गल संरक्षणमा अर्जुन दृष्टि लगाउँछन् । उनले वनजङ्गल र मानवबीचको सम्बन्ध र आपसी फाइदाका बारेमा पनि स्पष्ट पार्छन् ।

बाग्मती पहिलेजस्तो प्रदूषित छैन, गर्मीको समयमा पनि सफा र सङ्लो पानी निरन्तर रूपले बगिरहेछ । राजहाँसका जोडीहरू पानीमा शैर गरिरहेका दृश्यले युरोपको कुनै एक नदीको स्मरण हुन्छ र नेपालको विकास त्यसरी नै हुँदै छ भन्ने बोध गराउँछ । गुह्येश्वरीको जङ्गलमा बाँदरहरू रमाइरहेका छन् भने चराहरू पनि चिरबिर गरिरहेका छन् । यस्तो सुरम्य वातावरणबीच झ्याम्म परेको पीपलको चौतारोमा पाल टाँगेर काठमाडौँ उपत्यकाव्यापी वृक्षारोपण कार्यक्रमको मञ्च बनाइएको छ । विभिन्न क्षेत्र र तप्काका अतिथिहरू आउने क्रम जारी छ भने कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री हुन् भन्ने कुरा पनि बीचबीचमा जानकारी गराइँदै छ । बाग्मतीपारि किनारमा मानिसहरू वृक्षारोपण गर्न हातमा बिरुवा बोकेर उद्घाटन कुरिरहेका छन् । फूलबुट्टे सारीमा सजिएकी राधिका रोप्न भनी लगेका पाउलोनिया र चाँपका बिरुवा घामबाट ओझेलतिर सार्न पुग्छिन् । टुसा पनि आफ्नी आमालाई सघाउनतिर लाग्छ । विशेष अतिथिको रूपमा उपस्थित रमेश यिनै दृश्यलाई आँखामा कैद गरिरहेछन् र बोध गरिरहेछन् नेपालको सन्तुलित वातावराण र शिक्षित समाज ।

प्रमुख अतिथिको ढिलाइका कारण केही मिडियाका संवाददाता रमेशसँगको अन्तर्वार्तातिर केन्द्रित हुन्छन् । बेलायतबाट आउँदा कस्तो लागेको छ ? भन्ने संवाददाताको प्रश्नको उत्तर दिँदै रमेश आफू प्रायः नेपालकै कार्यमा लागेको उत्तर दिन्छन् । १५ वर्षअगाडिको नेपाल र अहिलेको नेपालमा विकास र वातावरणीय भिन्तनता धेरै नै देखिएको कुरा गर्दै यसमा आफ्नो पनि हात रहेको खुलासा गर्छन् । लुम्बिनीको घना जङ्गल नाश भयो र त्यसलाई पहिलेकैजस्तो बनाउने लक्ष्यका साथ वृक्षारोपणको कार्यलाई नियमित रूपले अगाडि बढाउँदा हाल पहिलेकै जस्तो घना जङ्गल बनिसकेको कुरा गर्दै रमेशले दलाई लामाजस्ता व्यक्तिले पनि बेलायतमा रहँदा बुद्ध नेपालमा जन्मेका हुन् भनेर खुलस्त तरिकाले बोल्न नसकेको कुरा बताउँछन् । बुद्धको ज्ञानले विश्वलाई ढाकिसकेको छ तर बुद्ध जयन्तीका समयमा वृक्षारोपण कार्यक्रम राखेर बुद्धको जन्मभूमिका बारेमा प्रचारप्रसार गर्दै पर्यटकहरूलाई निम्त्याउन सकेको भए बुद्ध नेपालमै जन्मेका रहेछन् भन्ने कुरामा सबैको ध्यान जान्थ्यो भन्दै उनले संवाददाताहरूलाई पनि पत्रकारिताको माध्यमबाट जिम्मेवारी वहन गर्न आग्रह गर्छन् ।

पहाडी मुलुक नेपालमा बेलायतमा जस्ता खेती गर्ने ठूला फाँट नभएका कारण स्वदेशमै निर्मित माइक्रो ट्याक्टरहरू प्रयोग गरेर उन्नत खेती गरिँदै आएको र यसले वातावरणमा चुनौती थपेको भन्ने जिज्ञासामा रमेश नेपालमा पनि ’प्रकृति बचाऊ’ मूलक कार्यहरू गर्ने चलन आएको कुरामा जोड दिन्छन् । आफूहरूले बेलायतमा देखेका कुरा नेपालमा पनि हुन सकून् भन्ने लक्ष्यका साथ ‘नेपाल प्रकृति संरक्षण कोष’ खडा गरेर वातावरणमैत्री क्रियाकलापको अभियानमा भाग लिँदै आएको कुरा पनि प्रस्ट पार्छन् । उनी बेलायतमा बसोवास गर्ने धेरै नेपाली यस अभियानमा जोडिएको कुरा पनि प्रस्ट्याउँछन् ।

समय घर्किंदै आएकाले आयोजकहरू प्रमुख अतिथिलाई फोन घुमाउनतिर लाग्छन् । यस्तो दृश्य देख्दा रमेशमा वातावरण बचाउन प्रधानमन्त्रीकै मात्र हात रहन्छ र ? सर्वसाधारणको हात रहँदैन ? भन्ने प्रश्नहरू उब्जिन्छन् । रमेशमा यस्ता प्रश्न उब्जिनु स्वाभाविक हो, पश्चिमा देशहरूमा प्रधानमन्त्री र कर्मचारी या नागरिकबीचको दुरी टाढा हुँदैन । भन्नै पर्दा पदभन्दा कामलाई सम्मान गरिन्छ ती देशहरूमा । त्यही कारण समयलाई सबैभन्दा शक्तिशाली मानिन्छ । कसैको विलम्बमा सम्झौता गर्न चाहन्नन् पश्चिमा नागरिकहरू ।

बाग्मतीको पानी २०÷२५ वर्षअगाडि अति दुर्गन्धित थियो तर अहिले पिउन सकिने बनेको भन्ने संवाददाताहरूको जिज्ञासामा रमेश वातावरणीय संरक्षणको प्रतिफलस्वरूप यो सम्भव भएको कुरा प्रस्ट्याउँछन् । आफ्ना बुबा गोर्खा पल्टनबाट छुट्टीमा आउँदा काठमाडौँमा पिउने पानीको हाहाकार भएको, मेलम्चीको पानी काठमाडौँमा ल्याउन तिसौँ वर्ष लागेको, वायुमण्डल धुलो र धुवाँले प्रदूषित भएको, सडकहरूमा फोहोरमैला थुपारिएको, कलकारखाना र उद्योगहरूबाट उत्सर्जित दूषित पानीका साथै घरका ढलहरू प्रशोधनबिनै सिधै बाग्मतीमा बगाएका जस्ता कुरा पनि उनीे स्मरण गर्छन् । त्यतिबेलै आजकाल हरेक घर र कलकारखानाका ढलहरू फोहोर पानी प्रशोधन केन्द्रमा पठाइन्छ । रासायनिक र जैविक प्रक्रियाद्वारा हानिकारक जीवाणुहरूलाई मारिन्छ । मलमूत्रलाई पनि आधुनिक तरिकाले नष्ट गरिन्छ । प्रशोधनबाट निस्केको ठोस पदार्थलाई मल बनाइन्छ र तरल पदार्थलाई खोलानालामा बगाइन्छ । भन्ने एक व्यक्तिको कुरा सुन्दा रमेशमा खुसीको तरङ्ग फैलिन्छ र उनी विदेशमा गएका नेपालीहरूलाई पनि नेपालमै फर्केर काम गर्न आह्वान गर्छन् ।

अन्तवार्ताको समापन अनि रमेश र संवाददाताबीचमा भिजिटिङ कार्ड साटासाटकै समयमा प्रधानमन्त्रीको आगमन हुन्छ । प्रमुख अतिथिको आगमनले सबैको ध्यान त्यतै केन्द्रित हुन्छ । प्रमुख अतिथिले मञ्चअगाडिको खाली जमीनमा उत्तिसको विरुवा रोपेर यस वृक्षारोपण कार्यक्रम उद्घाटन गर्छिन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दाको चर्को आवाजबाट त्रस्त चराहरू उडेर टाढा पुग्छन्, बाँदरहरू पनि कुलेलम ठोक्छन् । यता रमेश, राधिका, टुसासहित उपस्थित सबै वृक्षारोपणतिर लाग्छन् र नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गर्छन् ।

विजय हितानको प्रस्तुत कथाविषयले अहिलेको वेतिथिमा जेलिएको राजनीति अबको बीस वर्षमा निक्कै सङ्लिने छ र विकासका फट्काहरू वतावरणमैत्री हुने छन् भन्ने कुरालाई निक्कै महत्वका साथ प्रस्तुत गरेको छ । एक सर्जकले देखेका, भोगेका र थाहा पाएका कुरामा मात्र कलम चलाउँदैन, भविष्यका कैयौँ कुराहरूमा निर्धक्क तरिकाले कलम चलाउँछ र पाठकहरूसामु राख्न सक्छ । जसबाट सकारात्मक सन्देशहरू प्रवाह हुन्छन् । हितान पनि यस्तै सम्भावित कल्पनामा कलम चलाउन र पाठकहरूलाई सकारात्मक सन्देश प्रवाह गर्न सफल हुनुभएको छ । कथा सरल भाषाशैली र सहज शिल्पीबाट अभिव्यञ्जित छ । कथा कहीँ शब्दाका कारण, वाक्य गठन या अर्थका कारण बुझ्न दुर्बोध्य छैन ।

कथाकारले कथाको बुनोट र घुम्तीहरूमा आफूलाई निक्कै सजगताका साथ अगाडि बढाउनुपर्छ । कथाकार विजय हितान अधिकाङ्श ठाउँमा सजगता अपनाउन सफल देखिनुहुन्छ । यस कथामा कहीँ कतै ससाना त्रुटिहरू खड्किन्छन् । यी त्रुटिहरूका बारेमा पाठकहरू जानकार नै हुनुहुन्छ होला । मैले देखेका सामान्य त्रुटिहरूमा वैशाख १ गते, नयाँ वर्षको अवसरमा वृक्षारोपण कार्यक्रम उपयुक्त भए तापनि सुख्खा र गर्मीका कारण विरुवाहरूलाई बचाउन कठिन हुन्छ । तराई या बेँसी क्षेत्रमा पाइने साल र सिसौका विरुवाहरू काठमाडौँको हावापानीमा नहुर्किन सक्छन् । मलाई लागेको अर्को कुरा, देशमा यति धेरै चेतनाको विकास र परिवर्तनकै कारण एक महिलाले प्रधानमन्त्री पदमा आसिन हुने सफलता पाएको हुँदा उनी नै प्रमुख अतिथि भएको यस कार्यक्रममा प्रधानमन्त्रीको आगमन समयलाई नै कथाले विलम्ब नबनाइदिएको भए कथाको विषय अरू खँदिलो हुन्थ्यो कि ? मेरो पाठकीय दृष्टिलाई मध्यनजर गर्दै कथाकार हितानले आगामी संस्करणमा यी सामान्य त्रुटिप्रति नजर लगाउनुहुने नै छ । कहीँकतै छुटेका भाषिक त्रुटिलाई भाषासम्पादकले पनि सुधार्नुहुने छ ।

वातावरणजस्तो फरक विषयमा यसरी स्वादिला, चेतनामूलक र पाठकहरूलाई आफ्नै विषय लाग्ने कथा लेख्न सफल विजय हितानको कलम निरन्त्र रूपले अगाडि बढिरहोस् र पाठकहरूसामु अरू सशक्त कथाहरू आइरहून् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार