हङकङमा लाहुरेको रेलिमाईको विमर्श

  सुरप्रभापोस्ट सम्वाददाता  266 पटक हेरिएको

हङकङ साहित्यिक साझा शृङ्खलाको ११ औँ वार्षिकोत्सव पारेर विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि विमर्श गरिएको छ । कार्यक्रम हालै हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजना गरिएको थियो ।

विमर्श कार्यक्रममा यस उपन्यासको समीक्षा डा. चुरा थापाले गरेका थिए । समीक्षाका क्रममा डा. थापाले यसभित्रका विषयवस्तुलाई आफूले उत्तर आधुनिकता, पहिचान र ऐतिहासिकताको दृष्टिकोणबाट केलाएको बताए । उनले उत्तरआधुनिक लेखनले यथास्थितिवादलाई चिर्दै प्रश्न गर्छ र प्रगतिशीलतालाई अँगाल्छ भन्दै उपन्यासका मूल पात्र मित्रसेनले अङ्ग्रेजको औपनिवेसिक हैकमवादी मानसिकतामाथि पटकपटक प्रश्न उठाएको कुरा बताए । गोर्खा लाहुरे मित्रसेनले प्रथम विश्युद्ध लड्दै गर्दा ‘मातृभूमिदेखि यति टाढा किन लड्न आएको छु ? मलाई कसले लड्न पठाएको छ ? यो मेरो राष्ट्रको लडाईं त हैन ।’ भनेर उपन्यासमा प्रश्न गरेको प्रसङ्गसमेत उनले कोट्याए । लाहुरे गोर्खाली हुन्, गोर्खाली नेपाली हुन् । नेपालमा दुई सय वर्षभन्दा लामो लाहुरे संस्कार र संस्कृतिको स्थापना भएको छ । यसै गर्विलो लाहुरे पहिचान उजागर गर्ने यो कृति एक ऐतिहासिक दस्तावेज भएको कुरा पनि उनले प्रस्ट्याए ।

आफ्नो मन्तव्यको क्रममा उपन्यासकार विजय हितानले छ वर्षसम्म अध्ययन, अनुसन्धान र भ्रमण गरेर यो उपन्यास लेखेको कुरा बताए । प्रथम विश्वयुद्धमा अङ्ग्रेजले कुनकुन इन्डियन गोर्खाली पल्टनलाई कहिले र कुनकुन देशमा लगेर लडायो भन्ने कुरासहित युद्धको मानवीय संवेदनालाई आफूले आख्यानको रूपमा व्यक्त गरेको बताउँदै हितानले यो उपन्यास सर्वसाधारण पाठकले त पढ्ने नै छन्, सेवारत तथा सेवानिवृत्त लाहुरेहरूलाई पनि पढेर आफ्नो पुर्खाले छाडिगएको विरासतलाई बुझिदिन अनुरोध गरे ।

कार्यक्रममा हङकङमा रहेका सर्जकहरूका कविता, गीत, गजल, हाइकु आदि विधाहरूलाई समेटी साझा शृङ्खलाद्वारा प्रकाशित ‘शृङ्खला– ६’ को विमोचन पनि गरियो । यस कार्यक्रममै विभिन्न विधाका सर्जकलाई सम्मानसमेत गरियो । फोटो पत्रकार जगत् अम्बु गुरुङलाई ‘किसन राई स्मृति प्रतिभा पुरस्कार– २०२३’, स्वर्गीय किसन राईलाई ‘नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समाजसेवा पुरस्कार– २०२३’ (मरणोपरान्त), देवराज राईलाई ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार २०२१–२३’, नरजित राईको कवितासङ्ग्रह ‘मनका नदीहरू’का लागि ‘स्रष्टा र सिर्जना पुरस्कार वर्ष २०२१–२०२३’ ले सम्मान गरिएको थियो । पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्रसहित जनही १,१११ हङकङ डलर प्रदान गरियो ।

त्यसैगरी मोती चाम्लिङ, तुलसी गुरुङ, स्वर्गीय इमानबहादुर तमू, दिनेश सुब्बा, विजय हितान, नारायण भण्डारीलगायतलाई सम्मानपत्र पनि प्रदान गरियो ।

कार्यक्रमको सभापतित्व शृङ्खलाका संयोजक रमण गुरुङले गरेका थिए भने प्रमुख अतिथि हङकङ नेपाली महासङ्घकी अध्यक्ष रीता गुरुङ थिइन् । कार्यक्रमको सञ्चालन शृङ्खलाका पूर्व संयोजक तथा सल्लाहकार टीबी याक्खाले गरेका थिए ।

यस शृङ्खलाले आफ्नो ११ औँ वार्षिकोत्सवबाट कवि तथा चित्रकार रमण गुरुङलाई पुनः संयोजकको रूपमा चुनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार