लाहुरेको रेलिमाईमाथि देहरादूनमा एक भव्य विमर्श

  सुरप्रभा पोस्ट सम्वाददाता  487 पटक हेरिएको

ललितपुर । विजय हितानद्वारा सिर्जित उपन्यास लाहुरेको रेलिमाईको हालै देहरादूनमा एक भव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनद्वारा आयोजित यस कार्यक्रममा त्यहाँ बसोबास गर्ने प्रायः गोर्खा सैनिक र साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगतबहादुर रानाले गरेका थिए भने प्रमुख आतिथ्य गोर्खाली सुधार सभाका अध्यक्ष पदमसिंह थापाको रहेको थियो । उपन्यासको समीक्षात्मक टिप्पणी भूपेन्द्र अधिकारी र उदय ठाकुरले गरेका थिए ।

देहरादूनमा साहित्यिक गतिविधि त्यति धेरै नभैरहेको अवस्थामा लाहुरेको रेलिमाई उपन्यासको विमर्शले त्यहाँ रहेका नेपाली भाषी साहित्यकार र साहित्यप्रेमीहरूलाई साहित्यिक प्रेरणा दिने छ भन्दै यस युद्ध उपन्यासले गोर्खा लाहुरेको संवेदनालाई अति सरल भाषामा व्यक्त गरेको कुरा समीक्षक अधिकारीले उल्लेख गरे । उपन्यासमा सम्पूर्ण नेपाली लाहुरे पृष्टभूमिलाई जीवन्त तरिकाले समेटिएको हुँदा यस कृतिलाई हरेक परिवारका व्यक्तिहरूले रामायणजस्तै घरघरमा राखेर आफू र आफ्ना पुस्ताले अध्ययन गर्दा राम्रो हुने कुरा पनि उनले बताए ।

त्यस्तै अर्का समीक्षक उदय ठाकुरले बहुप्रतिभाका धनी मास्टर मित्रसेनको जीवनीमा आधारित यस कृति दैनिकी र यात्रा संस्मरणको ढाँचामा अगाडि बढेको र लेखक हितानले प्रथम विश्वयुद्धमा गोर्खाली पल्टनहरू उत्तर पश्चिम फ्रान्स र मेसोपोटामियामा गएर लडेको कथालाई बेजोड रूपमा प्रस्तुत गरेको कुरा प्रस्ट्याए । उपन्यासमा सुबेदार बहादुरसिंह बराललाई एक सहपात्रको रूपमा प्रस्तुत गर्दै तत्कालीन नेपाली समाजमा भाषा र संस्कृतिको जागरणका साथ यी विषयमा सुधार ल्याउन मित्रसेनसँग सहकार्य गरेको वास्तविकतालाई आख्यानको पाटोबाट सारगर्भित तरिकाले जीवन्त बनाएर प्रस्तुत गर्न सक्नु महत्वपूर्ण कार्य भएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा इन्डियन गोर्खा सेनाका निवृत जनरल, ब्रिगेडियर, कर्णेल, सुबेदारजस्ता उच्च पदका पदाधिकारीसहित साहित्यकार र साहित्यअनुरागीको बाक्लो उपस्थिति रहेको थियो ।

आफ्नो लेखकीय मन्तव्यका क्रममा स्रष्टा विजय हितानले भने, ‘मजस्तो एक लाहुरेले लाहुरेका बारेमा लेखेको उपन्यासलाई लाहुरे र तीनका परिवारका सदस्यहरूले माया गरेर पढिदिनुहुने छ ।’ उपस्थित उच्च पद सम्हालेर सेवानिवृत भएका अफिसरहरूलाई आआफ्ना जीवनका अनुभवहरू लिपिमा समेटी साहित्यिक पुस्तकहरूको रूपमा प्रकाशन गर्नसमेत हितानले अनुरोध गरे । मास्टर मित्रसेनको जन्मस्थल भाग्सु धर्मशालामा पनि हालै पुगेर त्यहाँको गोर्खा एसोशियसनको तत्वावधानमा लाहुरेको रेलिमाईको प्रबर्धन गरेर फर्किंदै गरेको कुरासमेत हितानले स्मरण गरे ।

मगर समाज समितिका सचिव रवि रानाले यस कार्यक्रमलाई सञ्चालन गरेका थिए । उनै रानाको प्रमुख संयोजकत्वमा यस विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मास्टर मित्रसेनको– लाहुरेको रेलिमाई फेसनै राम्रो रातो रुमाल रेलिमाई खुकुरी भिरेको‘. गीतमा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हितानले यस पुस्तक बिक्रीबाट सङ्कलित रकम आयोजक मगर समाज समिति र गोर्खाली सुधार सभालाई हस्तान्तरण गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार