गुवाहाटीमा पर्या साहित्यमाथि चर्चा

  सुरप्रभा पोस्ट सम्वाददाता  371 पटक हेरिएको

काठमाडौँ । नेपाली प्रकाशन परिषद् (नेप्रप), असमको आयोजनामा गुवाहाटी प्रेस क्लबमा एक भव्य अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई र नेपाली पर्या साहित्यका विशिष्ट स्रष्टा बेलायतमा कार्यरत विजय हितानको उपस्थितिमा आयोजित यस कार्यक्रममा गुवाहाटीका थुप्रै नेपाली भाषी साहित्यकारहरूको सहभागिता थियो ।

 

नेपाली प्रकाशन परिषद्, असमका अध्यक्ष सेवानिवृत्त प्रशासनिक अधिकारी डीबी क्षेत्रीको सभापतित्वमा  सचिव डा. देवेन सापकोटाद्वारा सञ्चालित यस साहित्यिक कार्यक्रममा नेपाली साहित्यका वरिष्ठ आख्यानकार प्रा. लीलबहादुर क्षेत्री र वरिष्ठ कवि नव सापकोटाको पनि उपस्थिति रहेको थियो ।

 

यस साहित्यिक कार्यक्रममा अतिथि साहित्यकार विजय हितानले पर्या साहित्यलाई गुञ्जाउँदै ‘ब्लु प्लानेट’ र ‘परिश्रान्त पृथिवी’ पुस्तकहरूका बारेमा आफ्नो गहकिलो विश्लेषण राखे । मन्तव्यका क्रममा उनले विश्व नेपाली साहित्यमा पर्या साहित्यको वर्तमान स्थितिबारे बताउँदै पर्या साहित्यको विषयमा लेखिएको आफ्नो कृति ‘ब्लू प्लानेट’मा रहेको पर्याचेत अनि डा. देवेन सापकोटाको पर्या कवितासङ्ग्रह ‘परिश्रान्त पृथिवी’माथि गहन र रोचक चर्चा गरे ।

 

यस कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले ‘विश्व साहित्यसन्दर्भमा नेपाली साहित्य’ शीर्षकमा आफ्नो गहकिलो वक्तव्य राखे । वक्तव्यमा उनले विश्व साहित्यको सन्दर्भमा वर्तमान नेपाली साहित्यको स्थितिका बारेमा प्रकाश पार्दै साहित्यका विभिन्न नयाँ विधाहरू साइबर साहित्य, साइबर क्रिटिसिजम, साइबर फिक्सन, क्लाई फाई, रोबोटिक्स आदिका बारेमा रोचक चर्चा गरे । साहित्यप्रेमीहरूले खचाखच भरिएको सभागृहमा उपस्थित साहित्यकार र साहित्यानुरागीहरूले दुई अतिथिहरूलाई आफ्ना जिज्ञासाहरू पनि राखे र अतिथिहरूले तिनका बारेमा प्रष्ट्याए । नेप्रपका कार्यकरी सभापति डा. खगेन शर्माले उद्देश्य व्याख्या गरेपछि आरम्भ भएको सो कार्यक्रम कोषाध्यक्ष एगराज क्षेत्रीको कृतज्ञता ज्ञापनका साथ समापन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार