कानुङ लाङ्घा विमोचन र साहित्यकारहरूलाई सम्मान

  सुरप्रभा पोस्ट सम्वाददाता  1490 पटक हेरिएको

 

ललितपुर, नेपाल । मगर संघ युकेद्वारा प्रकाशित कानुङ लाङ्घा पत्रिका बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट कलेजमा आयोजित यस संघको सातौँ महाधिवेशनको अवसरमा विमोचन गरिएको छ ।

मगर संघ युकेले हरेक वर्ष प्रकाशन गर्दै आएको कानुङ लाङ्घाको वर्ष १७, पूर्णाङ्क १५, सन् २०२२ हालै प्रकाशन गरेको हो । वार्षिक रूपमा नियमित प्रकाशन गर्दै आएको यस पत्रिकामा संघले वर्षभरि गरेका गतिविधिका साथै मगर जातिका भाषा, साहित्य, कलासंस्कृति र रीतिरिवाजका विषयहरूलाई प्राथमिकताका साथ समावेश गराउने गरेको छ । यसपालिको पत्रिकामा साहित्य, संस्कृति र सिर्जनालाई बढी जोड दिइएको छ । यसमा साहित्यकार टीकाराम उदासीको मगर भाषामा साहित्यिक पत्रपत्रिकाको स्थिति शीर्षको लेख रहेको छ भने डा. विष्णु सिङ्जालीको गण्डकी प्रश्रवण क्षेत्रको मगरभाषा संस्कृति शीर्षको लेख पनि रहेको छ । साहित्यकार बलबहादुर घर्तीमगरले अथारपन्थी मगर समुदायमा प्रचलित गीत र नाचहरू शीर्षमा त्यस क्षेत्रका गीत र नाचहरूका बारेमा रोचक तरिकाले बयान गरेका छन् । पत्रकार दीपा आलेले पत्रकारिता, मगर पत्रकारहरूको अवस्था र राज्यको भूमिका शीर्षकमा आलेख तयार पारेकी छन् । प्रकृतिचपूजक मगरहरूका धर्मसंस्कारका बारेमा वीरप्रसाद घर्तीको लेख रहेको छ भने प्रतिभा पुनले घाटु नाचका बारेमा लेख लेखेकी छन् । नेपालबाहिरको पत्रकारिताका बारेमा नरेश खपाङ्गीको लेख रहेको छ भने बिल पुर्जा पुनमगरले भूमेपूजाका बारेमा लेख तयार पारेका छन् । यस पत्रिकामा साहित्यकार विजय हितानद्वारा लेखिएको मित्रको डायरीः एक समीक्षा शीर्षको लेख पनि समावेश गरिएको छ ।

 

विशेषतः बेलायतमा बसोवास गर्दै आएका मगर साहित्यसर्जकहरूलाई प्राथमिकता दिने मगर संघ युकेको योजनाअनुसार नानु राना, विश्वजीत थापा, गोमा राना र विजय हितानको जिम्मेवारीमा बेलायती मगर सर्जकहरूको एक चिनारी शीर्षको लेखका साथै २६ जना मगर स्रष्टाहरूको संक्षिप्त परिचय तयार पारिएको छ । जसमा इखमान पुनमगर, करिश्मा घम, कल्पना थापा लामिछाने, गणेश पुनमगर, गोमा राना, घनबहादुर थापामगर, थिर थापा, दधिबन्धु घर्तीमगर, दलबहादुर बुढाथोकीमगर, चिम्खोले काइँला (दुत पुन), देवी आले, धनवीर पुन, नानु राना थापा, निरा पिजी (निरा पुन), पवित्रा आले, प्रेरणा थापा, बिल पूर्जा पुनमगर, मीनबहादुर राना, लाल राना, विजय हितान, विश्वजीत थापामगर, विष्णु रोकामगर, वीरबहादुर थापा गाहामगर, हरिसिंह थापा, हिकमतसिंह रोकामगर र हेम थापा सेँठ रहेका छन् । साहित्य र सिर्जनाका माध्यमबाट समाज र नेपाली साहित्यलाई दिएको योगदानको कदर गर्दै यी स्रष्ठाहरूलाई मगर संघ युकेले आफ्नो यसै महाधिवेशनमा सम्मानसमेत गरेको छ ।

 

साहसिक व्यक्तित्व एवम् हिमाल आरोही हरि बुढामगरको फोटो आवरण रहेको २०० पृष्ठको यस पत्रिकामा घनबहादुर थापाका दुई गीत र कविता, भावेश भुमरीको नियात्रा, नानु राना थापाका तीन मुक्तक र कविता, गोमा राना, क्षितित मगर, पद्मा लिंखा मगर, हेमा आले ‘बोगी’, जीत थापामगर र प्रनिशा रानाका कविताहरू रहेका छन् भने महिन्द्र पुनको गीत र भोज विवश मगर (खण्डलुक) को गजल रहेका छन् । यस अङ्कको संरक्षक सुनिल राना, सल्लाहकारहरू चिम्खोले काइँला (दुत पुन) र बम थापा सूर्यवङ्शीमगर, प्रधानसम्पादक नरेश खपाङ्गीमगर, सम्पादक देवी आले, नेपाल सम्पादक भावेश भुमरी र संयोजक निर्मला थापा रहेका छन् भने बजार व्यवस्थापन मगर संघ युके केन्द्रीय समिति तथा शाखा समितिहरूले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार