हङकङ । साझा शृङ्ला हङकङको ११२ औँ अङ्क मङ्कीहिलबाट अराम्भ भएको पदयात्रा प्रसिद्ध आमारक हुँदै मङ्कीहिलमै फर्केर समाप्त भएको थियो । यस पदयात्रामा आधा दर्जन साहित्यकार, गीतकार, पत्रकार, कलाकार, नेपाली महावाणिज्यदूत, समाजसेवीका साथै अनेक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
पदयात्राको औपचारिक कार्यक्रममा नरजीत राई, नरेन्द्र गुरुङ, कमल पौडेल, डोम राना, याक्खा टीबी, डीबी पालुङ्वा, सुनिता गिरी, मोती चाम्लिङ, रोशन याक्सो, पूर्णिमा शाह, जुनु राना, सुनिस्का याक्खा, रमण गुरुङ, अरुणा शर्मा, बिना राई नाल्वो र नारायण भण्डारीले आआफ्ना कविता र गीतहरू वाचन गरे । विपना लामाले मीठो गीत गाएको यस कार्यक्रमको अन्त्यमा सामूहिक नृत्य प्रस्तुत गरियो । पदयात्रामा सामाजिक अभियन्ताहरू माया राई, धिराजकुमार राई, हर्क राना, प्रकाश गुरुङ, कृष्ण लावती, बज्रकुमार थुलुङ, धर्मकुमार खिम्पुले राई, विष्णु मुखिया, मञ्जु थापा, गोकर्ण ढकाल, कमल राई, नेपाली महावाणिज्यदूतावास कार्यालयका कर्मचारीलगायतका व्यक्तिहरूको सहभागिता थियो । समाजसेवी हर्क राना र निकेश गुरुङले मन्तव्यका क्रममा यस्तो पदयात्रा आयोजना गरेकामा साझा शृङ्लालाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको टिप्पणी गर्दै साहित्यकार भूपेन्द्र चेम्जोङले सबै कविताहरू सुन्दर भएको कुरा बताउँदै प्रकृतिको नजिक भएर साहित्य सिर्जना गर्दा साहित्यकारहरूलाई राम्रो हुने भएकाले यस्ता पदयात्राहरू उपयोगी हुने बताए । साब्लाबुङका सम्पादक
एवम् साझा शृङ्खलाका संस्थापक राजकुमार राईले पदयात्राका निम्ति आमारक छनौट गर्नुको कारण किंवादन्ती बोकेको ढु्गा भएको हो भन्दै हङकङका डाँडाहरूमा मिथकका रुपमा रहेका विशेष प्रकारका ढुङ्गाहरूका किवादन्ती भएको कुरा बताए । उनले अगाडि थपे, ‘नेपालका रानीढुङ्गा, भूते ढुङ्गा, शिवपार्वती गुफा भनेजस्तै ढुङ्गाहरूमा केही न केही किंवादन्ती हुनुबाट के कुरा स्पष्ट हुन्छ भने नेपाली र चिनियाँ संस्कृतिमा समानता देखिन्छ । यसभित्र हामीले खोज गर्न उपयुक्त हुने छ ।’ हङकङका सबै डाँडाहरूमा युद्धका बङ्करहरू भएकाले आफूले बङ्कारका डाँडाहरू भन्ने गरेको पनि उनले बताए । साझा शृङ्खला पदयात्राका प्रमुख अतिथि हङकङका लागि नेपाली महावाणिज्यदूत उदय रानाले शुभकामना मन्तव्य दिँदै हङकङमा नेपाली साहित्यको प्रबर्धनमा निरन्तर रुपले लागेको साझा शृङ्खलालाई धन्यवाद दिए । उनले यस्तो पदयात्रा स्वास्थ्य र सिर्जनाका निम्ति उपयुुक्त हुने भएकाले यसलाई निरन्तरता दिनुपर्ने कुरामा पनि जोड दिए । कथाकार दाजु गुरुङले गीत वाचन गर्दै कार्यक्रममा स्वागत भाषण गरेका थिए ।
यस कार्यक्रमको सहजीकरण शृङ्खलाका सल्लाहकार याक्खा टीबीले गरेका थिए । पदयात्रा कविता वाचनका सभापति अर्थात् शृङ्खलाका संयोजक रमण गुरुङले पदयात्रीहरूलाई हङकङजस्तो व्यस्त ठाउँमा पनि अमूल्य समय दिएकामा आभार प्रकट गर्दै सहभागीहरूलाई आगामी पदयात्रामा पनि साथ दिन अनुरोध गर्दै सभा समापन गरेका थिए ।