(कविता)
जीवनको दूर क्षितिजमा झुल्किदियौ सुख
आशाका लाखौँ सपना र सम्भावना बोकेर
म जन्मेदेखि तिम्रै खोजीमा अनवरत कुदिरहेँ
म्याराथुनको धावनमार्ग बनाएर जीवनलाई,
तिम्रो पिछामा लाग्दा लाग्दै
अनेकौँ भौतिक वस्तुलाई रोज्नपुगेँ
तिम्रो साथ पाउन मैले के मात्रै गरिनँ हुँला
बिहान उठेदेखि ननिदाउँदासम्म
तिमीलाई पाउन भनी यत्रतत्र भौतारिरहेँ ।
बाल्यकालदेखि जवान उमेरसम्म
किताबका पानाहरु मा कल्पिरहँ तिमीलाई
कक्षाकोठा र घरआँगनमा परिर्खरहेँ तिमीलाई
उच्च शिक्षाको मार्कशिट र सर्टिफिकेटसँगै
तिमी आफैँ आउने छौ भनी
म सांसारिक मोहमा लागिरहेँ
मायामै संसार अडेको छ भनी
तिम्रै मायामा तड्पिरहेँ
तिमीलाई मैले जागिर र कर्तव्यहरूमा पर्खिरहेँ ।
तिम्रो खोजीमा मैले
खर्चिंदै आएँ जीवनका सारा समय
र पनि हिम्मत हारिनँ
बरु एकलव्य ध्यानमा खोजिरहेँ
यो वृद्धावस्थामा पनि तिमीलाई,
केही यस्ता घटना छन्
जो म अक्सर स्मरण गर्छु–
अन्य व्यक्तिसँगको तिम्रो निकटता
र, उनीहरु को भव्य भौतिक सम्पन्नता
तिनै घटनामा/तिमै स्मृतिमा
कहिले मन चिसो बन्यो
र, भासियो निराशाको भासमा
कहिले मन तातो बन्यो
र, उम्लियो तनावको ज्वालामै ।
आज म एकलव्य ध्यानमा
एउटा फरक अनुभूति गरिरहेछु
मैले देखिरहेछु आफ्नै मन
र, यसैको उज्यालो मन्दिरमा
सायद तिमी यही मन्दिरमा पर्याप्त छौँ ।
बेलायत