(कविता)
नेपाल र नेपालीको चिनारी हो भाषा
जगेर्ना र सिर्जनाले बनाउनु छ खासा,
भावनाको माला बुन्दै हिँड्छौँ अनेसास
जगाउन नेपालीको ओसिएको आशा ।
विश्वकै हो शिरको टोपी मेरो सगरमाथा
गोर्खालीले चिनाएको वीरताको गाथा,
बहुभाषी बहुजाति पुण्यभूमि नेपाल
थरीथरी परम्परा संस्कृतिले विशाल ।
पहाड पर्वत हिमाल अनि तराई र मधेश
प्रकृतिको सोह्रै शृङ्गार पहिरिएको देश,
आदिकवि भानुभक्त जन्माएको धर्ती
स्वदेशकै सम्झनामा चर्किन्छ यो छाती ।
गर्व लाग्छ नेपाली हुँ बुद्ध जन्मेको देश
चिनाएर विश्व शान्ति आदर्शको भेष,
भाषाप्रेम देशप्रेमले जोडिएका हामी
घरदेशमा परदेशमा जहाँ भए पनि ।
पञ्चमूल, सिरुबारी, स्याङ्जा
हालः बेलायत