गीतकार घनबहादुर थापामगरको साक्षी विमोचित

  सुरप्रभा पोस्ट संवाददाता  1126 पटक हेरिएको

ललितपुर । गीतकार घनबहादुर थापामगरको लोकआधुनिक तथा पपगीतिएल्बम ‘साक्षी’को हालै बीएफबीएस गोर्खा रेडियोबाट विमोचन भएको छ ।

लामो समयदेखि विशेषतः नेपाली गीत र कविता लेखनमा कलम चलाउँदै आएका लोकप्रिय साहित्य स्रष्टा घनबहादुर थापामगरको यस ‘साक्षी’ गीतिएल्बमको समीक्षा गीतकार भावेश भुमरीले गरेका थिए । विमोचन कार्यक्रम र बीएफबीएस रेडियोका स्रोताहरूलाई सम्बोधन गर्दै भुमरीले एल्बममा सङ्गृहीत ६ वटा गीतहरूको समीक्षापूर्व घनबहादुर थापामगर नेपाली गीत लेखनमा कुशल शब्दशिल्पीका रूपमा परिचित नाम भएको कुरा बताए । उनले यस एल्बमका ६ वटा गीतमध्ये २ वटा आधुनिक, २ वटा पप, एउटा लोकदोहोरी र एउटा मगर भाषामा लोक शैलीका गीतहरू रहेको कुरा व्यक्त गरे । यस एल्बमका आधुनिकमध्ये ‘छोड्दै थिएँ जन्मथलो’ बोलको गीतले वैदेशिक रोजगारमा जाँदै गरेका आम नेपालीको संवेदना बोकेको गीत भन्दै भुमरीले गीतकार थापामगरको आफ्नै घटनाको गीत भनी समीक्षा गरे । उनले यस गीतलाई रचनाको पक्षमा एल्बमकै उत्कृष्ट गीत भनी दाबी गरे । यस गीतमा सुप्रसिद्ध सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र सुप्रसिद्ध गायक दीप श्रेष्ठको स्वर रहेको छ । भुमरीले ‘तिमीलाई भेट्न आज’ बोलको आधुनिक गीत साथीलाई भेट्न गएको बेला साथीको लास देख्दा एक्कासि पीडा भएको विषय रहेको कुरा राखे । यस गीतमा दिवान किनारको सङ्गीत र शुभ तामाङको स्वर रहेको छ ।

‘मायालुको आँखै नसालु’ बोलको पपगीत प्रेमको संयोगान्त विषय बोकेर आएको छ । यस गीतमा एउटी सुन्दरीलाई देख्दा प्रेमको आशक्ति बढेको विषय रहेको कुरा भुमरीले बताए । यस गीतमा पवन रानाको स्वर र सङ्गीत रहेको छ । अर्को संयोगान्त विषय बोकेको ‘उकाली होस् या ओराली होस्’ बोलको पपगीतले ससुरालीमा साली हुँदाको अनुभूतिलाई बोकेको कुरा भुमरीले बताए । यस गीतमा पनि पवन रानाकै सङ्गीत र स्वर रहेको छ ।

‘मायालुको आँखै नशालु’ म्युजिक भिडियो

‘पप पीपी’ बोलको दोहोरीगीतले प्रेमको संयोगान्त विषयलाई नै बोकेको कुरा भुमरीले राखे । यस गीतमा गीतकार थापामगरले विदेशबाट नेपाल फर्केको प्रेमी र नेपालमै बसेकी प्रेमिकाबीचमा प्रेमका कुराको सवाल जवाफ बडो सुन्दर रूपले प्रस्तुत गरेको कुरा पनि भुमरीले बताए । यस गीतमा गीतकार घनबहादुर थापामगरको लय अनि पवन राना र प्रीति आलेको स्वर रहेको छ ।

एल्बमको छैटौँ नम्बरमा रहेको ‘जिलौ झोर्ले है’ बोलको गीत मगर ढुट भाषामा रहेको छ । यस गीतले जान्नेले नजान्नेलाई सिकाउनुपर्छ भने नजान्नेले पनि जान्नेबाट सिक्नुपर्छ भन्ने सन्देश बोकेको कुरा भुमरीले राखे । यस गीतलाई घनबहादुर थापामगर र उनकी धर्मपत्नी कृष्णा थापामगरले सहलेखन गरेका छन् । यस गीतबाट कृष्णा थापामगर पनि गीतकारको रूपमा सार्वजनिक भएकी छन् । यस गीतमा बिलन थापामगरको सङ्गीत र बिलन थापामगर अनि रेश्मा पुनमगरको स्वर रहेको छ ।

भुमरीले घनबहादुर थापामगर पुराना पुस्तालाई सम्मान गर्ने र नयाँ पुस्तालाई माया गर्ने गीतकार भएकै कारण यस एल्बममा दुवै पुस्तालाई समेटेको कुरा राखे । उनले भने, ‘समाजसेवामा पनि दिलो ज्यान दिँदै आउनुभएका घन दाजु सधैँ नेपाललाई माया गर्ने र नेपालीहरूको उन्नति कल्पिने गीतकार हुनुहुन्छ । देखेका, भोगेका र अनुभूत गरेका कुरालाई टपक्कै टिपेर गीतमा उन्न सिपालु घनल दाजुलाई म आसु गीतकार भनी सम्बोधन गर्न चाहन्छु ।’

विमोचन कार्यक्रममा बोल्दै सङ्गीतकार तथा गायक पवन रानाले घनबहादुर थापामगरले आफूलाई अत्यन्त धेरै विश्वासका साथ माया गरेर गीतहरू दिएको कुरा राखे । उनले आफूले सकेको मेहनत गरेको कुरा पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै सङ्गीतकार तथा गायक बिलन थापामगरले आफू घनबहादुर थापामगरकै गाउँठाउँमा जन्मेको कलाकार भएकाले पनि सधैँ माया पाएको कुरा व्यक्त गरे । मगर भाषाको ज्ञान भएकै कारण ‘जिलौ झोर्ले है’ गीतमा सङ्गीत भर्दा र स्वर दिँदा आफूलाई निक्कै सन्तुष्टि भएको कुरा राखे ।

मायालुको आँखै नशालु गीतमा अभिनय गरेकी नायिका रिना थापामगरले घनबहादुर थापामगरले आफूलाई एक कलाकारको रूपमा विश्वास गरेको र अवसरहरू दिएको कुरा व्यक्त गरिन् । उनले आउँदा दिनहरूमा पनि यसरी नै अवसरहरू पाऊँ भन्दै एल्बमको सफलताको कामना गरिन् ।

कार्यक्रममा स्रोताहरूलाई सम्बोधन गर्दै गीतकार घनबहादुर थापामगरले नेपाली भाषा, साहित्य र कलाको मायाकै कारण निरन्तर रूपले कलम चलाउँदै आएको कुरा व्यक्त गरे । उनले ‘जिलौ झोर्ले है’ बोलको गीत ४१ औँ मगर दिवस तथा मगर संघ युकेको २० औँ स्थापना दिवसको अवसर पारेर रेकर्ड गरेको र म्युजिक भिडियो बनाएको कुरा राखे । उनले आफूभन्दा आफ्नी धर्मपत्नी कृष्णा थापामगरलाई मगर ढुट भाषाको राम्रो ज्ञान भएका कारण यो गीत बनेको कुरा पनि व्यक्त गरे । उनले निकट भविष्यमै अर्को एल्बम स्रोताहरूसामु ल्याउने कुरा पनि राखे । उनले साक्षी एल्बमकी निर्माता आफ्नी धर्मपत्नीको साथ सहयोगले नै आफू यस क्षेत्रमा निरन्तर रूपले लागिरहेको कुरा सुनाए ।

‘जिलौ झोर्ले है’ म्युजिक भिडियो

घनबहादुर थापामगरका यस गीतिएल्बमपूर्व देशको माटोमा मेरो फूल (कवितासङ्ग्रह, वि. सं. २०७०), मेरो चिनो मेरो देश (कवितासङ्ग्रह, वि. सं. २०७२), क्याक्मीको कोसेली (कवितासङ्ग्रह, वि. सं. २०७३), मायाको संसार (आधुनिक गीतिएल्बम, वि. सं. २०७३), बयान (आधुनिक गीतिएल्बम, वि. सं. २०७४), बस्ती (आधुनिक गीतिएल्बम, वि. सं. २०७४), नबिर्स (आधुनिक गीतिएल्बम, वि. सं. २०७५), फूलको मुस्कान (गीतसङ्ग्रह, वि. सं. २०७७), हामी (सामूहिक गीतिएल्बम, वि. सं. २०७८), क्याक्मीका स्रष्टा (प्रधानसम्पादक, वि. सं. २०७९) र मायालुको आँखै नशालु (डीभीडी, वि. सं. २०७९) प्रकाशन भइसकेका छन् ।

बीएफबीएस गोर्खा रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमका प्रस्तोता लोकप्रिय गीतकार तुल्सी बस्नेतले विमोचन कार्यक्रमलाई बडो आकर्षक तरिकाले सञ्चालन गरेका थिए । यो कार्यक्रम संसारभर छरिएर बसेका नेपालीहरूमाझ निक्कै लोकप्रिय छ । विमोचन कार्यक्रममा संसारका विभिन्न देशमा रहेका दर्जनौ नेपाली स्रोताहरूबाट एल्बमको सफलताका लागि शुभकामना प्राप्त भएका थिए । यस कार्यक्रममा श्याम आलेमगरको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार