ललितपुर । नेपाली चलचित्रका साथै आधुनिक गीत एवम् गजल लेखनमा विशेष रुपले कलम चलाउँदै आएका डा. कृष्णहरि बरालको शब्द रचनामा एउटा नयाँ युगल गीत ‘ताजमहल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एनबी जनकपुरीको सङ्गीतमा रहेको यस गीतमा निशान भट्टराई र शोभा पाण्डेको स्वर रहेको छ ।
भन न भन तिमी मलाई कहिले दिने चिनो त्यो ताजमहल
त्योभन्दा दामी कुरा दिँदै छु म पूरा पूरा म दिन्छु गीतगजल
मायाप्रेमको रोमान्टिक भावमा लेखिएको यस गीतको सुरुवातमा ताजमहललाई प्रेमको चिनो बनाउने इच्छा व्यक्त गरिएको छ । तर ताजमहलभन्दा पनि दामी गीतगजल हुने सन्दर्भ जोड्दै प्रेमको चिनोस्वरुप गीतगजलको महत्वलाई झल्काउने कार्य भएको छ गीतका कुशल स्रष्टा डा. बरालबाट । कुनै पनि गीतलाई सजिलैसँग अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गर्न खप्पिस डा. बरालबाट यस गीतमा पनि यस्तै कुशलता प्रस्तुत गरेको पाइन्छ । गीतगजल विधाका सैद्धान्तिक विषयमा व्याख्या एवम् विश्लेषण गर्दै नेपाली गीतसङ्गीतको ऐतिहासिक विषयलाई समेत समेटेर महत्वपूर्ण पुस्तकहरू प्रकाशन गरेकै कारण डा. बराललाई नेपाली गीतगजलका गुरु भनेर सम्मान गरिएको छ । डा. बरालका सिर्जनाहरू एकपछि अर्को गर्दै सङ्ख्यात्मक एवम् गुणात्मक रुपले नेपाली गीतसङ्गीतको बजारमा आइरहेका छन् र स्रोता एवम् दर्शकहरूको मन जितिरहेका छन् । यसरी नेपाली गीतगजल सिर्जनाका क्षेत्रमा निरन्तर रुपले लागी परेका डा. बरालका गीतगजलमा सङ्गीत भर्ने र स्वर दिने कलाकारहरूको छुट्टै क्रेज छ ।
(‘ताजमहल’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।)
नेपाली गीतसङ्गीतको बजारमा पुरानादेखि नयाँ पुस्ताका सबै कलाकारसँग त्यत्तिकै उत्साहका साथ काम गर्दै आएका बरालको प्रस्तुत ‘ताजमहल’ गीतमा रामजी लामिछानेको निर्देशन रहेको छ भने सुधिर श्रेष्ठ र स्मारिका ढकालले अभिनय गरेका छन् । यस गीतको भिडियोलाई फूलबारी नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।