सुनिता थेगिमले पोस्ट गरिन् दिव्य रङ्ग

  सुरप्रभा पोस्ट सम्वाददाता  948 पटक हेरिएको

ललितपुर । लोकप्रिय सङ्गीतकार तथा सङ्गीतसंयोजक पविधन खालिङको सङ्गीत र चर्चित गायिका सुनिता थेगिमको स्वरमा एक मिठो गीत रेकर्ड भएको छ ।

विगत आठ वर्षदेखि अमेरिकामा बस्दै आएका पविधन खालिङ सपरिवार नेपाल आएको अवसरमा खालिङले आफूद्वारा सङ्गीतबद्ध केही गीत रेकर्ड गराउने क्रममा गीतकार भावेश भुमरीद्वारा रचित ‘तिमीलाई पठाऊँ भन्छु’ गीत रेकर्ड गराएका हुन् । विशेषतः स्तरीय सङ्गीत सिर्जना र सङ्गीत संयोजनमा लामो समयदेखि कार्य गर्दै आएका खालिङले अमेरिकाको व्यवस्ततासँगै आफ्ना सिर्जनात्मक कार्यलाई अगाडि बढाइरहेका छन् । खालिङ र भुमरी साढे दुई दशकअगाडि पढाइ र भविष्य निर्माणका लागि सोलु र प्यूठानबाट काठमाडौँ छिरेका प्रतिभा हुन् । सङ्गीत सिर्जनाकै क्रममा वि. सं. २०५३ तिर भेट भएका खालिङ र भुमरीले ‘धनका लागि पर्देशिएँ’, ‘धर्तीमा हुँदा’, ‘तिमीले मलाई लडायौ’, ‘नबुझ्ने ऐँठन’जस्ता स्तरीय गीतहरू रेकर्ड गराएर नेपाली गीतसङ्गीतका स्रोताहरूसामु ल्याइसकेका छन् । ‘तिमीलाई पठाऊँ भन्छु’ गीतमा भने आफू अमेरिका गएपछि उनले सन् २०१७ तिर सङ्गीत भरेका थिए । यही गीत रेकर्डिङका क्रममा पर्पल स्टुडियो, नक्साल, काठमाडौँमा भेट भएका खालिङ र भुमरीले एकअर्कोलाई अँगालेर विगतका लामा साङ्गीतिक सङ्घर्ष र सहकार्यलाई स्मरण गरे । उता सुनिता थेगिमले भने मीठो स्वरमा गीत गाइरहेकी थिइन् । एकछिन एकले अर्कोलाई हेर्दै खालिङ र भुमरीले आफूहरूबीचको भावी सहकार्यहरूका कल्पना पनि गरे ।

सञ्चो बिसन्चोका थोरै कुराकानीपछि खालिङ र भुमरी सुनिताको गायनतिर केन्द्रित भए । सुनिता सङ्गीतमा सही नोट, सजावट र विविधता खोज्दै थिइन् । भुमरीले गीतका हरेक शब्दहरूको सही उच्चारणमा ध्यान दिन थाले । सुनिता आफ्नो शक्तिशाली र जादुमय स्वर हरेक शब्दमा सजाउँदै अगाडि बढिन् । सुनिता आफैँमा एक अत्यन्त सजग गायिका हुन् । सङ्गीतकार र गीतकारको चित्त बुझ्दा पनि आफूलाई चित्त नबुझेको ठाउँमा दोहोरो तेहेरो गीत गाएर गीतलाई पूर्णता दिइन् । रेकर्डिङको काम सकिएपछि सुनिता आफैँ स्वर छनोटमा लागिन् । उनले आफूलाई मन परेका लाइनका बारेमा स्पष्ट पार्दै स्वरको ट्र्याक तयार पार्नमा महत्वपूर्ण कार्य गरिन् । सुनिताको गायनप्रतिको लगाव, मेहनत, गायकी र स्वर छनोटका बारेमा गीतकार भुमरीले खुलेरै प्रशंसा गरे । भुमरीले भने, ‘धेरैपछि पविधन खालिङको एक जर्वजस्त सङ्गीतलाई सुनिताको शक्तिशाली र जादुमय स्वरले जीवन्त बनाएको छ । आउट सुटिङ नगरी स्टुडियोमै लिप्सिङ सुटिङ गरेर म्युजिक भिडियो बनउँदा गीतको कथा मर्दैन, गीत जीवन्त बन्छ ।’ स्टुडियोबाटै सुनिताले गीतकार भुमरी र सङ्गीतकार खालिङसँगको सामूहिक फोटोमाथि ‘दिव्य रङ्ग’ लेखेर पोस्ट गरिन् । ‘दिव्य रङ्ग’ यही गीतको एक अङ्श हो ।

यस गीतमा फणिन्द्र राईको सङ्गीत संयोजन छ भने रेकर्डिङको कार्य मनिष लामाले गरेका छन् । यो गीत निकट भविष्यमै बजारमा आउँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार