करिब आठ वर्ष अगाडि जन्मदेश नेपालबाट रुँदै सपरिवार अमेरिका हानिएका पविधन खालिङलाई अमेरिकाको बसाईं सहज बन्नै सकेको छैन । हरेक दिन ड्युटी, घरआँगन र कोठाहरूमा नेपाली गीतसङ्गीतका धुनहरू झङ्कारिन्छन् । झस्किन्छन् खालिङ र हार्मोनियमका रिड अनि गितारका तारहरूमा आफ्ना औँला कुदाउन थाल्छन् । त्यतिबेला उनलाई आफ्नै देश फर्किन मन लाग्छ । आफ्नो जन्म जिल्ला सोलुका पहाड र कन्दराहरूमा चौरीसँगै डुल्न र सगरमाथा हेरेर गर्व गर्न मन लाग्छ । घन्टौँ सङ्गीतसँगै दोहोरो कुरा गर्छन्, नयाँ नयाँ धुन खोज्छन् । एक पहाडदेखि अर्को पहाडको ध्वनिमा आफूलाई समाहित गर्छन् ।
पविधन खालिङ अमेरिकाबाट दोस्रोपटक सपरिवार नेपाल आए । उनले नेपालका चारतले होटल ताकेनन्, न त भेटे राजनेता, न खोजे आफन्तहरूको वाहावाही । उनी नेपाल आउनसाथ आफूले विगतमा सँगै काम गरेका कलाकार खोजे, आफ्नो क्यारियर निर्माण गर्न प्रयोग गरेका सामग्रीहरूमा लागेको धुलो पुछे । आफू हिँडेका गल्ली र काम गरेका स्टुडियोहरू चहारे । स्मृतिका मिठा मिठा फाइलहरू पल्टाए र आफूले अमेरिकाबाट ल्याएका साङ्गीतहरूलाई आफ्नै खर्चमा रेकर्ड गर्ने कार्यतिर लागे ।
गीतसङ्गीतको कार्यबाट बचेको केही दिनको समय सदुपयोग गर्न खालिङले आफ्ना परिवारका सदस्यहरूलाई जन्म घर सोलुको टाक्सिन्दु, फुलेली लगे । त्यहीँबाट आफ्ना छोराछोरीलाई सर्वोच्च शखिर सगरमाथा देखाइदिँदै सगरमाथाको देश भनी महसुस गराए । उनले आफ्ना सन्ततिहरूलाई सुन्दर नगरी पोखरा लगेर नेपालका प्राकृतिक सुन्दरताहरूको पारख गराए । त्यहाँबाट पाल्पा हुँदै लुम्बिनीको भ्रमण गराई उनीहरूलाई गौतम बुद्ध जन्मेको देश हो नेपाल भन्ने अनुभूति पनि गराए । उनले पूर्णतः अमेरिका भुले र आफू नेपाली हुनुमा गर्व गरे ।
एक स्रष्टा जो आफू जन्मेहुर्केको माटोलाई औधि माया गर्छ, पविधन खालिङमा सोही माया छ । अमेरिकी जागिरको व्यस्त ड्युटीबीच पाइने आधा घन्टा खाजा समयमा नेपालका गीतकार, कलाकारहरूलाई फोन गर्दै केही गरौँ भन्न भ्याउने खालिङ नेपाली सङगीतको नोस्टालजियाबाट कहिल्यै टाढा हुन सकेका छैनन् । उनले अमेरिकामा दुःख गरेर घर र गाडी जोडेका त छन् तर उनलाई तिनको भन्दा नेपाली गीतसङ्गीतको बढी माया छ । उनी आफूले कमाएको पैसाबाट घरको मोर्गेज तिर्छन्, गाडीको मोर्गेज तिर्छन्, छोराछोरीको पढाइमा खर्च गर्छन्, घरव्यवहार चलाउँछन् र बचेको रकमले नेपाली गीतसङ्गीतको फूलबारीमा केही साङ्गीतिक फूलहरू रोप्छन् । उनी नेपाली सङ्गीतको लगानीलाई व्यापार भनेर सम्झिन्नन् । यसलाई उनी जन्म देश र माटोप्रतिको दायित्व ठान्छन् । यही भावनाले उनलाई निरन्तर गीतसङ्गीतमा खर्च गर्न प्रेरित गरिरहन्छ । उनी नयाँनयाँ गीतमा सङ्गीत भर्छन् र आफूलाई मन परेका गायकगायिकाहरूको स्वरमा रेकर्ड गराई सार्वजनिक गर्छन् । उनलाई गीत बजारमा चर्चित बनोस् भन्ने लोभ पनि छैन । वास्तवमा उनको गीतसङ्गीतप्रतिको एउटा नशा हो र यसैलाई उनले पूजा पनि सम्झेका छन् ।
पविधन खालिङ नेपाली गीतसङ्गीतमा कहीँ सम्झौता गर्ने सङ्गीतकार होइनन्, उनी त हुन् आफ्नै पन, खुवी र दक्षता भएका एक अब्बल सङ्गीतकार । उनले सङ्गीत भरेका धेरै गीतहरू यस्ता छन्, जुन गीतहरू सुन्दा शरीरका रौँ ठाडा हुन्छन्, कहीँ मन स्तब्ध हुन्छ, कति गीत त पीडामा औषधि पनि बनिदिन्छन् । उनका सङ्गीतमा हृदय गाँसिएका छन् । सङ्गीत सुन्दै र गाउँदै जाँदा केही गायकगायिकाका गहभरि आँसु भएका स्मरणहरू यस लेखका लेखकसँग पनि छन् । यही कारण पविधनलाई एक अब्बल सङ्गीतकार भन्न म कुनै कन्जुस्याईं गर्दिनँ । यस्तो हुँदाहुँदै पनि उनका सङ्गीत किन चलेनन् ? यो एउटा आम प्रश्न हो तर यसको उत्तर खोज्न कठिन छैन । स्पष्टै छ, उनी गीत चलाउने उद्देश्य बोकेर मिडिया धाउँदैनन्, उनी मेरो सङ्गीत भन्दै बजारमा डङ्का पनि पिट्दैनन् । उनीसँग आफ्नो काम गर्ने शैली छ, स्तर छ र छ सबैभन्दा ठूलो स्वाभिमान । त्यही स्वाभिमानले गर्दा नै उनले आफ्नो पन र क्षमतालाई बचाइराखेका मात्र छैनन्, क्रमिक रूपले सिर्जना प्रस्तुत गर्दै पनि आइरहेका छन् ।
अमेरिका उड्नुभन्दा केही दिनअगाडि पविधन खालिङ आफ्नै जीवनकथासँग ठ्याक्कै मेल खाने एउटा गीत र त्यसमा भरेको सङ्गीत बोकेर पर्पल स्टुडियो, नक्सालमा पसे । केही बेरपछि गायक शिव परियार आइपुगे । उनीहरूको गीत रेकर्ड हुँदा बस्न मन लागे तापनि म मेरो व्यस्तताका कारण बिदा मागेर हिँडेँ । मैले पविधनलाई भनेको थिएँ, ‘एउटा लेख लेख्न मन लागेको छ तपाईंका बारेमा ।’ त्यसपछिका दिनमा हाम्रो भेट भएन, म आफ्नै काममा व्यस्त भएँ, उनी उनकै काममा । एक दिन बेलुका उनले म्यासेन्जरबाट फोन गरे । मैले सोचेँ पक्कै एयरपोर्टबाटै होला अनि भनेँ, ‘शुभयात्रा !’ उताबाट उत्तर आयो, ‘होइन दाजु, हामी भोलि जाँदै छौँ ।’
एक दिन कतै भेटेर एउटा लेख लेखिदिउँला भन्ने मेरो भनाइ साकार नहुने भए पछि मैले भनेँ, ‘शिव भाइले गाएको गीत पठाउनुहोला ।’ गीत ह्वाट्सएपमा आइपुग्यो, मैले गीत सुनेँ–
म देश खोज्दै परदेश आएँ
हजार हण्डर ठक्कर पाएँ
जति बस्छु लाग्छ उत्ती माया देशको
संस्कृति आफ्नै भाषा र भेषको
समस्या दुई छाक साँझबिहानको
हरायो कता मूल्य खै जीवनको
न रोजगारी सुरक्षा दिएको
त्यसैले छोरो परदेशिएको
जति बस्छु लाग्छ उत्ती माया देशको
संस्कृति आफ्नै भाषा र भेषको
सपना हर रात पहाड खोलाको
आभाष हुन्छ आमाले बोलाको
सपनामा पुग्छु घर–खेतबारी
खोज्दै छु एक्लै आफ्नै चिनारी
जति बस्छु लाग्छ उत्ती माया देशको
संस्कृति आफ्नै भाषा र भेषको
दुःख सम्झी मनमा जब आगो बल्छ
गरे श्रम देशमै त्यहीँ सुन फल्छ
उर्लिन्छ मनको जब देश भक्त
उद्यम छ गर्नु देशमै सशक्त
जति बस्छु लाग्छ उत्ती माया देशको
संस्कृति आफ्नै भाषा र भेषको
गीत सुन्दै आउँदा प्रस्तुत गीत मेरो नसानसामा बहन पुग्यो । मैले सम्झेँ, पविधनकै कटु सत्य जीवनकथा हो यो गीत । आठ वर्ष पहिले पविधनको बिदाइ कार्यक्रममा ‘कहीँ देश दुख्यो भने यही टोपी हेर्नुहोला र दुखाइको पसिना पनि यही टोपीले पुछ्नुहोला ।’ भन्दै शिरमा टोपी पहिराइदिएको थिएँ । अहिले सार्थक लागिरहेछ, उनले देश भुलेका छैनन् । ‘म देश खोज्दै परदेश आएँ’ जस्तो वास्तविक गीतबाट थोमस बास्तोलाजस्ता गीतकारलाई समेत सार्वजनिक गरिरहेका छन् । धन्य पविधन, नेपाली सङ्गीतमा यसरी नै अमूल्य इटा थपिरहनू र चम्किरहनू ।