सुम्निमाको नोस्टाल्जिया, रोमान्स र आशाको म्युजिक भिडियो

  सुरप्रभापोस्ट सम्वाददाता  102 पटक हेरिएको

ललितपुर । नोस्टाल्जिया, रोमान्स र आशाको विषय बोकेर गायिका सुम्निमा हालै ‘झरी’ गीतको म्युजिक भिडियोबाट बजारमा आएकी छन् ।

साङ्गीतिक बजारमा बौद्धिक गायिका भनेर नाम बनाएकी सुम्निमाको ‘झरी’ गीतले खुसी र उदासीको विषयलाई समेटेको छ । प्रेमी र प्रेमिकाबीच चोखो माया बस्छ । उस्तै उमेरका दुवैको मनोदसालाई भने अलि फरक रुपले प्रस्तुत गरिएको छ । प्रेमी पाको, स्थिर र गम्भीर देखिन्छन् भने प्रेमिका अलि अल्लारे देखिन्छन् । प्रेमीले मायाको अर्थ आफैँलाई असल बनाउनु हो भनेर सम्झाउँदा पनि प्रेमिकाले आत्मसात् गर्न नसक्दा ’ब्रेकअप’को बाटोमा जान्छ । त्यसरी ’ब्रेकअप’मा पुगेकी प्रेमिकालाई पछि मात्र मायामा इमान्दारी हुनुपर्छ भन्ने महसुस हुन्छ ।

पप–रक शैलीको यस गीतलाई क. तमोटले लेखेका छन् भने सङ्गीत र अभिनयमा गायिका सुुम्निमाकै भूमिका रहेको छ । सुम्निमा साउने झरीमा रुझ्दै म्युजिक भिडियो बनाएको कुरा स्मरण गर्छिन् र भन्छिन्, ‘घरभित्र बसी झ्यालबाहिर हात निकालेर झरीको मर्म बुझाउन सकिँदैन । यस म्युजिक भिडियोमा मैले पाँच छ घण्टा सर्वाङ्ग भिज्दै मेकअप बिर्सेर कलात्मक प्रस्तुति दिने कोसिस गरेकी छु ।’

म्युजिक भिडियोको लिंक

ललितपुरको भैँसेपाटी र धुलिखेलका विभिन्न रमणीय स्थलमा सुटिङ गरिएको यस म्युजिक भिडियोलाई गायिका सुम्निमाको युट्युब च्यानलबाटै सार्वजनिक गरिएको छ । यस म्युजिक भिडियोको निर्देशन अभिषेक साम्पाङ राईले गरेका छन् । सुम्निमाले यसअघि नै राम्रा गीतका म्युजिक भिडियोहरू सार्वजनिक गरेर चर्चा कमाइसकेकी छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार