प्रधानमनत्री ओलीसामु गीतकार दिनेश अधिकारीको सङ्गीतसङ्ग्रहालय बनाउने प्रस्ताव

  सुरप्रभापोस्ट सम्वाददाता  374 पटक हेरिएको

ललितपुर । छिन्नलता गीत पुरस्कार गुठीद्वारा हालै आयोजित छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा सो गुठीका सचिव, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीसामु नेपाली गीत, सङ्गीतका सबै पक्षलाई समेटेर एक साङ्गीतिक सङ्ग्रहालय बनाउने प्रस्ताव राखेका छन् ।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०२ औँ जन्मजयन्ती तथा ४२ औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छिन्नतलाजस्ता गीतकारको कार्यक्रममा आफू उपस्थित हुन पाउँदा खुसी लागेको कुरा व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपाल कला र संस्कृतिले सम्पन्न भएको कुरा प्रस्ट्याउँदै सबै स्रष्टा र कलाकारहरूलाई निरन्तर रूपले आफ्नो क्षेत्रमा लागेर देशका लागि योगदान दिन पनि आह्वान गरे । उनले आफू सधैँ स्रष्टाहरूसँग रहेको भन्दै स्रष्टाहरूप्रति सम्मान पनि व्यक्त गरे । सोही समारोहलाई सम्बोधन गर्दै गुठीका सचिव दिनेश अधिकारीले बृहत् सङ्ग्रहालयको रूपमा ‘सङ्गीतालय’ स्थापना गरी नेपाली गीत, सङ्गीत र कलाको संरक्षण र संवर्धन गर्न सरकारसँग माग गरे ।

प्रधानमन्त्री ओलीले ‘छिन्नलता गीत पुरस्कार २०७९’ गीतकार भूषण खरेल, सङ्गीतकार मनराजा नकर्मी, गायक शिव परियार र युवा प्रतिभा मेनुका पौडेललाई प्रदान गरे । त्यसैगरी उनले ‘छिन्नलता गीत पुरस्कार २०८०’ गीतकार वीरेन्द्र पाठक, सङ्गीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवा प्रतिभा भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । गुठीका संरक्षिका ज्योतिराज्यलक्ष्मी शाह सिंह र सरसंरक्षिका प्रज्ञाराजेश्वरी शाह सिंहले पुरस्कृत स्रष्टाहरूलाई नगद रकम प्रदान गरे । गुठीका उत्तराधिकारी आदिदेव दत्त सिंहले गीतकार छिन्नलताको गीत वाचन गरेर सुनाए । गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीले प्रमुख अतिथि प्रधानमन्त्री ओलीप्रति धन्यवाद ज्ञापन गरे ।

होटल हयात प्यालेसमा आयोजित कार्यक्रममा पुरस्कृत कलाकारहरूले गीत गाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे भने पुरस्कृत स्रष्टाहरूका तर्फबाट गीतकार भूषण खरेलले धन्यवाद मन्तव्य राखे । कार्यक्रम गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार