‘लाहुरेको रेलिमाई’ बुटवलमा विमोचित

  सुरप्रभा सम्वाददाता  228 पटक हेरिएको

साहित्यकार तथा पर्यावरण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ हालै एक समारोहका बीच बुटवलमा विमोचन सम्पन्न भएको छ ।

लामो समयदेखि बेलायत सरकारमा पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणका निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित छन् । पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यलाई समर्पण गरेका हुन् ।

साङ्ग्रीला बुक्सद्वारा प्रकाशित लाहुरेको रेलिमाई मास्टर मित्रसेनको जीवनीमा आधारित एक आख्यान हो । यस कृतिले नेपाली पाठकहरूलाई गोर्खा लाहुरे र प्रथम विश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाएको छ । सेनाको मनोविज्ञानलाई अत्यन्तै सजीव रुपमा प्रस्तुत गरिएको यस कृतिलाई साहित्यकार तथा भूपू सैनिक जङ्गबहादुर शाहले विमोचन गरेका हुन् ।

भारतको दार्जिलिङ र काठमाडौँपछि हितानकै गृहनगर बुटवलमा यस कृतिको विमोचन गरिएको हो । विमोचन समारोहमा पुस्तक विमोचनकर्ता जङ्गबहादुर शाह, कवि एवम् साहित्यकार गिरि श्रीस, पत्रकार इन्दिरा अर्याल, साहित्यकार रामचन्द्र श्रेष्ठ, साहित्यानुरागी डा. मनोज ढुङ्गाना र दीलिप ज्ञवालीले पुस्तकका बारेमा समीक्षात्मक मन्तव्य राखेका थिए ।

पाठक मञ्च बुटवलद्वारा आयोजित यस कार्यक्रमलाई सरिता श्रीसले सञ्चालन गरेकी थिइन् । कलाकार विशाल आत्रेयले मास्टर मित्रसेनका गीतहरू ‘लाहुरेको रेलिमाई फेसनै राम्रो…’ र ‘अब त जाऔँ कान्छी घर…..’ गीतहरू गाएर उपस्थित अतिथिहरूलाई मनोरञ्जन दिलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार