केदार सुनुवार ‘सङ्केत’को नियात्रासङ्ग्रह ‘एथेन्सको झरी’मा रुझ्दा

(समीक्षा)

  शर्मिला खड्का (दाहाल)  569 पटक हेरिएको

अबको नेपाली साहित्यको चर्चा गर्दा डायस्पोरिक साहित्यको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । डायस्पोरिक साहित्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिएको योगदानलाई विशेष महङ्खवका साथ लिनुपर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विभिन्न विधाका गरी दर्जनौ पुस्तक प्रकाशन गरिसकेको छ । नेपाली भाषासाहित्यलाई अन्तर्राष्ट्रियस्तरमा आदिकवि भानुभक्तले झैँ विस्तार र विकास गर्ने डायस्पोरिक साहित्यका महापुरुष नियात्राकार तथा कवि होमनाथ सुवेदीको योगदानलाई विशेष मान्नुपर्छ । डायस्पोरामा प्रकाशित पुस्तकहरूको प्रायजसोको भूमिका लेख्ने भूमिकाकार सुवेदीको विशेष भूमिका रहेको हालै प्रकाशित कवि तथा नियात्राकार केदार सुनवार ‘सङ्केत’को ‘एथेन्सको झरी’ डायस्पोरिक नियात्रासङ्ग्रहलाई एक उत्कृष्ट पुस्तक मान्न सकिन्छ ।

नियात्राकार केदार सुनवार ‘सङ्केत’को जन्म वि. सं. २०२६ मा रामेछापको रस्नालुमा भएको हो । हाल बेलायतमा कार्यरत उनी नेपालमा छँदा नै कविको छवि बनाइसकेका स्रष्टा हुन् । उनका सीमाहीन बिम्बहरू (संयुक्त कवितासङ्ग्रह– २०६३), आफैँ जलेको देश (कवितासङ्ग्रह– २०६४), र ग्रिनविचका प्रतिध्वनिहरू (संयुक्त कवितासङ्ग्रह– २०६६) प्रकाशित भइसकेका छन् । कविता, गीत, गजल, हाइकु, संस्मरण र कथा विधामा कलम चलाउने नियात्राकार केदार ‘सङ्केत’ नियात्रा विधालाई यात्रास्पर्श नाम दिई नयाँ शब्दको प्रयोगकर्ताका रूपमा उदाएका छन् । यात्रास्पर्श शब्दले नै यात्रालाई जीवनको दुःखसुख, भाव, अनुभूतिले कसरी स्पर्श गरिरहन्छ र त्यसले हामीभित्र कस्तो तरङ्ग ल्याउँछ, त्यही अभिव्यक्तिको स्वरूपलाई उनले यात्रास्पर्श भनी नामाकरण गरेका छन् । जुन नेपाली साहित्यमा एउटा नौलो शब्दको रूपमा प्रयोग भएको छ । विभिन्न संघसंस्थाहरूमा आवद्ध उनी ‘साहित्य सङ्गालो डटकम’ अनलाइन साहित्यिक पत्रिकाको सम्पादक पनि हुन् ।

हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित नियात्राकार केदार सुनवार ‘सङ्केत‘को नियात्रा ‘एथेन्सको झरी’लाई नेपाली डायस्पोरिक नियात्रा लेखनको एउटा उत्कृष्ट कृति मान्नुपर्छ । विभिन्न नौवटा शीर्षकमा सजिएको यस नियात्रासङ्ग्रहका प्रत्येक उपशीर्षकमा अन्य नियात्राकारहरूको पुस्तकका केही अङ्श उद्धृत गरिएको छ । नियात्राकारले आफूले पढेका र रुचाइएका केही अङ्श सान्दर्भिक रूपले उल्लेख गरेका छन् । नियात्राकार ताना शर्माको ‘बेलायततिर बरालिँदा’देखि पछिल्ला नियात्राकार दयाकृष्ण राईको ‘सम्झनाको आलिङ्गनमा बाँधिएर’सम्मका अङ्शहरू छन् । प्रवासमा बसेर पनि कलात्मक रूपले भाषालाई व्यक्त गर्नसक्नु नियात्राकारको खुवी मान्नुपर्छ । सरल, मिठासपूर्ण हुनुका साथसाथै भाषामा काव्यात्मक झल्को पनि पाइन्छ । नेपालमा हुँदा नै स्नातक पढिसकेका उनी ब्रिटिश लाहुरे भई विभिन्न युद्धका मोर्चाहरूमा पनि भाषा साहित्यको परम भक्त मात्र नभई एउटा अथक साधक भएको परिचय उनले प्रत्येक नियात्रामा व्यक्त गरेका छन् । यस नियात्रासङ्ग्रहमा नौवटा उपशीर्षक रहेका छन् । पुस्तकको भूमिकामा भूमिका अलि बढी भएझैँ लाग्ने यस पुस्तकमा डायस्पोराका आदिकवि, नियात्राकार तथा कवि होमनाथ सुवेदीले लेखेका छन्– ‘डायस्पोरामा नेपाली आज झारपातको मोलमा बिकिरहेको छ । यसो हुनु सरासर गलत हो र यसैमात्र भएको छैन, बरु नौलो नेपाली डायस्पोराले मुक्तिको सङ्घर्ष पनि लडिरहेको छ भन्ने कुरा केदार सुनवार ‘सङ्केत’का यी शब्द ‘हामी झारपात बेनेछौँ ।’ ले व्यञ्जित गरेको छ । त्यो पनि गोरु खाने भाषाभाषीले मात्र हैन, हामी नेपाली, आत्महीन नेपालीको मोलमा यस्तो नेपाली पहिचानको पतन भएको, दुःखलाग्दो कुरो यस नियात्रासङ्ग्रहले औँल्याएको छ र डायस्पोरामा पहिले नेपाली स्वयमले आफ्नो पहिचान के हो ? हामी को र के हौँ ? चिन्नुप¥यो र अनि त्यसपछि अरूबाट भएको दमनको निषेध गर्दै डायस्पोरामा नेपाली पहिचानलाई दिगो र जीवन्त राख्न मुक्तिसङ्घर्ष जारी राख्नुप¥यो भन्ने सन्देशको सङ्केत केदार ‘सङ्केत’ले दिएका छन् । यसरी डायस्पोरामा आफ्नो बेग्लै पहिचान बनाउने केदारप्रति उनको सङ्केत रहेको छ । त्यस्तैगरी अर्का वरिष्ठ भूमिका लेखक डा. गोविन्दराज भट्टराई नियात्राकार केदार सुनवार ‘सङ्केत’को नियात्रासङ्ग्रहलाई नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प ‘एथेन्सको झरी’ भनी उपनाम दिएका छन् ।

उनी भन्छन्– ‘एथेन्सको झरी’ ज्ञान, सूचना र कलाले भरिएको छ । बाहिर पुगी बसेका नेपाली डायस्पोरिक समुदायको जीवन झल्काउँछ, सम्पूर्ण बाहिरी चेतना र प्रगतिको नेपालसित तुलना छ, सर्वत्र राम्रोको कामना राखिएको । सङ्कीर्णताले कहीँ नछोएको एक उदारमना स्रष्टा झुकेर बसेकेको छ आफ्नो जाति सम्झेर लेखकमा देखिएको पुस्तक प्रेम, विद्वानप्रतिको आदरभाव लाल रापचामा छ । ठाउँठाउँ पुरातात्विक महङ्खवका कुरामा ध्यान जान्छ, असल र नौला कुरामा ती कुरा देशले सिके कस्तो हुन्थ्यो ? अन्यत्रको परिस्थितिले छोएको बेला उनको मन आफ्नोमा जान्छ । यसरी हामी पनि दश वर्षे जनयुद्धले उँधोगतितिर धकेलिँदै छौँ । झन् आज आएर देशले अर्कै विकराल युद्धतिर धकेलिँदै गरेको यकिन गरिरहेछु म । लिङग, वर्ण र जातित्वलाई आधार बनाएर अगाडि बढ्नु निमुखा जनतालाई शिक्षामा उन्मुक्त गराउनुभन्दा पनि वित्थाको रगत उम्लने भाषणले सोझा नेपाली जनताहरूको मनलाई कुबाटोतर्फ डाइभर्ट गराउनाले फेरि एकचोटि मन दुख्न थालेको छ मेरो । के अब हामी मुस्लिम, हिन्दू, बुद्धिष्ट र क्रिस्चियन अथवा जात र जातित्वलाई आधार मानेर लडाईं लड्ने कि देशविकासका लागि एकजुट भएर अगाडि बढ्ने कार्यमा भावनात्मक शैली गुथ्ने ? यसरी उनी केदार सुनवार ‘सङ्केत’को ‘एथेन्सको झरी’मा शब्दरूपी पुष्प वर्षा गराउँछन् ।’

पाश्चात्य सभ्यता मात्र नभई विश्व नै आज ग्रीसको भाषा, साहित्य र संस्कृतिले रुझेको बेला उनले एथेन्स जाँदा झरीमा रुझ्दै ग्रीसको सभ्यतामा डुबेको अनुभूतिलाई कलात्मक भाषामा ‘एथेन्सको झरी’मा व्यक्त गरेका छन् । नियात्राको बीचबीचमा उनको कवि मन पोखिएको पाइन्छ । युद्धभूमिमा रहँदाका विभिन्न घटना, परिवेश तथा अनुभूतिहरूलाई भाषाको कलात्मकताको लेपन लगाई पाठकमाझ यति सुन्दर ढङ्गले पस्कन सक्नु नियात्राकार केदार ‘सङ्केत’को विशेष प्रतिभा मान्नुपर्छ । आज ब्रिटिश आर्मीका हजारौँ नेपालीमाझ केदार ‘सङ्केत’ बेग्लै अस्तित्व र पहिचान बोकेर उभिएका छन् । छोटा वाक्य, भाषामा मिठास र भन्नुपर्ने कुरा ट्वाक्क भन्नु अनि आफूभित्रको रिस र आव्रmोसलाई पनि त्यस्तै किसिमले व्यक्त गर्ने शक्ति उनमा पाइन्छ । देशविदेश तथा लडाईंको मैदान जहाँ पुगे पनि आफ्नो देशको राष्ट्रियता र साहित्यप्रेममा छट्पटिएको कुरा उनले भावुक पाराले व्यक्त गरेका छन् । प्राकृतिक सौन्दर्यमा रमाउन चाहने केदार ’सङ्केत‘मा मातृभाषा सुनवार जातको साहित्य र संस्कृतिमा पनि उत्तिकै आदरभाव राखेको कुरा यहाँ उल्लेख गरेको पाइन्छ । युद्धको भूमिमा जीवनले मृत्युलाई चुनौती दिएको समयको अनुुभूति सँगालिएको र विभिन्न रोमाञ्चक घटना र परिवेश बुनिएको यो नियात्रा सबै नियात्रा लेखकले एकपल्ट पढ्नैपर्ने पुस्तक हो । यस नियात्रासङ्ग्रहका प्रत्येक नियात्राहरू बेग्लै परिवेश, स्थान र समयमा सिर्जना गरिएका छन् । पहिलो नियात्रामा पहाडतिर लाग्दा शीर्षकमा छ ।

यस नियात्रामा लेखक आफ्नो जन्मथलोप्रतिको माया, ममता र प्राकृतिक सौन्दर्यमा लपक्कै भिजेको पाइन्छ । उनले देशको भूबनावट र राजनैतिक अवस्थाको वर्णन गरेका छन् । त्यस्तै उनको ‘बेलिज कतै घाम कतै छायाँ’ रहेको छ । बेलिज भन्ने ठाउँमा ब्रिटिश आर्मीको जागिरे अवस्थामा जङ्गली सैन्य अभ्यास गर्न जाँदा उनले भोगेका रोमाञ्चकारी क्षणहरू छन् । उनी एक ठाउँमा भन्छन्– ‘अब साँच्चै सिपाहीको कथा उसैले नै लेख्ने छ कालान्तरसम्म । युद्धका कथाहरू कुरुक्षेत्रमा पाइला नटेकेकाले केको आधारमा लेख्ने ? सुनेका भरमा ? अब दन्त्यकथाहरूमा विश्वास राखेर कथाहरू लेखिनु हुँदैन । वास्तविकतालाई बाहिर नाधेर जानु वेश नठहरिला कि आजको यो सङ्घारमा ? यो प्रश्न हामी सबैको थाप्लामा उम्रने, उम्रेको र उम्रिरहने प्रश्न हो ।’ वास्तवमा नेपालीहरूले बेलायत सरकारको तर्फबाट धेरै युद्ध लडिसकेका छन् । तर यसरी लेखिएको भए नेपाली साहित्य युद्धसाहित्यको विधामा कति धनी भइसक्थ्यो होला ? आज केदार ‘सङ्केत’ यिनै कुरा लिएर पाठकको हृदयमा गहिरो स्थान पाउन प्रयासरत छन् । त्यसपछि ‘इटालीका पहाडहरूसँगको’ र ‘एथेन्सको झरी’ छ । ‘एथेन्सको झरी’ यो पुस्तकको शीर्षक राखिएको नियात्रा हो । यो निकै शक्तिशाली नियात्रा हो । एथेन्सलाई धेरै नजिकबाट हेर्ने लेखकको धेरै समयअघि देखिको इच्छा यहाँ पूरा भएको छ । एथेन्स घुम्दाखेरीको रोमाञ्चकारी क्षणलाई यहाँ शब्दमा कलात्मक पाराले उनेका छन् । ‘मजारा सरिफदेखि टारखोपसम्म’ पनि जागिरे अवस्थामा घुम्न गएको ठाउँको रमाइलो वर्णन छ । ‘ओयुपी, सीयुपी र डा. लाल’ यस नियात्रामा लेखकले बौद्धिकताप्रति दर्शाएका प्रेमभाव र आदरभाव हुन् । यस नियात्रामा डा. लाल रापचासँग अक्सफोर्ड विश्वविद्यालय घुम्न गएको वर्णन रहेको छ । त्यसपछि ‘इराकका रातहरू’, ‘कर्नालको सेरोफेरो’, ‘ग्रिन जोनदेखि ग्रिनविन क्याफेसम्म’ यी तीनवटै नियात्रा विभिन्न स्थानहरूको वर्णन गरिएका वर्णनात्मक नियात्रा हुन् । यसरी प्रत्येक नियात्रा आत्मपरक शैलीमा बुनिएका अनि मीठा भावले भरिएका यात्रासंस्मरण हुन् । यस नियात्राको मुख्य विशेषता युद्धका रोमाञ्चकारी घटनालाई भाषाशैलीको मीठो व्यञ्जन बनाई पाठकको खुराक बनाउनु हो । खासगरी केदार ‘सङ्केत’मा अन्य नियात्राकारभन्दा लेखन प्रस्तुति र शैलीमा बेग्लै र विशेष किसिमको नवीनता देखिन्छ । उनको लेखनमध्ये म यी हरफहरूबाट अत्यन्त प्रभावित भएकी छु– ‘बसको गति हाइवेमा जति तीब्र थियो, त्यति नै थियो मनमा उत्सुकतारूपी उष्णताको । सडकका बत्तीहरू बिहानीको सूर्यको प्रकाशबाट ओझेलिँदै थिए । बायाँतिर देखिने पहाडको घुम्टो बादलले छोपेकाले माथिल्लो भाग देख्नै सकिनँ । बाजाको समथर भागमा बालुवाको र उजाडपनले नियास्रिएको मेरो मन पहाड देख्नेवित्तिकै सुस्तरी भरिन थाल्यो । गाउँमा छँदा घरकै आँगनबाट देखिने पूर्वतिरका हरिया पहाड, सल्ला र ठिरेको जङ्गलको थाप्लामा घुरेका लामेडाँडा र हिमाल गौरीशङ्करको दर्शनमा टम्म रमाउने मन विदेशमा कतै आजसम्म रमिएन ।’

अन्त्यमा केही कुरा भन्नुपर्दा केदार सुनवार ’सङ्केत’ ‘एथेन्सको झरी’मा रुझ्दारुझ्दै पनि कतिपय ठाउँमा झरी छेक्न ओत लागेका हुन् कि झैँ गरी पोखिँदापोखिँदैका भावअभिव्यक्तिबाट कतै रोकिएको भान हुन्छ । आगामी दिनमा उनले आफ्ना नियात्राका माध्यमबाट झरीमा नडराई भिजेर भावकलाई पनि त्यही भावमा बगाएको बगायै बनाउने छन् भन्ने विश्वासका साथ शुभकामना दिन चाहन्छु । यति हुँदाहुँदै पनि ‘एथेन्सको झरी’ रोमाञ्चक अनुभूतिले भरिएको, युद्ध मैदानको गोली र बारुदसँगै अनुभव बटुलेको, देशविदेशका नौलानौला दृश्यहरूको सचित्र चित्रण गरिएको र नौलो किसिमको कलात्मक अभिव्यक्तिले भरिएको एउटा उत्कृष्ट नियात्रासङ्ग्रह हो ।

 

काठमाडौँ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार