भावलिपि पढेपछिको पत्र

समीक्षा

  तारा पुन  269 पटक हेरिएको

 

मेडस्टोन, केन्ट, युके

मिति: १४/१०/२०२४

प्रिय भावेश भाइ र प्रणिता बुहारी,

नमस्कार !

म कुशल छु र तपाईंहरूको सधैँ कुशलता चाहन्छु ।

तपाईंहरूको मुख्य गरी ७२ वटा वैयक्तिक प्रेमिल चिठीहरूले भरिएको प्रेमपत्रसङ्ग्रह ’भावलिपि’ दशैँको अघिल्लो दिन तपाईंहरूकै साहित्यकार साथी सेमन्त राईजीले उपहारस्वरूप मेरो हात पारिदिनुभएकामा उहाँलाई धन्यवाद दिन चाहन्छु । दशैँको मुख्य दिनमा परिवारका सदस्यहरू नेपाल, हङकङ, जापान, कोरिया, फिलिपिन्स, अष्ट्रेलिया हुँदै बेलायतसम्म छरिएको मात्रै नभएर विचार र सोचहरू पनि फरक परेकाले हाम्रो पारिवारिक भेला भव्य गर्न सकेनौँ । अझ त्यसैमा पनि मेरो आफ्नो नितान्त फरक विचार के भने परिवारमा उमेर र बाबाको पदले मात्र ठूलो, जान्ने, दक्ष र प्रतिभाशाली हुनसक्दैन कि भन्दै मेरी अर्धाङ्गिनी हरिदेवी पुनलाई सम्पूर्ण जिम्मेवारी छाडिदिएर आफू छायामा बसी छोराछोरीको रहरमा किनेको कुकुर (लोला) लाई हिँडाउँदै बीचबीचमा आराम गर्दा यही किताब पढ्दै अनि घरमा आएर पनि कैयौँ कप चिया सेलाएपछि फ्याँक्दै, खानाहरू नखाई राख्दै र एक रात त मेरी अर्धाङ्गिनीसँग पनि नसुती नसुती पढेर त्यो सप्ताहान्त बिताएँ ।

एकपछि अर्को गर्दै चिठीहरूको क्रम नम्बर १३ मा पुग्दा प्रणिता बुहारीको खाली चिठी देख्दा सोचेँ, ए ! मजस्तो कुनै साहित्यिक किताब पनि नपढेको र साहित्य र संस्कृतिको ‘स’ पनि थाहा नहुने अनि प्रेमिल चिठी त अझ लेख्दै नलेखेको मान्छेले पनि प्रणिताले लेखेको ’प्रिय भावेश’ र अन्तिममा ‘तपाईंकी म’ जस्तै लेखेर पठाए पनि हुनेरहेछ भन्ने आँटबाट अगाडि बढिरहेँ । चिठीहरू पढ्ने रफ्तार घटेन, झनै गतिशील बन्यो । तपाईंबाट सुरुभएर प्रणिता बुहारीले लेख्नुभएको ७२ औँ प्रेमिल चिठी पढिसकेपछि तपाईंहरूकै असली चिठीहरूप्रतिका प्रतिक्रियाहरू नपढीकन र तपाईंहरूका तस्बिरहरू नहेरीकन यी सबै चिठीहरूको प्रतिउत्तररूपी दुईचार हरफमा चिठी पठाउने जमर्को गरेको छु । यतिबेला के भन्न चाहन्छु भने जिन्दगीमा तपाईंहरू दुवैलाई मैले न त चिनेको छु, न देखेको नै छु, न तपाईंहरूका बारेमा सुनेको छु, न त तपाईंहरूसँग नबोलेको नै छु । यस्तो नचिनेको अवस्थामा पनि यो पत्र पठाउने जमर्को गरेको छु । यसमा गल्ती भए भूल सुधारी माफ गर्नुहोला ।

साँच्चै, मेरो परिचय भन्नुपर्दा म मध्य पश्चिम नेपालको प्यूठानबाट पनि देखिने अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमालको फेदमा पर्ने अनि भावेश, तपाईंकी गीता दिदीको पुख्र्यौली माइत र श्रीमानको जन्म जिल्ला पर्ने म्याग्दीमै जन्मी हुर्केर १० कक्षा पास गरेपछि जागिरको खोजीमा भौतारिँदै बेलायती सेनामा भर्ती भएँ । तपाईंले सयौँ गीतकार र साहित्यकारहरूलाई उछिन्दै पुरस्कृत हुनुभएझैँ म पनि सयौँ बन्दुकेहरूलाई जित्न थोरै हदसम्म सफल भएँ । प्रणिता बुहारीले दार्जिलिङतिर चियाका बुटाहरू कलमी गरेको भन्नुभएझैँ बन्दुके वातावरणबाट गतिलो कलमीमा परी पसिना र रगत सुकाई, हालमा हड्डी र छालासँग सेवानिवृत्त भई यता युकेमै दोस्रो जागिरमा व्यस्त जिन्दगी बिताइरहेको छु । तपाईंहरू दुवैलाई उमेरले भाइ र बुहारी भन्नुपर्ने भए तापनि र तपाईंकी दिदी गीताको श्रीमानबाट छुट्टै नजिकको साइनो गाँसिए पनि अहिलेलाई तपाईंहरूको दक्षता र प्रतिभाको सम्मान गर्दै मनमनै दाजु र भाउजू भन्न रुचाएको छु, दुखेसो नमान्नुहोला ।

साँच्चै भावेश भाइ, तपाईंको स्कुले जीवनदेखि उच्च शिक्षा हासिल गर्दै गर्दा घरको काम र मेलापातका कामहरूका साथसाथै पढाइमा र विशेषतः साहित्यमा लगाउनुभएको लगावका कुराहरूले मजस्तो साहित्य र सङ्गीत थाहा नहुने अनि आफ्नो भावना पोखाइको अनुभव नहुने व्यक्तिलाई अहिले उमेरले साठीको दशक ठोक्ने बुढ्यौली उमेरमा ‘मर्ने बेला हरियो काँक्रो’ भनेझैँ साहित्यप्रति एकोहोरो भूत चढाइदिने कोसिस गरेकामा धन्यवाद दिन चाहन्छु । तपाईंहरूको परिचयमा भावलिपिजस्तै लछेप्रै तपाईंहरूका कृतिहरूको सूचीमाला देख्दा आफू दुखित छु कि म कुनै कृति नपढेकोमा र तपाईंहरूका बारेमा नसुनेको र तपाईंहरूलाई नचिनेकामा । मेरो जान्ने शक्तिभन्दा पनि त्यतिबेला मेरो गाउँले परिवेशको विकट वातावरण, जसले मलाई साहित्यबाट कोशौँ दूरीमा बस्ने बनायो र बन्दुके जिन्दगीमा प्रवेश गरायो । अहिले आएर एकमनले सोही बन्दुके जीवनलाई दोष दिऊँ कि पनि भन्छु । यस्तो भनिरहँदा म सम्झिँदै छु, तपाईंहरूले एकअर्काको मन जित्नलाई शब्द, वाक्य र अनुच्छेदहरूमा बयेली खेल्दा म भने संसारभरिका दुश्मनहरूसँग लड्न र युद्ध जित्नलाई ९, ५.५६ र ७.६२ मिलिमिटरका गोलीहरू पड्काउँदै युद्धमोर्चाहरूमा खटिएको थिएँ । यतिबेला वीर चक्रसहित थुप्रै विजेताका तक्माहरू प्राप्त गर्नुभएका, माथिल्लो दर्जा प्राप्त गर्नुभएका अनि आरोहणमा कृतिमान राख्नुभएका साथै युद्ध र वातावरण साहित्यमा मात्र नभएर सबै साहित्यका हस्तीहरूसहित सम्पूर्ण पसिना एवम् रगत बगाउनुभएका सम्पूर्ण पीडित गोर्खालीहरूलाई पनि सम्मानका साथ सम्झिन चाहन्छु ।

साँच्चै, रेडियो नेपालको पत्रमित्रता कार्यक्रम सुनेर र युवामञ्च भन्ने पत्रिकाको स्तम्भमा फोटो र परिचय देखेर (जुन दुवैका विषयमा म अहिले मात्र थाहा पाउँदै छु ।) भावेश, तपाईंले छायादेवीलाई ’प्रिय छाया’बाट सुरु गरेको चिठीले त्यतिबेला छायादेवीले पाएका १०००/१५०० चिठीहरूलाई छिचोल्दै पहिलो दर्जामा आँखाभित्र पसी छायादेवीबाट प्रणिता हुँदै ’प्यारी प्रणु’ बनाउँदै निश्चल, निस्वार्थ र मायालु मनले ४० वटा लामा लामा पत्र पठाउनुभएको र सोही सञ्चार माध्यमबाटै छायादेवीले पनि प्रतिउत्तरकै रूपमा तपाईंको मायाको सम्मोहनमा आबद्ध भएर अझै थप मायावी जाल बुन्दै प्रेमलाई आकाशजस्तै अटल, समुद्रजस्तै फराकिलो र पानीजस्तै पवित्र बनाउँदै एकअर्काको प्राप्तिका लागि मरणसँग सम्झौता गर्न तयार हुँदै ३२ वटा पत्रहरू लेख्नुभयो । यिनै पत्रहरूबाट विवाहलाई अनिवार्य र अपरिहार्य बनाई साक्षात् भेटघाटको टुङ्गो लगाएर तपाईंहरू वैवाहिक जीवनमा आबद्ध हुनुभयो । यस्तो विषयवस्तुमा तयार भएको यो भावलिपि कृति एउटा उदाहरणीय सङ्ग्रह यस अर्थमा बनेको छ कि यसले आम पाठकहरूलाई प्रेम, विश्वास र समपर्णका साथै जीवनभोगाइ, आत्मविश्वास र सङ्घर्षका विषयमा पनि गहिरो सन्देश दिएको छ । भावेश, तपाईंले क्याम्पसको स्ववियुका साथीहरूसँग राम्रो सम्बन्ध भएको झिनो छनकबाहेक र प्रणिता बुहारीले कलेजको निर्वाचनमा उमेदवारहरू खडा गरेका D.R.S.E., S.E.J. र G.N.S.F. दलहरूका बारेमा हल्का छनकहरूबाहेक अरू कुनै राजनीतिक आबद्धता नखुलाए तापनि देशभित्र भइरहेका नातावाद, कृपावादलगायत राजनीतिक भ्रष्टाचारका बारेमा सन्देशमूलक कुराहरू पनि पत्रहरूमा लेख्नुभएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, भौगोलिक, व्यावसायिक, शैक्षिक, आध्यात्मिक, साहित्यिकलगायतका अनेक जातीय, क्षेत्रीय, वर्गीय भेदभाव अनि कुसंस्कार र विकृतिका गतिविधिहरूका विषयमा पनि कलम चलाउँदै पत्रहरूलाई अरू रोचक र सन्देशमूलक बनाउनुभएको छ ।

साँच्चै, मेरा लागि त सबैभन्दा महत्वपूर्ण कुरा, यो संसारले प्रविधिमा महासागरै छलाङ मार्दै कृत्रिम प्रतिभाको प्रयोग गराइराखेको समयमा यो भावलिपि कृतिभित्रका चिठीहरूले सिकाउने व्यावहारिक, सैद्धान्तिक र भावनात्मक कदरका कुराहरूदेखि साहित्यिक पाटामा शब्द चयनका कुराहरू पढ्न पाउँदा बडो आनन्दानुभूति भएको छ । मैले एउटा कुरा पनि सोचेको छु, यो भावलिपि पुस्तकले यस किसिमको सङ्ग्रहको रूपमा पहिलो र अन्तिम हुँदै एक ऐतिहासिक दस्तावेजको रूपमा स्थान बनाइरहने छ ।

प्रिय भाइ बुहारी, तपाईंहरूले जस्तै मिठो शैलीमा मैले चिठी लेख्न सकेको छैनँ । अर्थ नदिने गरी शब्द मात्रै थुपारेर लामो लेख्नुको अभिप्राय केही पनि हुँदैन । यसकारण पनि धेरै लामो लेख्नतिर लागेको छैनँ । यति लेख्दा कतै गल्ती भए माफ गर्नुहोला ।

त्यहाँ दार्जिलिङमा जस्तै यहाँ पनि राजकीय हुलाक अड्डामा कर्मचारीहरूले तलब सुविधा आदिइत्यादिका बारेमा हड्ताल गरेकाले निकै समय कुरेँ तर अझै पनि नखुलेकाले सामाजिक सञ्जालको अनुहार पुस्तिकाबाट यो चिठी पठाएको छु । पढ्ने फुर्सद भए पढ्नुहोला तर यसको उत्तरको पर्खाइमा म कदापि हुने छैनँ तापनि आशा छ, एक लाइक दिनुभए काफी हुने छ ।

अन्त्यमा, तपाईंहरू त दिवा वा रात्रि बससेवाको टिकट फ्याट्ट काटेर स्वाट्ट जन्मघर पुग्नुहुन्छ । म भने सात समुद्रपारिबाट आमाबाबा र परिवारलाई भेट्न जान पञ्चेवर्षको योजना नै बनाउनुपर्छ । जे होस्, तपाईंहरूले भगवान् पाउन देउताको मन्दिरमा पूजा नगरी घरमै पूजा गर्नुभएका तपाईंहरूकै बाबाआमालाई, दिदीभिनाजु, दाजुभाउजू, भाइबुहारी, बहिनीज्वाइँ, छोराछोरीहरू (भाञ्जा बुहारीहरू भए कतै), अनि दीपेन्द्र, दुर्गा, कला, महेश, कृष्णा, आरती, सन्ध्या, सुनितालगायतका सम्पूर्ण साथीहरू र छरछिमेकीहरूमा हाम्रो दुई हात जोडी निहुरेर ढोग, नमस्कार र आशीर्वाद सुनाइदिनुहोला ।

साँच्चै, एउटा सानो प्रसङ्ग जोड्न मनप¥यो । यसलाई तपाईंहरू अनि सम्पूर्ण महानुभावहरूले अन्यथा नसोचिदिनुहोला । कुरो के भने, तपाईंहरूको पत्राचारमा दुवैजनाले फोटो वा नक्साको औधि माग गर्नुभएको पाएँ । यसको कारण कतै प्रेषकले प्रापकको शारीरिक अपाङ्गताको जाँचबुझ गर्नु त होइन नि ? अनि, फेरि शरीर पूर्ण भए तापनि प्रेषक वा प्रापक नेत्रविहीन भएर दोस्रो व्यक्तिलाई पत्र पढ्न र लेख्न लगाई पठाउने गरेको भए के हुन सक्थ्यो ? यी परिकल्पित कुराहरूलाई स्थगित गर्दै र भावलिपिको पुछारमा भएका तपाईंहरूका तस्बिरहरू हेरेर तपाईंहरूको अझै तस्बिरहरूको कुनै आशा नगरी मैले पनि म (तारा पुन) र मेरी उनी (हरिदेवी) को गत महिना पल्टने भेलामा खिचिएको ताजा फोटो पठाएको छु ।

धन्यवाद !

तपाईंहरूकै

म (तारा) र मेरी (हरिदेवी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार