सात समुद्रपारिबाट कवि गोमा रानाको उदय

  सुबानी पुन  1053 पटक हेरिएको

ललितपुर । कवि गोमा रानाको नवीनतम् कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ बीएफबीएस गोर्खा रेडियो, ललितपुरबाट हालै विमोचन गरिएको छ ।

लामो समयदेखि रेडियो पत्रकारिता र कविता लेखनमा लाग्दै आएकी कवि गोमा राना आफ्ना ७१ वटा कविताहरूमार्फत् सार्वजनिक भएकी हुन् । युकेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा क्रियाशील गोमाको उक्त कवितासङ्ग्रहको समीक्षा कवि गुप्त रानाले गरेका थिए । गोमाका कविताहरू गोर्खा लाहुरेहरूदेखि नारी संवेदना, नेपालप्रतिको माया, नयाँ वर्ष, केही अग्रज व्यक्तित्वहरूलगायत विभिन्न विषयरुमा रहेको कुरा बताए । आफू जन्मेको गाउँ र ठाउँलाई गोमाले कहिल्यै बिर्सन नसकेको भन्दै उनले गोमाका कविताहरू सरल भाषामा रचिएका र वास्तविक भएको कुरा प्रस्ट्याए । उनले गोमाको एक कविता वाचन गरेर पनि सुनाए ।

बीएफबीएस रेडियोका स्रोताहरूलाई सम्बोधन गर्दै कवि गोमाले आफूले स्कुल जीवनदेखि नै कविता रच्दै आए तापनि अगाडिका कविताहरू आफूसँग नभएको कुरा बताइन् । उनले युकेका विभिन्न संघसंस्थाहरूमा कार्यरत रहँदा व्यस्तताका बाबजुद पनि समय निकालेर कविताहरू रच्दै आएको कुरा बताइन् । आफूले यसरी कवितासङ्ग्रह प्रकाशन गर्ने भन्ने नसोचे तापनि रच्दै आउँदा सङ्ग्रह तयार भएको कुरा बताइन् । आफूले देखेका भोगेका र बुझेका कुराहरूलाई कवितामा उतारेको कुरा पनि उनले बताइन् । विशेषतः आफू लाहुरेनी बनेर विदेशमा बस्दा नेपालप्रतिको मायाले कविता रचनालई निरन्तरता दिएको कुरा पनि बताइन् । उनले सङ्ग्रह प्रकाशन भएपछि आफ्नो जिम्मेवारी निक्कै बढेको कुरासमेत बताइन् । यसरी कविता रच्नका लागि आफ्ना श्रीमान् सुनिल राना र छोरीहरूको साथ र सहयोगले पनि यहाँसम्म आएको कुरा प्रस्ट्याइन् ।

कवि गोमाले कविता लेख्दा आफूलाई निक्कै खुसी लागेको कुरा उल्लेख गर्दै यस कवितासङ्ग्रहका प्रकाशक सुनिल रानाले आउँदा दिनहरूमा पनि कवि गोमाको सिर्जनायात्रामा सक्दो साथ र सहयोग गर्ने कुरा बताए । सन् २००३ देखि बेलायतमा बसेर समाजसेवाको कार्यमा खटिँदादेखि नै गोमाले कविता रचनालाई पनि अगाडि बढाएको कुरा पनि बताए । उनले आफ्नो परिवारबाट यसरी पहिलो कृति प्रकाशन हुँदा ज्यादै खुसी लागेको कुरा व्यक्त गरे ।

कवितासङ्ग्रहका भाषासम्पादक भावेश भुमरीले गोमा रानाका कविताहरू ठूला विषयमा नभई उनले देखेभोगेका विषयलाई सुन्दर तरिकाले अभिव्यक्त गरेको कुरा प्रस्ट्याए । गोमाका कविता सरल छन् र सरस पनि भन्दै भुमरीले आउँदा दिनमा कविलाई निरन्तर रूपले कविता रचनामा लाग्न पनि सुझाव दिए । उनले भने, ‘नेपाली साहित्यमा नारी स्रष्टा कम छन्, अझ मगर जातिमा नारी स्रष्टाहरू खोज्ने हो भने औँलामा गन्दा स्रष्टाहरूले औँला भरिँदैनन् । मगर जाति बौद्धिक सिर्जनाभन्दा अलि पर मनोरञ्जनतिरै अलमलिँदै आएका छन् । यसैले गर्दा गोमा रानाजस्ता सर्जकहरू निरन्तर रूपले अगाडि बढ्नुपर्छ र यस क्षेत्रमा लाग्न अरूलाई पनि प्रेरित गर्नुपर्छ । अनि, पुस्तक बिक्री र पठन संस्कृतिलाई मगर जातिले पनि आत्मसाथ गर्नुपर्छ ।’

विमोचन कार्यक्रम बीएफबीएस गोर्खा रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमबाट दुई घन्टा प्रत्यक्ष प्रसारण भएको थियो । यस कार्यक्रमलाई लोकप्रिय सञ्चालक तथा गीतकार तुलसी बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा संसारभरि छरिएर रहेका नेपाली स्रोताहरूले कवि गोमा रानालाई बधाई ज्ञापन गरेका थिए भने कवि गोमाले धन्यवाद व्यक्त गरेकी थिइन् ।

कवि गोमा रानाको यस कवितासङ्ग्रहका केही कविताहरू आफ्नो जन्भभूमि, गाउँ, समाज र नेपालप्रतिको मायामा रचिएका छन् भने केही कविताहरू नारीका संवेदनाका साथै नारी विद्रोहमा पनि रचिएका छन् । कवि गोमाले विशेषतः व्रिटिश लाहुरे र लाहुरेनी अनि उनीहरूका परिवारलाई विषय बनाएर कविताहरू सिर्जेकी छन् । विभिन्न चाड, नयाँ वर्षका विषयमा पनि कविताहरू रहेका छन् । कोरोना, जागिर, अग्रज व्यक्तित्वहरू, समय, मायाप्रेम, सुखदुःख,लगायत विभिन्न समसामयिक विषयहरूमा पनि कविताहरू रचिएका छन् । सङ्ग्रहका पछिल्ला पानातिर गीतिकविताहरू सङ्गृहित छन् । यसबाट गोमामा गीतिचेत भएको कुरा स्पष्ट हुन्छ । यो कवितासङ्ग्रह १३२ पृष्टको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार