गैरआवासीय नेपाली सङ्घले साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यासलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छ । हितानले आजै बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता’मा तेस्रो स्थानको पुरस्कार पनि प्राप्त गरेका छन् ।
विशेषतः नेपाली पर्यावरण साहित्य लेखनमा आफ्नो स्पष्ट पहिचान बनाउँदै आएका साहित्यकार विजय हितान केही वर्षदेखि समाजसेवाको पाटोबाट मोडिएर पूर्णतः साहित्य सिर्जनमा लागेका हुन् । वातावरण साहित्य लेखन र सम्मेलन आयोजना गर्दै आफ्ना सिर्जनाहरूका माध्यमबाट वातावरण संरक्षण र प्रवर्धनमा विशेष रूपले लागीपरेका हितानले ६ वर्षको समय लगाएर पूर्व ब्रिटिश सैनिक तथा कलाकार मित्रसेनको जीवनीमा आधारित ‘लाहुरेको रेलिमाई’ उपन्यास लेखे । सोही उपन्यासको प्रकाशन, सार्वजनिक, परिचर्चा र बजारीकारणका लागि गत सालको पुसमा बेलायतबाट नेपाल आई निरन्त रूपले खटिएका हितान सोही उपन्यासको विमोचन, परिचर्चा र समीक्षाका लागि नेपालका विभिन्न जिल्ला, हङकङ र भारतका विभिन्न ठाउँमा पुगिसकेका छन् । यस समयमा पुस्तकले नेपाली साहित्य र विशेष गरी लाहुरे समुदायमा निक्कै लोकप्रियता हासिल गरेको छ ।
ब्रिटिश गोर्खा सैनिक मित्रसेनले आफ्नो बाल्यकालदेखि पहिलो विश्वयुद्धमा गुजारेको कठिनपूर्ण समयलाई ‘लाहुरेको रेलिमाई’ उपन्यासले मार्मिक रूपले प्रस्तुत गरेको छ । ब्रिटिश सेनाको जागिर छाडेर मित्रसेनले नेपाली साहित्य, सङ्गीत, नाटक र आध्यात्मिक क्षेत्रमा गरेका कार्यहरूलाई पनि उपन्यासले लोभलाग्दो तरिकाले समेटेको छ । यस कृतिलाई युद्ध उपन्यास भन्न रुचाउने हितानले यस उपन्यासले ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गर्नु नै कृतिको सही मूल्याङ्कन हो भन्छन् । उनी अगाडि थप्छन्, ‘मैले बडो मेहनत र इमानका साथ आफ्नो मनमस्तिष्क र क्षमताले भ्याएसम्म यस उपन्यास लेखनमा समय दिएको थिएँ । आज आएर त्यसको मूल्याङ्कन भएको छ र लेखनमा अरू जिम्मेवारी थपियो भन्ने महसुस गरेको छु ।’
गैरआवासीय नेपाली सङ्घले वि. सं. २०७७ देखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’मा २ लाख नगदराशीका साथ सम्मानपत्र रहेको छ । पुरस्कार घोषणा गर्दै अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष हिक्मत थापाले एक प्रेस विज्ञप्ति जारी गरेका छन्–
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार– २०७९’ विजय हितानको उपन्यास ’लाहुरेको रेलिमाई’ लाई प्रदानगर्ने निर्णय
’गैरआवासीय नेपाली सङ्घ’को ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि. सं. २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गरेको छ । यसैबमोजिम वि. सं. २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्नुहुने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ’लाहुरेको रेलिमाई’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
पहिलोपटक २०७७ मा यो पुरस्कार हरि अधिकारीको ’सङ्कलित गद्य रचना’लाई प्रदान गरिएको थियो । त्यसैगरी वर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई पुरस्कृत गरिएको थियो ।
गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नुभएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ले गायक थापाको दृष्टिबिन्दुबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घााटित गरेको छ ।
पुरस्कृत कृति ’लाहुरेको रेलिमाई’का लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्रसहित यो पुरस्कार प्रदान गर्ने छ ।
आज सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’को बैठकले छनौट समितिको उक्त सिफारिससँगै ’लाहुरेको रेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ ।
हिक्मत थापा
अध्यक्ष
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति,
गैरआवासीय नेपाली सङ्घ
२४ डिसेम्बर २०२३
यसका साथै बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौँ संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता– २०८०’ मा साहित्यकार विजय हितानले ‘चेपाङ, चमेरो र चिउरी’ कथामा तेस्रो स्थान प्राप्त गर्दै नगद रु. ४० हजार रकम, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । यस कथा प्रतियोगितामा मनोजबाबु पन्त प्रथम र प्रमोद प्याकुरेल द्वितीय भई क्रमशः एक लाख र ६० हजार रकमसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । आज काठमाडौँमा आयोजित विशेष कार्यक्रममा पाँचौँ संस्करणको कथा प्रतियोगिताको विजेता घोषणा र पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट ‘उत्कृष्ट कथा– २०८०’ को लोकार्पण पनि गरिएको छ ।