ललितपुर । प्यूठानबाट काठमाडौँ आई बसोबास गर्दै आएका साहित्यकार र साहित्यानुरागीहरूले बागबजार, काठमाडौँस्थित बालसाहित्य समाजको कार्यालयमा हालै एक भेला आयोजना गरी ‘प्यूठान वाङ्मय केन्द्र काठमाडौँ’ नामक साहित्यिक संस्था गठन गरेका छन् । जुन संस्थाको ९ सदस्यीय तदर्थ समिति बनेको छ ।
अध्ययन, विभिन्न पेसा, व्यापार र जागिरका शिलशिलामा गृह जिल्ला प्यूठानबाट काठमाडौँ आई बसोबास गर्ने प्यूठानीहरूको सङ्ख्या बाक्लो रहे तापनि साहित्य, कला, संस्कृति र गीतसङ्गीतजस्ता प्राज्ञिक क्षेत्रबाट कुनै संस्था स्थापना नभएको कुरा महसुस गरी प्यूठान वाङ्मय केन्द्र काठमाडौँ’ गठन गरेको हो । जसको अध्यक्षमा साहित्यकार तथा पत्रकार भावेश भुमरी, उपाध्यक्षमा कवि जीवराज भट्टराई, सचिवमा बालसाहित्यकार विजयराज आचार्य, सहसचिवमा कवि आविष्कार कला, कोषाध्यक्षमा पत्रकार तथा कवि अस्मिता केसी, सदस्यहरूमा कवि गोविन्द पाण्डे, कवि मनु विक, पत्रकार जीतेन्द्र घिमिरे र कवि तथा पत्रकार ध्रुव बस्याल चयन भएका छन् ।
यस वाङ्मय केन्द्रका मूल उद्देश्यहरूमा प्यूठान जिल्ला जन्म अथवा कर्मक्षेत्र भई कार्य गरेका र हाल विभिन्न पेशा, व्यवसाय वा अन्य कारणले काठमाडौँ वा अन्यत्र कतै बसोबास गरी वाङ्मय सेवामा लागेकाहरूलाई एउटै छानोमुनि आवद्ध गराउने, संस्थाका सदस्यहरूबीच आपसी मित्रता, सौहार्दता र सहयोगको वातावरण बनाउने, संस्थाका सदस्यहरूलाई कुनै समस्या परेको बखत आवश्यकीय सहयोगका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्ने, वाङ्मय क्षेत्रको विकासप्रवद्र्धनका लागि सक्दो योगदान पु¥याउने आदि रहेका छन् ।
प्यूठान धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक विविधतामा धनी जिल्ला हो । यस्तो भए तापनि जिल्लाका महत्वपूर्ण बौद्धिक सम्पत्तिहरूलाई दस्तावेज गर्ने कार्यले गति लिन सकेको छैन । काठमाडौँ या प्यूठानबाहिर बसोबास गर्दै आएका प्यूठानीहरूले प्यूठानका लागि साहित्यिक, सांस्कृतिकजस्ता बौद्धिक क्षेत्रबाट सकेसम्म प्यूठानका लागि कार्य गर्नुपर्छ भन्ने सोच रहेको कुरा समितिका सदस्याहरूले बताएका छन् । प्यूठानका प्रतिभाहरूलाई केन्द्रसम्म स्थापित गर्न संस्थाले सेतुको रूपमा कार्य गर्ने छ भने वार्षिक रूपमा एक मुखपत्र पनि प्रकाशन गर्ने छ ।


553 पटक हेरिएको 







