लाहुरेको रेलिमाईबाट विश्वयुद्ध जितेको अनुभूति

  सुरप्रभापोस्ट सम्वाददाता  627 पटक हेरिएको

ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको पहिलो उपन्यास कृति ‘लाहुरेको रेलिमाई’ हालै एक कार्यक्रमबीच काठमाडौँमा विमोचन गर्दै त्यसउपर अन्तरसंवाद गरिएको छ । अन्तरसंवादमा डा. गोविन्दराज भट्टराई, प्रकाश सायमी, विमल तुम्खेवा र स्वयम् उपन्यासकार विजय हितान सहभागी भएका थिए ।  यो उपन्यास नेपाली वाग्गेयकार मास्टर मित्रसेन थापाको जीवनीमा लेखिएको छ ।

अन्तरसंवादमा लाहुरेको रेलिमाई उपन्यासका विषयमा सोधिएका प्रश्नहरूको उत्तर दिँदै डा. गोविन्दराज भट्टराईले आफूले बेलायतमा बसोबास गर्ने ५० भन्दा बढी साहित्यकारका बारेमा पुस्तक लेख्दै युद्ध साहित्यलाई प्रवर्धन गरेको र लाहुरेको रेलिमाई त्यसैको प्रतिफल भएको कुरा राखे । विश्वयुद्धमा सामेल मित्रसेनलाई यस उपन्यासले नायकत्व प्रदान गरेको भन्दै भट्टराईले नेपाली आख्यानमा यस्तो कृति पहिलो भएको कुरा पनि व्यक्त गरे । मित्रसेन प्रथम नेपाली नाटककार हुन् भन्दै उनका नाटकहरू अहिलेसम्म पनि अप्रकाशित रहनु र प्रकाशक पर्खेर बस्नु दुःखको कुरा हो पनि भने ।

यस कृतिका बारेमा उत्तर दिँदै प्रकाश सायमीले मित्रसेन नेपाल र भारत दुवै क्षेत्रमा चलेका वाग्गेयकार भएकाले उनको जीवनीका बारेमा उपन्यास लेखिनुपथ्र्यो भन्दै मित्रसेनले गाएका गीतहरूबाट धर्मराज थापा र झलकमान गन्धर्वहरू प्रभावित हुँदै त्यस खालका गीतहरू गाएको विषयमा चर्चा गरे । सैनिकबाट निवृत्त भएपछि काठमाडौँमा आई दरबारमा गएर नेपाली गीतहरू गाउँदै नेपाली गीतहरूको प्रवर्धन गर्ने पहिलो नेपाली कलाकार उनै मित्रसेन थिए भन्दै उनले गाएका गीतहरूलाई झ्याउरे भनिएता पनि उच्चारण गर्न नजानेर पछि झाम्रे भनिएको कुरा पनि प्रष्ट्याए । ‘रेलमै’ शब्द अपभ्रंश हुँदै रेलिमाई बनेको भन्दै सायमीले मित्रसेनका गीतहरू उखानको रूपमा पनि चर्चामा आएको कुरा राखे । सायमीले भने, ‘रत्नदासप्रकाशलगायतका कलाकारहरू मित्रसेनबाटै प्रभावित थिए ।’ उनले मिसेनका कतिपय गीतहरू अरूले गाउँदा सङ्कलनमा अरूकै नाम राखेको भनी गुजासो पनि गरे । सायमीले नेपाली आधुनिक गीतको धर्मभूमि पाल्पाको चिसापानी दरबार हो भन्दै मित्रसेनले पनि यसै भूमिबाट नेपाली गीतलाई व्यापक बनाएको कुरा राखे ।

यस उपन्यासबारे राखिएका प्रश्नहरूको उत्तरमा विमला तुम्खेवाले उपन्यास पढ्दै गर्दा आफ्नै बाबा पात्र भेट्दै गरेको सन्दर्भ जोडिन् । आफ्नै कविताहरूका किताब निस्कँदा पनि स्तरका बारेमा शङ्का लाग्दै आएकामा यस उपन्यास पढ्दा भने विषयले निक्कै तानेको कुरा राखिन् । मित्रसेनको जीवनीका विषयवस्तुले आफूलाई अचम्मित पारेको कुरा गर्दै नेपाली समाजले महिलाहरूलाई जहिल्यै प्रतिपक्षमा राखेको कुरा प्रस्ट्याइन् । उनले यस विषयमा मित्रसेनको परिवार पनि टाढा नरहेको कुरा बताइन् । छोरा र छोरीमा भेदभाव छैन भन्ने मित्रसेन पनि छोरी जन्मँदा भित्री रूपमा कताकता असन्तुष्ट भएको भन्दै उनले यस उपन्यासका तमाम विषयमा मित्रसेनो फिलिङ्स हो कि लेखकको, भन्ने प्रश्न पनि गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपन्यासकार विजय हितानले आफू लाहुरे भएका कारण लाहुरे मित्रसेनको जीवनलाई औपन्यासिक स्वरूप दिन अगाडि बढेको कुरा स्पष्ट पारे । उनले सन् २०१५ देखि निरन्तर रूपमा आफू यो उपन्यास लेख्ने हुटहुटीलाई बोकेर मित्रसेनले युरोपमा युद्ध लडेका विभिन्न देश, ठाउँ र सङ्ग्रहालयहरूको भ्रमण गरेको कुरा राखे । मित्रसेनको जीवनका विभिन्न पक्षलाई बुझ्न उनी जन्मेको र बसोबास गरेको भारतस्थित भाग्सुधर्मशाला पुगेको कुरा पनि  हितानले व्यक्त गरे । उनले यस उपन्यास लेख्दा विद्यावारिधिको शोधार्थीले जस्तै कार्य गरेको भन्दै यस उपन्यास प्रकाशनबाट आफ्नो थेसिस पूरा भएको र अब पाठकहरूसामु पुगेको कुरा पनि बताए । यस उपन्यास लेखेर आफूले एउटा विश्वयुद्ध जितेको भन्दै उनले यस उपन्यासको ८० प्रतिशत विषय मित्रसेनको जीवनीमा रहेको र बाँकी आफूले औपन्यासिक रूप दिनका लागि मिलाएको कुरासमेत बताए । उनले आफू लाहुरे भएकाले लाहुरेहरूसँग लेखनका तमाम विषय रहेको कुरा राख्दै यस्ता धेरै कुरा लेख्न सक्ने कुरा पनि ठोकुवा गरे । यस अन्तरसंवाद कार्यक्रमको सहजीकरण राजकुमार बानियाले गरेका थिए ।

मास्टर मित्रसेनको जन्म सन् १८९५ डिसेम्बर २९ का दिन भातरको भाग्सु धर्मशालामा भएको थियो । उनी १÷१ गोर्खा राइफलमा भर्ती भई प्रथम विश्वयुद्ध लड्न फ्रान्स र मेसोपोटामिया (इराक र सिरिया) पुगेका थिए । युद्ध रोकिएलगत्तै सेवानिवृत्त भएका उनी भारत फर्केर नेपाली सङ्गीत र साहित्यको क्षेत्रमा क्रियाशील बने । उनी गायक र सङ्गीतकार हुनुका साथै अब्बल गीतकार, कवि, निबन्धकार र नाटककार बन्न पनि सफल भए । लाहुरेको रेलिमाई उनै मित्रसेनद्वारा लेखिएको र गाइएको अत्यन्त लोकप्रिय गीत हो । सन् १९४६ अप्रील ६ का दिन उनी यस संसारबाट भौतिक रूपले बिदा भए तापनि उनको लोकप्रियताको भने आजसम्म पनि कमी छैन ।

लाहुरेको रेलिमाई उपन्यासमा उपन्यासकार विजय हितानले मित्रसेनको बाल्यकालदेखि ब्रिटिश सेनामा भर्ती, भयानक प्रथम विश्वयुद्धमा सामेल, सेनाबाट निवृत्त, पारिवारिक घटना, नेपाली साहित्य, सङ्गीत र समाजसेवामा संलग्नजस्ता विषयलाई जिवन्त रूपले प्रस्तुत गरेका छन् । यो उपन्यास पढ्दा आफ्नै आँखाले यी घटना देखेजस्तो अनुभूति हुन्छ । ३९० पृष्टको यस महत्त्वपूर्ण उपन्यासलाई सङ्ग्रीला बुक्सले प्रकाशन गरेको छ भने यसको मूल्य रु. ६९५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार