विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि दार्जिलिङमा विमर्श

  सुरप्रभा सम्वाददाता  441 पटक हेरिएको

चैत्र २७, ललितपुर । साहित्यकार विजय हितानद्वारा लिखित मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’माथि दार्जिलिङमा विमर्श कार्यक्रम भएको छ ।

मास्टर मित्रसेन थापा साहित्य कला संस्थान दार्जिलिङद्वारा हिजो आयोजित मास्टर मित्रसेन थापाको ७७ औँ पुण्य तिथिको अवसरमा नेपाली गीतसङ्गीतमा विशेष योगदान दिएका मास्टर मित्रसेन थापाको जीवनका हरेक पक्षलाई लिपिबद्ध गरेको ‘लाहुरेको रेलिमाई’ उपन्यासले सार्वजनिक हुने अवसर पाएको हो । सो विमर्श कार्यक्रममा सुनिल प्रणामी राईले यस उपन्यासमाथि टिप्पणी गर्दै भने, ‘लाउरेको रेलिमाई एक ऐतिहासिक युद्ध उपन्यास हो । यो उपन्यास साहित्यकार, सङ्गीतकार, नाटककार तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैरलाहुरे जीवनमा आधारित आख्यान हो । यस उपन्यासमार्फत प्रथम विश्वयुद्धमा स्वयम् मित्रसेनलगायत हजारौँ हजार गोर्खाली सेनाले बाँचेको जीवनको प्रतिविम्बलाई जीवन्त रूपमा चित्रण गरिएको छ । यो कृति आफैँमा लाहुरेमाथि लेखिएको एक महङ्खवपूर्ण र ऐतिहासिक कृति हो । यस उपन्यासका पात्रहरू यति जीवन्त छन् कि मित्रसेन फौजी जीवनबाट निवृत्तपछि नेपाली भाषा, साहित्य, सङ्गीत र नाटकको विकासका साथै तत्कालीन समाजमा जागरण ल्याउन उनले गरेको सङ्र्घष अनि योगदानलाई यस उपन्यासले आकर्षक तरिकाले समेटेको छ ।’

सो विर्मश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपन्यासकार विजय हितानले आफूले उपन्यास लेख्दाका आरोहअवरोहहरूलाई सम्झे । उनले यो उपन्यास लेख्न छ वर्षसम्म लागातार रूपले मास्टर मित्रसेनको लाहुरे, निवृत्तपछिको जीवनका साथै प्रथम विश्वयुद्धमा गोर्खालीहरूको संलग्नताबारे अध्ययन, अनुसन्धान एवम् भ्रमण गरेको कुरा प्रस्ट्याए । उनले ऐतिहासिक उपन्यास लेख्न अन्य उपन्यासजस्तो सजिलो नहुने कुरा पनि राखे । उनले आफ्नो छ वर्षको अथक प्रयासले मात्रै यो उपन्यास जन्मेको तथ्यमाथि पनि प्रकाश पारे ।

साहित्यकार विजय हितानले कर्मथलो बेलायतमा बसेर मित्रसेनको जीवनका बहुआयामिक पक्षलाई अध्यय गर्दै यो उपन्यास लेखेका थिए । उपन्यास लेख्ने क्रममा उनले मित्रसेनका परिवारका सदस्यहरूलाई भेट्न भारतको हिमाञ्चल प्रदेशस्थित काँगडा किल्ला, धर्मशाला छावनी भाग्सु र तोतारानी पुगेका थिए । उपन्यासकै लेखन कार्यलाई बोकेर हितान कैयौँपटक नेपाल आएका थिए भने दर्जनौ व्यक्तिहरूसँग छलफल गरी विषयवस्तुहरूको सङ्कलन गरेका थिए । उनले मित्रसेनका बारेमा विभिन्न पुस्तकालय र सङ्ग्रहालयहरूमा गई अवलोकन र अध्ययन पनि गरेका थिए ।

वि. सं. २०२४, मङ्सिर २४, पौँदीअमराई, गुल्मीमा माता प्रेमकुमारी हितानमगर र पिता जयबहादुर हितानमगरको ज्येष्ठ पुत्रका रूपमा जन्मेका विजय हितान बेलायती सेनामा भर्ती भई लामो समय हङकङमा कार्यतर थिए । सैनिक जीवनबाट सेवानिवृत्त हितानले युनिभर्सिटी अफ ग्रिनविच, लन्डनबाट वातावरण विज्ञानमा स्नातकोत्तर पूरा गरे । हाल बेलायतको सरकारी जागिरे हितानको ‘बिछोडअघिको रात’ कविता पर्वते मासिक पत्रिकाबाट वि. सं. २०४३ मा पहिलोचोटि सार्वजनिक भएको थियो । बिछोडअघिको रात (कवितासङ्ग्रह, २०६७), थकित पृथ्वी (कथासङ्ग्रह, २०७०), जयबहादुर हितानमगर, व्यक्तित्व र कृतित्व (सम्पादन, २०७१), बागमती ब्लुज (कवितासङ्ग्रह, २०७३), इको उत्सर्जन (निबन्धसङ्ग्रह, २०७३), स्वछन्द सुसेलीहरू (सम्पादन– इको कवितासङ्ग्रह, २०७५), शहिदको सपना (रेडियो नाटक एल्बम, २०७५) स्वछन्द सुसेलीहरू भाग २ (सम्पादन– इको कवितासङ्ग्रह, २०७७), ब्लु प्लानेट (कथासङ्ग्रह, २०७८) र मगर रिन्हाक लेखरचनाहरू, २०७८)  जस्ता कृतिहरू प्रकाशन गरिसकेका हितानको ‘लाहुरेको रेलिमाई’ दोस्रो आख्यान कृति हो भने पहिलो उपन्यास । लामो अध्ययन र कडा मेहनतबाट जन्मेको हितानको यो एक महङ्खवपूर्ण कृतिसमेत  हो । हितानले इको साहित्य लेखन अभियानको नेतृत्व गर्दै संसारभरि नै नेपाली भाषीहरूसामु यसको प्रवर्धन समेत गर्दै आएका छन् । इको साहित्य लेखनका अभियन्ता हितानले यस विषयमा विभिन्न साहित्यिक कार्यक्रमहरू गर्दै दर्जनौ स्रष्टाहरूलाई एकतृत गर्ने सफलता पनि हासिल गरेका छन् ।

‘लाहुरेको रेलिमाई’ विर्मश कार्यक्रमका प्रमुख वक्ता डा. खगेन शर्माले आईबी राई, बहादुरसिंह बराल, मगन पथिक आदिको प्रेरणा र प्रोत्साहनले मास्टर मित्रसेन सफल भएको र मृत्युपश्चात् बहुआयामिक व्यक्तित्वको रूपमा चर्चा बटुल्दै नेपाल र  भारतका जनताबाट सम्मान प्राप्त गरेको बताए । कार्यक्रमको अध्यक्षता आयोजक संस्थाकै अध्यक्ष अजय थापाले गरेका थिए भने सञ्चालन मन्दिरा रावतले गरेकी थिइन् । यस उपन्यासलाई साङ्ग्रिला बुक्स काठमाडौँले प्रकाशन गरेको छ । ३९० पृष्टको यस पुस्तकको मूल्य रु. ६९५ रहेको छ । हाल यो उपन्यास काठमाडौँमा विभिन्न पुस्तक पसलहरूबाट किन्न पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार