‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ विमोचित

  सुरप्रभा पोस्ट सम्वाददाता  356 पटक हेरिएको

ललितपुर । साहित्य परिषद् प्यूठानको नवौँ अधिवेशनको अवसरमा प्रमोद प्रधानद्वारा लिखित समालोचनात्मक कृति ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ हालै प्यूठानको बिजुवारमा विमोचन गरिएको छ ।
 
साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. गोपीन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा साहित्यकार विजयराज आचार्यका सहपाठी प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्य, दाङवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यलगातका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीको पनि उपस्थिति रहेको थियो ।
विमोचित पुस्तक ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’माथि समीक्षा राख्दै टोपाराम आचार्यले बालसाहित्यका कलम चलाउँदै आएका साहित्यकार विजयराज आचार्यको जीवनसङ्घर्षका बारेमा चर्चा गरेका थिए । उनले साहित्यकार आचार्यद्वारा लिखित १०८ वटा साहित्यिक पुस्तकका बारेमा सङ्क्षिप्त परिचय पनि दिएका थिए । प्रमुख अतिथि प्राज्ञ गोपीन्द्र पौडेलले विजयराज आचार्यले प्यूठानी भूगोलबाट काठमाडौँ पसी अनवरत सङ्घर्ष गर्दै नेपाली साहित्यमा उल्लेखनीय योगदान पु¥याएकोमा खुसी व्यक्त गरे । उनले मोरङमा जन्मेका एक सिद्धहस्त समाचोचक प्रमोद प्रधानको समालोचनामा समेटिन सफल हुनु नै साहित्यकार आचार्यको सङ्घर्षको प्रतिफल भएको कुरा प्रस्ट्याए ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै कृतिका लेखक प्रमोद प्रधानले नेपाली बालसाहित्यका क्षेत्रमा विजयराज आचार्यले लेखक, प्रकाशक, प्रबन्धक र प्रशिक्षक भई लगातार रुपले सफलतापूर्वक कार्य गरेको भन्दै यस्तो कार्य गर्ने आचार्य नै पहिलो साहित्यकार भएको कुरा प्रस्ट पारे । यही कारण नै आफूले आचार्यका बालकृतिहरूका बारेमा समाचोचनाको कृति तयार पारेको कुरा स्पष्ट पारे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार विजयराज आचार्यले मोहनविक्रम सिंह, मणि थापालगायतका साहित्यकारहरूको नाम उल्लेख गर्दै प्यूठानका साहित्यकारहरू सत्ता र सत्ताको पहुँचमा पुगे तापनि प्यूठानमा कुनै कार्यक्रम गर्न नसकेको गुनासो राखे । छिमेकी जिल्ला रोल्पा साहित्यको एक उदाहरणीय गन्तव्यस्थान बन्दा पनि प्यूठानका साहित्यकार र सम्बन्धित निकायहरू आँखा चिम्लेर बसेको भन्दै अब प्यूठानले साहित्यको माध्यमबाट काठमाडौँसहित देशका विभिन्न भूभाग र विदेशलाई समेत जोड्नुपर्ने कुरामा जोड दिए ।
 
नारायण पाण्डेद्वारा लिखित ‘आरोग्य दर्पण’ पुस्तकको समेत विमोचन गरिएको साहित्य परिषद् प्यूठानको यस नवौँ अधिवेशबाट नवराज आचार्य अध्यक्षमा चयन भएका छन् भने कमला खनाल उपाध्यक्ष, ध्रुव गिरी सचिव, महेश थापा सहसचिव र राजकुमारी कुँवर कोषाध्यक्षमा चयन भएका छन् । नारायण पाण्डे, गोपालय बिष्ट, शिला खड्का, बीपी सेढाई, रामप्रसद पोख्रेल, भानुभक्त पोख्रेल, लक्ष्मी मगर संघर्ष, सुमन सुवेदी, खेमराज पोख्रेल र सनम परियार सदस्यमा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार