गजल

  डा. श्यामप्रसाद न्यौपाने  374 पटक हेरिएको

ब्वाँसाहरूको हालीमुहाली भएपछि
सज्जन ठगिन्छन् नै दुष्ट दलाली भएपछि

देशले काँचुली फेर्न सक्दैन कहिल्यै
परिवर्तनका अगुवाहरू नै जाली भएपछि

शकुनिहरू पनि सल्लाहकार हुन सक्छन्
भीष्म, द्रोण र कृपको रखवाली भएपछि

अर्जुनको दृष्टि किन अन्यत्र जान्थ्यो र
अगाडि वरमालामा पाञ्चाली भएपछि

चण्डमुण्डहरू पनि पाखा लाग्ने नै छन्
तमाम अवलाहरू क्रुद्ध काली भएपछि

कानुनको मुख पनि त बन्द हुँदो रहेछ नि
मिचाहा दुःशासन बलशाली भएपछि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार