ललितपुर, प्रसिद्ध साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिद्वारा स्थापित दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९’ हालै प्रदान गरिएको छ । यो पुरस्कार विदेशमा कार्यरत नेपाली साहित्यकारहरूद्वारा सिर्जित उत्कृष्ट कृतिलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ ।
काठमाडौँ धुम्बाराहीस्थित रामदा होटलको एक हलमा हालै आयोजित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९’ अर्पण समारोहलाई सो संस्थाका अध्यक्ष तथा साहित्यकार हिकमत थापाले सभापतित्व गर्नुभएको थियो भने प्रमुख अतिथिमा सुप्रसिद्ध कवि वैरागी काइँला रहनुभएको थियो । विशेष अतिथिहरूमा नेपाली सेनाका पूर्व जनरल तथा साहित्यकार बाबुकृष्ण कार्की, आख्यानकार नयनराज पाण्डे, सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक दुर्जकुमार राई र पुरस्कृत स्रष्टा विजय हितान रहनुभएको थियो । कार्यक्रमलाई प्रसिद्ध कवि रमेश पौडेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा आसनग्रहणलगत्तै स्वागत मन्तव्य राख्दै कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत सर्जक विजय हितानको सिरानीमा बन्दुक हुँदा पनि हृदयको कोलमतारूपी अक्षरहरूबाट अति सुन्दर सिर्जनाहरू सिर्जन सिकेको कुरा राख्नुभयो । यसको एक उदाहरण ‘लाहुरेको रेलिमाई उपन्यास भएको कुरा पनि सपस्ट पार्नुभयो ।
नेपाली सेनका पूर्व जनरल तथा साहित्यकार बाबुकृष्ण कार्कीले साहित्यकार विजय हितानको परिचय दिँदै लाहुरेको रेलिमाई उपन्यासको समीक्षा गर्नुभयो । उहाँले उपन्यासका मुख्य पात्र मित्रसेन बेलायती सेनाका एक सैनिक भए तापनि बढी संवेदनशील भएको कुरा प्रस्ट्याउनुुभयो । प्रथम विश्वयुद्ध लड्न बेलायती सेनाबाट युरोप र एसियाका विभिन्न युद्धमैदानमा पुगेका मित्रसेनको युद्धकथा बोकेको लाहुरेको रेलिमाई विश्वयुद्धकै ऐना भएको कुरा राख्दै उहाँले विश्वयुद्धमा मित्रसेनले कहिल्यै हरेस नखाएको कुरा स्पस्ट पार्नुभयो । मित्रसेनले आफ्नै बाजे अमरसिंह थापाले नेपालबाट काँगडासम्मको युद्ध लडेको कथाबाट भरपुर प्रेरणा लिएका थिए भन्दै कार्कीले त्यतिबेला आठ कक्षासम्म पढेका मित्रसेन अत्यन्त तृष्ण मस्तिष्कका थिए र उनले अङ्ग्रेजी भाषा पनि राम्ररी सिकेको कुरा बताउनुभयो । आफूलाई गोली लाग्दा पनि साथी सैनिकहरूलाई बोकेर सुरक्षित ठाउँतिर लगी उनीहरूको ज्यान बचाएका कुलवीर थापाजस्ता वीर योद्धा पनि ब्रिटिस गोर्खा सेनामै थिए भन्दै कार्कीले मित्रसेन समुद्र, मरुभूमि र विभिन्न कठिन ठाउँहरूको युद्धमा अत्यन्तै ठूलो आत्मबल र साहसका साथ युद्ध लडेको कुरालाई उपन्यासले स्पस्ट पारेको कुरा बताउनुभयो । उहाँले अगाडि थप्नुभयो, ‘नेपाली सेनामा पनि यो किताब भाइरल नै बनेको छ । सैनिक र प्रहरीहरूले यस पुस्तक अध्ययन गरेमा धेरै कुरा सिकेर आफ्नो जीवन र कर्तव्यमा लागू गर्न सक्ने छन् । मित्रसेन पहिलो विश्वयुद्धबाट आफ्नो जन्मघर फर्केर सामान्य जीवनमा फर्केपछि अत्यन्त सिर्जनशील बने र अनवरत रूपले विभिन्न साहित्यिक एवम् साङ्गीतिक कार्यक्रमहरूमा जुटे । उनले राजा महेन्द्रको जन्नमोत्सवमा एक ठूलो कार्यक्रम गरी नेपाली गीतहरू गाएर धेरै प्रशंसा बटुलेका थिए ।’ यस्ता वीर एवम् महान् स्रष्टाको जीवनीमा आधारित उपन्यास लेखेर विजय हितानले ठूलो कार्य गरेको भन्दै कार्कीले भन्नुभयो, ‘बिनासका कुरा होइन, मातृभूमिको प्रकृतिलाई जोगाएर मानव जातिको स्वास्थ्य र दीर्घजीवनमा महत्वपूर्ण कार्य गर्ने हितान धन्यवादका पात्र हुनुहुन्छ ।’
कार्यक्रमका विशेष अतिथि आख्यानकार नयनराज पाण्डेले शुभकामना मन्तव्य दिँदै भन्नुभयो, नेपाली निबन्धमा अनुसन्धान गरेर कृतिहरू सार्वजनिक गरिँदै आए तापनि आख्यानमा अनुसन्धान गरेर तयार पारिएका कृतिहरू एकदमै कम छन् । आख्यानकारहरूले आफ्नै कल्पनामा कृतिहरू सिर्जंदै आएका छन् । विजय हितानले जुन तरिकाले विषयको अनुसन्धान गरेर लाहुरेको रेलिमाई उपन्यास पस्कनुभयो, यस कृतिले अनुसन्धान गरेर आख्यानका कृति लेख्नमा कोसेढुङ्गाको रूपमा कार्य गर्ने छ । यसकारण पनि यो कृति आफैँमा विशिष्ट छ । यस्तो कृतिको चर्चा भइरहनुपर्छ । यो उपन्यास आफैँमा एक जीवनी हो, त्यसैले पढ्दा कहीँ पनि फिका महसुस हुँदैन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पुरस्कृत स्रष्टा विजय हितानले पुरस्कार छनौट समिति र संस्थाका अध्यक्ष हिकमत थापासहितको कार्यसमितिप्रति धन्यवाद ज्ञापन गर्दै लाहुरेको रेलिमाई उपन्यास हिजो छापिएको र आज चर्चा भएझैँ अनुभूति गरेको कुरा व्यक्त गर्नुभयो । प्रथम विश्वयुद्धमा आधारित युद्ध उपन्यास लाहुरेको लेलिमाई लेख्दा छ वर्षसम्म आफूले मित्रसेनको जन्मभूमि भाक्सुदेखि युुरोप र मित्रसेनले युद्ध लडेका विभिन्न ठाउँहरूको भ्रण गर्दै उपन्यासका विषयहरू अध्ययन र अनुसन्धान गरेको कुरा पनि उहाँले प्रस्ट पार्नुभयो । उपन्यास लेख्नुभन्दा पहिले आफूले ब्रिटिस आर्मीद्वारा लेखिएका विश्वयुद्ध र गोर्खाली सेनाका विषयमा पनि विभिन्न पुस्तकहरू पढेको कुरा बताउनुभयो । हितानले भन्नुुभयो, ‘यस उपन्यासका ८० प्रतिशत विषय सत्य हुन् भने २० प्रतिशत विषय उपन्यास सिर्जनाका लागि मैले संयोजन गरेकोे छु ।’
कार्यक्रमका प्रमुख अतिथि सुप्रसिद्ध कवि वैरागी काइँलाले आफूले उपन्यास पढ्दै गर्दा उपन्यासभित्रको युद्धकथा विस्तारै अगाडि बढेको र त्यसले आफूलाई बडो आनन्द दिएको कुरा बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपन्यास पढ्दै गर्दा एक मनले सोचेँ, युद्ध पनि यस्तो विस्तारै हुन्छ र ? अर्को मनले सम्झेँ, यो त उपन्यास पो त । यसैमा यसको अर्थ र सुन्दरता छ । उपन्यासका हरेक वाक्य र अनुच्छेदहरूले मलाई निक्कै तानेका छन् । पढ्दा एकदमै सरल लाग्ने एक सिपाहीको डायरीजस्तो यस उपन्यासले सबै कुरा एकै ठाउँमा मिसाएर कविता रच्ने मेरो बानीमा नयाँपन थपेको छ र मलाई बडो आनन्द लागेको छ । हितानको यस्तो लेखाइ नयाँ किसिमको र सार्थक पनि हो । वास्तवमा सरलता भन्ने कुरा साहित्यमा एकदमै महत्वपूर्ण रहेछ । यो उपन्यास पढ्दै गर्दा देशप्रतिको भावना बढ्छ । यसकारण पनि यो उपन्यास एक महत्वपपूर्ण कृति हो ।’
कार्यक्रमका सभापति तथा साहित्यकार हिकमत थापाले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नका कारणबारे प्रस्ट्याउँदै यो पुरस्कार सत्यमोहन जोशीको प्रेरणा र सुझावबाट स्थापना गरेको कुरा बताउनुभयो । पुरस्कार स्थापनाकालमा जीवा लामिछाने र आफूले खेलेको भूमिकाका बारेमा पनि स्मरण गर्नुभयो । आफू अध्यक्ष रहँदै आएको यस संस्थाको कार्यसमितिमा जीवा लामिछाने, निलम कार्की निहारिका, नयनराज पाण्डे र महेश्व पन्त रहेको कुरा पनि स्पस्ट पार्नुभयो । नेपाल भूमिभन्दा बाहिर रहेर नेपाली भाषा, साहित्यमा कलम चलाई उत्कृष्ट कृति सिर्जना गर्ने सर्जकलाई हरेक वर्ष प्रदान गरिने यस पुरस्कारबाट सर्वप्रथम हरि शर्मा (अमेरिका) पुरस्कृत भएको कुरा बताउनुभयो । दोस्रो वर्ष चेतनाथ आचार्य (चीन) र तेस्रो वर्ष विजय हितान (बेलायत) लाई पुरस्कृत गरेको कुरा पनि राख्नुभयो । साहित्यकार थापाले विदेशमा रहेर पनि नेपाली साहित्यमा महत्वपूर्ण कार्य गर्न सकियोस् भन्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले यो पुरस्कार स्थापना गरेको कुरा पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा विभिन्न साहित्यकार, साहित्यानुरागी, विजय हितानकी ममतामयी माता प्रेमकुमारी हितान र उहाँकी जीवनसँगिनी कल्पना हितानको पनि उपस्थिति रहेको थियो ।