ब्रिटिस लाहुरेहरूको कथा बोकेको उपन्यास किवाहाङ विमोचित

  सुबानी पुनमगर  231 पटक हेरिएको

 

ललितपुर । उपन्यासकार राजकुमार राईकृत ब्रिटिस गोर्खा इतिहासको कथा समेटिएको उपन्यास ‘किवाहाङ’को घुम्टो फुकाएर विशिष्ट लेखक तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, प्राज्ञ माया ठकुरी, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, साहित्यकार किशोर पहाडी, उपन्यासकार तथा गीतकार रामकृष्ण बान्तवालगायतका स्रष्टाहरूले विमोचन गरेका छन् ।
काठमाडौँको अनामनगरस्थित सिलौटो कटेजको हलमा आयोजित विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा. डा. सुरेन्द्र केसीले किवाहाङ उपन्यासको दमदार समीक्षा गरे । समीक्षाको सन्दर्भ जोड्दै प्रा. डा. केसीले राजकुमार राईलाई आफूले व्यक्तिगत रूपमा नचिनेको र उपन्यास पढ्दै जाँदा अचम्मित बनेको कुरा बताए । उनले उपन्यासको कथा पूर्वी नेपालको सङ्खुवासभा, टुम्लिङटार, फुस्रे, धरान, दार्जिलिङको घुमपहाड हुँदै मलाया, सिंगापुर, ब्रुनाई, हङकङ र बेलायतसम्म विस्तार भएको कुरा प्रस्ट्याए । उपन्यासको मुख्य पात्र किवाहाङ स्वयम् सर्जक राजकुमार राई पो हो कि भन्ने भान परेको कुरा राख्दै प्रा. डा. केसीले उपन्यासको विषय फुकाउन आफूलाई निक्कै कठिन भएको कुरा पनि खोले । उपन्यासमा ब्रिटिस लाहुरेको कथा बुनिँदै जाँदा उपन्यासकार राई बडो निडर तरिकाले प्रस्तुत भएको यथार्थ खोल्दै ब्रिटिस लाहुरे रहर नभई बाध्यता भएको कुरा बताए । प्रा. डा. केसीले ‘यस उपन्यासले ब्रिटिसहरूको कुटिलतामा फस्दै गोर्खाहरूले उनीहरूको स्वार्थका लागि रगतपसिना बगाएको र लाखौँलाखले ज्यानकै आहूति दिएको वास्तविकतालाई बोकेको छ’ भन्दै गोर्खाहरू ब्रिटिसहरूको पक्षपातपूर्ण व्यवहार भोग्न अभिशप्त बनेको कुरा पनि व्यक्त गरे । उनले यसरी उपन्यास लेखिनु आफैँमा महत्वपूर्णमात्र नभएर एक चुनौतीपूर्ण कार्य हो भन्दै उपन्यासकार राजकुमार राईलाई आगामी दिनमा पनि निरन्तर रूपले कलम चलाउन सुझाव दिए ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले किवाहाङको नेपाली अर्थ बाघको राजा हो भन्दै त्यो राजा अहिले स्वयम् उपन्यासकार राजकुमार राई भएको कुरा व्यक्त गरे । उनले आफूले पुस्तकालय अभियानलाई सक्दो सहयोग गरेको र गर्ने कुरा पनि बताए ।
विमोचन कार्यक्रममा आफ्ना विचार राख्दै उपन्यासकार राजककुमार राईले आफूले उपन्यास लेख्नुका उद्देश्यहरू प्रस्ट्याए, ‘मैले ब्रिटिस गोर्खाहरूको इतिहासलाई लामो समय लगाएर अध्ययन गरेँ । कर्तव्य र युद्धहरूमा होमिएका ब्रिटिस गोर्खाहरूले भनेका कुरा र लेखित इतिहासमा समानता पाउन सकिनँ । यही कुराले मलाई उपन्यास लेख्न घचघच्याइरह्यो । विश्वयुद्धताका ५२ लाख जनसङ्ख्या भएको नेपालबाट आठ लाख नेपाली मर्न किन गए ? पहिलो विश्वयुद्धमा सबैभन्दा बढी मर्ने त क्षेत्री थिए । नेपालका शासकहरूले त्यस विश्वयुद्धमा बढीभन्दा बढी क्षेत्री, मगर र गुरुङहरूलाई पठाए । दोस्रो विश्वयुद्धपछि मात्र राई, लिम्बूहरूलाई पठाइएको थियो । हङकङमा बसोबास गर्दै आएका नेपालीहरूबाट पहिलो र दोस्रो विश्वयुद्धमा मरेका ४३ हजार गोर्खालीहरूको सूचीको बुकलेट प्रकाशन भएको छ । तर, दुई विश्वयुद्धमा ५३ हजार गोर्खालीहरू मरेको अनुमान गरिएको छ । यति धेरै गोर्खालीहरू मर्दा पनि कुनै साहित्यकार या पत्रकारले गम्भीर रूपले लेखिदिन सकेनन् । यही तथ्यलाई महसुस गरेर मैले पहिलो र दोस्रो विश्वयुद्धपछिको ब्रिटिस गोर्खाहरूको इतिहासलाई यस उपन्यास समेट्ने प्रयास गरेको हुँ ।’
कार्यक्रम साब्लाबुङ पुस्तकालय अभियानका सचिव भावेश भुमरीले सञ्चालन गरेका थिए । उनले साहित्यकार राजकुमार राईको संक्षिप्त परिचय दिँदै भने, ब्रिटिस लाहुरे बुबा मलायामा कार्यरत रहेका कारण राजकुमार राईको जन्म मलायामै भएको थियो ।’ गाउँ सङ्खुवासभा फर्केपछि आमाले सुनाएका युद्धका साथै लोककथाहरूबाट प्रभावितभएर राई लेखनमा लागेको कुरा पनि उनले प्रस्ट्याए । भुमरीले साब्लाबुङ पुस्तकालय अभियान र साब्लाबुङ साहित्यिक पत्रिकाको बारेमा पनि चर्चा गरे ।
लामो समयदेखि हङकङमा बसी नेपाली साहित्यिक पत्रकारिता, सिर्जना र पुस्तकालय अभियानमा क्रियाशिल राजकुमार राईको किवाहाङ उपन्यासले दोस्रो विश्वयुद्धपछिका ब्रिटिस गोर्खाहरूको इतिहासलाई रोचक तरिकाले समेट्ने कार्य गरेको छ । ३२४ पृष्टको यस उपन्यासलाई साब्लाबुङ पुस्तकालय अभियान, काठमाडौँले प्रकाशन गरेको छ ।

यस विमोचन कार्यक्रममा नेपालमा रहेर साब्लाबुङ पुस्तकालय अभियानलाई पुस्तकहरू प्रदान गर्ने पुस्तकदाताहरूलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो । सम्मानपत्र प्राप्त गर्नेहरू साहित्यकार, कलाकार, समाजसेवी र संस्थाहरूमा दिनेश अधिकारी, माया ठकुरी, गीता रेग्मी, बुलु मुकारुङ, ध्रुवहरि अधिकारी, मन्दिरा मधुश्री, रमेश क्षितिज, तारा सुनुवार, जय छाङ्छा, किशोर पहाडी, छविरमण सिलवाल, ज्ञान उदास, निर्भिक राई, लीला लुइँटेल, कृष्ण प्रसाईं, डीआर राई, लक्ष्मण सिटौला, श्याम प्रधान, गजेन्द्र याम्फु राई, रवीन्द्र धिमिरे, रामकृष्ण बान्तवा, भैरवराज कैनी, मानबहादुर राई, डा. उद्धव राई, दीपेन्द्रसिंह थापा, मुरारी भण्डारी, नारायण सापकोटा, विराज समाज, मनिराम राई, निर्मल पुरी भोगी,सरिता अर्याल, दुर्गा अधिकारी दृशी र दिदी बहिनी अफसेट प्रेसलाई थिए । नेपाल र विदेशमा बस्दै आएका ७३ जना दाताहरूले यस अभियानलाई पुस्तकहरू प्रदान गरिसकेका छन् ।
यस पुस्तकालय अभियानले नेपालका दुर्गम जिल्लाहरूका १७ वटा पुस्तकालयहरूलाई ४० हजार सङ्ख्याका पुस्तकहरू प्रदान गरिसकेको छ भने चारवटा पुस्तकालयहरूलाई पनि पुस्तकहरू प्रदान गर्दै छ ।सङ्खुवासभा काठमाडौँ जर्नालिष्ट एशोसिएशन आयोजक र साब्लाबुङ पुस्तकालय अभियान सहआयोजक रहेको यस विमोचन कार्यक्रमको सभापतित्व एशोसिएशनका अध्यक्ष शङ्कर खनालले गरेका थिए भने स्वागत मन्तव्यका सोही संस्थाका उपाध्यक्ष उद्धव भट्टराईले राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार