सुनाउनु छ प्यूठानको कथा
कटेर भालुबाङ
उक्लेर बडडाँडा
झर्दै ओरालो माडीको तीरैतीर
टेकेर चेरनेटा
पुगेर झिमरुकफाँट
र, उक्लेर मल्लरानी !
कथा सुन्नलाई ठिङ्ग उभिन्छ बडडाँडा
माडी निरन्तर सुसाइरहेछ
पार्टीका दस्ताबेजहरू घाँटीमा भिरेर
सडकछेउका धुलाम्य रुखहरू
आँखा चिम्लँदै कानेखुसी गरिरहेछन्
र, सोधिरहेछन्
किन मूकदर्शक बनिरहेछ माडी ?
पहाडहरू पार्टीका झण्डालाई
कफन बनाइरहेछन् आफ्नै निधारमा
सडकहरू असमानताका खजानाहरूलाई
वितरण गरिहेछन् गाउँगाउँमा
र, बन्दी छ भाइचारा
लालझण्डाहरूको दोसाँधमा ।
कथा बुन्नलाई फरक्क फर्किन्छ चेरनेटा
र, आँखा तेर्स्याउँछ स्वर्गद्वारीतिर
स्वर्गद्वारी व्यस्त छ अग्निहोममा
जहाँ युधिष्ठिर स्वर्गको बाटो नापिरहेछन्
छेउमा पलेटी मारिरहेछन् हंसानन्द
लेखनाथलाई पर्खिरहेछन् केही तपस्वीहरू
बाँझको रुख निरन्तर ध्यानमग्न छ
र, जपिरहेछ अमर सिर्जनाको मन्त्र ।
कथा भन्नलाई आइपुग्छ जुम्री
झिमरुक निरन्तर बगिरहेछ
लालपुस्तकको भौतिकवाद कम्मरमा भिरेर
सडकको धुलो घसिरहेका मूर्तिहरू
कान थुन्दै आँखा तरिहरेछन्
र, सोधिरहेछन्–
किन नाजवाफ बनिरहेछ झिमरुक ?
फाँटहरू भौतिक निर्माणलाई
हार बनाइरहेछन् आफ्नै गलामा
र, च्यातिरहेछन् आफ्नै छाती
यही कारण त यहाँको उर्वर सिञ्चनले
भेट्न सकेन शाकुन्तलको भ्रूण
देख्न सकेन भ्यानगगको ब्रुस
बेखबर यो भूमिमा
कहिल्यै झुल्केनन् डिकेन्स
हुर्किनन् आधुनिक पारिजात,
उफ् ! यहाँ चिनिन्नन् देवकोटा
अपरिचित छन् नारायणगोपाल ।
म सोच्ने गर्छु–
यहीँ टोलिएका थिए कि लेनिन ?
यतै बिसिएका थिए कि मार्क्स ?
त्यसैले त ठाउँ भेटिञ्जेल थुप्रेका छन्
आधुनिक मार्क्सवाद र लेलिनवाद
भोक्ता बनिरहेका छन् आगन्तुकहरू
र, डकारिरहेका छन् वैदिक ऋचा ।
कथा बुझ्नलाई विस्तारै घुम्छ मल्लरानी
र, हेर्छ क्रमशः सविस्तार
कोठीभिर उचालिरहेछ सौन्दर्य
तर छरिन्न अलौकिक इन्द्रेणी
गौमुखी तप्काइरहेछ पञ्चामृत
तर सिर्जिन्नन् जीवनका लय
ऐरावती टेकिरहेछ मिलनका पैताला
तर गाडिन्न आस्थाको मियो ।
मैले देखेको छु–
पश्चिम क्षितिजतिर झरिरहेछ सूर्य
र, हठात् मलाई सोधिरहेछ प्रश्न
यो माटोमा तिमी
किन खोजिरहेछौ देवकोटा ?
यो भूगोलमा तिमी
किन चाहिरहेछौ सेक्सपियर ?
तल फाँटमा नियाल–
जहाँ तिम्रो आधुनिक कवि
टाँगिरहेछ लालझण्डा
र, लेखिरहेछ मौसमी नारा ।
प्यूठान- १०, प्यूठान
हाल: ललितपुर, नेपाल