‘पहराको फूल’को सुबास

(समीक्षा)

  सरस्वती श्रेष्ठ ‘सरू’  278 पटक हेरिएको

पोखराको साहित्यिक बजारमा केही महिनाअगाडि मात्रै लिली अधिकारीको कविता सङ्ग्रह ‘पहराको फूल’ फुलेर सुवासित छ । यतिखेर वासन्ती वागको मोहकसँगै पहराको फूलको सुगन्ध मिसिएर मन मुग्ध बनाएको छ । केही समयअगाडिदेखि लिलीका फुटकर कविता पढ्दै आइरहेकी थिएँ । अहिले सङ्ग्रहको रुपमा आउन सफल भएको छ । समय पनि विकट पहरामा फुल्ने फूलजत्तिकै अनमोल बन्छ महिलाहरूका लागि । कुचो र कलम, चुल्हो र कार्यालयको व्यवस्थापन गर्दै कविता लेख्नु सजिलो छैन । विभिन्न साहित्यिक कार्यक्रमहरूमा समय मिलाएर उपस्थित हुन उस्तै कठिन छ । सुप्रसिद्ध अग्रज कवि तीर्थ श्रेष्ठ भन्नुहुन्छ, ‘कविता लेख्छु भनेर लेखिँदैन । न त लेखिएका सबै कविता नै बन्न सक्छन् ।’ नभन्दै कविता लेख्छु भनेर लेख्न नसकेको अनुभव मसँग पनि छ र अन्य कविहरूमा पनि होला ।

 

वि. सं. २०७८ मा प्रकाशित यस सङ्ग्रको प्रकाशक सगरमाथा साहित्य प्रतिष्ठान रहेको छ भने आवरणशिल्पी प्राज्ञ रमेश श्रेष्ठको रहेको छ । मूल्य रु. २५०/– रहेको छ ।

 

लिलीका कविता सङ्ग्रहमा जम्मा ५६ वटा कविताहरू छन् । कविताहरू कलात्मक छन् । जीवन र जगतमा भोगाइका तीतामिठा पलहरूको चित्रण गर्दै लेखिएका लिलीका कविताहरू मर्मस्पर्शी पनि छन् । कतै आशाका आँकुराहरू छन्, कतै विश्वासका टाकुराहरू छन् । कतै तृष्णा छन् त कतै वितृष्णा पनि छन् । कविता पढ्दै जाँदा केही कविताका पङ्क्तितहरूले मज्जासँग छोएको छ मलाई । ‘पहराको फूल’ शीर्ष कवितामा पहराको फूल हेरेर आनन्दित हुन सकिने तर स्पर्श गर्न नसकिने भाव व्यक्त गरिएको छ । ‘आमा’ कवितामा आमा सिङ्गो घरको उज्यालो हुन् भनिएको छ । हुन पनि वास्तवमा आमा संसारकै उज्यालो हुन् । ‘अर्काको छाता’ कवितामा–

जोहो गर्न नसक्दा

एउटा सानो छाताको

रुझाएको छु मैले मेरा अमूल्य सपनाहरू

(पृष्ठ– १९)

 

यो कविता पङ्क्तितले मनलाई भित्रैसम्म छुन सफल छ । गहिरो भाव व्यक्त गरिएको छ ।

 

जीवन एउटा सङ्घर्षको नाम हो । सङ्घर्षसँग सामना गर्न नसके जीवन असफल बन्छ । कविका कवितामा यस्तै भाव भेटिन्छन् । आँसु पनि शरीरभित्रै रहेको संवेग हो । हर्षमा खुसीका फूल मुस्कुराउने, दुःखमा आँसुको मूल फुट्ने प्रकृतिले नै मानवलाई दिएको संवेग हो । तसर्थ आँसु पिउँदै पनि आँसुकै दहमाथि फूलहरू फुलिरहेका यथार्थ दर्शिएको कविता हो फूलको आँसु । यथार्थसँगसँगै कल्पनाको अतल गहिराइमा पनि पुग्न मन पराउँछन् कविहरू । त्यसैले भनेका छन् कसैले– ‘जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि ।’ पाठकलाई पनि कविता पढ्दा कल्पनाको संसारमा डुबान भर्न त्यति नै आनन्द आउँछ ।

 

बा उखु नरोप्नुस् न

पछि त्यो अँध्यारो घारी बन्छ

मलाई निकै डर लाग्छ ।

(उखुघारी, पृष्ठ– २३)

 

वर्तमान स्थितिलाई इङ्गित गर्दै लेखिएको यस कवितामा सम्भावित दुर्घटनाप्रति सचेत गराउँदै उखुघारी फाँडिदिनू भन्ने आग्रह गरिएको छ । तर आजका छोरीहरूलाई वर्तमान स्थितिलाई मध्यनजर गर्दै आफ्नो अस्तित्व आफैँ जोगाउन सक्ने शिक्षा दिइनु आवश्यक छ । न कि त्यो बाटो हिँड्दै नहिँड्नू, हिँड्न खतरा छ भनेर हिँड्नदेखि तर्साउनू । आजका छोरीहरू निर्धक्क भएर हिँड्न पाउनुपर्छ । यो वातावरण घरपरिवार, समाज र राष्ट्रले मिलाउनुपर्छ । डर छ भनेर नहिँड्न पनि त सक्दैसकिन्न ।

 

आशा, संरक्षण, बेइमानी, गतिजस्ता छोटा कविता चोटिला र पोटिला छन् । यी कविताले पाठकको मन जित्ने छ । अक्षरका बिम्बहरूमा बान्किला पाइन थपिएर अझै धारिला बनून् कविताका धारहरू । समग्रमा लिली अधिकारीको ‘पहराको फूल’ले सबैलाई सुबास दिन सफल बनोस् । आगामी दिनहरूमा अझै उत्कृष्ट कविताहरू पढ्ने सुअवसर प्राप्त होओस् । काव्यिक उन्नयनको हार्दिक शुभकामना !

 

– पोखरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार