दुर्गम गाउँमा पुग्यो साब्लाबुङ पुस्तकालय अभियान

  सुरप्रभापोस्ट सम्वाददाता  823 पटक हेरिएको

ललितपुर । साब्लाबुङ पुस्तकालय अभियानले हालै चीनको सीमाना नजिकै संखुवासभा जिल्लाको हुडगुड, भोटखोलास्थित श्री गुवाछेसा आधारभूत विद्यालयलाई एक कार्यक्रम गरी पुस्तकहरू हस्तान्तरण गरेको छ ।

पुस्तकालय र पाठकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय, क्याम्पस र सार्वजनिक पुस्तकालयहरूलाई पुस्तकहरू विररण गर्ने क्रममा साब्लाबुङ पुस्तकालय अभियानले सङ्खुवासभाको विकट हुडगुड, भोटखोला गाउँ पालिकामा रहेको श्री गुवाछेसा आधारभूत विद्यालयलाई छनोट गरेको हो । विद्यालय छनोट गर्ने प्रसङ्गमा संस्थाका अध्यक्ष राजकुमार राईले आफ्नो अभियानले हस्तान्तरण गरेका पुस्तकहरूबाट बढीभन्दा बढी पाठकहरू लाभान्वित हुन सकून् भन्ने उद्देश्य रहेको बताए । प्रथमतः पुस्तकहरूका अभाव भएका पुस्तकालयका साथै पुस्तकालय नै नभएका विद्यालय, क्याम्पस र सार्वजनिक स्थानमा पुस्तकालयको प्रबन्ध मिलाउन लगाई पुस्तकहरू उपलब्ध गराउँदै आएको कुरा पनि अध्यक्ष राईले बताए ।

साब्लाबुङ पुस्तकालय अभियानद्वारा सञ्चालित पुस्तकहरू हस्तान्तरणकोे यस कार्यक्रम श्री गुवाछेसा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साङा तेञ्जिन भोटेको अध्यक्षता, साब्लाबुङ पुस्तकालय अभियानका प्रतिनिध मिथुन च्याङ्वाको प्रमुख आतिथ्य र यसै वडा नं. ३ का वडाअध्यक्ष पासाङ भोटेको विशिष्ट आतिथ्यमा आयोजना गरियो । यस कार्यक्रममा प्रध्यानाध्यापक किन्छाङ सिपु भोटे, महिला प्रतिनिधि लाक्पा छेजिक भोटे र शिक्षक अभिभावक संघका अध्यक्ष साङ्वु खम्बाले पनि आतिथ्यको आसनग्रहण गरेका थिए । कार्यक्रमलाई यसै पुस्तकालयका संयोजक तथा शिक्षक मनकुमार राईले सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष साङा तेञ्जिन भोटेले यस्तो दुर्गम ठाउँमा अवस्थित विद्यालयको पुस्तकालयलाई रु. १६१००० मूल्य बराबरका १०५१ प्रति पुस्तकहरू हस्तान्तरण गरेकामा साब्लाबुङ पुस्तकालय अभियानलाई धन्यवाद व्यक्त गरे । प्रमुख अतिथि मिथुन च्याङ्वाले पुस्तकालयको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेका थिए ।

विगत ६ वर्षदेखि नेपालका विभिन्न जिल्लाका विभिन्न पुस्तकालयहरूलाई निशुल्क पुस्तकहरू वितरण गर्दै आएको साब्लाबुङ पुस्तकालय अभियानले आफ्नो कार्यलाई निरन्तरण रूपले अगाडि बढाइरहेको छ । यस अभियानले विभिन्न दाताहरूबाट पुस्तक र आर्थिक सहयोग सङ्कलन गरी मुगु, स्याङ्जा, चितवन, गोर्खा, सोलु, काभ्रे, भोजपुर र संखुवासभा जिल्लाका १६ वटा पुस्तकालयलाई ३७,००० भन्दा बढी सङ्ख्यामा पुस्तकहरू वितरण गरिसकेको छ । जसको मूल्य रु. ५६,००००० भन्दा बढी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार