गीतकार विशु समको परदेशी भूमि विमोचित

  सुरप्रभापोस्ट सम्वाददाता  591 पटक हेरिएको

गीतकार विशु समको गीतसङ्ग्रह ‘परदेशी भूमि’ हालै घान्द्रुक समाज हङकङको आयोजनामा हङकङस्थित हिन्सको कार्यालय याउ मा तेईमा विमोचन गरिएको छ ।

विगत केही दशकदेखि गीतलेखनमा लागेका विशु समको परदेशी भूमि गीतसङ्ग्रहको विमोचन कार्यक्रमलाई आयोजक घान्द्रुक समाज हङकङका अध्यक्ष आशा गुरुङले सभापतित्व गरेकी थिइन् भने साहित्यकार तथा गीतकार टङ्क सङ्बाहाम्फेले प्रमुख अतिथिको आतिथ्य ग्रहण गरेका थिए । विमोचित कृतिको समीक्षा गीतकार तथा गजलकार बज्रकुमार थुलुङले गरेका थिए । थुलुङले गीतकार विशु समले आफ्नो कृतिको समीक्षा गरिदिन भनेपछि आफूले समीक्षाको जिम्मेवारी बहन गरेका कुरा बताए । उनले भने, ‘गीतकार विशु समका गीत नियाल्दा गीत लेखनको सैद्धान्तिक आधारशिलालाई शिरोपर गरेको पाइन्छ । उही गाउँघर, मायामोह, जीवनभोगाइ र मातृ बात्सल्यका अविरल स्मृति वर्णनमै गीतका हरफहरू नाचेका छन् । यसको अर्थ गीतकार गीतको वास्तविक संरचना, विधिविधान र रचनाशैली विज्ञानबारे धेरै जानकार छन्, सचेत छन् ।’

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार टङ्क सङ्बाहाम्फेले हाम्रो जीवन चलाउन गीतको आवश्यक छ, यही आवश्यकतालाई विशु समले पूर्ति गरेको भन्दै यस परदेशी भूमि गीतसङ्ग्रहका गीतहरू सङ्गीतबद्ध भएर स्रोताहरूसामु आउनुपर्ने कुरा व्यक्त गरे । गीतहरू लेख्दा गीतकारले एउटा लयमा रचेको हुन्छ, सङ्गीतकारले अर्कै लय राखिदिन्छन् । कहिलेकाहीँ गीतकारको लय र भावनालाई बुझेर सङ्गीतकारले सङ्गीत गर्दा गीत अति उत्तम हुन्छ भन्दै सङ्बाहाम्फेले गीतकार नै गीतको पहिलो सङ्गीतकार हो पनि भने ।

कार्यक्रमको प्रारम्भमा घान्द्रुक समाज हङकङका सहसचिव उत्तम गुरुङले स्वागत मन्तव्यका साथ दशैँको शुभकामना पनि दिएका थिए । हङकङ साहित्यिक साझा शृङ्खलाका वर्तमान संयोजक रमण गुरुङ, भूतपूर्व सहसंयोजक अरूणा शर्मा र साहित्यकार सुरेश लिम्बूले परदेशी भूमि गीतसङ्ग्रहका गीतहरू बाचन गरेर सुनाएका थिए । उनीहरूले गीतकार विशु समको आगामी गीतलेखनको उत्तरोत्तर प्रगतिको कामना गर्दै दशैँको शुभकामना पनि व्यक्त गरेका थिए । घान्द्रुक सामज हङकङका भूतपूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङले विशु सम नाताले काका भए तापनि एउटै विद्यालयको सहपाठी भएको कुरा प्रष्ट्याउँदै विशु समको आगामी लेखनको कामना गरे ।


विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार विशु समले आफू हङकङमा आएपछि साथीभाइहरूको सङ्गतले गीत लेखनमा लागेको कुरा बताए । जजसले आफूलाई यस क्षेत्रमा लाग्न प्रेरित गरे, उनीहरूप्रति कृतज्ञता पनि व्यक्त गरे । कार्यक्रमको सञ्चालन घान्द्रुक समाजका पूर्वसचिव गीतकार शरद कालु गुरुङले गरेका थिए ।

परदेशी भूमि गीतसङ्ग्रहमा विभिन्न विषय र गीतिछन्दमा रचिएका ८४ वटा गीतहरू सङ्गृहीत छन् । १०४ पृष्ठको यस गीतसङ्ग्रहको भूमिका साहित्यकार भावेश भुमरीले लेखेका छन् । यसको मूल्य रु. ३५० रहेको छ । यस सङ्ग्रहलाई गीतकार विशु समकी धर्मपत्नी निलु मगरले प्रकाशन गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार