साब्लाबुङ पुस्तकालय अभियानद्वारा जिरी सामुदायिक पुस्तकालयलाई पुस्तकहरू प्रदान

  सुरप्रभापोस्ट सम्वाददाता  246 पटक हेरिएको

ललितपुर । साब्लाबुङ पुस्तकालय अभियान काठमाडौँद्वारा हालै दोलखाको जिरीस्थित जिरी सामुदायिक पुस्तकालयलाई पुस्तकहरू प्रदान गरिएको छ ।

सो पुस्तकहरू ग्रहण गर्न जिरी माविका पूर्व प्रधानाध्यापक तथा सोही विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर जिरेल काठमाडौँमा आएका थिए । यस पुस्तकालय अभियानका अध्यक्ष साहित्यकार राजकुमार राईले काठमाडौँमै करिब १ लाख मूल्य बराबारका पठनीय पुस्तकहरू जिरेललाई प्रदान गरेका थिए । जिरेलले पुस्तकहरू जिरी सामुदायिक पुस्तकालयमा पु¥याएर पुस्तकहरू हस्तान्तरणको कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा पुस्तकालय अभियानका अध्यक्ष राई उपस्थित हुन नसके तापनि जिरी नगरपालिकाका पूर्व नगरप्रमुख टङ्कबहादुर जिरेल, सोही नगरपालिका वडा नं. ६ का वर्तमान वडाध्यक्ष मरिचबहादुर खड्का, जिरी माविको व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार कार्की, नगर कार्यपालिकाका सदस्य वीरबहादुर जिरेल, विद्यालयका अभिभावकहरू, शिक्षाप्रेमी व्यक्तित्वहरू, विभिन्न विद्यालयका शिक्षकशिक्षिका र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम जिरी माविका सहायक प्रधानाध्यापक खिम्बक बिकले सञ्चालन गरेका थिए भने स्थानीय शिक्षाप्रेमी वक्ताहरूले पुस्तकालयको महत्वका बारेमा प्रकाश पारेका थिए । उनीहरूले त्यस पुस्तकालयलाई पुस्तकहरू प्रदान गरी विशेष योगदान गरेकामा साहित्यकार, समाजसेवी राजकुमार राईप्रति आभार पनि व्यक्त गरेका थिए !

त्यसै कार्यक्रममा हाल युकेमा बसोबास गर्दै आएका सोही विद्यालयका पूर्व विद्यार्थी केदार सुनुवार र उनको परिवारका सदस्यहरू छत्रबहादुर सुनुवार, रामकुमार सुनुवार र राधा सुनुवारले विद्यालयको शैक्षिक सामग्रीमा खर्च गर्नका लागि सङ्कलन गरेको रु. ९५,७०८÷– को चेक टेकबहादुर जिरेलले जिरी माविका प्रधानाध्यापक कुमार जिरेललाई हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममै टेकबहादुर जिरेलले साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि परिचर्चा गरेका थिए । किवाहाङ केही हप्ताअगाडि विमोचन गरिएको एक चर्चित उपन्यास हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार