असार पन्ध्र र पर्या कवितासाँझ

लेख

  विजय हितान  473 पटक हेरिएको

काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरका बारेमा नाट्यकर्मी, नाटकप्रेमी, कलाकार र साहित्यकारहरू निक्कै जानकार हुनुहुन्छ । यो थिएटर विगत लामो समयदेखि नाटक मञ्चनमा लागिपरेको छ । यसका अलावा यसले कवितालाई पनि साथसाथै लिएर हिँडेको छ । यस थिएटरका प्रमुख हुनुुहुन्छ लेखक, कलाकार, निर्देशक घिमिरे युवराज । उहाँ भन्ने गर्नुहुन्छ, ‘कहिले अग्रज कविलाई, कहिले अनुज पुस्ताका कविलाई मञ्चमा उभ्याएर कविता वाचनको कार्यक्रम शृङ्खलाबद्धरूप मा आयोजना गर्दै आएका छौँ ।’

असार १५ गते आयोजित पर्या कविता वाचनको कार्यक्रम त्यसै शृङ्खलाको निरन्तरता थियो । पर्या कवितालाई कसरी आम पाठकसम्म पु¥याउन सकिन्छ भन्ने हेतुले आयोजना गरिएको यस कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका संरक्षणकर्मी, अभियन्ता, प्राध्यापक, विध्यार्थी, मिस नेपाल, समालोचक, साहित्यकार तथा कविहरू लाई निम्तो गरेर ११ जनाले आफूलाई मन परेका कविका दुई दुईवटा पर्या कविता वाचन गरेर सुनाउनुभयो ।

कार्यक्रमको सुरुवातमै कविता सुनाउन भनी मलाई अगाडि बोलाइयो । मैले कार्यक्रम संयोजकको नाताले उपस्थित साहित्यकार र साहित्यानुरागीहरू लाई स्वागतका साथ सम्बोधन गर्दै भनेँ, ‘प्रेममा पर्दा प्रेमिल कविता र बिछोड हुँदा वियोगका कविता  लेखेजस्तै पर्यावरण बिग्रिँदै जाँदा पर्यावरणका कविता लेख्नुपर्छ ।‘ छोटो मन्तव्यका साथ मैले राजा पुनियानीको ‘महिनावारीमा छ युमा’ र डा. देवेन सापकोटाको ‘प्वाल परेको छाता’ कविता वाचन गरेर सुनाएँ ।

मेरो कवितावाचनलगत्तै कवि, गीतकार, निबन्धकार, प्राध्यापक डा. गीता त्रिपाठी, जसले ‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’ विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले मनप्रसाद सुब्बाको ‘खेतमाथि आक्रमणः केही भिडियो क्लिपिङ’, र लक्ष्मी रुम्बाको ‘जङगलः एक सपना’ कविता वाचन गर्नुभयो । डा. त्रिपाठी उत्कृष्ट गीतकार पुरस्कार, कृष्णभूषण बल स्मृति सम्मान, गोपालप्रसाद रिमाललगायतका पुरस्कारहरू बाट सम्मानित भइसक्नुभएको छ ।

को बन्छ करोडपति, ऐना, हिमालय रोदिज, कृपा अनप्लगजस्ता कार्यक्रमहरू को सफल निर्देशन गरिसक्नुभएका व्यक्तित्व अमनप्रताप अधिकारीले आफ्ना स्वर्गीय पिता क्षेत्रप्रताप अधिकारीका ‘१५ असार’ र ‘नयाँ वर्ष २०३४’ कविता सुनाउनुभयो । लाइभ म्युजिकमा वाचन गरिएका अधिकारीका दुई कविताको प्रस्तुति पोयट आइडलमा भन्दा कम थिएन । नेपाली कविताका लागि हालै पोयट आइडलजस्तो टेलिभिजनको मञ्च निर्माण गरेर नेपाली कवितालाई आम पाठकसम्म पु¥याउन उहाँले गर्नुभएको योगदान सर्वविधितै छ ।

कविता वाचनका लागि डा. ज्योति गिरी मञ्चमा चढ्नुभयो । त्रिचन्द्र क्याम्पसका केमेस्ट्रीका असिस्टेन्ट प्रोफेसर तथा नेपाल पोलिमर इन्स्टिच्युटका सचिव, वुमन साइन्टिस्ट फोरमकी सदस्य तथा थुप्रै रिसर्च पेपर प्रकाशन गरिसक्नुभएकी व्यक्तित्व डा. गिरीले भूपिन खड्काको ‘प्रेमपत्र’ र ‘तेह्रसय ग्राम मस्तिष्क’ कविता वाचन गरेर उपस्थित दर्शकहरू लाई मनोरञ्जन दिलाउनुभयो ।

विगत २५ वर्षदेखि नेचुरल रिसोर्स म्यानेजमेन्ट, वायोडाइभर्सिटी म्यानेजमेन्ट र फोरेष्ट कन्जरभेशनजस्ता प्रोजेक्टमा काम गर्दै आउनुभएका संरक्षणकर्मी, लेखक तथा निबन्धकार डा. रोशन शेरचनले विप्लव ढकालको ‘भ्यागुताको बिहे’ र अञ्जान प्रदीपको ‘स्याण्डग्लासः सृष्टिको काउन्टडाउन’ कविता वाचन गर्नुभयो । डा. शेरचनले युनिभर्सिटी अफ इडिनबर्गबाट मास्टर्स र सेन्ट्रल डिपार्मेन्ट अफ इन्भायरोमेन्ट साइन्स टियुबाट पीएचडी गर्नुभएको छ ।

जलवायु परिवर्तन अध्यता तथा दक्षिण एसियाकै जलाधारविज्ञ अजय दीक्षितले रविन्द्रनाथ टैगोरको अङ्ग्रेजी कविता ‘द गोल्डेन बोट’ र आफ्ना स्वर्गीय पिता डा. मोहनमणि दीक्षितलाई लेखनाथ पौड्यालले वि. सं. २०१९ मा लेखेर दिएको समवेदना पढेर सनाउँदै लेखनाथकै ‘श्री गङ्गाजीको झाँकी’ कविता वाचन गरेर सुनाउनुभयो । दीक्षितले इन्टिच्युशन अफ सोसियल एन्ड एन्भायरोमेन्ट ट्रान्जिसनमा वरिष्ठ सल्लाहकारको रूप मा कार्य गर्दै आउनुभएको छ भने सन् २०२० देखि साउथ एसिया नदी संवाद भन्ने डिजिटल प्लेटफर्मको स्थापना गरी जलाधारका चुनौती विषयमा काम गर्दै आउनुभएको छ ।

दुई दुईवटा पर्या कविता वाचन गर्ने क्रममा लेखक तथा अनुसन्धाता प्रतिभा पुनले अनुसन्धाताको स्वर कर्कश हुन्छ भन्दै तीर्थ श्रेष्ठको ‘बाघ’ र ‘लयमा’ भन्ने कविता अति नै कर्णप्रिय शैलीमा वाचन गरेर सुनाउनुभयो । उहाँले ‘धौलागिरि क्षेत्रमा प्रचलित लोककथामा प्रतिबिम्बित लोकतत्व’मा विद्यावारिधि गर्दै हुनुहुन्छ भने लोक विषयमा नै केन्द्रित रहेर विभिन्न सोधपत्र तथा अनुसन्धान गरिसक्नुभएको छ ।

यसै क्रममा वातावरण कानुन विज्ञ तथा अधिवक्ता पदमबहादुर श्रेष्ठले ‘वातावरण संरक्षणसम्बन्धीका मुद्दालाई सर्वोच्च अदालतमा बहस गर्दा कविताका यिनै लाइनलाई कोड गरेर न्यायाधिशलाई सुनाउन सकूँ ।’ भन्दै उषा शेरचनका ‘मान्छे र प्रकृति’ अनि ‘वातावरण’ कविता वाचन गर्नुभयो । वातावरण कानुन समाजका अध्यक्ष रहेका श्रेष्ठ एन्भायरोमेन्ट कन्जरभेशन अवार्डबाट सम्मानित भइसक्नुभएको छ ।

त्यसपछि कवि, नागरिक अभियन्ता तथा अस्मिता म्यागेजिनका सम्पादक कवि लक्ष्मी रुम्बाले डा. बिन्दू शर्माको ‘दङ्गीशरणको आँगनबाट’ र अविनाश श्रेष्ठको ‘करोडौँ सूर्यहरू को अन्धकार’ कविता वाचन गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पार्न सफल हुनुभयो ।

पर्यावरण सहिद दिलीप महतोकी बहिनी तथा विद्यार्थी सविताकुमारी महतोले प्रज्वल अधिकारीद्वारा लिखित कविता ‘औरही नदी’ र भावेश भुमरीद्वारा रचित गीत ‘प्रकृतिलाई माया गर्दा’ वाचन गर्नुभयो । यी कविता र गीत दुवै मैले लेखेको ‘पर्यावरण सहिद’ कथामा समावेश छन् । यो प्रयोगवादी कथा पर्यावरण संरक्षण अभियन्ता दिलीप महतोको वास्तविक जीवनमा घटेको घटनाउपर लेखिएको छ । यी सिर्जना वाचन गर्दैगर्दा ढल्केवर, जनकपुरस्थित औरही नदीबाट गिट्टीबालुवा उत्खनन गरेर खोलाको दोहन गर्ने क्रसर उद्योगको विरुद्धमा आवाज उठाउँदा हत्या गरिएका आफ्नो दाजू दिलीपलाई सम्झेर निक्कै भावुक बन्दै सविताले आँसु चुहाउनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा मिस नेपाल २०८० श्रीच्छा प्रधानले सरुभक्तको ‘संसारको सबैभन्दा खतरनाक प्राणी’ र चाइनिज कवि जदी माजियाको ‘आमाको हात’ कविता वाचन गर्नुभयो । कविता वाचनपूर्व उहाँले भन्नुभयो, ‘प्रकृतिमा बाहिर जानुहोस् र लामो सास फेर्नुहोस्, चराचुरुङ्गगी, नदीनाला र जनावरलाई सुनेर रमाउन सिक्नुहोस् ।’ जलवायु अभियन्ता मिस नेपालले अमेरिकाबाट वातावरण विज्ञानमा स्नातक गर्नुभएको छ । अमेरिकाका नदीहरूजस्तै काठमाडौँका नदीहरूलाई सफा कसरी बनाउन सकिएला भनेर लागिपर्नुभएकी अभियन्ता मिस नेपाल जलवायु परिवर्तनले पार्ने प्रभावबारे विशेष चासो राख्नुहुन्छ ।

पानी परिरहेको मनुसनको समयमा खेतमा धानरोप्ने अनि दहीचिउरा खाने असार पन्ध्रको संयोग पारेर आयोजना गरिएको यस पर्या कविता वाचन कार्यक्रमलाई युवा कवि प्रज्वल अधिकारीले अत्यन्त कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।

पाँच दर्जनभन्दा बढी दर्शकस्रोताहरूको उपस्थिति रहेको कार्यक्रमबाट पर्या कविता श्रवण गरी मनोरञ्जनका साथै पर्या साहित्यबारे केही जानकारी लिएर जानुभयो होला भन्ने मेरो अपेक्षा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार