महादेव आफ्नै मन्दिर दर्शन गर्न
एक दिन झरेछन् कैलाशबाट काठमाडौँ
र, पसेछन् सिधै पसुपतिनाथ,
पस्नुअघि बाटैभरि देखेछन् गुट्का र खैनीका प्याकेटैप्याकेट
र, भेटेछन् प्लास्टिक झोलामा फूलप्रसाद बोकेका भक्तजनहरू ।
मेनगेटबाट पस्नसाथ भित्र
देखेनछन् नन्दी
र, आश्चार्यमा पर्दै सोचेछन् चर्न कतै गएहोला ।
भक्तजनले फूल अक्षता अर्पण गरेको एकैछिन अवलोकन गरेपछि
बाहिर के निस्केका थिए
एउटा मैला ढ्वाङ प्लास्टिकै प्लास्टिक ओकलिरहेको देखेर
उनको मन खिन्न बनेछ ।
अनि, बाग्मती बगेको हेरुँ भन्दै
ओर्लेछन् नदीकिनार
र, भेटेछन् केही भक्तजनहरू
जो प्लास्टिकका झोलाबाट फूलका थुँगा पानीमा खसाल्दै थिए
र, तिनै प्लास्टिकका झोला नदीलाई अर्पण गर्दै थिए
महादेवलाई लागेछ, आजकल प्लास्टिकका झोला पनि
चढाइँदो रहेछ भगवानलाई ।
बाग्मतीले आफूसितै बगाउँदै थियो ढल
र, बगाउँदै थियो प्लास्टिकका झोला र बोतलहरू पनि
र, त्यहीँ चर्दै थियो
बिचरा ! मेनगेटको नन्दी
र, चपाउँदै थियो प्लास्टिकलाई सम्झेर घाँस ।
त्यसपछि महादेव
फुत्त उक्ले सिँढीहरू
र, जसै तर्न थाले गुह्ेश्वरीतिर जाने पुल
जम्काभेट भयो मेरो उनीसँग
र, मलाई देखेर महादेवले सोधे,
‘प्लास्टिक प्रदूषण विघ्नै रहेछ यो लोकमा,
लौ के वरदान माग्छौ, माग मनुष्य ।’
मैले भनेँ, ‘यो लोकमा फिँजिएका प्लास्टिकलाई
भस्म पारिदिनुस् भगवान्, भस्म पारिदिनुस् ।’
महादेवले भने
‘हे मानव !
भस्मासुरजस्तै आफ्नै अस्तित्वलाई भस्म पार्ने
यो के काम गरेको तिमीहरूले ?
लौ, यो लोकमा तिमीहरूले
फालेको प्लास्टिक फोहोरजति सडेर गलिजा
तथास्तु !’
भनेर महादेव भगवान् अन्तध्र्यान भए ।
मैले मनमनै सोचेँ,
आजकल महादेव भएर भगवान्
मन्दिरतिर डुल्ने होइन
बरु भएर महावीर
अनुसन्धानशाला र प्रयोगशालातिर पसेर
कागजजस्तै चाँडै सड्ने
पातजस्तै चाँडै गलेर जाने
प्लास्टिकको अन्वेषण गर्न जरुरी छ ।
( ५ जुन १०२३, विश्व वातावरण दिवस)
ललितपुर, नेपाल