विजयराज आचार्यका बालकथाहरू

समालोचना

  केशरी अम्गाई  361 पटक हेरिएको

जीवनी सन्दर्भ

वि.सं. २०३३ मा प्युठानको दाङवाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका विजयराज आचार्य २०५३/५४ सालतिर भेट भएका हरेक साहित्यकारहरूलाई आग्रह गर्दथे ‘बालबालिकाहरूका लागि पनि केही लेख्नुहोस् न । तपाईँको रचनालाई हामी नव प्रतिभामा छाप्छौँ ।’

उनी थानेश्वर बञ्जाडे र बासुदेव पराजुलीसँग मिलेर ‘नव प्रतिभा’ बालमासिक प्रकाशन गर्दथे । राधा बुढाथोकीको सम्पादनमा प्रकाशन हुने ‘नव प्रतिभा’को उनी कार्यकारी सम्पादक थिए । ओझेलमा परेका बाल स्रष्टाहरूको खोजी गर्दथे र उनीहरूको अन्तरवार्ता पत्रिकामा छाप्थे ।

बालबालिकाहरूको अन्तरवार्ताले स्थान पाएको ‘नव प्रतिभा’ बालपत्रिकाबाट नै हो । त्यस पत्रिकामा छापिएका चौध जना प्रतिभावान् बालबालिकाहरूको अन्तरवार्ता सङ्ग्रह पुस्तकको रुपमा ‘चम्किला चौध कोपिला’(२०६०) कृतिका रुपमा छापियो । यस कृतिलाई नेपाल बालसाहित्य समाजले ‘सर्वोत्कृष्ट वर्ष पुस्तक’को रुपमा नेबासास पुरस्कारद्धारा पुरस्कृत गरेकाले पनि अन्तरवार्ता साहित्यमा यसको महत्त्व बेग्लै थियो भन्ने देखिन्छ ।

अहिलेको स्थापित साहित्यकार झमक कुमारी घिमिरेलाई पहिलो पटक धनकुटाबाट राजधानीसम्म ल्याई चिनारी गराउने व्यक्ति विजयराज नै हुन् । १९ अङ्कसम्म निस्किएपछि नव प्रतिभा बन्द भयो । तर, बालबालिकाका लागि केही गर्ने विजयको हुटहुटीले भने पूर्णविराम लिएन । पछि विवेक सिर्जनशील प्रकाशनबाट ‘बाल बगैचा’ बाल पत्रिका प्रकाशन गर्न थाले । त्यो पत्रिका ५२ अङ्कसम्म निस्कियोे ।

कक्षा दश पास गरेपछि कामको खोजमा भारत पुगेका उनी अखिल भारत नेपाली एकता समाजको सम्पर्कमा पुगेपछि समाज परिवर्तनका लागि केही गर्नुपर्ने चेतनाका साथ राजीतिमा सक्रिय भए ।

त्यसो त उनमा विद्रोहको चेत पारिवारिक अवस्थाबाट नै आएको बताउँछन् । आफ्ना बाबु आमाका नौ सन्तान मध्येका सातौं सन्तान उनले आफ्ना बाल्यकालमा परिवारभित्र आपूm अलिक उपेक्षित हुनुपरेको बोध भएपछि उनमा विद्यमान परम्परा विरुद्ध विद्रोहको चेतना विकास भएको हो । त्यो विद्रोहको चेतनाले उनलाई राजनीतिमा आकर्षित ग¥यो र कक्षा आठमा नपुग्दै विद्यार्थी राजनीतिमा होमिए । उनी तेह्र वर्षका हुँदा विद्यार्थी राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनिसकेका थिए ।

भारतमा आपूmले सोचेजस्तो नभएपछि उनी नेपाल फर्किए र छिरे राजधानी । काठमाडौँ छिरेपछि पनि उनी वामपन्थी राजनीतिको एउटा समूह निकट रहेर क्रियाशील रहे भने रोजीरोटीका लागि कहिले पत्रिकाको हकर त कहिले कुनै कम्पनीको बजार प्रतिनिधि हुँदै काठमाडौँका सडक र गल्लीहरू नाप्न थाले । दुवै काममा आत्मसन्तुष्टि नमिलेपछि स्वरोजगार गर्ने सोचमा पुगे । अनि सानो लगानी जुटाएर होमिए पुस्तक प्रकाशनमा ।

झण्डै आधा शताब्दी बालसाहित्यमा समर्पित शान्तदास मानन्धरको प्रभाव विजयमा थियो । बालबालिकालाई सम्मान गरिनुपर्छ भन्ने र त्यही अनुसारको सिर्जना र व्यवहारमा क्रियाशील शान्तदास मानन्धरको सत्कर्मबाट प्रेरित विजयमा यस क्षेत्रमा केही फरक कर्म गर्ने हुटहुटी थियो । तर कसरी ? मेसो पाइरहेका थिएनन् । त्यसैले उनले विभिन्न लेखकहरूलाई बालसाहित्य सिर्जनाका लागि आग्रह गरे अनि आफू प्रकाशक बने । नयाँ लेखकका साथसाथै स्थापित लेखकहरू खगेन्द्र सङ्ग्रौला, जनकप्रसाद हुमागाईं, नारायण ढकाल, शारदारमण नेपाल लगायत थुप्रै लेखकहरूको बाल सामग्री उनले छापे ।

बालसाहित्यप्रति नै उनको आकर्षण बढ्नुको एउटा कारण थियो उनले बोकेको चेतना, देखेको सपना र अनुभूत गरेको यथार्थता । राजनीतिमा लाग्नेहरूको ढोंग उनले देखेका थिए । चिन्तन र व्यवहारबिच असमन्जस्यता देखेका थिए । समाज परिवर्तन गर्न चाहनेहरूको चिन्तन र व्यवहारमा एकरुपता हुनुपर्छ भन्ने उनको सोच  थियो । त्यही अनुरुप आफ्नो जीवन र व्यवहार चलाउने प्रयत्नमा थिए उनी । उनलाई लाग्यो भोलिको समाज असल बनाउने हो भने आजका बालबालिकाहरूमा असल विचारको बीजारोपण गर्नुपर्छ । यही विचारबाट निर्देशित भएर उनी राजनीतिबाट विस्तारै टाढिए र समर्पित भए बालसाहित्य प्रकाशनमा ।

२०५८ सालमा आयोजित सिर्जनात्मक कार्यशालामा सहभागीमध्येका एक सर्जकले गफैगफको मेसोमा प्रकाशकहरूलाई सर्जक बनाउन नहुने र सिर्जना गरे पनि प्रोत्साहन गर्न नहुने विचार व्यक्त गरेपछि विजयको सर्जक हृदयमा ‘गर्भ’ जन्मियो, अनि सिर्जना गरे ‘शान्तिको आत्मकथा’ । यो कथा उनको बालसाहित्य सिर्जनाको पहिलो पाइलो थियो ।

निम्न वर्गीय पात्रले आफ्नो जीवनमा भोग्नुपरेको पीडालाई स्मृतिदंशको रूपमा आत्मकथात्मक शैलीमा लेखिएको ‘शान्तिको आत्मकथा’ले राम्रै प्रशंसा पाएपछि केही समय उनलाई लेख्न डर लाग्यो । उनलाई भय थियो कतै पहिलो लेखाइभन्दा कमजोर हुन्छ कि ?

चित्रकथाको रुपमा वि.सं. २०५९मा छापे उनले । २०६६ सालमा ‘शान्तिको आत्मकथा’ सहित ‘बाटुली’, ‘घरबेटी’ र ‘सिंहराज’ चारवटा बाल कथाहरूको सङ्ग्रह ‘बाटुली’ छापियो । हालसम्म उनका १२ वटा बालकथा सङ्ग्रह प्रकाशित छन् । त्यस्तै ‘परिवर्तन’, ‘नयाँ बस्ती’ र ‘हाम्रो आवाज’ बाल उपन्यास प्रकाशित छन् ।

लोककथाको पुनर्लेखन, काल्पनिक उडन्ते कथा वा मनोरञ्जनका लागि लेखिने उपदेशमूलक लेखन प्रकृयाको बाहुल्यता भएको सन्दर्भमा भुइँमान्छेहरूले भोग्नु परेको पीडाका यथार्थताहरूलाई बालकथाको विषय बनाउने विजयराजका कथाहरूले ताली र गाली दुवै पाएका छन् । बहुसङ्ख्यक रुपमा रहेका निम्न वर्गले भोग्नु परेका विविध समस्याहरूको चित्रण गर्दै बालबालिकाहरूलाई त्यसप्रति सचेत र संवेदनशील बनाउनु र समतामूलक समाजको निर्माणमा विचारको भ्रूण रोप्न खोज्नु उनका कथाहरूको ध्येय देखिन्छ ।

हरेक खालका सामाजिक विभेद विरुद्ध बालबालिकाहरूलाई सचेत बनाउन सक्ने हो भने भोलिको समाज विभेद रहित बनाउन सकिने धारणा उनको रहेको छ । त्यसैले उनका बालकथाहरूमा सामाजिक–आर्थिक विभेदले जन्माएका समस्याहरू, धार्मिक अन्धविश्वास र कुसंस्कारले पारेका प्रभावहरू चित्रण गर्दै बालबालिकाहरूलाई सचेत, साहसी र सङ्घर्षशील बन्न अभिप्रेरित गरिएको हुन्छ । अवसरबाट वञ्चित निम्न वर्गीय बालबालिकाहरूले भोग्नु परेको अभाव र पीडा, अनि गर्नु परेको सङ्घर्षको चित्रणले बालबालिकाहरूलाई जीवनमा सङ्घर्ष गर्नुपर्ने, मेहनत गर्नुपर्ने सन्देश दिन्छ ।

नेपाली बालसाहित्यको क्षेत्रमा फरक स्वादका कथाहरू प्रस्तुत गर्ने विजयराज आचार्य पढ्नु र पढाउनु पर्ने बाल साहित्यकार हुन् । उनका धेरै बालकथाहरू आफ्नै भोगाइको पृष्ठभूमिमा लेखिएका छन् । त्यसैले पनि उनका बालकथाहरू सामाजिक यथार्थमा आधारित छन् । यहाँ उनका कथाहरूको समीक्षात्मक चर्चा गरिने छ ।

 विजयराज आचार्य

बालकथा सन्दर्भः

‘शान्तिको आत्मकथा’बाट कथा सिर्जनायात्रा थालेका विजयराज आचार्यका १२ वटा बालकथा कृतिहरूमा ६७ वटा बालकथाहरू प्रकाशित भएका छन् । बाटुली(२०६६), आमाको माया(२०७०), छोरीको माया(२०७०), बुबाको माया(२०७०), हजुरआमाको माया(२०७०), पाप पखाल्ने गङ्गा(२०७२), स्मार्ट घर(२०७४), आकाश ओढ्ने जिन्दगी(२०७५), रङ्गीन विष(२०७५), कुटी(२०७७) र स्वयम्भूका आँखाहरू(२०७८) उनले लेखेका कृतिहरू हुन् । केही कथाहरू फरक फरक कृतिमा दोहोरिएका छन् । जेनिसको जन्मदिन(२०७८) अन्य सङ्ग्रहमा प्रकाशित कथाहरूको प्रतिनिधिमूलक सङ्कलन हो ।

 

१. बाटुली (२०६६)

‘बाटुली’ विगत दुई दशकदेखि बालसाहित्य लेखन र प्रकाशनमा समर्पित विजयराज आचार्यको पहिलो कथासङ्ग्रह हो । साझा प्रकाशनले २०६६ मा प्रकाशन गरेको २८ पृष्ठको यस कृतिमा चारवटा कथाहरू रहेका छन् ।

बाटुली र चुमीलाई मूल पात्र बनाएर लेखिएको ‘बाटुली’ कथामा छोरीलाई पढाउनु हुँदैन भन्ने पहिलाको मान्यतालाई विषयवस्तु बनाइएको छ । छोरालाई जति भने पनि पढाउने तर छोरीलाई पढ्ने अवसर नदिने रुढिवादी परम्पराले अशिक्षित बनेकी बाटुली र चुमी जस्ता पात्रहरूलाई प्रौढशिक्षा मार्फत पढाउन सकिने भाव कथामा रहेको छ । पदम सरले प्रौढशिक्षा पढाउने योजना कथाको अन्तमा आएको छ । यो कथा सामाजिक घटना र विषयसँग सम्बन्धित रहेर पनि समसामयिकभन्दा पुरातनवादी देखिन्छ । नेपाली समाजमा छोरीलाई पढाउन आवश्यक छैन भन्ने विद्यमान पुरातनवादी सोचलाई यस कथाले उजागर गरेको छ ।

‘घरबेटी’ कथा लेखकले आफ्नो भोगाइमा आधारित भएर लेखेका हुन् । यस कथामा भाडामा बस्नेहरूप्रति घरबेटीले गर्ने नकरात्मक व्यवहार र असहयोगलाई देखाइएको छ । घरबेटीको विभेदपूर्ण व्यवहारबाट आजित भएका बालपत्र र तिनको बाबुमार्फत अचानक धनी भएका कतिपय नवधनाढ्य घरबेटीहरूले भाडामा बस्नेलाई मान्छे नै नगने पनि सबै त्यस्ता हुँदैनन् भनेर सकरात्मक सन्देश दिन यत्न गरिएको छ । पञ्चायती शासनको निरङ्कुश समयमा कतिपय नेताहरूलाई आश्रय दिएर घरबेटीहरूले बचाएको प्रसङ्ग कथामा प्रस्तुत गरिएको छ । घरबेटीको भेदभावपूर्ण व्यवहारले बाल पात्रमा परेको मनोवैज्ञानिक असरलाई पनि यस कथामा औँल्याइएको छ ।

‘शान्तिको आत्मकथा’ कथामा प्रथम पुरुष शैलीमा गाउँमा शिक्षिका भएर आएकी कथा नायिका ‘शान्ति’को सङ्घर्षको कथालाई उद्घाटित गरिएको छ । अर्काको घरमा कमारी बसेकी शान्ति मास्टर काकाको सहयोगमा पढन सिक्छे । पछि गाउँ जान्छे र सरकारी स्कुलमा पढेर एस.एल.सी पास गर्छे, अनि मास्टर्नी बन्छे । कथामा शान्तिले आफ्नो कथा बताएकी छे । पूर्वस्मृतिमा मास्टर काका र आपूm सँगै मालिक्नीको घरमा काम गर्ने वसन्तीलाई सम्झन्छे । त्यही समयमा वसन्तीको पत्र आउँछ । पत्रमा मालिक्नीको घरमा काम गर्दा आफूले अपमान गरेकोमा क्षमा माग्दै आफूले पनि मास्टर काकाबाट पढ़न सिकेको कुरा बताएकी हुन्छे  । यसले बालबालिकाहरूलाई जीवनमा मिहिनेत गर्नु पर्ने, सङ्घर्ष गर्नुपर्ने सन्देश दिन्छ । जीवनप्रति सकारात्मक सोच प्रस्तुत गर्ने सुन्दर कथा हो यो ।

‘सिंहराज’ यस सङ्ग्रहमा रहेको गैर सामाजिक विषयमा लेखिएको कथा हो । यसमा सामाजिक विषय नभएर कल्पनाको उडान रहेको छ । पञ्चतन्त्रको कथा जस्तो लाग्ने यो कथामा प्रतिकात्मक रुपमा निरङ्कुश राजाले जनतामाथि गर्ने शोषण र अन्यायलाई इङ्गित गर्न खोजिएको छ । तर बालपाठकका लागि त्यस विम्बलाई बुझ्न सहज छैन । त्यसैले यो कथाले पाठकलाई क्षणिक आनन्दभन्दा बढी प्रभाव पार्ने देखिँदैन । त्यसैले यस्तो लाग्छ यो कथा उद्देश्यमूलकभन्दा पनि मनोरञ्जनका लागि लेखिएको हो । तर, अन्यायको विरोध गर्नु पर्ने र न्यायको लडाइँमा अन्याय र अत्याचार अन्ततः पराजित हुन्छ भन्ने सन्देश प्रस्तुत गर्नु कथाको सुन्दर पक्ष हो ।

समग्रमा यस कथासङ्ग्रहमा रहेका चारवटा कथाहरूले बालबालिकाहरूलाई श्रमलाई सम्मान गर्न, जीवनमा सङ्घर्ष गर्न, अन्यायको विरोध गर्न अभिप्रेरित गर्दछन् भने समाजमा असल र खराब दुवै खालका मान्छेहरू रहेकाले मान्छेलाई चिन्नुपर्ने र त्यही अनुसार व्यवहार गर्न जान्नुपर्ने सन्देश दिन्छ । कृतिमा युवक श्रेष्ठले कोरेका १७ वटा सुन्दर कथाहरू समावेश गरिएको छ ।

 

२. आमाको माया (२०७०)

एकता बुक्स डिस्ट्रिव्युटर्स प्रा.लि.ले २०७० सालमा प्रकाशन गरेको यो कृतिमा छवटा कथाहरू रहेका छन् । गुणस्तरीय कागज र किशोर जोशीको सुन्दर रङ्गीन चित्रले सजिएको यो कृति बालबालिकाहरूका लागि निकै पठनीय रहेको छ ।

‘फुर्से र झक्कले’ बाल मनोविज्ञानमा आधारित कथा हो । एउटा बालकले बाख्राको पाठोलाई गर्ने प्रेमलाई कथाले टपक्क टिपेको छ । फुर्से गरिब परिवारको बालपात्र हो । उसलाई विद्यालय जान रोकेर घरको काममा लगाउनु, मेला पर्व पठाउनु वा गोठालो पठाउनु बाबु आमाको बाध्यता रहेको छ । उसलाई पनि विद्यालय जानुभन्दा गोठालो गएर बाख्रोपाठो झक्कलेसँग रमाउन रमाइलो लाग्छ । मेलापात र गोठालो जानुपर्ने भएपछि उसको विद्यालय छुट्छ । ऊ झक्कलेलाई निकै माया गर्छ । कसैले झक्कलेलाई गाली गरे उसको आँखामा बरबर्ती आँशु आउँछ । झक्कले बोल्न सक्दैन तर पनि फुर्सेलाई मुक माया प्रदर्शन गर्दछ । ठूली भाउजूको साथ लागेर गोठालो गएको दिन झक्कलेलाई चितुवाले खाइदिन्छ । ऊ निकै रुन्छ तर उसको पीडा कसैले बुझिदिँदैनन् । कथामा ग्रामीण परिवेश  र ग्रामीण बोलीचालीको भाषा प्रयोग गरिएको छ । आज पनि दुर्गम ग्रामीण क्षेत्रमा अभिभावकहरू छोराछोरीको पढाइ छुटाएर घरको काममा लगाउन बाध्य छन् । यही परिवेशलाई कथाले टपक्क टिपेको छ । बालबालिकाहरू मान्छेलाई भन्दा अन्य प्राणीका बच्चाहरूलाई बढी माया गर्दछन् र उनीहरूसँग मौन संवाद गर्दछन् । बालबालिकाहरूको प्राणीप्रतिको यही अबोध प्रेम र त्यससँग जोडिएको बाल मनोदशाको सटिक चित्रण यो कथाको सुन्दर पक्ष हो ।

‘आमाको माया’ कथा घरको काममा सहयोग गर्ने फुर्सेको बाल मानसिकतामा आधारित कथा हो । जङ्गलको नजिक रहेको ग्रामीण क्षेत्रमा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीहरुले दुःख दिने गरेको यथार्थलाई बाबु छोराको संवादमार्फत देखाइएको छ । खेतमा चरा धपाउन जाँदा अन्य जन्तुको डर हुने कुरा बालसुलभ बोलीमा बाबुलाई सुनाएपछि बाबु चरा हेर्न जान्छन् र फुर्से गोठालो जान्छ । गाई गोठालो जाँदा ढुकुरको बच्चा भेटिएपछि कम्मरमा बाँधेको जाबीमा राखेर घर लिएर आउँछ । सुरुमा पोलेर खाने विचार मनमा आए पनि पछि पाल्ने विचार गर्छ र आमालाई त्यो कुरा बताउँछ । आमाले अँध्यारो मुख लगाउँदै त्यस्ता बचेराहरू चलाउँदा तिनका आमा निकै दुःखी हुने कुरा बताएपछि ऊ आमालाई साथ लिएर बचेरालाई फेरि गुडमा नै राखिदिन्छ । ढुकुरले निकै माया गरेर चारो खुवाएको देखेपछि ऊ फुरुङ पर्छ । ग्रामीण परिवेशलाई चित्रित गरिएकोे यस कथाले आमाको संवेदनालाई कथामा प्रवेश गराउँदै मानवेत्तर पात्रको माध्यमबाट सन्तानप्रति बा आमाको कति धेरै माया हुन्छ भन्ने देखाएको छ ।

‘सारस र मानिस’ पर्यावरणीय चिन्तनलाई प्रस्तुत गर्ने कथा हो । प्रथमपुरुष शैलीमा लेखिएको यस कथामा भाले वा पोथी कुनै एकको मृत्यु भएपछि बाँचेको जोडीले केही नखाई मृत्युवरण गर्ने सारसको प्राकृतिक गुणलाई रोचक ढङ्गले वर्णित छ । सारसको त्यो कथासँगै आएको ‘म’ पात्रको आमाका दुःखद कथा– जसको पतिलाई अन्यायको विरोधमा लाग्दा गोली हानेर मारिएको थियो, कथाको मार्मिक पक्ष हो ।

बाबुको बारेमा आजसम्म अनभिज्ञ ‘म’ पत्र आमाको रुवाइसँगै द्रवीभूत हुन्छ । ऊ आमासँग प्रश्न गर्छ, ‘के तपाईहरूको जोडी पनि सारसको जोडी जस्तै थियो ?’ (पृ. २३) । आमा भन्छे, ‘हो बाबु, हाम्रो जोडी पनि सारसको जस्तै थियो । फरक यति हो, पोथी सारसले बचेरालाई चटक्कै छोडेर जान प्राण त्याग गर्दछे तर म तिम्रो मुख हेरेर बाँचिरहेको छु ।’ यस कथाले मान्छेहरू मात्र होइन अन्य प्राणीहरू पनि प्रेममा समर्पित हुन्छ भन्ने देखाइएको छ । त्यस्तै सहिद परिवारले भोग्नु परेको मानसिक पीडाको विषय यस कथाको मर्मस्पर्शी पक्ष हो । देशको लागि सहिद बनेको परिवारको कारुणिक चित्रण कथामा यसरी आएको छ– ‘मध्यरात थियो । कोठाभित्र आमा छोरा रोइरहेका थियौँ भने बाहिर आँगनमा सारस रोइरहेको थियो । सारस किन रोइरहेछ भन्ने त मैले थाहा पाएँ तर आमा किन रुनुभयो भन्ने कुरा मलाई थाहा थिएन ।’

‘कविताको शीर्षक’ कथामा बालबालिकाहरूले आमाको विषयमा मात्र कविता लेख्नुको कारण के होला ? के सन्तानप्रति बाबुको माया वा उत्तरदायित्व नभएर होला त ? भन्ने विषयलाई उठान गरिएको छ । बालपात्र ‘प्रवृत्ति’ र ‘प्रशन्न’को संंवादमार्फत् आमाले जस्तै बाबाले पनि माया गर्ने र बाबाको मायाको बारेमा पनि कविता लेख्नु पर्ने भाव कथामा आएको छ ।

‘स्कुल नगएको दिन’ विनाकारण चोरीको आरोप खेप्नु पर्दाको बाल मानोविज्ञानलाई चित्रण गर्ने प्रथम पुरुष शैलीमा लेखिएको कथा हो । अकस्मात् विद्यालय बिदा भएपछि आमाको काम सघाएकी ‘म’ पात्र साँचो नलगाइएको छिमेकी काकीको घरमा जिज्ञासावश भित्र पस्दा चोरीको आरोप लाग्छ । आमा रुनुहुन्छ र उसलाई निकै गाली गर्नुहुन्छ । बाबाले काकीसँग गएर माफी माग्न अह्राउनुहुन्छ तर ऊ जान डराउँछे । अन्त्यमा आपूmले गलत आरोप लगाएको महसुस भएपछि काकी आफँै पछुताउनुहुन्छ । राम्रोसँग नबुझी बालबालिकाहरूलाई दोष लगाउन नहुने गहन सन्देश कथाले दिन्छ ।

‘पाहुना चरा’ टौदहको परिवेशमा आधारित पर्यावरणीय कथा हो । दहको घुमघामको प्रसङ्गलाई रोचक ढङ्गले प्रस्तुत गर्दै कथाकारले डा. बरालको माध्यमबाट टौदहमा आउने विभिन्न आगन्तुक चराहरूको बारेमा जानकारी दिएका छन् । ‘विदिशा’ र ‘विवेक’को ख्यालठट्टाले कथामा रोचकता थपेको छ । साइबेरियाबाट टौदहमा कसरी चराहरू आइपुग्छन्, पोखरीको माछालाई किन बचाउन जरुरी छ र कसरी बचाउन सकिन्छ भन्ने कुरालाई कथामा प्रतिविम्बित गरिएको छ ।

 

३. छोरीको माया (२०७०)

विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको ४८ पृष्ठको कथासङ्ग्रहको शीर्ष कथाको रुपमा रहेको ‘छोरीको माया’ कथामा हुलियाको आधारमा मान्छेको मूल्याङ्कन गर्दै अपमान गर्ने प्रवृतिलाई उद्घाटित गरिएको छ । थोत्रा सामानहरू उठाउँदै हिड्ने गरेको लछुमन आफ्नी सानी छोरी मिनासँग टाढा रहेको हुँदा गाउँको साना नानीहरूमा प्रतिच्छाया देख्छ र नजिकिँदै स्नेहभाव देखाउने गर्छ । तर एक दिन उसलाई बालक चोर्न खोजेको आरोपमा पक्राउ गराइन्छ र यूकेजीमा पढ़ने सानी नानीको बाबाले लछुमनलाई चौकीबाट छुटाउँछ । लछुमनले छोरीको जन्मदिन परेकाले आफ्नी छोरी सुमिना जस्तै देखिने मिनालाई चकलेट दिन बोलाउँदा बच्चा चोरको आरोप लगाइएको बताउँछ । त्यसपछि उनीहरूले विभिन्न सामानहरू दिएर छोरीको जन्मदिन मनाउन लछुमनलाई घर पठाउँछन् । विदेशी कथाको प्रभाव देखिए पनि यो कथाको परिवेश भने नेपाली समाजको रहेको छ । छ वटा आकर्षक चित्र रहेको यो कथा आकारका दृष्टिले अलिक लामो रहेको छ । श्रम गर्ने प्रति सम्मान प्रकट गनुपर्ने, काम ठूलो र सानो नहुने भाव प्रस्तुत गर्नु यस कथाको सकारात्मक पक्ष हो । घरपरिवारबाट टाढा रहेको एउटा बाबुको हृदयमा आफ्नो सन्तानप्रतिको मायालाई यस कथामा मार्मिक ढङ्गले प्रकटन गरिएको छ ।

कथाको भाव अनुसार ४ वटा चित्रहरूले सजाइएको कथा ‘जोगीमुक्त गाउँ’ चरित्र र विषयवस्तुको आधारमा हेर्दा किशोर कथा भन्न मिल्ने खालको छ । एकाबिहानै घरको दैलोमा भिक्षा माग्न आइपुगेको जटाधारी जोगीको कारण छोरी वन्दना डराउँछे । वन्दनाको बुबा रमेशले जोगीलाई हप्काउँछन् र मागेर खानुभन्दा काम गरेर खान सुझाव दिन्छन् । वादविवाद बढेपछि जोगी श्राप दिने कुरा गरेर हिँड्छ । केहीबेरमा पल्लाघरे जीवन आत्तिँदै आउँछ र जोगीको कारण गाउँमा बित्यास पर्न लागेको कुरा बताउँछ । रमेशले जीवनलाई नास्तिका कारणले होइन आस्तिक भनेका पुरेत बाजेका छोरा जयपतिका कारण गाउँमा समस्या परेको कुरा खोतल्छन् । धर्मको नाममा मानिसलाई ठगिएको कुरा भन्छन् । केही दिनपछि गाउँबाट केटीहरू हराउँछन् । उनीहरू भारतीय सिमानामा जोगीको साथमा पक्राउ पर्दछन् । त्यसपछि गाउँलाई जोगीमुक्त गाउँ घोषणा हुन्छ । यस कथामा धार्मिक आडम्बरको नाममा सर्वसाधरणमाथि हुने ठगी र अन्धविश्वासको खरो विरोध गरिएको छ ।

समाजमा थुप्रै विकृति, विसङ्गतिहरू छन् तर बालकथाको भाषिक र विषयगत सीमाको कारण सबै जस्ताको तस्तै देखाउन वा शब्दमा व्यक्त गर्न उपयुक्त हुँदैन । यसमा लेखकले सावधानी अपनाएको देखिँदैन । पण्डितले साहुको छोरीलाई पेट बोकाएको प्रसङ्ग यथार्थ हुँदा हुँदै पनि बालकथाका पाठकहरूको उमेरजन्य ज्ञानको कारण यस्ता कुराहरू कथामा चित्रण गर्न उपयुक्त नहुन सक्छ । त्यसैले श्रमप्रति सम्मान र रुढिवादी संस्कारको परिवर्तनको अपेक्षा राख्दा राख्दै पनि यो कथा किञ्चित कमजोर बनेको छ ।

‘सजाय घर’ बाल मनोविज्ञानलाई प्रस्तुत गर्ने सुन्दर कथा हो । परीक्षामा राम्रो अङ्क ल्याउन नसकेपछि अभिभावकले होस्टेलमा राखिदिएको बाल पात्र पुष्पकमलको माध्यमबाट सजायको डरले त्रासपूर्ण वातावरणमा पढिरहेका बालबालिकाहरूको मानसिकतालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ कथामा । पढाइ सुधार्ने नाममा इच्छा विपरीत होस्टेलमा राखिदिएपछि पुष्पकमलको मनमा उठेका भावनाका संवेगहरूलाई कथामा उजागर गरिएको छ । होस्टेलको कडा अनुशासन, मायालु वातावरणको अभाव, सजाययुक्त पढाइ आदिको कारण उसलाई होस्टेल जेलझैँ लाग्छ र जेलसँग तुलना गर्छ । बाबुआमा भेट्न आउँदा शौचालयमा लुक्छ, आमाले फोन गर्दा पनि बोल्दैन । उसलाई लाग्छ– बा आमाले आफूलाई माया गर्नुहुन्न । त्यसैले आफूलाई किन जन्माउनुभयो होला भन्ने प्रश्न जन्मन्छ उसको मनमा । छडी लिएर कक्षामा प्रवेश गर्ने शिक्षकहरूको कारण उसको ध्यान पढाइमा भन्दा छडीमा जान्छ । अनुशासन उलङ्घन गरे पाइने सजायको फेहरिस्तले ऊ सधैँ त्रासमा रहन्छ ।

विद्यालयको भिडभाडमा पनि आफूलाई सधैँ एक्लो महसुस गर्ने पुष्पकमल सङ्गीत शिक्षक रमेशको सजाय रहित पढाइ र उत्प्रेरणाको कारण नृत्य प्रतियोगितामा प्रथम हुन्छ । तर, रमेश सरको कारण विद्यार्थीहरू अटेरी र अनुशासनहीन भएको आरोपमा सर विद्यालयबाट निकालिनु हुन्छ । उहाँ नभएपछि होस्टलमा आफूलाई बुझ्ने, आफ्नो कुरा सुन्ने कोही नभएकाले आफ्नो भविष्य नै अन्धकार लाग्छ पुष्पकमललाई । भाव अनुकूल तीनवटा चित्र रहेको यो कथा बालमनोविज्ञानलाई चित्रण गर्ने, बालबालिकाहरूको भावनालाई सम्मान गर्न आग्रह गर्ने सुन्दर कथा हो ।

‘स्कुलमा एक दिन’ कथा हामीले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारहरू कति अवैज्ञानिक छन् भन्ने कुरालाई प्रतिविम्बित गर्ने सुन्दर कथा हो । न्वारन नगरेकै कारण अमितले विद्यालयमा भोग्नु परेको अपमान र मासिक पीडालाई घटनाको बीज बनाएर नामकरण नाममा गरिने कर्मकाण्डीय संस्कार ठगी खाने भाँडो मात्र हो भन्ने कुरालाई देखाइएको छ । कर्मकाण्ड पु¥याएर न्वारन गर्दैमा कसैको जीवन राम्रो हुँदैन भन्ने कुरालाई बाबुको माध्यमबाट अभिव्यक्त गराइएको छ ।

देखासिकीको रूपमा जन्मदिनलाई आडम्बरी र खर्चालु बनाउन नहुने कुरालाई चित्रण गरिएको छ ‘जेनिसको जन्मदिन’ कथामा । अरु साथीले जस्तै तडकभडकका साथ केक काटेर, बत्ती निभाएर आफ्नो जन्मदिन बनाउन चाहने जेनिसलाई उसको बुबाले जन्मदिनलाई फरक ढङ्गले स्मरणीय बनाउन सकिने कुरा बुझाउनुहुन्छ । त्यसपछि एक दर्जन फलफूलको बिरुवा रोपेर जेनिसको जन्म दिन मनाइन्छ । यसरी यस कथाले आडम्बरी र ढोगी आयातित संस्कृतिको सट्टा सन्देशमूलक र संस्कारित संस्कृतिलाई अवलम्बन गर्न आग्रह गरेको छ ।

यस सङ्ग्रहका हरेक कथामा कथाका भाव अनुसार कीर्तिकिशोर जोशीद्वारा बनाइएका आकर्षक चित्रहरू सजिका छन् । ‘छोरीको माया’ कथामा छालाको रङ र क्षेत्रीयताको आधारमा भेदभाव गर्ने नेपाली समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ भने ‘जोगीयुक्त गाउँ’ मा जोगी, सन्तको भेषमा समाजमा हुने गरेको ठगी, चोरी र अपराधवृत्तिलाई देखाइएको छ । ‘सजाय घर’ मा बालमनोविज्ञान नबुझी अभिभावकले बालबालिकामाथि लाद्ने निर्णयको दुष्परिणामलाई चित्रण गरिएको छ । ‘स्कुलमा एक दिन’ कथाले हाम्रा कर्मकाण्डी संस्कारहरू ढोगी र अवैज्ञानिक रहेको भन्छ भने ‘जेनिसको जन्म दिन’ पश्चिमी संस्कृतिको अन्धानुकरणले आडम्बरी बन्दै गएको संस्कृतिको विरोध गर्छ र नयाँ संस्कृति निर्माणको बाटो देखाउँछ ।

 

४. बुबाको माया(२०७०)

२०६९ को पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त ‘बुबाको माया’ कथासङ्ग्रह २०७० सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । यस कृतिमा ५ वटा कथाहरू सङ्गृहीत छन् । प्रथम पुरुष शैलीमा लेखिएको ‘कृष्ण काकाको घरमा’ कथामा पाठकलाई वातावरणप्रति सचेत गराउन खोजिएको छ । कृष्णकाकाको घरमा पुगेका दाजु बहिनी बिचको संवादमार्फत् सूर्य–चुलोमा खाना पकाउन सकिने कुरा, फालिएका बोतल र माटोबाट कम लागतमा साना घर बनाउन सकिने कुरा देखाइएको छ । लीला काकीको माध्यमबाट रूखमा फल्ने फलफूलहरू बिहान टिप्दा पोसिलो हुने र जमिनमुनि फल्ने दिउँसो १२ बजेपछि टिप्दा बढी पौष्टिक हुने जानकारी दिइएको छ । उमेर समूहका हिसाबले ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने यो कथा वतावरण सम्बद्ध कथा हो । कथामा चारवटा आकर्षक चित्रहरू समावेश गरेर बाल पाठकका लागि रुचिकर बनाइएको छ ।

‘तिनीहरू कहाँ गए होलान् ?’ ग्रामीण क्षेत्रमा विद्यमान अन्धविश्वासलाई विषय बनाइएको कथा हो । बाल पात्र फुर्सेको माध्यारूमबाट ग्रामीण गरिबी र बच्चाले बोक्नुपर्ने पारिवारिक जिम्मेवारी देखाइएको छ । त्यस्तै विरामी अवस्थामा डाक्टरलाई देखाउनुको सट्टा धामी झाँक्रीको भरपर्दा मानवीय क्षति भएको देखाइएको छ । लागोभागो, झाँक्री र मसानमा विश्वास गर्ने गाउँमा एउटा गोरा आएर त्यसप्रति अविश्वास व्यक्त गर्दै विभिन्न क्रियाकलाप गर्दा पनि उसलाई लागोभागो, मसान र बोक्सीले केही नगरेको देखेपछि फुर्सेको मनमा जिज्ञासा जाग्छ– ‘उसलाई किन केही भएन ?’ ऊ डाक्टर बनेर गाउँ फर्केपछि उसका दौतरीहरूले लागोभागो, मसान र बोक्सी गोरा आएर फर्किएपछि सबै भागेको कुरा बताउँछन् ।

विषय वस्तुका हिसाबले ‘तिनीहरू कहाँ गए होलान् ?’ बाल उपन्यास नै बन्न सक्थ्यो । लेखकले लामो समयावधिलाई छोटो कथामा देखाउन खोज्दा कथाभित्र धेरै कुराहरू हराएका छन् । अन्धविश्वास र त्यससँग जोडिएका धेरै घटनाक्रमहरू कथामा अटेसमटेस भएर आउँछन् । पाठकको मनमा प्रश्न जन्मन्छ– गाउँमा कुइरेलाई नै किन ल्याइएको होला ? यो कथा थियटरमा नाटकको रुपमा पनि देखाइएको थियो । र नाटक निकै दिन चलेको पनि थियो । उमेर समूहका हिसाबले यो कथा नौदेखि बाह्र वर्ष बिचका बालबालिकाहरूलाई उपयुक्त देखिन्छ । ग्रामीण क्षेत्रमा विद्यमान अन्धविश्वासका कारण मान्छेहरूले अझै दुःख पाइरहेको यथार्थलाई कथाले घतलाग्दो ढङ्गले चित्रण गरेको छ । कथाको भावलाई प्रतिविम्बित गर्ने ४ वटा चित्रहरू यस कथामा रहेका छन् ।

‘दशैंको टीका’ कथामा मान्यजन हो भन्दैमा आफ्नो कुभलो चिताउनेको हातबाट टीका लगाएर आर्शीवाद माग्नु निरर्थक रहेको कुरालाई लुम्बेनीको बाबु छोराको संवाद मार्फत देखाइएको छ । टीकाको दिन मान्यजनको हातबाट टीका लगाउन फुरुङ परेको लुम्बेनीलाई बाबुले सधँै दुःख दिन चाहने ठूला भन्नेहरूको हातबाट टीका लगाउँदा ठीक आशीर्वाद नपाइने कुरा बताएर संस्कृतिका रुपमा रहेको कुसंस्कारको विरोध गरिएको छ । सन्तानका लागि बाबुले गरेको मिहिनेतलाई नै सबैभन्दा ठूलो आशिर्वाद भएको कुरा देखाएर निधारमा टीका लगाएर भन्दा श्रममा पसिन बगाएर आशीर्वाद दिनु राम्रो हो भनिएको छ । तीनवटा चित्रहरू समावेश गरिएको यो कथाले ढोँगी समाज र श्रमलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्दछ । कथामा बाबुको निराशापन भने त्यति स्वाभाविक लाग्दैन ।

कथासङ्ग्रहको शीर्ष कथाको रुपमा रहेको ‘बुबाको माया’ कथामा घरमुलीले नखाए अरुले पनि खान नहुने सामन्तवादी तथा पितृसत्तावादी सोचलाई देखाउँदै एउटा बाबुले आफ्नो कारणले छोराछोरीको रहरलाई मार्न नचाहेकोे भावनात्मक संवेगलाई देखाइएको छ कथामा । शनिबारको दिन घरमा मासु नपाकेको प्रसङ्गबाट उठान भएको कथाको विषय युरिक एसिडबाट थलिएका बाबु सकिनसकी मासु पसल जान लागेका र आफू परिवारमाथि अन्याय गर्ने घरमुली बन्न नचाहेको प्रसङ्ग छ । सामान्य भाषा र विषयको माध्यमबाट बालबालिकामा पितृसत्तावादी सोच खराब हो भने बुझाउनु कथाको उद्देश्य देखिन्छ । यस कथालाई तीनवटा आकर्षक चित्रहरूले सजाइएको छ ।

‘नबोल्ने नानीहरू’ घरेलु बाल श्रमिक बन्न बाध्य साना नानीहरूको कथालाई प्रस्तुत गर्ने कथा हो । सित्लाङपुर घुम्न जाँदा होमेस्टेमा भेटिएका साना नानीहरूको दयनीय अवस्था, बालश्रम शोषण, राणाकालीन समयमा गाडी बोकेर काठमाडौँ पु¥याउने गरेका तिनका बाजे आज गरिबीको चरम अवस्थामा भोग्नु परेको यथार्थलाई कथामा उल्लेख गरिएको छ । चारवटा कथानुकूल सुन्दर चित्र रहेको यो कथामा छुट्टीमा रमाइलो गर्न सित्लाङ्पुर पुगेका दाजुबहिनी एउटा समुदायको जातीय पहिचान नै हराएको गह्रुङ्गो पीडा बोकेर फर्किएको देखाइएको छ । यस कथामा कथाकारले भीमफेदीबाट काठमाडौँमा गाडी बोकेर ल्याउन सहयोग गर्ने तामाङ जातिको विषयलाई उठाएको महसुस हुन्छ । कथाको लक्षित उमेर समूह १० देखि १४ वर्ष रहेको छ ।

पाँचवटा कथाभित्र कथाको भाव अनुकूल सत्रवटा सुन्दर चित्रहरू समावेश गरिएको यस कृतिको कागतको गुणस्तर, भाषा र साजसज्जामा खोट लगाउने ठाउँ छैन । विचारका दृष्टिकोणले हेर्दा वातावरण सचेतना, अन्धविश्वास, सामाजिक आडम्बर, सामन्ती शोषण, पारिवारिक दायित्व आदिलाई विषय बनाइएको छ । नौ वर्षदेखि चौध वर्ष उमेर समूहलाई ध्यानमा राखेर कथा लेखिएको छ । केही ठाउँमा उद्धरण चिह्नहरू छुटेका छन् । ३६ पृष्ठको आयतनमा फैलिएका यी कथाहरूले कतिपय सन्दर्भमा बालपाठकहरूलाई सोच्न बाध्य पार्दछन्, पारिवारिक दायित्व बहन गर्न र अन्धविश्वासबाट मुक्त बन्न आग्रह गर्दछन् ।

 

५. हजुरआमाको माया (२०७०)

विवेक सिर्जनशील प्रकाशनले २०७० म प्रकाशन गरेको ४८ पृष्ठको यस कृतिम ५ वटा कथाहरू समावेश गरिएको छ । हरेक कथामा कथाको भावअनुसार ३ देखि ६ वटा चित्रहरू समावेश गरिएका छन् ।

कृतिको शीर्षकको रूपमा छनोट गरिएको ‘हजुरआमाको माया’ कथामा सहरमा बस्ने नातिले गाउँमा बस्नुहुने हजुरआमाको मायालाई बुझ्न नसक्दा जन्मिएको समस्यालाई प्रस्तुत गरिएको छ । बा आमासँग सहरमा बसेर पढ्ने बाल पात्र मोहन गाउँबाट हजुरआमा आउने भएपछि फुरुङ् हुन्छ तर उसको त्यो खुसी धेरै दिन टिक्दैन । वृद्ध हजुरआमाको शारीरिक स्वरूपलाई लिएर विद्यालयमा साथीहरूले गिज्याउन थालेपछि ऊ हजुरआमालाई बाहिर ननिस्कन भन्छ । खाना खाँदा हातले मुछेर खाएको देखेर दिगमिगाउँछ । ऊ हजुरआमाबाट टाढिन खोज्छ । जब हजुरआमाले आफ्नो हराएको पुरानो खाम खोज्नुहुन्छ र त्यसमा लुकाएर राखिएको मोहनको जन्मदिनको फोटो देखाएर आफ्नो जीवनको सबैभन्दा बढी खुसीको दिन भएको बताउनुहुन्छ तब ऊ निकै पछुताउँछ । यो कथाले बालबालिकाहरूमा पुस्तान्तरले जन्माएको समस्या कम गराएर वृद्धहरूको ममतालाई बुझ्न सहयोग पु¥याउँछ ।

‘फुर्के फुर्कियो’ कथामा ग्रामीण क्षेत्रका बालबालिकाहरू पढाइभन्दा घरको काममा जोतिनु परेको यथार्थतालाई देखाइएको छ । त्यस्तै पशुविमाको जानकारी दिँदै घरमा पालिने उन्नत जातको बाख्राको बिमा हुने, गोठमा पाल्नु पर्ने भएपछि विद्यालय नियमित जान पाएर फुर्के फुरुङ्ग परेको देखाइएको छ । घरको काममा अल्झँदा फुर्के सधैँ अनुत्तीर्ण हुने गरेको, आमाले छोराको पढाइ राम्रो बनाउन बाख्रा नपाल्न बाबुलाई आग्रह गरेको, बाबुले छोरालाई काम लगाउन बाध्यता रहेको जस्ता कुरा कथामा समावेश गरिएको छ ।

‘म त स्कुल जान्न’ र ‘रमाइलो स्कुल’– दुई कथाहरू फरक फरक वातावरण भएको दुई विद्यालयको परिवेशलाई देखाउने कथा हो । पहिलो कथामा शिक्षकहरूको रूखो व्यवहार, कडा सजायको नियम, शौचालय र खानेपानीको राम्रो व्यवस्था नभएको हुनाले बच्चाहरू विद्यालय जान मन नगरेको देखाइएको छ । दोस्रो कथामा विद्यार्थीहरूसँग राम्रो व्यवहार, सबै सुविधाहरू भएको, खेलसँगै सिकाइको वातावरण, विद्यार्थीहरूको भावनाको सम्मान, आधुनिक प्रविधियुक्त पठन पाठन र फरक शैलीका कारण बच्चाहरू विद्यालयमा नै बढी रमाउने गरेको देखाइएको छ । ‘रमाइलो स्कुल’ कथामा विद्यार्थीको क्षमता जुन जुन क्षेत्रमा छ त्यसैमा लाग्न अभिप्रेरित गर्ने र वातावरण दिने गरेको प्रसङ्ग चित्रण गरिएको छ ।

‘जोखिमको जिम्मा’ कथा विमाबाट जोखिम हस्तान्तारण गरेर ढुक्क बन्न सकिन्छ भन्ने कुरालाई अभिव्यक्त कथा हो ।

यस सङ्ग्रहका कथाहरूमा सरल भाषाशैली, संवाद, स्वाभाविक चरित्र र द्वन्द विकासले कथालाई पठनीय र शिक्षामूलक बनाएको छ । त्यसरी नै विमाको जानकारी, पुस्तान्तर र बालबालिकाहरू हुर्केको परिवेशको कारण अघिल्लो पुस्तालाई बुझ्ने समस्या, परम्परागत शिक्षण पद्दति र परिवर्तित शिक्षण पद्दति रहेका विद्यालयहरूरूबिचको फरक जस्ता विषयलाई प्रस्तुत गरिएको छ ।

 

६.  पाप पखाल्ने गङ्गा (२०७२)

विवेक सिर्जनशील प्रकाशनले २०७२ मा प्रकाशन गरेको ४० पृष्ठको यो कृतिमा ६ वटा बालकथाहरू समाविष्ट छन् ।

‘रमाइलो छात्रावास’ कथामा विद्यालयको सुविधायुक्त छात्रावासको चित्रण गरिएको छ । ‘चमेरे गुफा’ कथा पोखरामा रहेको चमेरे गुफाको इतिहास र परिवेशलाई देखाउने कथा हो । संवादात्मक शैलीमा बालबालिकाहरूमा चमेरे गुफा बारेको जिज्ञासा र भ्रमण गर्दाको अनुभूतिलाई कथाको विषय बनाइएको छ ।

‘व्रत’ कथामा तीजको प्रसङ्ग उठाउँदै परम्पराको नाममा बसिने व्रत सम्बन्धी अन्धविश्वासलाई चिर्ने प्रयत्न गरिएको छ । व्रत बस्दैमा जीवन सुन्दर नहुने कुरालाई विभिन्न उदाहरणहरू बाल पात्रमार्फत उजागर गराएर त्यस भ्रमबाट मुक्त हुन सुझाइएको छ । विद्यालयको कक्षाकोठाको परिवेशबाट सुरु भएको यस कथामा विरजा, आकृति, स्वीकृति, मोनिकाजस्ता बाल पात्रहरूबिच आउँदै गरेको तीजको व्रतको बारेमा विमर्श गराइएको छ । व्रत बसेर पनि श्रीमान् श्रीमतीबिचको सम्बन्ध राम्रो नभएका नजिकका घटनाहरूलाई छलफलमा ल्याएर व्रतले मात्र परिवारमा सुख, शान्ति र मेलमिलाप नहुने सन्देश दिइएको छ ।

पर्यावरणीय समस्याको कारण भासिन थालेको जमिनको विषयलाई लिएर कसरी अन्धविश्वासले स्थान पाएको छ भन्ने कुरा ‘अर्मला’ कथामा अथ्र्याइएको छ । यो कथा पोखराको अर्मलेमा जमिन भासिन थालेको घटनासँग सम्बन्धित रहेको छ ।

‘पाप पखाल्ने गङ्गा’ कथामा पण्डित र बुद्धको माध्यमबाट गङ्गा स्नान गदैमा पाप नपखालिने कुरालाई रोचक ढङ्गले पस्किइएको छ । भिक्षुको भेषमा गङ्गा किनारमा पुगेका बुद्ध र पण्डितबिच गङ्गा नदीसँग जोडिएका जनविश्वास र अन्धविश्वासलाई उजागर गरिएको छ कथामा । कथाको अन्त्यमा  गङ्गामा नुहाउँदैमा पाप नपखालिने तर लोकलाजको कारण गङ्गा नुहाउने गरेको कुरालाई पण्डितले स्वीकार गरेको प्रष्ट्याइएको छ ।

‘तुजुक’ कथामा धनको रवाफ लगाएर साथीहरूलाई होच्याउने गरेको निरज आफ्नै सवारी दुर्घटनामा पर्छ । आर्थिक हैसियत छ भन्दै बालबालिकाहरूको हरेक जिद्दी इच्छालाई पु¥याइदिन हो भने बालबालिकाहरू घमण्डी हुने र दुर्घटनामा पर्न सक्ने कुरा यस कथामा देखाइएको छ ।

यस सङ्ग्रहमा रहेका छ वटा कथाहरूले बालबालिकाहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार बन्न अभिप्रेरित गर्दछन् । त्यस्तै संस्कारको रुपमा रुढिवादी परम्पराको कतिपय भ्रमबाट मुक्त भई बैज्ञानिक ज्ञान ग्रहण गर्न आग्रह गर्दछन् । कथाहरू छोटा छन् । स्वाभाविक संवाद, परिवेश र द्वन्दले कथालाई रोचक रङ दिन्छन् ।

७. स्मार्ट घर (२०७४)

विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको ३२ पृष्ठको यस कथा कृतिमा ६ वटा कथाहरू समाविष्ट गरिएको छ । कथाको भाव अनुसार २ वटा चित्र समावेस गरिएको ‘स्मार्ट घर’ कथामा एउटा घरलाई कसरी स्मार्ट घर बनाउन सकिन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । घरमा इन्टरनेट, सिसि क्यामरा, विद्युतीयं साइरन, व्यक्तिगत ल्यापटपको व्यावस्था र प्रयोगले नविन प्रविधियुक्त स्मार्ट घर बन्ने कुरा देखाइएको छ । बालपात्र प्रवृक र प्रवृत्तिको माध्यमबाट स्मार्ट घर बनाउन सकिने तरिका र त्यसले पढाइलाई कसरी सहयोग पुयाउँछ भन्ने देखाइएको छ । त्यसैले यो कथा घरलाई कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भनेर देखाउने कथा हो ।

‘सम्पन्नताको मात’ बजारको खानेकुराभन्दा घरका खानेकुराहरू बालबालिकाका लागि स्वस्थकर हुन्छ भनेर देखाउने पोषण विषक कथा हो । देख्नमा राम्रो बजारका खानेकुराहरू बच्चालाई दिन पाउँदा गर्र्व गर्ने अभिभावकहरूलाई सचेत पार्ने कथा हो यो । कतिपय अभिभावकहरू बजारका खाजाहरू बच्चालाई दिन्छन् । अनि, ती बच्चाहरू घरबाट खाजा ल्याउने साथीहरूलाई गिज्याउँछन् र बजारको किन्न नसकेको भनेर होच्याउँछन् । निर्मल, पारस, सविन, रविनजस्ता बालपात्रहरूको माध्यामबाट विद्यालयमा घट्ने यस्तै घटनालाई चित्रण गर्दै बजारको खानेकुराले शरीरलाई कमजोर र रोगी बनाउने कुरा बुझाउन खोजिएको छ ।

‘छाउपडी’ कथामा पश्चिम नेपालमा विद्यमान छाउपडी प्रथाको अन्धरुढिवादी परम्परालाई चित्रण गर्ने कथा हो । शिक्षित भएर पनि त्यो अन्धविश्वासलाई चिर्न नसकेको यथार्थतालाई विद्यालयमा पढाउने रमिला मिसको माध्यामबाट कथामा देखाइएको छ । मासिक धर्मको अवधिमा मिसलाई विद्यालयमा पढाउन नदिइएको प्रसङ्ग, छात्रा विद्यालयमा नआएको प्रसङ्ग, आमा छाउ गोठमा रहेका कारण भोकै विद्यालय आउनु परेको प्रसङ्गबाट छाउपडी प्रथालाई कथामा देखाइएको छ । र, यो गलत प्रथा हो भन्ने सन्देश पनि दिएको छ ।

‘बाघ पूजा’ मगर समुदायमा रहेको बाघपूजा गर्ने चलनलाई देखाउने साँस्कृतिक कथा हो । बाघको पूजा गर्दैमा बाघले बाख्रा खान नछाड्ने हुनाले एउटाको पूजा गर्न अर्को जनावरको बली चढाउन नहुने सन्देश दिदै यो चलन कुसंस्कार मात्र रहेको कुरा प्रष्ट्याइएको छ । बालपात्र लोकबहादुरको सपनामा बाघले बाख्रा लगेको प्रसङ्गबाट सुरु भएको कथामा मंसिर महिनाको पहिलो बुधबार मगर समुदायमा बाघ पूजा गर्नुपर्ने चलन भएको देखाइएको छन् । पूजा बालकले गर्नुपर्ने, सुँगुर बली दिनुपर्ने कुरा देखाउँदै पहिला पूजा गरेपछि सताउन छाड्ने जनविश्वालले पूजा सुरु भए पनि अहिले चाडको रूप लिएको देखाइएको छ ।

‘फूलमती स्कुल गइन्’ कथामा थारु जातिको नयाँ वर्ष माघीको परिवेशको चित्रणसँगै फूलमतीका बुवा कृष्ण थारूले नयाँवर्षको नयाँ योजनाका रुपमा छोरीलाई विद्यालयमा पढाउन लागेको कुरा सुनाउँछन् । यस कथाले थारु जातिमा छोरीलाई शिक्षा दिनुपर्ने चेतना बढ्दै गएको कुरा देखाइएको छ ।

नयाँ प्रविधिको प्रयोग गरेर शिक्षण प्रकृया सञ्चालन गर्ने विद्यालयको योजनालाई देखाउने कथा हो ‘स्मार्ट स्कुल’ । अभिभावक दिवसको दिन प्रधानाध्यापकले आगामी शैक्षिक वर्षमा सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने योजना कथामा आएको छ ।

६ वटा कथाहरूलाई ११ वटा चित्रहरूले सजाइएको यस सङ्ग्रहका कथाहरू आकारका दृष्टिले छोटा छन् । छोटो बसाइमा पाठकले कथा पढिसक्छ । अनावश्यक वर्णन कथामा भेटिदैन । मगर समुदायमा रहेको बाघको पूजा गर्ने संस्कृति र थारुको माघी संस्कृतिको चित्रण विजयराजले लेखेका कथाहरूमध्ये फरक सँस्कृति र त्यससँग जोडिएको अन्धविश्वासलाई देखाउने कथा हो ।

 

८. आकास ओढ्ने जिन्दगी (२०७५)

भूकम्पसँग सम्बन्धित ७ वटा कथाहरू समावेश गराइएको ६८ पृष्ठको यस पुस्तकमा विषय विशेषज्ञ डा. तारानिधि भट्टराई र डा. रामचन्द्र तिवारीको मन्तव्यलाई भूमिकाको रुपमा राखिएको छ । साहित्यकार ठाकुर बेलवासेले ‘विजयको सङ्घर्ष र कर्म’ शीर्षकमा विजयराज आचार्यले २०७२ को भूकम्पमा भोगेका पीडा, उनले देखाएको स्वाभिमान र त्यससँग जोडिएर भूकम्प कथाको सिर्जना सन्दर्भलाई केलाएका छन् ।

घाम, पानी, हुरी, चट्याङ, भूकम्प, डढेलो, बाढी जस्ता मानवेतर वस्तुलाई मानवीय पात्र बनाएर उनीहरू बिच संवाद गराइएको छ । ‘आफ्नो माया आफैँले गर्नुपर्छ’ कथामा नेपालको भौगर्भिक इतिहास, भूकम्पको प्रकृति र विशेषतालाई प्रस्तुत गर्दै मान्छेले भूकम्प प्रतिरोधी संरचना बनाए त्यसको विनाशलाई कम गर्न सकिने कुरा छर्लङ्ग्याइएको छ । रोचक संवादात्मक शैलीमा विषयलाई प्रस्तुत गरिएको यो कथा ‘रङ्गीन विष (२०७४)’ कथासङ्ग्रहमा पनि समावेश गरिएको छ ।

‘राहत’ २०७२ को भूकम्पपछि राहत वितरणमा देखिएको विकृति र विसङ्गतिलाई चित्रण गर्ने कथा हो । विपतको समयमा राहत वितरणमा विभिन्न समूहले गरेको भेदभाव र उपेक्षालाई कथामा देखाइएको छ । त्यस्तै वास्तविक पीडितले कतैबाट सहयोग नपाएको तर त्यति क्षति नभएका परिवारले भने धेरै राहत जम्मा गरेको प्रसङ्ग कथामा आएको छ । भूकम्प पीडित भएर पनि आफूलाई दिन खोजिएको राहत आफूभन्दा बढी क्षति सहनु परेको परिवारलाई दिन आग्रह गर्ने बुबाको स्वाभिमानी र सहयोगी चरित्रले बालबालिकाहरूमा सहयोगी भावनाको विकास गराउँछ ।

‘काललाई जितेर आई’ कथामा भूकम्पको भग्नावशेषमा पुरिएकी एउटी बालिकाको अनुभूतिलाई समावेश गरिएको छ । घर भत्किएर पुरिएकी बालिकालाई भग्नावशेषबाट निकालेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँमा उपचार पाएकी सिन्धुपाल्चोककी एक बालिकाको यथार्थ घटनालाई कथा स्वरूप दिइएको लेखकको स्वीकारोक्ति छ भूमिकामा । भूकम्पमा चेपिएकी बालिकाको उद्धार र उपचार यात्राको अनुभूतिलाई कथाले सुन्दर ढङ्गले टिपेको छ ।

‘खुल्ला आकाशमुनि’ कथामा २०७२ सालको भूकम्पको विनाशको यथार्थलाई ऐनामा जस्तै छर्लङ्ग देखाइएको छ । कथा पढ्दै जाँदा यस्तो लाग्छ कि– कथा पढिरहेको छैन, मानौँ भूकम्पले हल्लाइरहेको धर्तीमा उभिएको छु र त्यसले मच्चाएको वितण्डा हेरिरहेको छु । २०७२ को भूकम्पको लगत्तै काठमाडौँको विनाशको परिवेशलाई कथाले टपक्क टिपेको छ । घरको भग्नावशेष, कोलाहलको वातावरण र उद्धारको प्रयत्न आदिलाई कथाकारले जस्ताको तस्तै टपक्क टिपेका छन् । तत् क्षणको सबै परिवेशलाई टिप्न खोज्दा कथा भने तुलनात्मक रुपमा केही लामो बनेको छ जुन पढ्नका लागि बाल पाठकले धैर्य नराख्न पनि सक्छन् । कथामा चारवटा जीवन्त चित्रहरू समावेश गरिएका छन् ।

‘धितो घर’ कथामा बनाउँदा बनाउँदैको घर भूकम्पको कारण भत्किएको र त्यही अप्ठेरो परिस्थितिमा आफूले निकै सहयोग गरेको भान्जो र डा. साहेब टेढिएको प्रसङ्ग कोट्याइएको छ । त्रासमय वातावरणमा बालबच्चा छाडेर विवाहमा जान नसक्ने बताएपछि भान्जाले सम्बन्ध टुटेको बताएका छन् । पुस्तकको प्रकाशनका लागि घर धितो राखेर जसको लागि ऋण निकालिएको थियो उसैले तिर्न नसक्ने भनेर धोका दिएपछि ढुन्डी नाम गरेको बाबु पात्र निकै तनावमा पुगेको प्रस्तुत गरिएको छ । कथामा घटनाक्रमको विकास र बहुविषयको संलग्नताले यो कथा कमजोर बनेको छ । भूकम्पपछि पालभित्रको बासमा चितुवाको आगमन कथाका उद्देश्यका लागि त्यति स्वाभाविक लाग्दैन भने डा. साहेबसँगको सम्बन्धपछि ढुन्डीको रक्सी खाने परिवर्तित व्यवहार र कुराकानीहरू पनि जबरजस्ती थोपरिएको प्रतित हुन्छ । यस कथामा विकसित घटनाक्रमलाई दुई भागमा विभाजन गरी पालमुनिको बास र प्रकाशनसँग जोडिएको ऋणको प्रसङ्गलाई समेटेर दुईवटा कथा बनाइएको भए कथा छरितो र सार्थक हुने थियो । यस कथामा चारवटा सुन्दर  चित्रहरू भने सान्दर्भिक ढङ्गले राखिएको छ ।

‘सावधानी’ भूकम्पको समयावधीमा बालबालिकाले महसुस गरेको अनुभूतिलाई प्रस्तुत गर्ने सान्दर्भिक कथा हो । भूकम्प गएको ४७ दिनपछि खुलेको विद्यालयमा विद्यार्थीहरूले आफ्नो भोगाइ र अनुभूतिलाई साथीहरूमाझ अभिव्यक्त गरेका छन् कथामा । यही माध्यमबाट उनीहरूले देखे भोगेका कारुणिक र डरलाग्दा क्षणहरूलाई कथामा चित्रण गरिएको छ । भूगोल शिक्षक सामकुमार सरको माध्यमबाट भूकम्प प्रतिरोधी संरचना बनाएर यसको विनाश कम गर्न सकिने कुरा व्यक्त गराइएको छ । कथाको भाव अनुसार तीनवटा सुन्दर चित्रहरू समावेश गरिएको यस कथामा भूकम्प आउँदा बिमको तल बस्नुपर्छ भन्ने गलत शिक्षाका कारण केही मान्छेहरूले ज्यान गुमाउनु परेको कुरालाई पनि देखाइएको छ भने बालबालिकाहरूले भूकम्पको समयमा आफूले भोगेको क्षणलाई संवादात्मक ढङ्गले गम्भीर रुपमा अभिव्यक्त गरेका छन् ।

भूमिकामा कथा बन्न नसकेको स्वीकारोक्ति सहित परिशिष्टमा राखिएको ‘प्लेटको लडाइँ’ कथामा पृथ्वीको आन्तरिक संरचना र भूकम्पको कारणका प्राविधिक पक्षहरूलाई केलाइएको छ । कक्षा कोठामा विद्यार्थीहरूमाझ संवादात्मक शैलीमा भौगर्भिक विषयहरू माथि छलफल चलाइएको छ यस कथामा ।

भूकम्पलाई विषय बनाएर लेखिएका सातवटा कथाहरू मध्ये ‘काललाई जितेर आई’, ‘खुल्ला आकाशमुनि’ र ‘सावधानी’ सामाजिक यथार्थतामा आधारित रहेर बाल अनुभूतिलाई प्रस्तुत गरिएको छ । ‘राहत’ कथामा ठूलाको अनुभूति र ‘धितो घर’ कथामा बालक र ठूला दुवैको अनुभूतिलाई प्रस्तुत गरिएको छ । ‘धितो घर’ सङ्ग्रह भित्रको कमजोर कथा हो भने ‘खुल्ला आकाशमुनि’ र ‘सावधानी’ निकै सुरम्य कथा हुन् ।

९. रङ्गीन विष (२०७५)

नेपाल सरकार, युएनडीपी तथा विश्वव्यापी वातावरणीय सहुलियतको संयुक्त आर्थिक सहयोग र बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा २०७५ सालमा प्रकाशित यस सङ्ग्रहमा वातावरणसँग सम्बन्धित पाँचवटा कथाहरू रहेका छन् ।

‘आफ्नो माया आफैँ गर्नुपर्छ’ कथामा घाम, पानी हुरी र भूकम्पलाई मानवीकरण गर्दै उनीहरू बिचको संवादको माध्यामबाट नेपालको भौगोलिक निर्माण र भूकम्पको विनाश कम गर्न अपनाउन सकिने उपाय बारे टिप्पणी गरिएको छ । घाम, पानी, हुरी, भूकम्प जस्ता मानवेत्तर विषयलाई मानवीकरण गर्दै भूकम्पले बढी विनाश निम्त्याउनुको कारण मान्छेहरूको बेवास्ता र कमजोरी नै कारक रहेको कुरालाई संवादात्मक शैलीमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । प्राकृतिक विपत्तिका कारण मानिएका बाढी, पहिरो, चट्याङ; भूकम्प जस्ता विषयलाई नै कथामा पात्रको रूपमा उभ्याएर सरल भाषामा तिनीहरूको विशेषता, सीमा र बच्न सकिने उपायलाई सटिक रुपमा प्रस्तुत गरिएको छ । ७ देखि १२ वर्ष उमेर समूहका लागि उपयुक्त यो कथाले भूकम्पबाट बच्ने हो भने मान्छेले आफैँलाई माया गरेर नेपालमा पनि जापानमा जस्तै कम विनाश हुने घरहरू बनाउनु पर्ने सन्देश दिइएको छ ।

‘रिचार्ज’ कथा विद्यालयको इनारमा पानी नआएको घटनालाई आधारभूमि बनाएर शिक्षक र विद्यार्थी बिचको संवाद मार्फत इनार सुक्नुको कारण खोतलिएको छ । जमिनबाट पानी निरन्तर निकाल्ने तर जमिनभित्र पानी पठाउने कार्यमा बेवास्ता गर्दा भूमिगत पानीको तह घटेर पानी नआएको कुरा कथामा समेटिएको छ । खुल्ला जमिन र बोटबिरुवाका कारण वर्षामा परेको पानी जमिनमुनि जाने गरेकोमा भवन, सडक निर्माण र वनजङ्गलको विनासले पानीको रिचार्ज कम भएको र भूमिगत पानीको तह घटेको कुरा बताइएको छ । कथाको अन्त्यमा पोखरी खन्ने अभियान चलाएर पानी रिचार्ज गर्ने प्रयत्न गरिएको र इनारमा फेरि पानी आएको देखाइएको छ ।

पुस्तकको शीर्षक दिइएको ‘रङ्गीन विष’ कथामा हामीले रङ्गाउनका लागि प्रयोग गरिने रङमा सिसा प्रयोग गरिने र त्यो हानिकारक हुन्छ भन्ने देखाइएको छ । चाडबाडको नजिक घर रङ्गाउनका लागि तयारी रङको खोजी, विज्ञापनको पछि लागेर रङको छनोट गर्ने प्रवृत्तिलाई सीतारामको बाबुछोराको संवाद र क्रियाकलापमार्फत देखाइएको छ । छोरा उमङ्ग बिरामी भएर अस्पताल पुगेपछि शरीरमा पसेको सिसा निकाल्न नसकिने र त्यसले पछिल्लो पुस्तालाई पनि असर पार्ने कुरालाई देखाएर पाठकलाई सचेत पार्न खोजिएको छ । रङको रसायनले जनस्वस्थमा पार्ने असरलाई प्रस्तुत गर्ने यो कथा ९ देखि १५ वर्ष उमेर समूहलाई उपयुक्त हुने देखिन्छ ।

‘इबुक’ वातावरण जोगाउनका लागि इबुकले कसरी सहयोग गर्छ भन्ने देखाउन तथ्यसहित समावेश गरेर लेखिएको कथा हो । कागज बनाउन रुख काट्नुपर्ने भएकाले कागतविहीन पुस्तक ‘इबुक’को प्रयोगले रुख र वातावरण बचाउन सहयोग गर्ने कुरा देखाइएको छ । कथालाई रोचक बनाउन पुस्तक प्रकाशन गरेर व्यावसाय गर्ने गरेको हरिशरणको चिन्तालाई प्रस्तुत गरिएको छ । प्राविधिक कुराहरूको प्रस्तुतिले कथाको सहज विकासमा बाधा दिएको छ । यो कथा ११ देखि १५ वर्ष उमेर समूहलाई उपयुक्त हुने देखिन्छ ।

‘माछा सर’ टौदहको परिवेशलाई टिपेर हाम्रा पोखरीहरू कसरी प्रदूषित हुँदै गएका छन् र तिनको संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरालाई उजागर गर्ने कथा हो । रौदह घुम्न गएका केटाकेटीहरूको भेट माछाको विषयमा डक्टरेट गरेका माछा सरसँग भएपछि पानी र पोखरीको प्रदूषण र स्वच्छता, त्यसको वातावरणीय महत्व र माछा विनासको कारण, सिमेन्टको पर्खाल र रासायनिक मलको असर आदि कुरा बताउदै संरक्षणको महत्व र उपायलाई कथामा देखाइएको छ । ८ देखि १२ वर्ष उमेर समूहलाई उपयुक्त हुने यो कथा घटनाक्रमको सहज विकासका दृष्टिले उपयुक्त कथा हो ।

चिल्लो कागज, प्रत्येक कथामा तीन वटा रङ्गीन चित्र, परिशिष्टमा वातावरण सम्बन्धी जानकारी र कठीन शब्दहरूको शब्दार्थ सूचीले कृतिलाई पठनीय बनाएको छ । परिशिष्ट १ म पृथ्वीका संसाधन र तिनको संरक्षण शीर्षकमा वातावरण सम्बधी जानकारी दिइएको छ । परिशिष्ट २ मा पारिभाषिक शब्दावली दिइएको छ । पुस्तकको आकर्षक साजसज्जा हुँदा हुँदै पनि अक्षर अलि साना आकारमा छापिएकाले बच्चाहरूलाई पढ़न भने सहज नहुने हो कि भन्ने संशय हुन्छ ।

 

१०. कुटी (२०७७)

विवेक सिर्जनशील प्रकाशनले २०७७ मा प्रकाशन गरेको यस कृतिमा एघारवटा कथाहरू रहेका छन् ।

‘हेर्दै, खेल्दै सिक्दै’ जीव विज्ञानलाई कथ्य विषय बनाइएको कथा हो । कक्षाकोठामा भर्टिब्रेट र इनभर्टिब्रेट प्राणीके बारेमा छलफल गरेर सुरु गरिएको कथामा विद्यार्थीहरूलाई स्वयम्भूमा रहेको प्राकृतिक सङ्ग्रहालयमा पु¥याइएको छ । त्यहाँ धर्म डङ्गोलको माध्यामवाट प्राणीहरूको प्रतिमूर्ति बनाउने कला ‘टेक्सिडर्मी’ विधिको बारेमा जानकारी दिइएको छ । सङ्ग्रहालयमा विभिन्न प्राणीहरू ज्यूँदा जस्तो देखिँदा विद्यार्थीहरू निकै रमाएका छन् ।

कक्षाकोठाभित्र छिमेकीको बारेमा ज्ञान, अनुभव र अनुभूति बारे छलफल चलाइएको ‘छिमेकी’ कथामा छिमेकीको अर्थ र महत्वलाई देखाउँदै धनी छिमेकीका कारण अपमान सहनु परेको कुरालाई देखाइएको छ । शक्तिशाली छिमेकीका कारण  भोग्नु परेको दुःख, असल छिमेकीबाट दुःखमा पाइएको सहयोग र खराब छिमेकीका कारण पाइने दुःखको यथार्थतालाई विद्यार्थीहरूको अनुभवको आधारमा सरल ढङ्गले बुझाइएको छ । ९ देखि १४ वर्ष उमेर समुहका लागि उपयुक्त यो कथामा आर्थिक विभेदले सम्बन्धमा फरकपना ल्याउने कुरा छर्लङ्ग्याइएको छ ।

कोरोना कालमा सामाजिक सन्जाल मार्फत कोरोना देवी रहेको अफवाह फैलियो । समाजमा यस्तो अन्धविश्वास थियो कि मान्छेहरूले कोरोना देवीको परिकल्पना गरेर पूजा गरे । कोरोनाबाट बच्न सकिने विश्वास गरेर चर्चमा जम्मा भएका मान्छेहरू अधिकांश सङ्क्रमित भए । मान्छेहरूको यो अन्धविश्वासी कार्यलाई ‘कोरोनादेवी’ कथाले रोचक ढङ्गले प्रस्तुत गरेको छ । ११ वर्षभन्दा माथिको उमेर समूहलाई उपयुक्त हुने यो कथा समाजमा विद्यमान अन्धविश्वासलाई चित्रण गर्ने उत्तम कथा हो ।

कोरोना महामारीले नकरात्मक मात्र होइन केही सकरात्मक प्रभाव पनि पारेको छ भन्ने कुरालाई ‘धन्य कोरोना’ कथामा उद्घाटन गरिएको छ । बन्दाबन्दीपछि पहिलोपटक स्कुल पुगेका विद्यार्थीहरूबिच सम्वाद गराएर कोरोनाले छाडेका सकरात्मक छापलाई समेटिएको छ । वातावरण स्वच्छ भएको, बालबालिकाहरू भान्सा र कृषि कर्ममा आकर्षित भएको, कृषि उब्जनी बढेको, भगवान्ले रक्षा गर्छन भनेर मन्दिर, मस्जिद र चर्च धाउने अन्धविश्वास हटेको जस्ता कुराहरू कथामा रोचक ढङ्गले औँल्याइएको छ । महामारीले साना र ठूला बिचको भेदलाई पनि कम गराएको प्रसङ्ग केलाउँदै समान सामाजिक सद्व्यवहार, श्रमप्रति सम्मान र कृषिप्रतिको आकर्षण कोरोनाले सिकाएको सकारात्मक पाठको रूपमा कथामा आएको छ । ९/१० वर्ष उमेर समूहभन्दा माथिका बालबालिकालाई लक्षित गरी लेखिएको यस कथामा कोरोनाले दुःखमात्र दिएको नभएर मान्छेको सोच्ने तरिकामा नै परिवर्तन ल्याएको कुरा अथ्र्याइएको छ ।

‘जटायुको कुटी सम्मेलन’ कथामा गिद्धलाई पात्र बनाएर मान्छेले प्रयोग गर्ने गरेको पशुजन्य औषधी र अन्य विषादीले गिद्ध सङ्कटमा परेको कुरा देखाइएको छ ।

‘किबोर्ड’ बाल मनोविज्ञानमा आधारित उम्दा कथा हो । बाबु आमाको झगडाले बालबालिकामा पार्ने मनोवैज्ञानिक असर, सम्बन्ध विच्छेदले हुने सन्तानको अन्योल भविष्य र बाल चिन्तालाई निकै मार्मिक ढङ्गले उठान गरिएको छ । पारिवारिक सम्बन्धलाई सन्तुलित राख्न नसक्दा आपसी मनमुटाव, असन्तुष्टि र झगडाको स्थिति पैदा हुँदा बच्चामा पर्ने असरलाई प्रथम पुरुष शैलीमा निकै मर्मस्पर्शी रुपमा प्रष्ट्याइएको छ । यो कथा बालकथाभन्दा पनि १२–१६ वर्ष उमेर समुहलाई उपयुक्त हुने किशोर कथाको रुपमा रहेको छ । सम्बन्ध विच्छेद गर्न तयार बाबु आमा, सहयोगी भूमिका खेल्ने वकिल र प्राचार्यले समेत आफ्नो समस्यालाई बेवास्ता गर्दा एउटा बालकमा परेको असर र त्यसबाट विकास भएको बाल मनोदशालाई भोक्ता बालपात्रको माध्यमबाट प्रथम पुरुष शैलीमा प्रस्तुत गरिएको छ ।

‘कुटी’ स्वर्गद्वारी र अर्घाको बिचमा रहेको सुन्दर पहाडी धरातलको प्राकृतिक सौन्दर्यलाई देखाउने पर्यावरणीय कथा हो । फुर्सदको समयमा हजुरबुबाको साथ लागेर केटाकेटीहरू कुटी क्षेत्रमा पुगेका छन् र त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाउँदै त्यस क्षेत्रसँग जोडिएका केही रोचक ऐतिहासिक विषयलाई र सांस्कृतिक पर्वको बारेमा संवाद गरेका छन् । त्यही क्षेत्रसँग जोडिएको लागो, भुतेओडार गेल र कात्रे खोलाको देवता जस्ता अन्धविश्वासका कुराहरूलाई बाल त्रासको रुपमा देखाएर लेखकले हजुरबामार्फत ती सबै अन्धविश्वास मात्र भएको कुरा अभिव्यक्त गराएका छन् । यो कथा १० वर्षभन्दा माथिका बालबालिकाहरूलाई उपयुक्त हुने देखिन्छ ।

‘लकडाउनको फाइदा’ कथामा दोस्रो बन्दाबन्दीको समयमा बच्चाहरूले घरको काम सिकेको, घरभित्रै एक अर्कालाई सम्मान गर्दै हरेक काममा सबै सहभागी भएर सम्पन्न गर्ने गरेको कुरालाई दर्साइएको छ । बन्दाबन्दीअघि घरको सारा काम र बारीको काम आमाले मात्र गर्ने गर्नुभएकोमा घरधन्दामा बाबु र छोराछोरीले पनि सहयोग गर्न सुरु गरेका र बारीको काम पनि मिलेर गर्न थालेकाले सजिलो भएको झल्काइएको छ । घरभित्र समानताको व्यवहारको विकासमा लकडाउनले भूमिका खेलेका कारण बन्दाबन्दीको समयलाई राम्रो अवसर मानिएको छ । संवादका विभिन्न प्रसङ्गमा आमाको मृदु व्यङ्ग्यले कथालाई रोचक बनाएको छ । घरमा मिलिजुली काम गर्न थालेपछि बुबाले आमालाई बाहिर पनि काम गर्न प्रेरित गर्नुभएको छ । घर पुगेपछि विद्युतीय उपकरणमा मात्र भुल्ने, अनि भान्सा र घरबारीको काम आमाले मात्र गर्नुपर्छ भन्ने मानसिकता बोकेका बालबालिकाहरूका लागि यो कथा व्यवहार परिवर्तनको माध्यम बन्न सक्छ ।

‘परिवारको पुनर्मिलन’ कथा बन्दाबन्दीमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूले भोगेको कारुणिक अवस्थालाई चित्रण गर्ने विशिष्ट कथा हो । लकडाउन सुरु भएपछि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरू निकै समस्यामा परे । सहरमा भोकभोकै मर्नुपर्ने स्थिति आएपछि हजारौँ मान्छेहरू पैदलै हिँडेर गाउँ फर्किए । त्यसरी काठमाडौँबाट बर्दियासम्म पुगेको एउटा श्रमिक परिवारको यथार्थ अभिलेख हो यो कथा । शहरमा खानेकुरा केही नपाएपछि कहिले पैदल त कहिले ट्रकमा यात्रा गर्दै एउटा परिवार गाउँ पुग्छ । बाटामा कतै प्रहरीको सहयोग, कतै हप्की, कतै सर्वसाधरणको जिज्ञासा र कतै उपेक्षा सहँदै उनीहरू घर पुग्छन् । भोक भोकै हिँड्नु परे पनि धेरै समयपछि पारिवारिक पुनर्मिलनमा बाल पात्रमा देखिएको आनन्दले कथालाई सकरात्मक बनाएको छ । कथामा बाबु आमा र छोरा, छोरीले सहनु परेको दुःख र भोकयात्रा मात्र छैन, अपितु भारतमा काम गर्न जानुभएको ठूलाबाले भोग्नु परेको सास्ती झन दर्दनाक रहेको छ । त्यस्तै आफैले जिताएका जनप्रतिनिधिले गरेको बेवास्ता त्यत्तिकै नरमाइलो रहेको छ । कोरोनाले दुःख दिए पनि लामो समयदेखि बिछोडिएको परिवार सँगै हुन पाउँदा पात्रहरू खुसी देखिन्छन् । १० देखि १६ वर्ष उमेर समूहलाई लक्षित गरेर लेखिएको यो कथाले बन्दाबन्दीको समयमा श्रमिक वर्गले भोग्नु परेको यथार्थ पीडालाई निकै मार्मिक ढङ्गले चित्रण गरेको छ ।

‘बुद्धको न्याय’ कथामा बुद्धधर्मसँग संबन्धित हारती माताको उत्पत्तिको पौराणिक मिथकलाई प्रस्तुत गरिएको छ । बच्चाको अपहरण गरेर मार्ने गरेकी राक्षस्नीलाई सन्तान वियोगको पीडा कस्तो हुन्छ भन्ने बोध गराएर उसको त्यो बानी छुटाएको प्रसङ्ग कथामा अभिव्यक्त छ । यो कथालाई ‘स्वयम्भूका आँखाहरू(२०७८)’ कृतिमा पनि समावेश गरिएको छ ।

‘घर नै स्कुल’ कथामा कोरोनाको कारण विद्यालय बन्द भएपछि घरलाई नै विद्यालय बनाएर अनलाइन मार्फत पढ़ने तयारी रहेको प्रसङ्गलाई झल्काइएको छ । बन्दाबन्दीको कारण पढाइ छुटेका विद्यार्थीहरूलाई अनलाइनले घरमा नै बसी  सिकाइलाई पढाइसँग जोड्ने प्रयत्न भइरहेका विषयलाई टपक्क कथाले टिपेको छ ।

यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरूमध्ये पाँचवटा कथाहरू कोरोना महामारी र यसबाट सिर्जित परिवेशलाई समटेर लेखिएका छन् । ‘कोरोना देवी’ले अन्धविश्वासलाई चित्रण गर्दै त्यसले समाजलाई ठीक ठाउँमा नपु¥याउने कुरा देखाइएको छ भने ‘धन्य कोरोना’ले बालबच्चाहरूमा सकारात्मक विचार विकास गराएको र श्रमप्रति सम्मान गर्न सिकाएको छ । त्यस्तै सोच्ने शैलीमा परिवर्तन गराएको कुरा पनि चित्रण गरिएको छ । ‘लकडाउनको फाइदा’ कथामा बालबच्चाहरूले घरको काम सिकेको प्रसङ्ग रहेको छ । यस कथामा परिवारको पुनर्मिलन, श्रमिक परिवार र तिनका बालबच्चाहरूले भोग्नु परेको पीडालाई पनि खुलस्त गरिएको छ भने ‘घर नै स्कुल’ कथामा पढाइको वैकल्पिक उपायको खोजी गरिएको छ ।

‘कुटी’ कथा ठाउँ विशेषको प्रकृतिलाई विषय बनाउन खोज्दा उद्देश्यहीन र अन्योलग्रस्त भएको जस्तो देखिन्छ । यस सङ्ग्रहमा वातावरण र विज्ञानसँग सम्बन्धित दुई कथा रहेका छन्– ‘हेर्दै, खेल्दै र सिक्दै’ र ‘जटायुको कुटी सम्मेलन’ । ‘किबोर्ड’ बाल मनोविज्ञानमा आधारित ज्यादै लोभलाग्दो किशोर कथा हो । तैपनि कथाभित्र बाबु आमाका केही व्यवहार भने अलि अस्वाभाविक लाग्छन् । समग्र कथाले समेटेको विषयवस्तुलाई हेर्दा ‘किबोर्ड’ कथा र पौराणिक विषय रहेको ‘बुद्धको न्याय’ यस सङ्ग्रहमा समावेश नगरिएको भए बढी उपयुक्त हुने थियो कि भन्ने भान हुन्छ । ‘परिवारको पुनर्मिलन’ सबै बालबालिकाहरूलाई पढाउनै पर्ने कथा हो । प्रत्येक कथामा तीन तीनवटा सुन्दर चित्रहरू समाविष्ट यस कृतिमा उक्त दुई कथा नराख्दा मोटाइका दृष्टिले पनि बाल पाठकका लागि न्याय हुन्थ्यो कि भन्ने कुरा पटक पटक खड्किन्छ ।

 

११. स्वयम्भूका आँखाहरु (२०७८ )

२०७८ सालमा विवेक सिर्जनशील प्रकाशनले प्रकाशन गरेको ७२ पृष्ठको यस कृतिमा विजयराज आचार्यका फरकखालका ९ वटा बालकथाहरू रहेका छन् ।

‘उत्पत्ति’ कथामा गौडका राजा प्रचण्डदेव बोधिमार्गमा हिड्ने उद्देश्यले राजकाज त्यागेर काठमाडौँ आएको र मञ्जुश्रीका चेला भिक्षु गुणकरसँग दीक्षित भई शान्तिकराचार्य बनेको देखाइएको छ । गुणकर र शान्तिकराचार्य बिचको संवादको माध्यमबाट मञ्जुश्रीको नेपाल आगमन, काठमाडौँमा रहेको नागदहको पानी निकास खोली बस्ती बसाएको र स्वयम्भूको उत्पत्ति भएको प्रसङ्गलाई प्रस्तुत गरिएको छ ।

मिथकीय घटना र आधुनिक प्रविधिको स्वैरकाल्पनिक मिश्रण गराएर लेखिएको ‘स्तूप’ कथामा शान्तिकराचार्यले स्वयम्भू स्तूप निर्माण गर्नुको कारण, त्यहाँ स्थापना गरिएका विभिन्न बुद्धहरूको वर्णन र स्वयम्भू निर्माण सिद्धान्तको वर्णन गरिएको छ । म्यासेन्जरमार्फत मञ्जुश्री र शान्तिकराचार्य बिचको संवाद देखाएर स्वयम्भूको स्तूपको निर्माण तीन पञ्च सिद्धान्तमा आधारित रहेको कुराको वर्णन गरिएको छ । पहिलो पञ्चमा पृथ्वी, जल, अग्नी, वायु र आकाश, दोश्रो पञ्चमा पञ्चबुद्ध अन्तरगत अमिताभ बुद्ध, अमोघसिद्धि बुद्ध, अक्षोभ्य बुद्ध, बैरोचिन बुद्ध र रत्नसम्भव बुद्धको स्थापना गरिएको बताइएको छ । तेस्रो पञ्च अन्तरगत पञ्चतारा (पाण्डुतारा, आर्यतारा, सप्तलोचनी तारा, बज्रधात्वेश्वरी तारा र मामकी तारा)का मूर्तिहरू स्थापना गरिएको प्रसङ्ग रहेका छ । यो स्वयम्भू निर्माण सिद्धान्त, विम्ब, प्रतीक र मिथकहरूलाई सरल ढङ्गले सविस्तार वर्णन गर्ने उम्दा कथा हो ।

‘पाउमा दुई आँखा’ स्वयम्भू चैत्यमा रहेको दुई आँखाको मिथकीय अर्थ र किंवदन्तीलाई उत्खनन गर्ने कथा हो । मञ्जुश्रीलाई पात्र बनाएर प्रथम पुरुष शैलीमा लेखिएको यस कथामा स्वयम्भूका दुई आँखालाई ज्ञानको प्रतीक मान्नुको मिथकीय सन्दर्भलाई टिपिएको छ । आर्यनामसङ्गितीका व्याख्याता– धर्मश्री मित्र जो पछि ज्ञानश्री मित्रको रुपमा चिनिए, को सम्झना स्वरूप स्तूपको पाउमा आँखा अङ्कित गरिएको प्रसङ्ग कथामा उजागर गरिएको छ ।

शान्तिकराचार्यलाई मूल पात्र बनाएर प्रथम पुरुष शैलीमा लेखिएको ‘शान्तिपुर’ कथामा स्वयम्भूमा रहेको शान्तिपुर स्तूपसँग जोडिएको मिथकीय सन्दर्भ, त्यसको बाहिर रहेको प्रताप मल्लको शिलालेखको सन्दर्भलाई विषय बनाइएको छ ।

‘पञ्चपुर’ कथामा माछा मासु सेवन गर्न पाइने स्वयम्भूको एक मात्र मन्दिर हारती मन्दिरसँग जोडिएको मिथकलाई प्रस्तुत गरिएको छ । मञ्जुश्री, मञ्जुश्रीको चेला गुणकामदेव र गुणकादेवको चेला शान्तिकराचार्य तीन पात्रको उपस्थिति कथामा गराएर उनीहरू बिचको संवादमार्फत स्वयम्भू परिसरमा रहेको पञ्चपुर मन्दिरको निर्माण गरिनुका कारणलाई खोतलिएको छ । स्वयम्भूको रक्षाका लागि पृथ्वीको प्रतीक वसुपुर, वायुको प्रतीक वायुपुर, अग्निको प्रतीक अग्निपुर, नागको प्रतीक नागपुर र आकाश वा शान्तिको प्रतीक शान्तिपुर स्थापना गरी स्वयम्भूको संरक्षण गरिएको मिथकीय सन्दर्भ कथामा समेटिएको छ । त्यस्तै बालबालिकाहरूको संरक्षक मानिएको यक्षिणीसँग सम्बन्धित मानिएको रत्नपुरको निर्माण सम्बन्धी कथा पनि यसमा समावेश छ ।

‘बुद्धको न्याय’ कथामा बच्चा चोरेर खाने गरेकी एउटी यक्षिणी कसरी बाल संरक्षक ‘हारती माँ’ भई भन्ने चित्रण गरिएको छ । यो कथा स्वयम्भूमा रहेको हारती माताको मन्दिरसँग सम्बन्धित रहेको छ । मान्छेके बच्चा अपहरण गरेर हैरान पारेकी यक्षिणीको सय बच्चामध्ये कान्छी छोरी लुकाउन लगाई हराउँदा हुने पीडाबोध यक्षिणीलाई गराए पछि बुद्धले बच्चा चोर्न रोकेको प्रसङ्ग कथामा विद्यमान छ ।

‘हरि हरि हरिवाहन लोकेश्वर’ कथामा शान्तिकराचार्य, गुणाकर र मञ्जुश्री बिचको संवादमार्फत गरुडलाई सिंहले, नारायणलाई गरुडले र अवलोकितेश्वरलाई नारायणले बोकेको मूर्तिका संयुक्त स्वरुपसँग जोडिएको मिथकलाई रोचक ढङ्गको प्रस्तुत गरिएको छ । गरुड, नारायण र अवलोकितेश्वर त्रिदेवलाई सिंहले बोकेको मूर्तिलाई ‘हरि हरि हरि लोकेश्वर’ भनिएको र त्यो मूर्तिको बारेमा प्रचलित मिथक र अनुश्रुतिलाई यस कथामा अभिव्यक्त गरिएको छ ।

‘स्वयम्भूको यात्रा’ कथामा स्वयम्भू घुम्न पुगेका विद्यार्थीहरूमार्फत स्वयम्भूमा रहेको देवधर्म विहार, भुटानी गुम्बा, चैत्य पार्क, चैत्यको प्रकार र निर्माणका कारण, कर्मराजा महाविहार(पहेलो गुम्बा), ज्ञानमाला भजनपाटी, अनन्तपुर र प्रतापपुर, षट्कोण आङ छे घर (गोप्य धर), मङ्गल बहुद्धार चैत्यजस्ता ठाउँ र संरचनाहरूको अर्थ, महत्व र इतिहासलाई उत्खनन गरिएको छ । यस कथामा स्वयम्भू क्षेत्रमा रहेका चैत्य र विहारको अर्थ, इतिहास र महत्वलाई कथात्मक शैलीमा बालपात्रमार्फत पालै पालो व्यक्त गराइएको छ ।

‘पुरानो स्वयम्भू’ कथामा मञ्जुश्रीको चैत्य, आनन्दकुटी विहार, विश्व शान्ति पोखरी, श्रीलङ्का राम चैत्य र वसुबन्ध चैत्य आदिको आदिको बारेमा अवगत गराइएको छ । स्वयम्भू डाँडाको दाँयापट्टि रहेको मञ्जुश्री चैत्य घुम्न पुगेका सृष्टि, पीयूष, जेसु, विज्ञान लगायतका बालपात्रहरू मार्फत त्यस क्षेत्रको भ्रमण सँगै विभिन्न स्थानको जानकारी संवादात्मक शैलीमा दिइएको छ ।

हरेक कथालाई तीनवटा रङ्गीन चित्रले सजाइएको छ । कतै भ्रमण शैली, कतै संवादात्मकता, कतै प्रविधिमार्फत दूरसंवाद आदि समावेश गराउँदै स्वयम्भूसँग जोडिएका थुप्रै मिथक, किंवदन्ती, अनुश्रुति र इतिहासलाई कथामा सरल र बोधगम्य भाषामा समावेश गराइएको छ । स्वयम्भू चैत्य निर्माणसँग सम्बन्धित थुप्रै आध्यात्मिक सन्दर्भ र कतिपय दार्शनिक विषयहरूलाई पनि कथाले समेटेका छन् । कथात्मक आवरणमा स्वयम्भूसँग जोडिएका विविध सूचनाहरूको सम्प्रेषण हेर्दा बालकथाकारले यथेष्ठ मिहिनेत गरेको देखिन्छ । स्वयम्भूसँग जोडिएको कतिपय दार्शनिक र आध्यामिक विषयलाई रोचक र सरल ढङ्गले कथामा प्रस्तुत गर्न सक्नु सर्जक आचार्यको सफलता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार