सङ्गीतको चर्को बजारभन्दा बाहिरका प्रभावशाली प्रदीप क्षेत्री

स्रष्टाचिनारी

  भावेश भुमरी  1535 पटक हेरिएको

त्यतिबेला म साहित्यकार र कलाकारहरूको जीवनका विविध पक्षका बारेमा लेखहरू लेख्थेँ र पत्रपत्रिकाहरूमा प्रकाशन हुन्थे । त्यसैक्रममा सुप्रसिद्ध गायक कुमार सुब्बा दार्जिलिङबाट काठमाडौँ आउनुभएको खबर सुनेँ । म उहाँलाई भेट्न पुतलीसडकस्थित प्रवेश बान्तवाको वासस्थानमा पुगेँ र कुमार सुब्बासँग लामै समय कुराकानी गरेँ । हिँड्ने बेलामा उहाँको नाम लेखेर मेरो गीतसङ्ग्रह ‘भीरफूलको छाया’ उहाँलाई दिएँ । उहाँले अरू केही प्रति किताब लगेर दार्जिलिङका सङ्गीतकारहरूलाई दिने इच्छा व्यक्त गर्नुभयो । मैले उहाँलाई ४÷५ वटा किताब दिएँ । केही समयपछि सङ्गीतकार प्रदीप क्षेत्रीको पत्र प्राप्त गरेँ । उहाँले मेरा केही गीतमा सङ्गीत भरेको कुरा पत्रमा लेख्नुभएको रहेछ । मैले पत्रको उत्तर लेखेँ । हामीबीच पत्रहरूमार्फत कुरा हुन थाले ।

आफ्नी जीवनसंगिनी राधा क्षेत्रीसँग प्रदीप क्षेत्री

मेरो विवाह दार्जिलिङबाटै भएका कारण म दार्जिलिङ बजार घुम्न जाँदा सङ्गीतकार प्रदीप क्षेत्रत्रीसँग उहाँकै कार्यालय सूचना तथा संस्कृति विभागमा भेट भयो । केही समय कुरा ग¥यौँ । उहाँले मेरा गीतमा भर्नुभएका सङ्गीतहरू पनि सुनाउनुभयो । कार्यालयीय व्यस्तताका कारण पछि कुरा गर्ने भन्दै म त्यहाँबाट हिँडेँ । हामीबीचमा निरन्तर पत्रमार्फत कुरा भइरहे ।

प्रदीप क्षेत्रीको सङ्गीतमा मेरो रचनाका ‘सुखी मनले बुझिदिन्न’, ‘निम्तो बोकी गा’को चिठी’लगायतका गीतहरू रेकर्ड भए । हामीबीच निरन्तर रूपले भेटघाट हुन थाल्यो म दार्जिलिङ गएको समयमा । म दार्जिलिङ जाँदा उहाँको घरमा पाहुना बन्न थालेँ भने काठमाडौँ आउनुहुँदा उहाँ मेरो कोठाको पाहुना । यिनै सिर्जनात्मक एवम् पारिवारिक घनिष्टताका कारण म उहाँका सङ्गीतहरूसँग धेरै निकट भएँ । यस्तो हुनु भनेको मैले उहाँको सरदर जीवनलाई बुझ्नु मात्र होइन, उहाँको जीवनका भोगाइ र उहाँभित्रको क्षमतालाई पनि बुझ्नु हो । यसरी लामो समयदेखि निकट रही निरन्तर रूपले गीतहरू रेकर्ड गर्दै गर्दा अनि एउटै परिवारका सदस्यहरूजस्तै बन्दा उहाँलाई जसरी बुझेको छु, सोही कुराबाट प्रभावित भएर मैले यो लेख लेख्ने धृष्टता गरेको छु ।

प्रदीप क्षेत्रीको जन्म सन् १९७१ अक्टोबर १९ का दिन बाबा स्वर्गीय धर्म क्षेत्री र आमा स्वर्गीय लीला क्षेत्रीको कान्छो पुत्रको रूपमा खर्साङ, दिलाराम चियाबगान, सिपाइधुरा, फाजी गाउँ, दार्जिलिङमा भएको हो । आफू डेढ वर्षको हुँदा आमाको स्वर्गबास भएपछि आमाको मायाबाट विमुख हुन पुगनुभएका क्षेत्रीको पालनपोषण र हेरचाह बाबा र दाजुहरूबाट हुन थाल्यो । आफू बुझ्ने अवस्थामा उभिँदै गर्दा अत्यन्त मिठो स्वरमा बाबाको रामायण र महाभारत वाचनबाट आफू प्रभावित भएको कुरा प्रदीपमा ताजै छ भने आमाको माया कस्तो हुन्छ भन्नेसम्म अनुभूति गर्न नपाउनुभएका प्रदीपलाई अरूका आमाहरू देख्दा आफ्नै आमाजस्तै लाग्छन् ।

प्रदीप क्षेत्रीका सङ्गीतमा आफ्ना गीतहरू सुन्दै भावेश भुमरी 

प्रदीपका बाबाले रिपोर्टरको रूपमा कमानमा काम गर्नुहुन्थ्यो भने पछि क्लर्क हुनुभयो । त्यतिबेला आम्दानीका अन्य स्रोतहरू थिएनन् । घरपरिवार चलाउन निक्कै कठिन थियो । प्रदीपले भने स्कुलमा पढ्दै हुनुहुन्थ्यो । १२ वर्षको उमेरमा ५ कक्षा पढ्दापढ्दै उहाँले जीवनयापनको बाटो अपनाउनुपर्ने वाध्यता भयो । सोही कारण पढ्ने इच्छा हुँदाहुँदै पढाइ छाडेर कमानका कुल्ली कामहरूतिर लाग्नुभयो । सोही समयदेखि उहाँले चियाको पत्ती टिप्ने, बाटो बनाउने आदि कार्य गर्न थाल्नुभयो । त्यतिबेला उहाँको ज्याला १ रूपैयाँ ७५ पैसा थियो । कुल्ली र ज्यामी काम गर्दै गर्दा उहाँ सङ्गीततिर पनि आकर्षित हुन थाल्नुभयो । उहाँले कुल्की कामबाट सुका सुका गरी जोहो गरेको पैसाले हार्मोनियम किनी गीतहरू अभ्यास गर्न थाल्नुभयो । उहाँ एउटा घटना स्मरण गर्नुहुन्छ, ‘म रातिको समयमा टुकी बालेर गीत गाउँदै थिएँ, मेरो साथी जीवन राई तबला बजाउँदै हुनुहुन्थ्यो । त्यतिबेला अपरिचित दाजु ज्ञानलाल राई र परिचित दाजु अल्बर्ट राई बाहिर आउनुभएछ । ज्ञानलाल दाजुले मैले गाउँदै गरेको गीत सुनेर भित्र आउन सक्छौँ भनी सोध्नुभयो । मैले उहाँहरूलाई भित्र आउन दिएँ । उहाँले हाम्रा बारेमा राम्रो बजाएको र गाएको कुरा गर्नुभयो । उहाँले हामीलाई कहीँ सङ्गीत सिक्दै गरेको कुरा पनि सोध्नुभयो तर मैले कहीँ नसिकेको, केबल रहरले लागेको कुरा बताएँ । त्यसपछि उहाँले नै हामीलाई सङ्गीत कक्षाका लागि सोनादा लैजानुभयो । शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानले पनि त्यहीँ सङ्गीत सिक्दै हुनुहुन्थ्यो ।’

प्रदीप क्षेत्रीले सन् १९८१ देखि सोनादास्थित स्वर्गीय जगदीशचन्द्र राईबाट सङ्गीतको कक्षा लिनुभयो । त्यतिबेला सङ्गीत कक्षाको मासिक शुल्क रु. १० थियो । प्रदीप कुल्ली कामबाट दैनिक रु. २ः५० आर्जन गर्नुहुन्थ्यो । आफू बस्ने ठाउँबाट हिँडेर सोनादा पुग्न २ घन्टा अनि फर्किन २ घन्टा लाग्थ्यो । तर पनि उहाँले हरेक आइतबारको कक्षा नियमित रूपले लिँदै जानुभयो । सङ्गीतको कक्षामा यति गम्भीर बन्नुहुन्थ्यो कि उहाँमा एकप्रकारको पागलपन चढ्दै आएको थियो । गुरुले सिकाएका कुरा पूर्ण तयार पारी प्रस्तुत गर्दा प्राय स्याबासी पाउनुहुन्थ्यो । अहिले ६ महिनादेखि एक वर्ष लाग्ने कोर्श त्यतिबेला उहाँले एकै महिनामा तयार पार्नुभएको थियो । उहाँको यस्तो क्षमता देख्दा गुरुले एक सफल गायक बन्ने छौ पनि भन्नुभएको थियो । त्यहाँ ३ वर्ष सङ्गीतको कक्षा लिइसकेपछि घरकै अवस्थाका कारण त्यसलाई निरन्तरता दिन सक्नुभएन । घरको नाजुक आर्थिक अवस्थाका कारण र बाबाको वेवास्ताले गर्दा उहाँलाई मामा (काकाको साला) ले आर्मीमा भर्तीका लागि आगरा लैजानुभयो । भर्ती बन्द भएका कारण त्यतै एक वर्ष बसी खर्साङ फर्किनुभयो । त्यस समयदेखि उहाँ सिङ्गेल चियाकमानस्थित सोही मामाको घरमा बस्न थाल्नुभयो । त्यतिबेला उहाँको बाबाले कान्छी श्रीमती विवाह गर्नुभएको थियो ।

प्रदीप क्षेत्रीको घरमा भावेश भुमरी 

सन् १९८६ मा आन्दोलन चर्कंदै थियो । प्रदीप भने कुल्ली र ज्यामी काम गरेर आफ्नो जीवन यापन गर्नुहुन्थ्यो । एक दुई रूपैयाँ जोगाई फेरि पहिले सिकेकै ठाउँमा सङ्गीतको कक्षामा जोडिनुभयो । त्यतिबेला गुरुको बृद्ध अवस्था र आफूले टाढाबाट धाउनुपर्ने कारण गुरुले अर्को विकल्प बताउनुभयो । गुरुको सिफारिसअनुसार प्रदीप खर्साङका एक बङ्गाली गुरु सूर्जे रोयकहाँ जानुभयो । पहिलेका गुरुले गीतिगुञ्ज सङ्गीत विद्यालयबाटै परीक्षा दिन पठाउनुहुन्थ्यो । त्यही कारण उहाँले दोस्रो वर्षको कक्षाबाट सङ्गीतको कक्षालाई अगाडि बढाउनुभयो । त्यहीँबाट छैठौँ वर्षको विसारत गर्ने तयारीतिर लाग्नुभयो तर समय प्रतिकूल बन्न थाल्यो, अर्थात् सन् १९८८ मा उहाँ आफ्नो घर फर्किनुभयो । त्यतिबेला बाबाले कमानबाट रिटायर पाइसक्नुभएको थियो भने बदलीमा सानीआमाले कमानको काम गर्दै हुनुहुन्थ्यो ।

जेजस्तो परिस्थितिको सामना गरेर भए पनि सङ्गीतका कक्षाहरू लिँदै अगाडि बढ्नुभएका प्रदीपलाई शैक्षिक योग्यताको प्रमाणपत्रले पिरोल्न थाल्यो । सङ्गीतको विसारत परीक्षाका लागि माध्यमिक तहको योग्यता आवश्यक भएपछि उहाँको कक्षा रोकिने भयो । त्रिवेणी सङ्गीतका संस्थापकले उहाँको समस्या बुझी आफ्नो स्कुलमा गुरुको रूपमा कार्य गर्न भनेपछि प्रदीपले सङ्गीत प्रशिक्षकको जिम्मेवारी वहन गर्नुभयो । त्यतिबेला विद्यार्थीहरूको मासिक शुल्क रु. ५० थियो भने उहाँको तलब रु. १०० थियो । उहाँले शनिबार विद्यार्थीहरूलाई सङ्गीत सिकाउनुहुन्थ्यो । आइतबार भने उहाँ विद्यार्थी बनेर सङ्गीत सिक्न खर्साङ जानुहुन्थ्यो । सो विद्यालयमा कार्य गर्दै जाँदा त्यहाँका संस्थापकले उहाँलाई प्राइभेट परीक्षा दिई माध्यमिक परीक्षा उत्तीर्ण गर्न भनी महत्वपूर्ण राय दिएपछि उहाँ बडो मेहनतका साथ स्वअध्ययनतिर लाग्नुभयो । प्राइभेट पढेरै उहाँले सन् १९९३ मा हिन्दी साहित्य सम्मेलन इलाहावादबाट माध्यमिक तहको परीक्षा उत्तीर्ण गर्नुभयो । त्यस सफलतापछि उहाँका आगामी साङ्गीतिक बाटाहरू खुला भए ।

सन् १९९५ मा प्रदीप क्षेत्री राधा क्षेत्रीसँग वैवाहिक सम्बन्धमा जोडिनुभयो । उहाँ आफ्नो जन्मथलो खर्साङबाट दार्जिलिङको लेबुङ पुग्नुभयो र त्यतै बस्न थाल्नुभयो । लेबुङमा कामहरू पाइने थिएनन् । उहाँले राति होटलहरूमा गीत गाउने, ललित नृत्य छन्दम स्कुलबाट कार्यक्रमहरूमा बाहिर जाने जस्ता कार्य गर्न थाल्नुभयो । उहाँले त्यतिबेला लेबुङमा ज्यामी काम पनि गर्नुहुन्थ्यो । तिनै कामहरूबाट दुई चार रूपैँया जोहो गरेर जीवन यापनका साथै सङ्गीतको योग्यतालाई अगाडि बढाउनतिर लाग्नुभयो । सन् १९९७ मा प्रदीपले वङ्गीय सङ्गीत परिषदबाट एम म्युज (सङ्गीतरत्न) उत्तीर्ण गर्नुभयो । त्यसपछि पनि उहाँका दिनहरू सहज भएनन् । जीवन यापनका लागि उहाँले ज्यामीदेखि आफूले जानेका सबै काम गर्नुप¥यो ।

प्रदीप क्षेत्रीका सङ्गीतमा आफ्ना गीतहरू  रेकर्ड गर्दै भावेश भुमरी 

दुःखका पहाडहरू थेग्दै र सङ्घर्षका पाइलाहरू अगाडि बढाउँदै प्रदीपले सङ्गीतलाई अथाह माया गर्नुभयो । दुखीका पनि दिन फर्किन्छन् भन्ने कुरा उहाँलाई सन् १९९९ जनवरी २५ मा मात्र अनुभूति भयो, जुन बेला उहाँले गोरखाल्याण्ड क्षेत्रीय प्रशासन  सूचना एवम् संस्कृति विभाग दार्जिलिङको एक करार कर्मचारी बन्दै सङ्गीतकारको पदमा रहेर कार्य गर्ने अवसर पाउनुभयो । त्यतिबेला त्यहाँ पवन गोले, डेजी बराइली, हीरा रसाइली, गणेश शर्मालगायतका २२ जना कर्मचारी कलाकारहरू कार्यरत हुनुहुन्थ्यो । उहाँले हप्तामा ६ दिन सङ्गीतका कार्यहरूमा व्यस्त बन्नुपथ्र्यो । कुनै विशेष दिन, पर्व, शहिद दिवस, गिरी दिवस, भानुजयन्ती, स्वतन्त्रता दिवस आदिका लागि गीतहरू तयार पार्नुपथ्र्यो । त्यतिबेला उहाँको तलब रु. २४०० थियो ।

प्रदीप आफ्नो लगनशीलता र निरन्तरतामा डगमगाउनुभएन । उहाँले लेबुङदेखि दार्जिलिङ बजारसम्म पैदल हिँडेरै २६ वर्षको समय पार गर्नुभएको छ । बिहान ९ बजे लेबुङबाट ठाडो उकालो उक्लिनु र बेलुका ५ बजेपछि दार्जिलिङबाट सिधा लेबुङतिर ओरालो झर्नु उहाँका दैनिकीहरू हुन् । यसरी कार्य गर्दै जाँदा हाल उहाँ गोरखाल्याण्ड क्षेत्रीय प्रशासन  सूचना एवम् संस्कृति विभाग दार्जिलिङकै ‘ग्रेड सी’अन्तर्गत म्युजिक कम्पोजरको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ आफ्नो वर्तमान जीवनस्तरका बारेमा भन्नुहुन्छ, ‘अहिले मेरो तलबले म अनि मेरो परिवारको दैनिकी सहज रूपले चल्दै आएको छ ।’

जीवनका तमाम आरोहअवरोह पार गर्दै आउनुभएका प्रदीप क्षेत्रीको पहिलो सङ्गीत ‘कृष्ण भजन’लाई सन् १९९६ मा कलकत्ताकी एक बङ्गाली गायिकाले गाएकी थिइन् । यस भजनको एल्बम निस्के तापनि प्रदीपले हालसम्म एल्बम पाउनुभएको छैन । उहाँले दोस्रो गीतको रूपमा आफ्नै शब्द र सङ्गीतमा रहेको ‘बिरानो भएछु आफ्नै आँगनमा’ बोलको नेपाली गीत गायक सुधीर राईलाई दिनुभयो । सन् १९९७ मा यो गीत काठमाडौँस्थित सङ्गम स्टुडियोमा रेकर्ड हुँदा उहाँले बडो खुसीको अनुभूति गर्नुभयो । यो गीत ‘सुनको बिहानी’ एल्बमबाट सार्वजनिक भयो । त्यसपछि उहाँका सङ्गीतमा निरन्तर रूपले गीतहरू रेकर्ड हुन थाले भने दार्जिलिङ र नेपालका प्राय कलाकारहरूले गाउन थाले । कुमार सुब्बा, दावा ग्याल्मो, डेजी बराइली, पवन गोले, खगेन्द्र कालिकोटे, सुधीर राई, राजेन आले, मिलन चङ्खु, महेश सेवा, थुप्देन भुटिया, अञ्जु पन्त, कर्मग्याल्चेन बम्जन, दीपक लिम्बू, निखिता थापा आदिका स्वरमा आएका गीतहरूले प्रदीप क्षेत्रीलाई एक अब्बल सङ्गीतकारका रूपमा स्थापित गराए । प्रदीप क्षेत्रीद्वारा सङ्गीतबद्ध गीतिएल्बमहरू हुुन्, झरनाको सुर (आधुनिक गीतिएल्बम २०१२), एकमुठी घाम (आधुनिक गीतिएल्बम २०००), आमाको माया (आधुनिक गीतिएल्बम २००७), गोरखाको बासभूमि (आधुनिक गीतिएल्बम २००८), झक्ति साधना (भजनसङ्ग्रह २०१५) र भजनामृत (भजनसङ्ग्रह २०१७) । प्रदीपले हालसम्म सयौँ गीतमा सङ्गीत भरिसक्नुभएको छ भने उहाँका ४०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । रेकर्ड भएका गीतहरूमध्ये पवन गोलेको स्वरमा रहेको ‘मेरो घर’, सुधीर राईको स्वरमा रहेको ‘बिरानो भएछु’, थुप्देन भुटियाको स्वरमा रहेको ‘सुखी मनले बुझिदिन्न’ हीरा रसाइलीको स्वरमा रहेको ‘निम्तो बोकी गा’को चिठी’ र निखिता थापा अनि महेश सेवाको स्वरमा रहेको ‘मेरो छेउमा दिलको फूल’ गीतहरू स्रोताहरूमाझ निक्कै लोकप्रिय बन्दै आएका छन् । यसरी लामो समय सङ्गीत साधनामा लाग्दै आउनुभएका प्रदीप क्षेत्रीले आफ्नो रचना र सङ्गीतमा रहेको दुर्गा भजन गत साल आफ्नै स्वरमा रेकर्ड गराउनुभयो । यस भजनलाई आफ्नै सक्रियतामा भिडियो बनाई युटुबबाट सार्वजनिकसमेत गर्नुभएको छ ।

दार्जिलिङस्थित गोपाल योञ्जनको प्रतिमाअगाडि उभिँदै सङ्गीतकार प्रदीप क्षेत्री

नेपाली सङ्गीतक्षेत्रमा एक अब्बल सङगीतकारको रूपमा उभिन सफल प्रदीप क्षेत्रीले विभिन्न मानसम्मान पनि प्राप्त गर्दै आउनुभएको छ । प्रदीपले सन् १९९४ मा इलाहावद अलयन्डिया लघुनाट्य प्रतियोगितामा सङ्गीततर्फको सम्मानपत्र प्राप्त गर्नुभयो । सन् १९९५ देखि २००६ सम्म गोरखा दुःख निवारक सम्मेलनको जिल्लास्तरीय सङ्गीत प्रतियोगितामा हरेक वर्ष सङ्गीतमा प्रथम स्थान ओगट्दै आउनुभयो । सन् १९९६ मा खोरखा दुःख निवारक सम्मेलन, कालिङपोङद्वारा आयोजित जिल्लास्तरीय सङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार बन्न सफल हुनुभयो । १९९९ मा श्रद्धाञ्जली परिवार लेबुङ, १९९९ मै रगभिल धाम र २००० मा मङ्पु दार्जिलिङ मिलन संघबाट सम्मानपत्र प्राप्त गर्नुभयो । २००९ मा त्रिवेणी सङ्गीतालय, दार्जिलिङबाट सम्मानपत्र प्राप्त गर्नुभयो भने २००० मा १९५५ साल नामक भिडियो चलचित्र ग्रुपको सङ्गीततर्फको सम्मानपत्र पाउनुभयो । २०११ मा साधनाकला केन्द्र दार्जिलिङ र वि. सं. २०७३ मा शिवशक्तिधाम हेटौँडाबाट सम्मानपत्र पनि प्राप्त गर्नुभयो । वि. सं. २०७४ मा सुरभि कलाकेन्द्र दमक, झापाबाट अभिननन्दित उहाँले सन् २०१६ मा शिवशक्तिधाम लेबुङबाट सम्मानपत्र ग्रहण गर्नुभयो । सन् २०१८ मा ‘दार्जिलिङ पहाडी प्रतिभाको खोज’मा सम्मानपत्र प्राप्त गर्नुभएका प्रदीपले २०२२ मा नाद पुस्तक प्रकाशन समूह दार्जिलिङ र २०२२ मै बेन्नेकवर्ण कल्चर विङ दार्जिलिङबाट समेत सम्मानपत्र प्राप्त गर्नुभयो ।

दुःखका गर्तहरूबाट उठेर जीवनका सङ्घर्षहरूमा निरन्तर रूपले पाइला चाल्दै आउनुभएका प्रदीपको जीवनकथा कुनै चलचित्रको मार्मिक कथाजस्तै लाग्छ । जीवनका यति जटिल भोगाइ र अनुभवबाट खारिनुभएका प्रदीपमा ईश्र्या र अहमता भने कहीँकतै भेटिँदैन । एक सामान्य मान्छेको दैनिकीमा जस्तै देखिनुहुने प्रदीपको अथाह क्षमता र परिपक्व ज्ञानलाई सदुपयोग गर्दै गर्ने हो भने नेपाली सङ्गीतले धेरै कुरा पाउन सक्छ । बिहान बेलुका लेबुङस्थित आफ्नै घरमा धेरै गीतकारका गीतहरूमा सङ्गीतका सुरहरू खोज्दै समयका श्रेणीहरू पार गरिरहनुभएका प्रदीपको बैठक कोठामा धेरै डायरीहरू सुरक्षित छन् । ती डायरीमा लेखिएका सयौँ गीतका सङ्गीत कण्ड पार्दै आउनुभएका प्रदीप हल्लाको दुनियामा नभई साधनाको संसारमा हराइरहनुभएको छ ।

प्रदीप सङ्गीत बजारका केही गल्ली र बाटाहरूमा देखाइने साङ्गीतिक कुण्ठा र ध्रुत्याइँ अनि फैलाइने अफवाहभन्दा टाढा हुनुहुन्छ । उहाँलाई कसैको चाकडी गर्नु छैन र छैन साङ्गीतिक तिकडममा आर्थिक आशक्ति । यस कारण पनि उहाँ सङ्गीतको चर्को बजारमा भेटिनुहुन्न । उहाँभित्रको क्षमतालाई केबल विद्यार्थीहरूले ग्रहण गर्छन् । यसैले होला, सङ्गीत प्रशिक्षणबाट सयौँ विद्यार्थीहरू लाभान्वित भइरहेका छन् । विद्यार्थीहरूभन्दा माथि छु भन्नेहरूले कि त पर्गेल्छन् उहाँलाई अवसरहरूबाट कि त गुम्नाम राखिदिन्छन् उहाँको नाम । यस्तो हुँदाहुँदै पनि सत्य सत्य नै हुन्छ । इतिहास सत्यकै बन्छ भन्ने मान्यतामा प्रदीपले त्यही सुन्दर इतिहासको वारि उभिएर निरन्तर साधनाको धुन गुञ्जाइरहनुभएको छ र इतिहास मन्त्रमुग्ध बनेर सुनिरहेछ तिनै धुन ।

 

– गोदावरी, ललितपुर, नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार