सङ्गीतकार दिनेश सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ बजारमा

  गोमा राना  1260 पटक हेरिएको

ललितपुर । सुप्रसिद्ध सङ्गीतकार तथा गायक दिनेश सुब्बाको लेखनिबन्ध र संस्मरणसङ्ग्रह ‘मेरो भाग्यमानी बाजा’लाई विशिष्ट गायक दीप श्रेष्ठ र विशिष्ट सङ्गीतकार प्रकाश गुरुङले हालै काठमाडौँमा एक कार्यक्रमका बीच संयुक्त रुपमा विमोचन गरेका छन् । विमोचित पुस्तकमाथि भूपाल राई, प्रदीप बम्जन, बुलु मुकारुङ र सुबासचन्द्र ढुङ्गेले समीक्षा गरेका छन् ।

 

पचासको दशकमै नेपाली आधुनिक गीतगायन र सङ्गीतसिर्जनामा प्रसिद्धि कमाइसकेका दिनेश सुब्बा वि. सं. २०५३ मा हङकङ पसे र सोहीसमयदेखि हङकङमै रही निरन्तर रुपले सङ्गीत साधनामा क्रियाशील रहे भने बेलाबेला लेखनमा पनि कलम चलाउँदे आए । हङकङ बसाइँकै क्रममा उनले लेखेका लेखनिबन्ध र संस्मरणहरू लाई ‘मेरो भाग्यमानी बाजामा

सङ्गृहीत गरिएको हो । यस पुस्तक विमोचन कार्यक्रम अलि फरक तरिकाले आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालक भावेश भुमरीले सुरुमै कार्यक्रमको स्वरुपका बारेमा जानकारी दिँदै भने, ‘आजको यस विमोचन कार्यक्रममा सभापति हुनुहुन्न र हुनुहुन्न प्रमुख अतिथि पनि । दुईजना विशिष्ट व्यक्तित्वहरू लाई विशेष अतिथि बनाई उहाँहरू बाटै ‘मेरो भाग्यमानी बाजा’को विमोचन गरिने छ । यस अर्थमा यो कार्यक्रम अनौपचारिक हो । यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण व्यक्तित्वहरू समान हुनुहुन्छ । अतः यहाँ विमोचित पुस्तकमाथि बोल्ने व्यक्तित्वहरू भन्दा अरु कसैको नाम लिइने छैन । सबैलाई आआफ्ना स्थानमा आसनग्रहण गर्न हार्दिक अनुरोध गर्दछु ।’ त्यसपछि भुमरीले दिनेश सुब्बाका बारेमा संक्षिप्त कुरा राख्दै स्वागत मन्तव्यका लागि गायिका लोचन भट्टाईलाई अनुरोध गरे । लोचनले दिनेश सुब्बाको सङ्गीतमा आफूले गीत गाउँदाको स्मरण गरिन् । गायक दीप श्रेष्ठ र सङ्गीतकार प्रकाश गुरुङले संयुक्त रुपमा मेरो भाग्यमानी बाजा पुस्तक विमोचन गरेपछि विमोचित पुस्तकको समीक्षा गर्दै कवि तथा गीतकार भूपाल राईले दिनेश सुब्बाका सङ्गीत सिर्जना र लगावको प्रशंसा गरे । उनले दिनेश सुब्बाले लेखनलाई निरन्तरता दिँदै जानुपर्नेमा पनि जोड दिए । गायक प्रदीप बम्जनले पनि विमोचित पुस्तकको समीक्षा गर्दै दिनेश सुब्बाकै सङ्गीतमा गाएको गीतले आफूलाई परिचित बनाएको कुरा व्यक्त गरे । सङगीतकार बुलु मुकारुङले दिनेश सुब्बाको लेखनको प्रशंसा गर्दै यस पुस्तकले नेपाली सङ्गीतमा धेरै प्रश्न उठाएको् कुरा व्यक्त गरे । गीतकार सुबासचन्द्र ढुङ्गेलले दिनेश सुब्बाका लेखनिबन्धहरू अत्यन्त पठनीय र कहिल्यै पुराना नलाग्ने छन् भन्दै आफ्ना गीतहरूमा सङ्गीत भर्दा र रेडियो नेपालमा रेकर्ड गर्दाका कुरा पलहरू को स्मरण गरे ।

सङ्गीतकार प्रकाश गुरुङले शुभकामना मन्तव्य दिँदै दिनेश सुब्बाको सङ्गीतसिर्जना र लेखनको निरन्तरताको कामना गरे । गायक दीप श्रेष्ठले आफूले सङगीतकार दिनेश सुब्बाबाट धेरै साङ्गीतिक ज्ञान पाएको कुरा राखे । कार्यक्रमलाई सम्बोधन गर्दै विमोचित पुस्तकका लेखक दिनेश सुब्बाले यी लेखहरू हङकङको व्यस्त समयबाट थोरै समय निकालेर लेख्दै फेसबुकमा पोस्ट गरेको कुरा प्रस्ट्याए । उनले फेसबुककै कारण यो पुस्तक प्रकाशन गर्न सक्षम भएको कुरा पनि राखे । पुस्तक सम्पादनलगायतका कार्यमा हरतरहले सहयोग गरेका भावेश भुमरीलाई धन्यवाद पनि दिए । कार्यक्रममा कवि तथा गीतकार श्रवण मुकारुङ, साब्लाबुङका प्रधानसम्पादक राजकुमार राई, गीतकार बुद्धवीर लामा, गायक ज्ञान सुब्बा, कवि चन्द मादेन आन्छन, कवि डा. विष्णु राई, सङ्गीतकार वसन्त मुकारुङ, कवि टङ्क सम्बाहाङ्फे, सङ्गीतकार टीका भण्डारी, मगर संघ युकेका निवर्तमान अध्यक्ष सुनिल राना, गीतकार जानुकार राई, गायिका सुकमीत गुरुङ, कवि नानु राना, सङ्गीतकार शिलाबहादुर मोक्तान, गायिका विमला राई, गायक सत्यराज आचार्य, गायिका पवित्र सुब्बा, गायक स्वरुपराज, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका कुन्ती मोक्तान, गीतकार विप्लव प्रतीक, सङ्गीतकार लक्ष्मण शेष, सङ्गीतकार कुमार थापा, साहित्यकार डीआर, गीतकार टीका चाम्लिङलगायतका दर्जनौ स्रष्टाहरू को उपस्थिति रहेको थियो । यस पुस्तकलाई अनिता गुरुङ (सुब्बा) ले प्रकाशन गरेकी छन् भने यसमा ४० वटा लेखनिबन्ध र संस्रमणहरू रहेका छन् । भावेश भुमरीको भूमिका रहेको यस पुस्तकको मूल्य रु. ३५० छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार