सिन्दूरको शक्ति

(कथा)

  कमला राना  640 पटक हेरिएको

 

विकटमा जन्मिएकी भएपनि पानकली भाग्यमानीहरूमध्येकी एक थिई । सायद ठकुरी परिवारमा जन्मिएकीले पनि हुन सक्छ, उसलाई खानलाउनको दुःख थिएन । विकट भनेर चिनिने कर्णालीको मुगु त्यैमाथि खत्याड गाउँपालिकाको रोल गाउँमा हुर्किएकी पानकली शाही उमेरले १६ पुग्दै थिई । गहुँगोरी, हिस्सी र गोरो अनुहारकी । सर्लक्क परेको जिउ, चट्ट छिनेको कम्मर अनि कम्मरसम्म आइपुग्ने कालो कपाल । गाउँमा माध्यमिक शिक्षा पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि उसका आमाबुबाले काठमाडौँमा राखेर छोरीलाई पढाउने रहर गरे । पानकलीलाई भने किन किन गाउँ छाडेर अन्त जान मन थिएन । उसले आमाबुबालाई अनुनय गरी, ‘आमाबुबा, बरु म पढ्दिनँ, जान्न शहर !’ चार भाइ छोराहरूपछि जन्माएकी सबैभन्दा पछिकी छोरी थिई ऊ । गाउँमा अरूको छोरीहरूभन्दा पढेलेखेकी होओस्, राम्रो स्थायी जागिर खाओस् । अरूभन्दा फरक होओस् भन्ने चाहना थियो आमाबुबाको । त्यसैले उनीहरूको रहरलाई पानकलीको अनुनयले रोक्न सकेन । अन्ततः २०५७ साल असार महिनामा उनीहरूले छोरीलाई काठमाडौँको एउटा कलेजमा भर्ना गरिदिए । कोठा थियो ढुङ्गेधारा नर्सरीचोकमा ।

पानकलीलाई बानी नहुञ्जेल दुई महिनासम्म आमाबुबा उतै ढुङ्गेधाराको कोठामै बसे । कलेजको गेटसम्म उनीहरू पालो गरेर जान्थे । माने लिऊँ कि पानकली भर्खरै शिशु कक्षामा भर्ना गरिएकी सानी बच्ची हो । पानकली दिउँसो कलेजमा पढुञ्जेल उनीहरू पनि कलेजवरिपरि नै हुन्थे । विस्तारै पानकली कलेज र काठमाडौँमा घुलमिल हुन थाली । काठमाडौँका हावापानी, वातावरण र गल्लीहरू चिन्न थाली । कोठाको माथिल्लो फ्याल्ट र तल्लो फ्ल्याटमा बस्ने सबैसँग घुलमिल हुन थालेपछि आमाबुबा ढुक्क भए कि अब ऊ एक्लै पनि बस्न सक्छे भनेर । माथिल्लो फ्ल्याटमा बस्ने डडेल्धुराका एकजना मास्टर थिए । उनी बिहानबेलुका बोर्डिङका भुराहरूलाई ट्युशन पढाउँथे भने दिउँसो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा मास्टर डिग्री पढ्थे । उनको नाम थियोे शरद जोशी । उनैको रेखदेखको जिम्मा लगाएर उनीहरू गाउँ फर्के ।

समय एकनासले आफ्नो रफ्तारमा कुदिरह्यो । पानकलीले पनि समयसँगै आफ्ना तनमनलाई पछिपछि कुदाइरही । गाह्रोसाह्रो पर्दा ऊ शरदलाई भन्ने गर्थी । शरदले पनि राम्रैसँग उसको ख्याल गर्थे । धेरैजसो शरद काममा नै व्यस्त हुनाले उनी पानी भर्न भ्याउँदैनथे । त्यसैले उनको रुममा खाना कहिलेकाहीँ मात्रै पाक्थ्यो । ‘पानकलीलाई हेरविचार गर्दिनू ।’ भन्ने जिम्मेवारी पाएको उनले उल्टो पानकलीको हेरविचार पाउन थाले । पानकली पानी भरिदिने, खाना पकाइदिने र कहिलेकाहीँ त कपडासमेत धोइदिने गर्थी । पानकली स्नातक दोस्रो वर्ष पढ्दै थिई, त्यस्तै शरद स्नातकोत्तर दोस्रो वर्ष । दुवैजना नजिकैका आफन्त बनिसकेका थिए ।

शरदको घरबाट कोही आउँदैनथे । पानकलीको घरबाट भने कहिले दाइहरू, कहिले आमाबुबा आइरहन्थे । मार्सी चामल, सिमी, गहुँ÷जौको पिठो, कर्णालीको माछाको सुकुटी, टिमुर आदि नासो आइरहन्थे । शरदले पढाउने भएकाले वरिपरिका सबैजनाले ‘शरद सर’ भनेर बोलाउँथे । पानकलीले पनि ‘शरद सर’ भनेर सम्बोधन गर्थी भने शरदले उसलाई ‘पन्नु’ भनेर जिस्क्याउँदा जिस्क्याउदै नाम नै ‘पन्यु’ भैसकेको थियो । पानकलीलाई अरूले ‘पन्यु’ भन्दा रिस उठ्थ्यो तर शरदले ‘पन्यु’ भनेर बोलाको भने मन पथ्र्यो । ऊ शरदलाई तुरुन्तै ‘डाडु’ भनी जबाफ पनि लगाउँथी । शरद चुप लाग्थे । उनी यताउता गएपछि पानकलीलाई चाहिँ पछुतो लाग्थ्यो, आफूभन्दा अग्रजलाई नाम राखेँ भनेर । फेरि सम्झिन्थी, ‘आ… मलाई नि त किन पन्यु भन्नू त !’

शरद हँसिला र फूर्तिला थिए । कहिलेकाहीँ उनी पानकलीसँग जिस्कने गर्थे ।

‘आज पन्युले पकाको नखाए त मलाई दिनभरि पढ्ने र काम गर्ने जाँगर नि आउँदैन ।’ पानकली पनि के कम, प्रत्युत्तर दिइहाल्थी, ‘पन्युले त पस्कने हो, केको पकाउने ?’ दुवैजना हाँस्थे, ‘……हा हा हा !’

स्नातक तह दोस्रो वर्षको परीक्षा आयो । पानकलीलाई शरदले परीक्षाभरि हेरविचार गरे । नजानेका कुराहरू सिकाइदिए । बिहानबेलुकी खाना पकाएर सघाए । ‘अस्ति अस्ति पन्युले पकाको खाइयो, अब परीक्षाभरि चैँ डाडुले पकाको खाऊ ।’ आफूलाई डाडु भनेकोमा शरदले चित्त दुखाएका रहेनछन् भन्ने भान भयो पानकलीलाई । पानकलीका आमाबाले ‘हेरविचार गरिदिनू है शरद सर ।’ भनेर गएको जिम्मेवारी चैँ धन्न उनले यसपालि निभाए । परीक्षाको अन्तिम दिन जाँच सकिएपछि उनीहरू पहिलोचोटि चोभार घुम्न गए । पानकली खुसी भई । परीक्षाभरि सघाएको गुनले पानकली नतमस्तक थिई । ऊ शरदप्रति झनझन् नजिक हुन थाली । शरद एक्कासि बिरामी परे । उनी बिरामी हुँदा पानकली आफैँ बिरामी भएझैँ गम्भीर भई । शरदलाई मेडिकल लगेर दबाई ल्याई । कलेज जान मन लाग्दैनथ्यो, दिनभरि शरदसँगै बस्थी । दबाई र खानेकुराको ख्याल राख्थी । उसको निरन्तर हेरविचारले शरद छिट्टै निको भए । आफूलाई गाह्रो अप्ठ्यारो पर्दा साथ दिएकाले शरदलाई पानकली आफ्नै लाग्न थाली ।

त्यसपछि त झन् उनीहरूको एकअर्कालाई बोलाउने नाम नै ‘डाडु’ र ‘पन्यु’ हुन थाल्यो । शहरको ठाउँबस्ती, एउटै घरमा कोठापिच्छे फरक फरक जिल्लाका मानिसहरू ! सानो कोठा ठूलो मन अनि ठूलो कोठा सानो मन भएका जमातहरूको एक घर, अनेक समुदाय ! पानकली र शरदको डेरा घरमा पनि धेरै ठाउँबाट आएका मानिसहरू बस्थे । कोही कसैको मतलब हुँदैनथ्यो । उनीहरू एक्लै गाह्रोसाह्रो पर्दा दुवैजना एकअर्कोलाई सघाउँथे । दशैँतिहारबाहेकका चाडहरूमा सँगै बसेर मनाउँथे । समय आफ्नै गतिमा चल्दै थियो उनीहरूको सम्बन्ध प्रगाढ बन्दै गयो । पानकलीविनाको शरद र शरदविनाको पानकली अब असम्भव हुँदै गयो ।

एक दिन शरद डडेल्धुरा गाउँ जानुपर्ने भयो । आमाले घरमा इमर्जेन्सी काम परेकाले तुरुन्तै आउन भनेर छिमेकी दाइसँग खबर पठाइछन् । शरदले पानकलीलाई आफू ५ दिनमा गाउँबाट फर्कन्छु, राम्रोसँग बस्नू है भनेर गए । पानकलीलाई ५ दिन बिताउन निकै मुस्किल भयो । न खान मन लाग्यो, न पढ्न नै । ऊ टोलाएर बस्थी । घन्टाघन्टा हिसाब गरेर शरद आउने बाटो कुरेर बस्थी । शरद गाउँबाट फर्कने दिन पानकली ढुङ्गेधारा चोकसम्म लिन गई । गाडीबाट शरद ओर्लेको देख्नेबित्तिकै ऊ अँगालो हाल्दै बेस्सरी रोई । आफू शरदविना एकछिन पनि बस्न नसक्ने बताई । शरदले जिस्क्याउँदै भने, ‘हैट लाटी, डाडुबिना पन्यु र पन्यु बिना डाडु नि भान्सामा रहन सक्छन् त ? मलाई पनि त उत्तिकै याद आएको थियो तिम्रो ।’ दुवैजना हाँस्दै रुमतिर लागे । घरबाट ल्याएको सामानको पोको खोल्दै र गफ गर्दै उनीहरू आआफ्ना ५/५ दिनको बयान गर्न थाले । एउटा झोलामा पानकलीको आँखा पुग्यो । झोलामा थोरै किताबहरू, बिल, पासपोर्ट साइजका फोटा र कागजपत्रहरू थिए । पानकलीले शरदको बाहेक अरू दुई बच्चाहरू र एकजना महिलाका फोटाहरू चिन्न सकिन । उसले सोधी । हल्का रूपमा शरदले जबाफ दिए । ‘गाउँकी दिदी र उनका छोराहरू हुन् ।’

पानकली र शरदको सम्बन्ध झनझन् चुलिँदै गयो । अब दुवैजनाले एकअर्काको घरमा थाहा पाउलान् कि भन्ने त्रास बढ्दै थियो । दुवैजना एक अर्काविना बाँच्न नसक्ने अवस्थामा पुगेका थिए । त्यस्तैमा शरदले एकदिन पानकलीलाई सम्झाउँदै भने, ‘हेर पन्यु ! हामी दुवैजना पढ्ने बुझ्ने छौँ । नेपालको जागिरले जिउन गाह्रो हुन्छ । म आईईएलटीएसको जाँच दिन्छु । राम्रो नम्बर ल्याउन पाइयो भने अष्ट्रेलिया जान पाइन्छ । म उता जान्छु अनि तिमीलाई बोलाउँछु । उता गएपछि बिहे गरौँला । उता पुगेपछि घरपरिवारलाई सम्झाउन नि सजिलो हुन्छ, नत्र यता हामी दुई एक हुने कुरा सम्भव नै छैन । तिमी ठकुरीकी छोरी, म क्षेत्रीको छोरो । मेरो घरमा नि तिमीलाई स्वीकार्न सक्दैनन् र मलाई तिम्रा आमाबुबाले नि स्वीकार्दैनन । अब हामी एकआपसमा बडो इमानदारीका साथ अगाडि बढ्नुपर्छ । दुवैजनाले आईएलटीएस दिनका लागि खर्चको जोहो गर्नुपर्छ । तिमी एउटा बोर्डिङ स्कुलमा पढाऊ, म आईएलटीएसको तयारी गर्छु ।

पानकलीलाई उसको कुरा चित्त बुझ्यो । उनीहरू दुवैजनाको सल्लाहअनुसार पानकली पढ्न छाडेर पढाउनतिर लागी, आफूहरूको जिन्दगीको बाटो निर्माणका लागि कमाउन थाली । ऊ एउटा प्राइभेट बोर्डिङ स्कुलमा दिउँसो पढाउँथी । बिहान बेलुका पनि ट्युशन पढाउँथी भने शरद बिहान बेलुका खान पकाउने र दिनभरि जाँचको तयारी गर्ने काममा खटिन थाले । आईएलटीएसको जाँच भयो, केही दिनपछि रिजल्ट पनि आयो । उनले ७ नम्बर ल्याएर अष्ट्रेलिया जानका लागि योग्यता हासिल गरे । दुवैजाना निकै खुसी भए । रिजल्ट भएकै साँझ ५ बजे उनीहरू कीर्तिपुरको डाँडामा रहेको उमामहेश्वरी मन्दिर गएर त्यहीँ सिन्दूर हाले । बेलुकी ८ बजे रुममा फर्किए । रुममा आएर उनीहरू सहयात्री जीवनका बारेमा योजनाहरू बनाउन थाले । अष्ट्रेलियाको सपना साकार पार्ने र जिन्दगीभरि हाँसीखुसी बिताउने अभिप्रायका साथ उनीहरूले जिन्दगीको मार्गचित्र कोर्न थाले । दुवैजनाले आआफ्ना परिवारलाई सम्बन्धका बारेमा अहिल्यै नभन्ने भनेर त्यसैअनुसार रणनीति बनाउन कस्सिए । सम्बन्ध झनझन् कस्सिँदै गयो । सिन्दूरको रक्षा गर्न र सम्बन्धलाई बलियो बनाउने जिम्मेवारी शरदलाई भन्दा पानकलीलाई बढी थियो किनभने ऊ ठकुरीकी एक मात्रै छोरी त्यहीमाथि आमाबुबाले ठूलो मान्छे बनाउने रहरले शहर ल्याएर पढाएका, भोलि कसैले घरमा कुरा लाइदियो भने बर्बाद ! उता शरदलाई गुमाउनुपर्ने, यता आमाबुबाले तिरस्कार गर्ने पीर थियोे । केही महिनापछि शरदको अष्ट्रेलिया जाने भिसा आयो । दुवैजना हर्षविभोर भए । अब भने उनीहरूको सपना छिटै पूरा हुनेमा दुवैजना ढुक्क थिए ।

शरद अष्ट्रेलिया जाने दिन नजिकिँदै थियो भने उनीहरूबीचको सम्बन्ध झनझन् झाँगिँदै थियो । पानकलीले शरदलाई आफूहरूको सम्बन्धका बारेमा घरमा भनेर सँगै डिपेन्डेन्टमा जाऔँ न त समेत भनी । तर शरदले आमाबुबाको चित्त दुखाएर जिन्दगीमा हाँस्न र बाँच्न नसकिने, बरु पछि वातावरण मिलाएर उहाँहरूको आशीर्वाद लिनुपर्छ भनेर फकाउँथ्यो । पानकलीले शरदलाई ढिपी लगाउन पनि सक्दैनथी किनभने ऊ निकै समझदार थिई । शरदको घरपरिवार आर्थिक हिसाबले अलि कमजोर थियो । उसलाई अष्ट्रेलिया जानका लागि खर्च जुटाउन गाह्रो भयो । पानकलीले घरमा आफ्नो आमाबुबासँग शरद सरले सापटी मागेको कुरा बनाएर पैसा मागी । उनीहरूले सहयोग गर्ने मौका यही नै हो भनी गाउँमा रिन खोजेर ल्याए । शरद अष्ट्रेलिया उड्ने समयमा पानकलीका आमाबुबा पनि आए तर उसको घर डडेल्धुराबाट कोही पनि आएनन् ।

राति ११ बजेको थियोे, पानकली शरदको फ्लाइटमा थिई । ऊ जब घरीघरी शरदको अनुहार नियाल्थी, उसको मन उर्लेर आउँथ्यो, अँगालो हालूँ हालूँ लाग्थ्यो तर उसका आमाबुबा उनीहरूसँगै थिए । त्यसैले आफूलाई निकै नियन्त्रणमा राखेर आँसु लुकेर पुछ्थी । शरदले बेलाबेला उसको भावलाई बुझेर सम्झाउने गथ्र्यो, ‘ए पन्यु ! तिमी पनि अष्ट्रेलिया जानुपर्छ है, तिम्रो नि पालो आउँछ एकदिन । बरु राम्रोसँग पढ्नू, आफ्नो ख्याल गर्नू ।’ सधैँ पन्यु भन्दा हाँस्ने पानकली त्यो दिन हाँस्न सकिन न त ‘डाडु’ भनेर जिस्किन नै । उल्टो आँखाबाट बरर आँसु झार्दै उता फर्केर पुछ्थी, आमाबुबाले देख्लान् भन्ने पीरले । बिहान भयो, उनीहरू त्रिभुवन विमानस्थलतिर लागे । प्रस्थान शाखातिरबाट सुट्केस गुडाउँदै शरद पानकलीलाई एकोहोरो नियाल्दै र आँसु झार्दै अगाडि बढ्यो ।

शरद उडेपछि उनीहरू ट्याक्सी लिएर ढुङगेधारा आइपुगे । पानकलीलाई जिन्दगीकै नरमाइलो दिन लाग्यो । शरदको मायालु हातले लाइदिएको मधुरो सिन्दूर विस्तारै स्पर्श गरी । उसलाई किन किन मन बटारिएर आयो, मनको बाँध फुटेर आयो । बाथरुमभित्र बसेर उसले धोको पुगुञ्जेल आँसु बगाई । टाउको दुखेको बहाना गरी ऊ ओछ्यानमा सुती । भोलिपल्ट साँझ ८ बजे शरदले आफू राम्रोसँग अष्ट्रेलिया आइपुगेको भनेर मेसेज छाडेको रहेछ । अलि मत्थर भो उसको चिन्ता । आमाबुबा केही दिन बसेर गाउँ फर्के । पानकलीको दिनचर्या विस्तारै सामान्य बन्दै गयो । हरेक साँझ स्कुल छुट्टी भएपछि शरदसँग बोल्न ऊ साइबर पस्ने गर्थी । कहिलेकाहीँ अनलाइन भेट हुन्थ्यो, कहिलेकाहीँ अफलाइन मेसेज छाडेर राख्थे एकअर्काले । महिना बित्यो, यसैगरी सञ्चार चलिरहेको थियो ।

एकदिन पानकली बोर्डिङ जान हतार हतार ड्रेस लाउँदै थिई । उसलाई रिँगटा लाग्यो, वाकवाकी लाग्यो । ऊ बोर्डिङ जान सकिन । चेक गर्न नजिकैको मेडिकल गई । डाक्टरको रिपोर्ट आयो, ‘….तपाईं प्रेग्नेन्ट हुनुभएको छ, बधाई !“ यस्तो रिपोर्ट पाउँदा ऊ छाँगाबाट खसेझैँ भई । ऊ छिटोछिटो कोठामा आई । रुनु कि हाँस्नु भयो उसलाई । कसलाई भनुँ, के भनुँ भयो । शरदलाई सुनाउन ऊ साइबर गई । भाग्यवश त्यो दिन शरदको कलेज बिदा रहेछ । उनी अनलाइनमै भेटिए । दुई महिनापछि बोल्न र देख्न पाउँदा पानकलीको खुसीको सीमा थिएन, त्यहीमाथि डाक्टरको कुरा सुनाउन आतुर थिई । उसले भनी, ‘अब मलाई छिट्टै बोलाउनू, म प्रेग्नेन्ट भएकी छु । बिहेअगाडि गर्भवती भएको कुरा आमाबुबाले थाहा पाउनुभयो भने त हामी बर्बाद नै हुन्छौँ ।’ यस्तो कुरा सुनेपछि शरदको होसहवास नै उड्यो । तुरुन्तै अफलाइन भए । पानकलीले निकैबेर कुरिरही तर उनी अनलाइन आएनन् । ऊ भित्रभित्र मख्ख थिई । अब सुनाउने कुरा सुनाइहालेपछि शरदले छिट्टै प्रोसेस गरेर बोलाउँछ भन्नेमा ऊ ढुक्क थिई । उता शरदलाई भने त्यो कुराले पर्नु पीर प¥यो । सयवटा अरिङ्गालले एकैपटक चिलेझैँ भयो । आवेशमा गरेको कर्मप्रति पछुतो लागेर आयो । नहोस् पनि कसरी, उता डडेल्धुराको गाउँमा श्रीमती र दुई छोरा थिए । एकजना विवाहित पुरुषले भर्खरकी कुमारी केटीप्रति लगाउने गिद्धे नजर अनि यौन उन्मादले डसेर घाइते बनाई स्वार्थ पूरा गरेपछि विदेशिने रणनीतिले आफैँलाई घोचेर आयो । उनले सोचे, ‘अब कसरी माहोल मिलाउने ? पानकलीलाई सत्य थाहा भयो भने के हालत होला ? उसले गरेको चोखो अनि निष्कपट माया र सम्मानमा चोट पुग्यो भने म जिउँदै मरेसरी हुन्छु । मैले विरुवा रोप्नेबित्तिकै कति छिटो हतार गरेँ फल चाख्न, हे भगवान ! पानकलीका आमाबुबाले आफ्नो सम्झेर अष्ट्रेलिया आउन जोहो गरिदिएको खर्च कसरी भर्ने ?’ यस्तै यस्तै सोचाइले उनको दिमागमा राज्य जमाउन थाल्यो ।

भोलिपल्ट बोर्डिङबाट फर्केपछि पानकली फेरि साइबर पसी । शरदलाई अनलाइन भेटिन, मेसेज लेखेर छाडी, ‘प्रिय शरद ! हिजो खुसीको कुरा सुनाउन मात्रै भ्याएकी थिएँ, नेट गैहाल्यो, भेट डामाडोल भयो । नेटले भिलेन रोल खेलेपनि हाम्रो भेट छिट्टै हुने छ भन्ने विश्वासमा छु । म बुझ्न सक्छु, मलाई जस्तै तपाईंलाई पनि भेट्न हतार भएको छ, त्यसैले मलाई त्यता लैजाने प्रोसेस गर्न लाग्नुभएकाले अनलाइन आउन नभ्याउनु भएको होला । आफ्नो ख्याल राख्नू है ।’ शरदले मेसेज पढे, आँसु थाम्न सकेनन् । अष्ट्रेलिया आउन उसलाई गरेको ब्लाकमेलिङले उनैलाई नराम्रोसँग खायो, रिप्लाई लेख्न सकेनन् । त्यो रात त्यसै बित्यो । भोलिपल्ट आफूले श्रीमती र छोराहरू अनि पानकलीलाई एकैपटक धोका दिएको, आफू पापी भएको भन्दै उनी छाती पिटिपिटी रुन थाले । काममा जान पनि सकेनन् । कलेज जान पनि सकेनन् । शारीरिक र मानसिक छट्पटीले उनको स्वास्थ्यअवस्था निकै कमजोर भयो । ओछ्यानमै थला परे । यता पानकलीको गर्भमा भ्रूण हुर्कंदै गइरहेको थियो । शरदले मेसेज लेख्न नसकेपनि उसले सधैँ हौसला र मायाका मेसेज लेख्न छोडिन । अष्ट्रेलियामा सँगै गएका साथीहरूले उनलाई सहयोग गरेर अस्पताल पु¥याए, रेखदेख गरे । केही दिनपछि निको भयो र फेरि काम सुरु गरे । त्यहाँ अष्ट्रेलियामा उनी एउटा बूढी महिलालाई स्याहारसुसार/हेरविचार गर्ने काम गर्थे । इमानदार भएर काम गरेको देखेर ती बूढीले उनलाई छोरालाई झैँ माया गर्थिन् । शरदको स्वास्थ्यस्थिति खस्कँदै गएको देखेर उनले भनिन्, ‘होम सिक भएको होला, तिमी त दुब्लाउँदै गएका छौ । श्रीमती र छोराहरूलाई यहीँ ल्याउनू, परेको कानुनी र आर्थिक सहयोग म गर्छु, आजबाट प्रोसेस चाल ।’ शरद रनभुल्लमा परे । कस्तो बिडम्बना, श्रीमतीको उनको पीरको कारण थिएन उनमा अनि पानकली उनकी श्रीमती थिइनन् ।

समय बित्दै गयो, पैसा पनि कमाउँदै गए, उनले पानकलीका आमाबुबाको पैसाको हिसाब पनि चुक्ता गरिदिए । त्यसपछि उनले पानकली र उनको परिवारसँग सम्पर्क टुटाए । पानकलीले मेसेज गर्ने आईडी मेटाए । उनको गर्भको बच्चा ७ महिनामा लागिसकेको थियो । यो अवस्थाले ऊ झन् क्षतविक्षत भई । यस्तै अवस्थामा पनि उसले माध्यमिक तहमा स्थायी शिक्षकमा नाम निकाली । आफ्नो स्थायी जागिर भएको खुसी साट्न उसले शरदलाई सम्पर्क गर्न धेरै प्रयास गरी तर सम्पर्क भएन ।

पानकलीले शरदको घर जाने निधो गरी । अन्ततः एकजना गाउँले दाइको सहयोगमा ऊ डडेल्धुरा पुगी । घरमा पुगेपछि शरदका श्रीमती र छोराहरू रहेको थाहा पाई र छाँगाबाट खसेझैँ भई । उसले आफू पनि शरदकी श्रीमतीको भएको, आफूलाई शरदले उमामहेश्वरी मन्दिरमा सिन्दूर हालेको कुरा राखी । शरदका आमाबुबा, श्रीमती र छोराहरूको रुवाबासी भयो । शरदका बूढा बुबाले छोराले घरमा पनि कुनै सम्पर्क नगरेको जानकारी गराए । उसलाई त्यहाँ बस्ने वातावराण भएन । ऊ निराश बनेर काठमाडौं फर्की ।

आफ्ना छोराछोरीले जतिसुकै गल्ती गरेपनि आमाबुबाको माफी दिने ठूलो मुटु हुन्छ । काठमाडौँ आएका पानकलीका आमाबुबाले पनि उसलाई माफी दिए । उसले काठमाडौँको स्कुलमा पढाउन सुरु गरी । आमाबुबाले उसको हेरविचार गरे । उनीहरू आफूहरूले शरद मास्टरलाई जिम्मा लगाएर हिँड्दा धोका पाएको भनेर खुब पछुताए । पानकलीले छोरी जन्माई, उसको नाम आकाङ्क्षा राखियो । उसको आमाबुबा, दाजुभाइले आकाङ्क्षालाई आफूहरूले नै पढाउने लेखाउने र हेरविचार गर्ने जिम्मा लिने भन्दै सम्झाए, ‘तिमी बिहे गर, जिन्दगी लामो छ, भोलि बैँस र वसन्तले डाँडा काट्छ, त्यतिबेला एक्लै हुन्छ्यौ ।’ उसले भने पटक्कै मानिन । सिन्दूरको शतमा बसेकी उसले आफ्नै जन्मभूमि मुगु जिल्लाको खत्याड गाउँपालिकाको एक विद्यालयमा सरुवा पाई र त्यहीँ शिक्षण गर्न थाली ।

एकदिन पानकली छोरी आकाङ्क्षाको जन्म दर्ता कार्ड बनाउन डडेल्धुरा गई । शरदले भने केही वर्षअगाडि आफ्नी श्रीमती र छोराहरूलाई अष्ट्रेलिया लगेछन् । घरमा असी वर्ष कटेका बूढा आमाबुबा मात्रै थिए । उनीलहरूले पानकलीलाई आफ्नो छोराको यो नासोलाई त्यहीँ राखिदिन आग्रह गरे । उसले पनि आकाङ्क्षालाई डडेल्धुराकै एक विद्यालयमा भर्ना गरिदिई । ऊ फुर्सदमा छोरीलाई भेट्न डडेल्धुरा जान्थी । त्यतिबेला उनीहरू पानकलीलाई सम्झाउँथे, ‘हेर पानु, आमाबुबा र देशलाई नै बिर्सेर विदेशमा बस्न सक्ने निष्ठुरीलाई भुलिदेऊ र अर्को विवाह गर । हामी तिमीलाई छोरी मानेर अन्माई पठाउँछौँ यही घरबाट ।’ ऊ जबाफ दिन्थी, ‘त्यसो होइन आमाबुबा, उहाँको सिन्दूरको शक्तिले गर्दा म मर्न सकिनँ, उहाँसँग भेट हुन्छ, बिहे हुन्छ भन्ने आशैआशमा छोरी जन्मिने बेला भएको पत्तो नै भएन । उहाँले मलाई बिर्सेपनि मभित्र उहाँप्रतिको आस्था र सम्मान कहिल्यै घटेको छैन । यही सिन्दूरका कारण मलाई कसैले पनि कुदृष्टि लगाउन सकेको छैन । छोरीले उसको बुबाको अनुहार नदेखेपनि मैले छोरीको अनुहारमा उहाँको ज्योति पाएकी छु र म बाँचेकी छु । यही सिन्दूरलाई शक्ति मानेर म जीवनको अन्त्यसम्म उहाँको बाटो कुरिरहने छु, एक दिन पक्कै हाम्रो भेट हुने नै छ ।’ पानकलीको कुराले बृद्ध बाबाआमाको पनि जोड चलेन ।

अहिले आकाङ्क्षा १८ वर्षकी भई । १२ कक्षाको जाँच दिएर बसेकी आकाङ्क्षाको रहर रहेको छ आफ्ना आमा र बाबाको भेट गराउने । वास्तवमा पानकलीको सिन्दूरको शक्ति आकाङ्क्षा हो, पानकलीको सिन्दूरको शक्ति भनेको लोग्नेविना पराईघर भित्रिनु हो । पानकलीको सिन्दूरको शक्ति भनेकै लोग्नेले साथ नदिएपनि सासूससुराले दिएको माया हो । पानकलीको सिन्दूरको शक्ति भनेकै एउटा महिला भएर पनि समाज विघटन हुन नदिनु नै हो ।

 

गोर्खा, नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार