‘आमा’ आत्मा हो
सदा अमरत्न ।
आमा परमार्थतत्व हो
आ….मा….., आनन्दमय स्वर्गानुभूति !
आमा तरल हो
पग्लिन्छिन् बेला बेला
बनेर ममता हर्षाश्रु,
नयन बन्द गरी
महसुस गरेर हेरौँ त,
बग्दै बग्दै,
दुई नयनको चोभारलाई उछिनेर
समतल भिरालो गालालाई
स्पर्श गर्दै
सुमसुमाउँदै चुम्दै
ओर्लिन्छिन्
अक्करे भीर
घाँटीतिर
अनि
लुक्छिन् हृदयछातीमा छपक्क !
आमा पाठशाला हो
ज्ञान, व्यवहार, जीवनजगत्,
सत्कर्म आदर्श र
सुन्दर भविष्यको
अविच्छिन्न मार्गनिर्देशन गराउने
आमा स्वयम् मार्ग हो !
आमा खुसी हो
सन्तानको सानो प्रगतिमा पनि
उर्लिन्छिन् उद्दीप्त हुँदै
प्राकृतिक खुसीको
उज्यालो महासागर बनेर
अविश्रान्त !
आमा तपस्विनी हो
आफूलाई उपेक्षा गर्दै
त्यागिदिने
दुष्चरित्र सन्तानका लागि पनि
सत्मार्गको अपेक्षा गर्दै
बिर्सेर आफूलाई
गर्छिन् जीवन समर्पण
नमानी कत्ति पनि
बिरसिलो अनुभूति !
आमा शक्ति हो
जलेर खरानी हुनलाई
आँट्छिन् अकल्पनीय संघर्ष
जिताउन सन्तानलाई
तोड्छिन्
मानवीय जिजीविषा
अनि
स्वीकार्छिन् मृत्युसम्म पनि !
आमा सत्य हो
अविश्वासको कुनै प्रसङ्ग रहन्न
न ज्ञान चाहिन्छ अध्यात्मको
न विज्ञान डिएनए परीक्षणको
आमा प्रमाण हुन्
त्यही गर्भको
अनि गर्वको
आमा अविश्रान्त प्रेम हुन् सगौरवको
अझ
परिचय कति हो कति,
अहोभाग्य प्रारब्ध !
आमा श्वास हो
चलिरहन्छिन् हाम्रो धड्कन बनेर ।
मासु हो आमा
टम्म छिन् हाम्रो शीरदेखि पाउसम्म
शरीरभरी ।
रगत हो आमा
बगिरहेकै छिन् यो नसा या रेशा भएर ।
विचार हो आमा
संसारभोग गर्न
परिचालित छिन् हाम्रो मस्तिष्कबाट ।
आत्मा हो आमा
सम्प्रेषित छिन् यो हृदयभरि ।
त्यसैले मलाई लाग्छ
आमाको कहिल्यै मृत्यु हुनै सक्दैन ।
आमा पूर्ण रूपले हामीमा
रुपान्तरण भएर
हामीसँसँगै सदा आयुष्मान रहन्छिन् ।
संसारमा कुनै शक्ति छैन
आमाको महानताको परिभाषा गर्न सक्ने !
‘आमा’ नै हुन् पवित्रात्माको पर्यायवाची !
आसफोर्ड, बेलायत