राज्यमन्त्री उमेश श्रेष्ठबाट शब्दशिविर विमोचित

  भावेश भुमरी  414 पटक हेरिएको

गीतिकारिताबाट लोकप्रियता हासिल गरेका गीतकार मुकुन्दराज शर्माको निबन्धसङग्रह ‘शब्दशिविर’लाई माननीय राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरेका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागेका शर्मा हाल लिट्टल एन्जल्स स्कुलको प्रिन्सिपल जिम्मेवारीमा छन् ।

राज्यमन्त्री उमेश श्रेष्ठले विमोचित पुस्तकमाथि शुभकामना मन्तव्य राख्दै आफूले संस्थामा सधैँ नयाँ नयाँ परिवर्तन चाहेकै कारण मुकुन्दराज शर्माको काँधमा प्रिन्सिपलको जिम्मेवारी सुम्पेर आफू राजनीतिमा होमिएको रहस्य खोले । उनले लिट्टल एन्जल्स स्कुलले कैयौँ दशक दुख गर्दै आएको र अब आर्थिक लगानी गर्ने क्षमतामा आइपुगेकाले साहित्य, कला, संस्कृतिलगायतका बौद्धिक क्षेत्रमा लगानी गरी देश निर्माणतर्फ पाइला चाल्ने कुरा व्यक्त गरे । उनले आफ्नो विद्यालयमा नेपाली भाषा, साहित्यमालागीपरेका डा. विप्लव ढकाल, मुकुन्दराज शर्माजस्ता स्रष्टाले निरन्तर काम गरिरहेका र अन्य कैयौँ स्रष्टाहरू त्यस संस्थामा आवद्ध भइसकेको कुरा बताए । उनले देशको शैक्षिक र अािर्थक परिवर्तनबाट नै देशविकासमा टेवा पुग्ने कुरा मनन गर्दै हाइड्रोपावर, बैङ्किङ, होटल, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्दै देशको आर्थिक पक्षलाई सबल बनाउनमा आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । हाल स्वास्थ्यको क्षेत्रमा पनि लगानी गरिरहेको कुरा बताउँदै देशको विकासमै लाग्ने अठोटका साथ उनले आगामी चुनावमा आफू उमेदवार हुने र मत माग्ने कुरा पनि बताए । उनले मुकुन्दराज शर्माजस्ता स्रष्टालाई सधैँ प्रोत्साहन गर्ने र ती स्रष्टाहरूलाई लेखनबाट देशको सेवामा लाग्न सुझाव पनि दिए ।

प्यूठानमा जन्मेर भारतको असमममा पढेकाले आफूलाई नेपाली भाषाप्रति गहन ज्ञान नभएको रहस्योद्घाटन गर्दै साहित्यकार मुकुन्दराज शर्माले कोरोना कहरको बेला निबन्ध लेख्ने फुर्सद मिलेको र कलम चलाएको कुरा राखे । त्यतिबेलै ‘डाक्टर छोरालाई बाबुको पत्र’ निबन्ध प्रकाशनपश्चात् संसारभरिका पाठकहरूका प्रतिक्रिया र हौसलाबाट लेख्न हौसिएका शर्माले हरेक निबन्धको लेखनपश्चात डा. माधवप्रसाद पोखरेललाई पठाउने गरेको र तीन दिन बित्दा पनि प्रतिक्रिया नआउँदा आफू छटपटीमा पर्ने गरेको कुरा पनि उप्क्याए । तर ढिलै आएपनि डा. पोखरेलका हरेक प्रतिक्रियाले आफूलाई लेख्न प्रेरित गरेको भन्दै पहिलोचोटि डा. पोखरेललाई घरमा भेट्दा र एक कप चिया पिउँदै गर्दा पोखरेलबाट पाएको ज्ञानले नै निबन्ध लेखनका बारेमा आफूलाई गुरुमन्त्र मिलेको कुुरा व्यक्त गरे । यस कार्यक्रममा निबन्धकार शर्माका एक शताब्दी पूरा गरेका बुबा निमानन्द शर्मा र ९५ वर्षीया आमा शोभादेवीको उपस्थिति थियो भने निबन्धकार शर्माले आफ्ना प्रेरणाका स्रोत आफ्नै बाबाआमा भन्दै बाबाआमाका तर्फबाट आशीर्वादसमेत ग्रहण गरे ।

समालोचक तथा निबन्धकार डा. माधवप्रसाद पोखरेलले विमोचित पुस्तकको समीक्षा गर्दै मुकुन्दराज शर्माको सशक्त र सटिक बनाउने निबन्ध लेखन शैलीबाट आफू निक्कै प्रभावित भएको कुरा राख्दै शर्माका निबन्धहरूसामु आफ्ना निबन्ध हल्का हुन् भन्ने महसुस भएको कुरा पनि व्यक्त गरे । अर्का समीक्षक मोमिलाले मुकुन्दराज शर्माका निबन्धहरू अत्यन्त सशक्त, सजीव र विषयगत विविधताले युक्त छन् भन्दै आफूले शर्माका निबन्ध पढ्दा धेरै कुरा पाएको कुरा प्रष्ट्याइन् ।

लिट्टल एन्जल्सका निर्देशक राजेश श्रेष्ठले मुकुन्दराज शर्माका निबन्धहरू पत्रपत्रिकाहरूमा छापिँदा आफूलाई निक्कै खुसी लागेको कुरा स्मरण गर्दै शर्माको सफलतालाई आफ्नै सम्झेको समेत बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बूले शर्माको बहुआयामिक प्रतिभाको कुरा गर्दै शर्माले अत्यन्त मिठो स्वरमा गीत गाउँदा विद्यार्थीहरू छमछमी नाचेको र आफू अचम्ममा परेको रहस्य खोले । नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले आफू लेखक बन्छु कि भन्ने सपनालाई आाफ्नै कान्छो भाइ मुकुन्द शर्माले साकार पारिदिएकामा आफू धन्य भएको कुरा बताए ।

विशष्टि समाचोनक दयाराम श्रेष्ठको सभापतित्वमा आयोजित यस कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरूले पनि आफ्ना शुभकामना मन्तव्य दिएका थिए भने शर्माद्वारा रचित गीतहरू श्रवण गराइएको थियो र सङ्गीतकार र गायकगायिकाका नाम भन्दै उनीहरूप्रति सम्मान व्यक्त गरिएको थियो । कार्यक्रमको सहजीकरण भने साहित्यकार विप्लव ढकालले गरेका थिए ।

मुकुन्दराज शर्माद्वारा लिखित यस ‘शब्दशिविर’ निबन्धसङ्ग्रहलाई कामना न्यूज पब्लिकेशन प्रालिले बजारमा ल्याएको छ । २१२ पृष्टको यस सङ्ग्रहमा ३५ वटा निबन्ध सङ्गृहीत छन् भने यसको मूल्य रु. ४०० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार