साउनको रूप

(कविता)

  समीप बैरागी  358 पटक हेरिएको

देख्छु
चेलीहरूका कोमल हातहरूमा रङहरूको उत्सव
सोमबारे व्रत बसेकी
बहिनीको चेहरामा प्यासी चमक
र, सुन्छु
सुन्दर नाडीहरूमा
रङ्गीन चुराहरूको सुमधुर सरगम ।

देख्छु
कोलो पहराको काखीबाट
सुबास छरिरहेको कुकुम
धर्ती चिरेर हलहलाएको तामा
र, सुन्छु
मकैबारीमा तीर्थाबासीको रोदन ।

देख्छु
भञ्ज्याङका पत्रहरूमा
रातो च्याउको टीका लाएर उभेको धूपीसल्ला
अपराधीको बिल्ला भिराइएको
निर्दोष आँखाबाट खसेको आँसुझैँ
पहाडको छाती फोरेर बगेको झरना
र, सुन्छु
मौनतालाई खलबल्याउने
टाउकोमाथि चट्याङको गर्जन ।

देख्छु
इन्द्रेणीको चम्किलो पोते
गलामा भिरेर मुस्कुराएको हिम्चुली
सिंहदरबारको आँखा नपुगेको
दुर्गम सडकको खाल्डोमा
बादलको छाया देखिने मौसमको आँसु
र, सुन्छु
टाकुराको ओढारमा
भीर चर्ने च्याखुराको चिरबिराहट ।

अनि देख्छु
मेरी आमालाई पनि हरियो साडीमा
त्यसैले मलाई पनि
साउन हरियो साउनजस्तै लाग्छ ।

तर,
मेरो बुबालाई साउन किन कालो भयो,
झुसेलकिराजस्तै किन देखिनुहुन्छ बुबा ?

रोल्पा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार