नवीन विधाको पुस्तक ‘कविताको कथा, गीतको कथा’

(समीक्षा)

  भावेश भुमरी  853 पटक हेरिएको

नेपाली काव्यिक फाँटमा अत्यन्त प्रिय नाम हो दिनेश अधिकारी । गीतरचनाका माध्यमबाट आम नेपाली स्रोता र कविताका माध्यमबाट पाठकहरूसामु पुग्दै आएका अधिकारीलाई पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोड्ने एक सेतुको रूपमा पनि हेरिन्छ । सायद यही कारण अधिकारीका लेखनमा पृथक् शैली र नयाँपन भेटिन्छ । यसो त अधिकारीले नयाँ नयाँ विषय र विधाको खोजी गर्दै तिनलाई पुस्तकका माध्यमबाट सार्वजनिक गर्दै आएका छन् ।

नन्दनहरि अधिकारी र शारदादेवी अधिकारीको सुपुत्रका रूपमा वि. सं. २०१६ मङ्सिर २२ गतेका दिन यस धर्तीमा पाइला टेकेका दिनेश अधिकारीले वि. सं. २०३७ मा ‘अन्तरका छिटाहरू’ कवितासङ्ग्रह प्रकाशन गरे । त्यसपछि लगातार पुस्तक र एल्बमहरू प्रकाशन गर्दै आएका अधिकारीको पछिल्लो प्रकाशित पुस्तक हो ‘कविताको कथा, गीतको कथा’ । आफ्ना कविता र गीतसिर्जनाका सन्दर्भ, तिनका गतिविधि एवम् चर्चाका बारेमा नौलो तरिकाले कथा शैलीमा वयान गरी पुस्तक प्रकाशन गर्ने नौलो थालनी गरेका अधिकारीले यसअगाडि पनि ‘तस्बिरको कथा’ लेखेर नेपाली पाठकहरूलाई नौलो खालको विधाबाट सिर्जनात्मक स्वाद दिलाएका थिए ।

दिनेश अधिकारीले ‘कविताको कथा, गीतको कथा’ पुस्तकलाई दुई अध्यायका रूपमा प्रस्तुत गरेका छन् । उनले ‘कविताको कथा’ अध्ययभित्र नेपाली कविताफाँटमा निक्कै लोकप्रिय बनेका हर्कबहादुर, नीलो दह, बिहे, निःशब्द अभिव्यक्ति, खुसी, युद्धविराम, सिपाही, आत्मस्वीकृति, हट् ! घोडा हट् !, सोतो सिंह र घर गरी ११ वटा कविताहरूका बारेमा बडो रोचक शैलीमा लेखिएका कथाहरूलाई समावेश गरेका छन् । ‘गीतको कथा’ अध्ययभित्र भने उनले नेपाली स्रोताहरूले अत्यधिक रूपमा सुनेका र रुचाएका तिमी जुन रहरले, यो सम्झिने मन छ, सोचेजस्तो हुन्न जीवन, तिमी यसै लजायौ, पहाडमा जाडो बढे, जीवन भनूँ त घात छ, आफ्नै लागि ज्युन गाह्रो, लेक हेर कत्ति राम्रो, रक्सी बेचेँ आलु बेचेँ, पहाड झुक्नुपर्छ, निधारमा लर्काएर सप्तरङ्गी टिको, कहिले छायाँसँग खसेँ, लैजा चरी मेरो खबर, कत्ति हो कत्ति मायाको बाटो, अघिअघि जिन्दगी, पानीपानी भयो मेरो मन पनि र बोल ! बोल ! पाखाहरू गरी १७ वटा गीतका कथा समावेश गरेका छन् ।

यी ११ वटा हरेक कविता र १७ वटा गीतलगत्तै उनले ती कविता र गीतहरू कहिले, किन र कसरी लेखिए भन्ने विषयमा बडो लोभलाग्दो तरिकाले चर्चा गरेका छन् । यसका साथै कविता र गीतहरूले पाएका प्रशंसा एवम् आलोचनाहरूलाई पनि मन फुकाएर प्रस्तुत गरेका छन् । धेरै ठाउँमा मिति, प्रशङ्ग र सन्दर्भ सबै खुलाइएको पाउँदा कथा लेख्नका लागि त्यतिबेलादेखि नै तयारी गरिएको हो कि भन्ने भान हुन्छ तर यस्तो गरेको भने पक्कै होइन । सत्य के हो भने उनका प्रत्येक सिर्जनाका बारेमा तथ्याङ्क लिपबिद्ध छन् र सुरक्षित छन् । यही कारण नै उनी आफ्ना सिर्जनाका बारेमा यति राम्ररी कथा लेख्न सफल भएका हुन् ।

कविता र गीत पढ्दा या सुन्दा मात्र पाठक एवम् स्रोताहरूले कतिपय अवस्थामा ती सिर्जनाका बारेमा बुझ्ने र लगाउने अर्थ फरक हुन्छन् । कहीँ त बुझ्नै नसकेको अवस्था पनि हुन सक्छ । यस्तो अवस्थामा सिर्जनाकै बारेमा लेखिएका कथाले तिनका गर्भ, प्रसङ्ग, अर्थ र सन्दर्भ फुकाउने रहेछन् । स्कुल, क्याम्पस या विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूका लागि सप्रङ्ग व्याख्या गरेजस्तै लाग्ने यस्ता कथाहरूले आम पाठकलाई ती सिर्जनाका बारेमा बुझ्न, नजिक हुन र अविस्मरणीय बनाउन ठूलो भूमिका खेल्ने रहेछन् । वास्तवमा कथाहरू पढ्दै गर्दा आफू नै यी सिर्जनाहरूको साक्षी भएजस्तो भान हुन्छ र सिर्जनाप्रति मनैदेखि श्रद्धा बढ्छ ।

दिनेश अधिकारीका सिर्जनाका कथाहरू पढ्दा वास्तवमा सिर्जनाहरू लोकप्रिय हुनका लागि पृष्टभूमिमा धेरै तयारी, मेहनत, योजना, ऐक्यवद्धता र कार्यहरू आवश्यक रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ । कतिपय ठाउँमा आइपर्ने समस्या र विमतिहरूलाई सही तरिकाले कसरी समाधान गर्ने र अगाडि बढ्ने भन्ने कुरा पनि बुझिन्छ । यस पुस्तकले साहित्यमा कलम चलाउँदै गरेका स्रष्टाहरूलाई आफ्ना सिर्जनाका गतिविधिका बारेमा टिपोट सुरक्षित राख्न मात्र लगाउँदैन कि यसरी नै कथा लेख्नसम्म उत्प्रेरित गर्छ ।

यसरी आफ्नै सिर्जनाका बारेमा कथा लेख्ने र पाठकहरूसामु ल्याउने दिनेश अधिकारीको यो नौलो विधा र प्रयोग हो । लोकप्रिय सिर्जनाहरूको इतिहास राख्न र पाठकरुसामु भन्न निक्कै महत्वपूर्ण मानिने यस नवीन विधाले भविष्यमा छुट्टै विधा या उपविधाको रूपमा नामाकरण हुने अवसर पाउने छ अनि त्यसको श्रेय कविवर दिनेश अधिकारीलाई नै जाने छ ।

शिखा बुक्सले बजार व्यवस्थापन गरेको विशिष्ट कवि एवम् गीतकार दिनेश अधिकारीको ‘कविताको कथा, गीतको कथा’ पुस्तक सबैका लागि पठनीय र सङ्ग्रहणीय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार