जीवन यात्रामा युरोप

निबन्ध

  शर्मिला खड्का (दाहाल)  273 पटक हेरिएको

जीवन यात्रा हो । यात्रा जीवन हो । यात्राले नै जीवनमा रङ्ग, रस, सौन्दर्य र ज्ञान छर्दै अघि बढाउँछ । यात्राबिनाको जीवन प्राण नभएको मरुभूमिजस्तो हुन्छ । जहाँ यात्रा हुन्छ, त्यहाँ गति हुन्छ जहाँ गति हुन्छ त्यहाँ सौन्दर्य, चेतना र प्रकाश झमलाइरहेको हुन्छ । विकसित युरोपको रहस्य पनि यात्राको देन नै हो । यात्राको उपलब्धी हो । अनेकौँ खोजी अन्वेषकहरूको आविष्कारले युरोपलाई युरोप बनाएको छ । चौधौँ शताब्दीको अन्त्यकालमा युरोपमा भएको पुनर्जागरणले युरोपलाई मात्र यात्रामय बनाएन, युरोपसँगै विश्व नै यात्रामय भयो । युरोपियनहरूको देशविदेश खोजी र अन्वेषणले नयाँनयाँ जानकारी प्राप्त  हुँदै गयो । तेह्रौँ शताब्दीमा भेनिसको व्यापारी यात्री मार्को पोलोले आफ्नो यात्राविवरण प्रस्तुत गरे । लगभग पच्चीस वर्ष उनले आफ्नो देशबाट टाढा अरू देशहरूमा बिताए । धेरै वर्ष चीनमा बसेर त्यहाँको जिन्दगीलाई उनले निकै ध्यानपूर्वक हेरे । उनले भारतको विभिन्न प्रदेश भ्रमण गरेका थिए । इटाली फर्केर आएपछि पोलोले एउटा किताब लेखे, जसमा उनले एसियाली देशहरूका मानिसका जिन्दगी र तिनको रीतिरिवाजको निकै नै सटिक र मनोरञ्जनात्मक पाराले वर्णन गरे । उनले भारतमा राजाहरूसँग धेरै सुनचाँदी, जुहारत भएको र ठूलो बन्दरगाह भएको उल्लेख गरेका थिए । यसले गर्दा युरोपियहरूमा भारतमा धेरै धनसम्पत्ति प्राप्त गर्न सकिन्छ भन्ने लालच बढ्दै गयो ।  मार्को पोलोको किताबले लामो समयसम्म भौगोलिक मानचित्र तयार गर्नका लागि ठूलो काम गर्यो ।

युरोपेलीहरूको अर्को महङ्खवपूर्ण खोजमा अमेरिकालाई लिन सकिन्छ । धेरै लामो समयसम्म अमेरिका विश्वको अन्य मुलुकहरूबाट अनभिज्ञ र अज्ञात रहेको थियो । युरोपेलीहरूमा नयाँनयाँ प्रदेश खोज्ने र त्यससम्बन्धी जानकारी लिने होडबाजी नै चलेको थियो । त्यसका  साथसाथै व्यापारिक वस्तुहरू सुनचाँदी आदि खनिज पदार्थहरूको सङ्कलनको लोभले पनि युरोपवासीहरू लामोलामो रोमाञ्चकारी र साहसिक यात्रामा हिँड्न तयार रहन्थे । यसका लागि सरकारले नै सुविधा दिएको हुन्थ्यो र यात्राका लागि प्रोत्साहन दिइएको हुन्थ्यो ।

औजारहरूको सुधार र ठूला उद्यमहरूको उयका युरोपेली देशहरूमा मालहरूको उत्पादन बढ्यो । यसको कारणले व्यापारको झनै प्रसार भयो । व्यापारको प्रसारले सिक्काहरूको माग बढायो । युरोपेली सामन्त र धनी नगरवासीहरू अकुत सम्पत्तिका सपनाहरू देख्न थाले । उनीहरूमा सुनचाँदीप्रति ठूलो लालसा बढ्दै गयो । यसका लागि पनि युरोपवासीहरू यात्राका लागि अग्रसर हुन्थे ।

युरोपवासीहरूको कल्पनामा सबैभन्दा आकर्षक देश भारत थियो । उनीहरू भारतबाट धेरै धनसम्पत्ति प्राप्त गर्न सकिन्छ भन्ने ठान्थे । तर भारत र चीनसँग अरबीहरूले धेरै अघिदेखि आफ्नो प्रभुत्व कायम गरिसकेका थिए । पूर्वी मालहरूलाई उनीहरू जुन मूल्यमा किन्थे, त्यसको आठदस गुना बढी मूल्यमा इटालेली व्यापारीहरूलाई बेच्ने गर्दथे । युरोपेली समुद्री व्यापारिक एसियाली देशहरूसँग सिधै सम्पर्क स्थापित गर्न चाहन्थे तर अरबी व्यापारीका कारण उनीहरू ठगिन्थे ।

उस्मान तुर्कहरूदारा कुस्तुन्तुनियाँमाथि कब्जा गरिएपछि युरोपेलीहरूका निम्ति पूर्वसँग व्यापार गर्न झनै मुस्किल भयो । तुर्कहरूले एशिया—ए—कोचक र सिरिया हुँदै जाने व्यापार मार्गहरूलाई आफ्नो नियन्त्रणमा लिए । उनीहरू चर्को मूल्य लिन्थे, त्यसैले व्यापारीहरूका निम्ति यी देशहरू हुँदै माल लिएर जानु अलाभदायक भएको थियो । यसले गर्र्दा युरोपमा बिक्ने पूर्वी मालहरू झन महङ्गा र दुर्लभ हुन पुगे । यसले युरोपेलीहरूलाई नयाँ बाटो खोजी गर्न अझ गतिशील बनायो ।

युरोपमा स्पेनी र पुर्तगाली जहाजीहरूले सबैभन्दा पहिले महासागरमा जाने हिम्मत गरे । भूमध्य सागरबाट उत्तरी तथा बाल्टिक सागरहरूतिर जाने महङ्खवपूर्ण बाटो पुर्तगाली तटसँग भएर जान्थ्यो । कैयौँ जहाजहरू पुर्तगाली बन्दरगाहहरूमा आउने गर्थे । समुद्री व्यापार र माछा मार्नु तटवर्ती इलाकाहरूमा बस्ने मानिसहरूका मुख्य उद्यम थिए । पन्ध्रौँ शताब्दीको आरम्भमा पुर्तगाली शासकहरूले अफ्रिकाको पश्चिमी तटहरूसँग एटलान्टिक महासागरमा नियमित अभियानहरू पठाउन सुरु गरे । पुर्तगालीहरू त्यहाँ हब्सीहरूसँग स्वर्णधुली र हात्तीदाँतलाई रङ्गीविरङ्गी कपडाका टुक्राहरू, मालाहरू र ससाना दर्पणहरूजस्ता सस्ता चीजहरूसँग साट्ने गर्थे । यसरी नै हब्सीहरूलाई गुलाम बनाइने चलन यहीँबाट चल्यो ।

अझै पनि युरोपेलीहरूका लागि भारत समुद्री मार्ग रहस्यमा नै थियो । पोर्तगाली राजाले भास्को डि गामाको नेतृत्वमा एउटा टोली पठायो । उसको जहाज लामो यात्राका लागि विशेष रूपले सुसज्जित गरिएको थियो । ती जहाजहरू उपकरणयुक्त र अनुभवी जहाजीहरूले काम गर्ने गर्थे ।

चार महिनाको यात्रापछि पुर्तगालीहरू अफ्रिकाको दक्षिण किनारको चक्कर काटेर त्यसको पूर्वी तटमा पुगे, जहाँ उनीहरूभन्दा पहिले अझैसम्म कुनै युरोपेली पुगेका थिएनन् । प्रचण्ड तुफान र प्रतिकूल धारहरूले उनीहरूको यात्रा निकै कठिन बनाइदिएको थियो । जहाजीहरूलाई सहनै नसक्ने गर्मीले सतायो र कैयौँ बिमारी भएर मरे ।

भास्को डि गामाले सौभाग्यले अफ्रिकाको पूर्वी तटको एक नगरमा एक अनुभवी पथ प्रदर्शक पायो, जसले उसका जहाजहरूलाई हिन्द महासागरको पारि लिएर गयो । मई १४९८ मा पुर्तगाली जहाजहरूले दक्षिण भारतीय तटमाथि कालिकटको बन्दरगाहमा लगुर हाले ।

भास्को डि गामा आफू राजासँग भेट गर्नका लागि राजदरबारतिर हिँड्यो । आफ्ना जहाजीहरूलाई उसले तटमा गएर मसलाहरू किन्नलाई पठायो । तर भारतसँगको व्यापारमा नियन्त्रण जमाएर राखेका अरवी व्यापारीहरूले राजालई भड्काएर तटमा गएका पुर्तगालीहरलाई गिरफ्तार गर्न लगाए । यसको जवाफमा भास्को डि गामा पुर्तगाली जहाजहरूको निरीक्षण गर्न आएका दरबारियाहरूलाई जहाजमा नै रोकिदियो । त्यसपछि गिरफ्तार गरिएका जहाजीहरूलाई रिहा गरिदियो र आफ्नो दरबारियाहरूलाई लिनका लागि नाउहरू पठायो । तर भास्को डि गामाले नाउहरूको तोपका गोलाले स्वागत गर्यो र आफूले बन्दी बनाएकाहरूलाई रिहा गर्न अस्वीकार गरिदियो । आफ्ना जहाजहरूलाई मसालहरूले भरेर पुर्तगालीहरूले स्वदेशको बाटो लिए । दुई वर्षको यो अभियानमा धेरै नाविकहरू मारिइसकेका थिए ।

पश्चिमी समुद्री मार्गबाट भारत पुग्नलाई सबैभन्दा पहिले कोसिस गर्ने समुद्री यात्री क्रिस्टोफर कोलम्बस थिए । उनी जेनेभानजिक इटालीमा एक कपडा बुन्ने कारिगर परिवारमा जन्मेका थिए । युवावस्थामा कोलम्बसले केही समुद्री यात्रामा भाग लिएका थिए र त्यसपछि भौगोलिक मानचित्र बनाउन लागेका थिए । त्यसबेला पृथ्वी गोलो नभई चेप्टो छ भन्ने आम धारणा थियो । तर कोलम्बसले अरू समुद्री यात्रीहरूको विवरण र विद्वानहरूका रचनाहरू पढेर पृथ्वी गोल छ भन्ने कुरामा विश्वास गरिसकेका थिए । स्पेन आएर बसेपछि कोलम्बस लामो समयसम्म राजदरबारबाट भारतको मार्गको खोजीमा एटलान्टिक महासगारपारि अभियानमा जाने अनुमति प्राप्त गर्न लागी परे । यो अनुमति उनलाई झण्डै आठ वर्षपछि प्राप्त भयो । स्पेनका राजाले उनलाई आफूद्वारा खोजिने सबै देशहरू र द्वीपहरूको शासक नियुक्त गरिदिए । सन् १९९२ को गर्मीमा तीन ससाना पोतहरूले र नब्बे जना नाविकहरको दल लिएर उनी यात्रामा निस्किए । दिन हप्ता गर्दै महिनौँ बित्यो तर कतै पनि जमिन देखिएन । चारैतिर त्यसै रहस्यमय सागरको अन्तहीन बिस्तार मात्र देखिन्थ्यो । जहाजीहरू फर्कने सल्लाह गर्न थाले । तर कोलम्बसले हार खाएनन् ।  जहाजीहरूलाई अघि बढ्ने निर्देशन दिइरहे ।

स्पेनबाट हिँडेको सत्तरीऔँ दिनमा उनले जमिन भेट्टाए । उनले त्यहाँ क्युवा र हाइटीको द्वीपमा स्पेनको झण्डा फर्फराए । त्यसपछि उनी स्पेन फर्किए । त्यसपछिका दिनमा उनले क्यारेवियन टापुमा कैयौँ टापुहरूको खोजी गरे र अमेरिकी महाद्वीपको तटका केही भागको अन्वेषण गरे । तर उनले सोचेजस्तो सुनचाँदी तथा अन्य धनसम्पत्ति प्राप्त गर्न सकेनन् । स्पेनी सरकार उनीसँग रिसायो र उनलाई दिइएको साहसी नाविक सम्मान र उपाधिहरू खोसिदियो । कोलम्बसको सारा धन जहाज सजाउन र यात्राको तयारीमा खर्च भएको रिन तिर्दै सकियो । उनी कर्जामा चुर्लुम्म डुबे ।  सबैद्वारा तिरस्कृत र विस्मृत भएर घोर कङ्गालमा उनको जीवन समाप्त भयो ।

कोलम्बसलाई मर्ने बेलासम्ममा आपूmले खोजेको द्वीपको बारेमा थाहा थिएन । उनले यसलाई इन्डियन भन्थे । यसले गर्दा आज पनि अमेरिकाका मूल निवासीलाई इन्डियन वा रेड इन्डियन भन्ने गरिन्छ । पछि अमेरिगो वेस्पुच्ची नामक इटालेली अन्वेषकले कोलम्बसले खोजेको एउटा महादीप हो भनेर पुष्टि गरिदिए । वेस्पुच्चीको दक्षिण अमेरिकाको तट यात्राहरूको विवरणले युरोपमा निकै चासो बढ्यो । अमेरिगो वेस्पुच्चीको नाममा नयाँ महाद्वीपको नामाकरण अमेरिका रहन गयो । सन् १५१९ मा पश्चिमी बाटोबाट एसिया पुग्ने लक्ष्यले एउटा अर्को निकै नै साहसपूर्ण र खतरनाक अभियान सुरु भयो । यस अभियानका नेता साहसी र अनुभवी नाविक फर्नान्डो म्यागलन नामक पर्तुगाली थिए । जो निकै दृढ आत्मविश्वासी थिए ।

पाँच जहाजहरूको एक बेडाले एटलान्टिक महासागरलाई पार ग¥यो । म्यागलनले आफ्ना जहाजहरूलाई साहसपूर्वक दक्षिण अमेरिकी तटसँगसँगै लिएर गयो । यहाँसम्म कि उनीहरू पश्चिमीतिर जाने एक साँघुरो जलसंयाज  जलमध्यमा पुगे । जसलाई पछि भ्यागलन जलसंयाजीको नाम दिइयो । यस जलसंयाजीलाई पार गरेपछि जहाजहरू फेरि खुला महासागरमा पुगे । यस चार महिनाको लामो यात्राका क्रममा मौसम अत्यन्त राम्रो र शान्त थियो र यसैकारणले जहाजीहरूले यस महासगालाई प्रशान्त नाम दिए । तर छिट्टै उनीहरूले आफूलाई एकदमै सङ्कट परेको महसुस गरे । उनीहरूसँग भएको खाद्यान्न सकिइसकेको थियो । कुहिएको रोटी र फोहोर पानी खानाले धेरै रोगी भई मर्न बाध्य भए ।

उनीहरू फिलिपिनी द्वीपसम्म पुगे । यहाँ स्थानीय निवासीहरूसँगको एक झडपमा म्यागलन मारियो । २६५ जनाको जहाजीहरूको सदस्य लिएर यात्रा आरम्भ गरेको एउटा मात्र जहाज स्वदेश फर्कन सक्यो । यो युरोपबाट गरिएको महङ्खवपूर्ण यात्राकथा थियो ।

यसरी युरोपको विकास प्रगति भनेको नै यात्राको देन थियो । यात्राका कारण नै उनीहरूले विश्वका अन्य देशहरूमा प्रभुत्व जमाउन सफल भए । सुरुमा व्यापारिक प्रयोजनमा गएका उनीहरू त्यो देशबाट जतिसक्दो फाइदा लिन्थे र त्यसलाई उपनिवेश बनाउँथे । उपनिवेश बनाउने क्रममा बेलायत निकै अगाडि थियो । त्यसबेला भनिन्थ्यो, ‘बेलायत यस्तो देश हो जहाँ सूर्य कहिल्यै अस्ताउँदैन ।’ विभिन्न देशले उपनिवेश बनाउने होडमा आपूm आपूmमा परस्पर प्रतिस्पर्धा हुँदै गयो । पछि यही प्रतिस्पर्धा लडाईंमा परिणत भयो र प्रथम विश्वयुद्ध भयो । प्रथम विश्वयुद्धमा धेरै जनधनको क्षति भयो । यतिले मात्र विश्वमा शान्ति कायम हुन सकेन, फेरि पुनः दोस्रो विश्वयुद्ध भयो । दोस्रो विश्वयुद्धले पनि धेरै जनधनको क्षति भयो । यसपछि विश्व समुदायमा नै नयाँ चेतना फैलियो, त्यो थियो मानवतावादी धारण । जुन धारणाले मानवले बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरिदियो ।

युरोपले आरम्भ गरेको यात्राको जीवनमा आज अन्य मुलुक पनि यात्रारत रहेका छन् । युरोपका भौतिक, आर्थिक, सांस्कृतिक र राजनैतिक यात्रालाई अरू कतिपय राष्ट्रले आफ्नो आदर्श मान्दै पछ्याइरहेका छन् ।  युरोपले आफ्नो यात्रामय जीवनबाट पाएको उपलब्धीबाट हामीले पनि आफ्नो जीवनलाई  यात्राबाट नै परिष्कृत र प्रगतिशील बनाउन सक्छौँ भन्ने कुरामा दुई मत हुन सक्दैनौँ ।

 

काठमाडौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार