प्यूठानमा तीन दिने साहित्यिक महोत्सव आयोजना गरिने

  सुबानी पुन मगर  1136 पटक हेरिएको

ललितपुर, २४ असार । प्यूठानमा जन्मेर काठमाडौँमा आई बसोबास गर्दै आएका साहित्यकार एवम् कलाकारहरूको एक भेलाले साहित्य परिषद् प्यूठानको आयोजनामा प्यूठानमा तीन दिने साहित्यिक महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्का सदस्य प्रा. डा. गोपिन्द्र पौडेलको संयोजकत्व र प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा हिजो आयोजित सो भेलामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, साहित्यकारहरू झपेन्द्र वैद्य, भावेश भुमरी, मुकुन्दराज शर्मा, विजयराज आचार्य, वासुदेव पोखरेल, रिमा केसी, आविष्कार कला, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंह, झिम्रुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलसहति सोही गाउँपालिकाका पूर्वअध्यक्ष तिलक जिसीको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रगतिवादी साहित्यकार तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपाली साहित्यमा प्यूठानी साहित्यकारहरूको विशेष योगदान रहेको कुरा राखे । सिंहले नेपाली कलाको क्षेत्रमा पनि प्यूठानले विशेष महत्व ओगटेको कुरा व्यक्त गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्यूठानमा राजनीतिक गतिविधि अत्यधिक मात्रामा हुँदै आए तापनि साहित्य र कलाका गतिविधि भने शून्यप्राय अवस्थामा रहेको गुनासो गरे । उनले प्यूठान भेषभूषा र संस्कृतिमा अत्यन्त धनी भए तापनि तिनको प्रबर्धन हुन नसकेको कुरा औँल्याए । प्यूठानमा स्कुल पढ्को लोकसंस्कृतिको कुरा स्मरण गर्दै उनले ती कुराले अहिले पनि आफूलाई पटकपटक जिल्लाको याद दिलाएको भन्दै जिल्लाको लोकनाटक, लोकसङ्गीत, लोकनृत्य, बाजा र भेषभूषाका क्षेत्रमा काम गर्न चाहेको कुरा राखे । उनले प्यूठानमा चलचित्र सुटिङका लागि भर्जिन ठाउँहरू रहेको भन्दै प्यूठानका लागि सबै मिलेर काम गर्नुपर्ने कुरामा जोड दिए । सोही भेलालाई सम्बोधन गर्दै प्राज्ञ गोपिन्द्र पौडेलले जो जहाँ रहे पनि जन्मभूमिको माया अमीट रहेको कुरा राखे । सोही कारण नै पहिले पहिले लुङको देवालीको समयमा मात्र प्यूठान जाने गरे तापनि पछिल्ला दिनहरूमा प्यूठानका साहित्यिक र सांस्कृतिक कार्यक्रमहरूमा पनि जाने गरेको कुरा राखे । उनले प्यूठानको साहित्यिक र सांस्कृतिक प्रगतिका लागि आफूले सक्दो काम गर्ने कुरा पनि व्यक्त गरे ।

प्यूठान र काठमाडौँबीचको समन्वय हुन नसकेको भन्दै साहित्यकार भावेश भुमरीले प्यूठानी स्रष्टाहरूमा एकता र सहकार्यको नितान्त खाँचो रहेको कुरा व्यक्त गरे । उनले प्यूठानका स्थानीय निकायहरूले साहित्य र कलाका क्षेत्रमा खासै चासो नदेखाएको र खासै बजेट पनि नछुट्याएको भन्दै अब प्यूठानको पर्यटन साहित्यलाई महत्व दिनुपर्ने विचार राखे । साहित्यिक अभियानबाटै विदेशहरूमा समेत पुगेको तर आफ्नै जिल्लामा आफू विरानो बन्नु भनेको प्यूठानमा साहित्यिक गतिविधि नहुनु नै हो भन्दै भुमरीले अब केन्द्र, प्रदेश र स्थानीय निकायहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने कुरा व्यक्त गरे । गीतकार मुकुन्दराज शर्माले साहित्यिक कार्यक्रम आयोजना गर्दै गएमा मात्र प्यूठानी स्रष्टाहरूबीच ऐक्यवद्धता बढ्ने कुरा व्यक्त गरे । बालसाहित्यमा निरन्तर कलम चलाउँदै आएका विजयराज आचार्यले प्यूठानका हरेक स्थानीय निकायसँग हातेमालो गर्दै विद्यालय र विद्यार्थीहरूलाई लक्षित गरी साहित्यका विभिन्न प्रशिक्षण चलाउनुपर्ने कुरा राखे । कवि रिमा केसीले अन्य जिल्लाहरूमा अनेकौँ साहित्यक कार्यक्रम आयोजना गर्दा पनि प्यूठानमा भने कुनै कार्यक्रम हुन नसक्दा आफूलाई दुःख लागेको कुरा व्यक्त गरिन् । केसीले धेरै पहिलेदेखि पहल गरे तापनि बल्ल भेला हुन सकेकामा केही गर्न सकिन्छ कि भन्ने आशा पलाएको भन्दै अबदेखि सबै मिलेर प्यूठानमा साहित्यिक गतिविधिलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिइन् ।

साहित्यकार वासुदेव पोखरेलले प्यूठानी स्रष्टाहरूबीचमा मेलभन्दा पनि अलि बढी नै अहंकारको समस्या हो कि भन्दै अबका दिनमा यस्ता कुराबाट माथि उठेर सबैले सिर्जनात्मक कार्यमा एकले अर्कोलाई साथ र सहयोग गर्नुपर्ने कुरामा जोड दिए । भेलालाई झपेन्द्र वैद्य, आविष्कार कला, समीर सिंह र तिलक जिसीले पनि सम्बोधन गर्दै आफ्ना कुरा राखे । झिम्रुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले आउँदो कात्तिकमा आयोजना गरिने साहित्यिक महोत्सवमा काठमाडौँबाट प्यूठान जाने अतिथि साहित्यकारहरूको एक दिने स्वर्गद्वारी यात्रा र खानपिनको व्यवस्था आफूले मिलाउने वचन दिए ।

यस भेलाले समीर सिंहको संयोजकत्वमा भावेश भुमरी, विजयराज आचार्य, रिमा केसी र आविष्कार कला सदस्य रहने गरी साहित्य परिषद् प्यूठान काठमाडौँको ५ सदस्यीय काठमाडौँ सम्पर्क समिति चयन गरेको छ । सो भेलाले काठमाडौँमा बस्दै आएका प्यूठानी स्रष्टाहरू साहित्य परिषद् प्यूठानको आजीवन सदस्य बन्ने र साहित्य परिषद् प्यूठानको भवन निर्माणमा सम्भाव्यताहरूको खोजी गर्ने निर्णय पनि गरेको छ । कात्तिक ५ देखि ७ गतेसम्म आयोजना गर्न गइरहेको साहित्यिक महोत्सवका लागि काठमाडौँबाट २५ देखि ४० जनासम्म साहित्यकारहरूलाई आमन्त्रण गर्ने र आमन्त्रित साहित्यकारहरूलाई जिल्लाका धार्मिक, सांस्कृति, ऐतिहासिक र प्राकृतिक रूपले परिचित स्थलहरूको भ्रमण गराउने निर्णय पनि गरेको छ । यस महोत्सवको आर्थिक व्यस्थापनका लागि विशेषतः प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र मल्लरानी गाउँपालिकालाई अनुरोध गरिने छ भने काठमाडौँका विभिन्न व्यक्तित्व र निकायलाई पनि अनुरोध गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार